सुनसरी । जनताले कर तिरेको रकमबाट पालिएका राष्ट्रसेवक कर्मचारीहरू आफ्नो काम, कर्तव्य र जिम्मेवारप्रति इमानदार हुनुपर्छ । उनीहरूले देशमा विद्यमान कानून कार्यान्वयनमा कुनै पनि मूल्यमा सम्झौता गर्नुहुँदैन भने गलत काम गर्नेहरूलाई प्रोत्साहित गर्नु पनि कानूनको नजरमा अपराध नै हो । तर, गलत काम गर्नेहरूलाई बचाउन कर्मचारी नै रातारात प्रयोग हुन्छन् र सरकारी निकायबाट अति महत्वपूर्ण फायल नै गायब हुन्छ भने त्यसलाई के भन्ने ? हो यस्तै भएको छ, इटहरी उपमहानगरपालिकाको घरनक्सा फाँटबाट
।
नक्सा नै पास नगरी उपमहानगर क्षेत्रमा घर तथा ठूला संरचना निर्माणको क्रम तीव्र भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान गएको समाचारहरू सार्वजनिक भइरहेकै समयमा कर्मचारीसंगको मिलेमतोमा एक व्यवसायीले नियमविपरीत नक्सा पास नभई निर्माण गरेको र तामेलीमा रहेको घरको फायल नै गायब बनाएको खबर छ । उपमहानगर क्षेत्रमा स्थानीय स्वायत्त शासन ऐन विपरीत नक्सापास बिना नै घर बनाउनेहरूको ठूलो संख्या रहेका कारण नियमविपरीत बनेका घरका अन्य अधूरा फायलहरू समेत रातारात गायब हुने संभावना बढेको उपमहानगर पालिका स्रोत बताउछ ।
पूर्वको केन्द्रविन्दुका रुपमा विकास भइरहेको इटहरी उपमहानगरपालिका क्षेत्रभित्र नगरपालिकाका हाकिमहरूलाई घुस ख्वाएर घर नक्सापास नगरी घर निर्माण गर्ने प्रवृत्ति बढ्दो छ । जानी जानी पैनी, कुलो, कुलेसा र खोलानाला
(सार्वजनिक) प्रकृतिका जग्गालाई आफ्नो बनाई जबर्जस्ती घर निर्माण भइरहेका छन् । यसरी स्थानीय स्वायत्त शासन ऐन विपरीत घर नक्सा पास बिना नै विशाल भवनहरू निर्माण हुने गरेका थिए । यस्ता कार्य रोक्नका लागि इटहरीमै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय सम्पर्क कार्यालयले कडाईका साथ आफ्ना गतिविधिहरू अगाडि बढाएपछि यतिबेला पैनी, नाला, कुलेसा, खोला मिचेर घर बनाएकाहरूको मुटुमा ढ्याङ्ग्रो बजेको समाचार छ ।
अख्तियार कडा रुपमा प्रस्तुत भएपछि सार्वजनिक जग्गा मिचेर महल ठड्याउने ठालूमध्ये कोही नगरपालिकाका भ्रष्ट कर्मचारीसंग मिलेर प्रमाण नष्ट गर्ने अभियानमा लागेका छन् भने कोही चाहिं अख्तियारको च्यानल खोज्दै क्षेत्रीय कार्यालयका कर्मचारीलाई समेत प्रभावमा पार्ने कोसिस गरिरहेका स्रोतको दावी छ ।
स्थानीय स्वायत्त शासन ऐन विपरीत इटहरीमा घरनक्सा पासबिना नै बनाइएको ८ तले गोरखा डिर्पामेन्ट स्टोर संचालन भएको भवन भत्काएर तत्काल जानकारी दिने निर्देशनसहित अख्तियारले केही साताअघि इटहरी उपमहानगरपालिकाको नाममा पत्र काटेको थियो । अख्तियारको कडा पत्र आएपछि कानूनलाई आफ्नो हातमा लिएर पैसाका भरमा कर्मचारीलाई आफ्ना गोजीमा राखी नक्सापास बिना नै घर निर्माण गर्नेहरूको ओंठतालू सुकेको छ । रोचक त के छ भने यसरी नियम विपरीत घर निर्माण गर्नेहरूमा इटहरीका उद्योगी व्यवसायी, नेताहरू बढी रहेको पाइएको छ । उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष तथा कोशी अञ्चल प्रतिनिधि रोहित प्रसाईंकै घर पनि सडकको क्षेत्राधिकारमा ठड्याइएको समाचार छ । कांग्रेस नेता अम्बरबहादुर गौली लगायतको घर समेत यसैगरी गैरकानूनी ढंगले बनाइएको छ । गोरखाको घर भत्काउनु भन्ने अख्तियारको निर्देशन इटहरी उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याउँदा अन्य ठालूका दर्जनौ घर भत्काउनुपर्ने अवस्था सिर्जना भएको छ । अख्तियारको पत्रले इटहरीका धनाढ्य र ठालूहरूमा अहिले हलचल नै पैदा गरेको छ । यही कारण पैसा र पावर प्रयोग गरी फाइल गायब बनाउने काम भएको बताइएको छ ।
गोरखा डिर्पामेन्ट स्टोर संचालन भएको ८ तले भवन झै अस्पताल खोल्नका लागि इटहरी ४ ‘ग’ हलगडा चौंक पूर्वतर्फ रहेको कित्तानम्बर १९०६, १२५९ र ११८ को २ कठ्ठा ८ धुर जग्गामा घर नक्सापास बिना नै गजेन्द्रप्रसाद ढकालले ५ तले घर निर्माण गरेको दावी समाचार स्रोतको रहेको छ । उनले पैनीको जग्गा समेत मिचेर घर निर्माण गरेकाले उनलाई इटहरी उपमहानगरपालिका कार्यालयले घर निर्माण रोक्न पटक पटक पत्र काटेको थियो । तर उनले उपमहानगरपालिकाको पत्रलाई बेवास्ता गर्दै घर निर्माण गरेका थिए ।
इटहरी उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर अर्जुनकुमार दाहालका अनुसार ढकालले घर नक्सापासका लागि उपमहानगरपालिकामा फायल दर्ता मात्र गरेका छन् । उनले कुनै चरणको पनि घर निर्माणका लागि इजाजत लिएका छैनन् । घरनक्सा पास गरी निर्माण इजाजतका लागि ढकालले ठूलो दवाब दिएको बताइएपनि कानून विपरीत भएकाले इटहरी उपमहानगरपालिकाले इजाजत नदिएको इञ्जिनियर दाहालको भनाई छ । स्रोतका अनुसार, इञ्जिनियर कैलाश तिम्सिनाले ढकालको घरको नक्सा बनाएका थिए । फाइल उनैको मिलेमतोमा गायब पारिएको स्रोतको दाबी छ ।
ढकालले सो कित्तामा नयाँ घर निर्माणका लागि २०६७ भदौं २३ गते इटहरी उपमहानगरपालिकामा घरनक्सा पासका लागि फायल दर्ता गराएका थिए । उनको घरनक्सा फायल दर्ता नम्बर १४६१ हो । उनले भदौ ३१ गते म्याद तामेली गरेका रेकर्ड खातामा देखिन्छ । ४२८६.१२ बर्गमिटर क्षेत्रफल भएको नक्सा पासका लागि २०६७ पुस २६ गते सर्जमिन गरिएको देखिन्छ । उनले निर्माण इजाजत र निर्माण सम्पन्न भएको प्रमाणपत्र नलिएको स्पष्ट देखिन्छ ।
फायल गायब
गोरखा डिर्पाटमेन्ट स्टोर संचालन भएको घर भत्काएर जानकारी दिन इटहरी उपमहानगरपालिका कार्यालयलाई अख्तियारले कडा निर्देशनसहितको पत्र काटेको सुइँको पाउनासाथ गजेन्द्रप्रसाद ढकालले घर नक्सापास गरी निर्माण इजाजतका लागि इटहरी उपमहानगरपालिका कार्यालयमा पेश गरेको घरनक्सा पास फायल नै एकाएक गायब भएको छ । घर नक्साफाँटमा फायललाई व्यवस्थित गर्नका लागि ३ जना कर्मचारी खटिएका छन् । इटहरी नगरपालिकाबाट उपमहानगर भएपछि सो फाँटमा कामको चाप बढे पनि ढकालले भने नगरपालिका हुँदा नै घरनक्सा पासका लागि निवेदन दर्ता गरी फायल खडा गरेका थिए । तर, सो फायल एकाएक गायब हुनुमा घरनक्सा फाँटमा कार्यरत केही कर्मचारीहरू शंकाको घेरामा परेका छन् ।
ढकालले पैनी मिचेर घर निर्माण गरेकाले मुद्दा परेको सूचनाका आधारमा आवश्यक सामाग्री संकलनका लागि ३ दिनसम्म इटहरी उपमहानगरपालिका धाउँदा फायल रेकर्ड राख्ने कर्मचारीहरूले फेला नपरेको जवाफ दिए । कोठा नम्बर १४ घरनक्सा फाँटभित्र पनि घरनक्सा पासका लागि नगरबासीले दिएको फायल दर्ता गरी व्यवस्थित तरिकाले राख्नका लागि पुण्यप्रसाद रोइला, अच्युत भट्टराई र कार्यालय सहयोगी दलबहादुर राई खटिंदै आएका छन् ।
कार्यालय सहयोगी राईका अनुसार, करिब १५ दिनअघि ढकाल आफै आएर आफ्नो फायल निकालेका थिए । त्यसपछि सो फायल पुन: ल्याएर नगरपालिकाको घरनक्सा फाँटको रेकर्ड राख्ने स्थानमा राखे/नराखेको थाहा नै नभएको राईले बताए । फायलको रेकर्ड राख्नका लागि खटिएका कर्मचारीमध्ये पुण्यप्रसाद रोइलाले ढकालको फायल हराएकोप्रति आफूहरू चिन्तित रहेको बताए । उनले भने–‘तपाईले भनेपछि मैले एक दिनभर लगाएर खोज्ने काम गरें, तर त्यो फाइल भेटिन । मैले पहिलो पटक फाइल खोज्दा नभेटेको हुँ ।’ घरनक्सा फाँट कर्मचारी स्रोतका अनुसार, केही दिनअघि अख्तियारको पत्र आउनसाथ गोरखा डिपार्टमेन्ट स्टोर संचालन भएको घरको फाइल पनि नभेटिएको र कडा रुपमा प्रस्तुत भएपछि बल्लतल्ल फाइल व्यवस्थित गर्न खटिएका कर्मचारीहरूले नै फेला पारेर प्रतिवेदन तयार गर्न बनेको समितिलाई बुझाएका थिए । घरनक्सा फाँटका अमिन कर्णबहादुर घिमिरेले घरनक्सा फाँटबाट आवश्यक परेको खण्डमा सरोकारवाला बाहेकले फायल हेर्न नै नपाउने बताए । उनले लिएर जाने अधिकार कसैलाई नभएको बताए । इञ्जिनियर कैलाश तिम्सिनाले कर्मचारी अभावमा घरनक्सा फाँटको फाइल रेकर्डलाई व्यवस्थित गर्न नसकेको बताए । उनले फाइल हराउनु राम्रो नभएको बताउँदै के भएको हो बुझ्ने बताए ।
अरु गायब हुने संभावना
राजमार्ग, पैंनी लगायत सर्वाजनिक प्रकृतिका जग्गा मिचेर घरनक्सा पास बिना नै घर निर्माण गरेकाहरूले घरनक्सा फाँटका केही लोभी कर्मचारी, घरनक्सा बनाएका कन्सल्टेन्सीका प्राविधिकहरूलाई कार्यालय समयको अन्तिममा गोप्य रुपमा खटाएर फायल झिक्न लगाउन थालेको कर्मचारी स्रोतको भनाई छ । उपमहानगरपालिकाका केही कर्मचारीहरूलाई घूस खुवाएको भरमा एक दुई तला घर निर्माणको इजाजत लिएकाहरूले पनि अब कारबाहीमा पर्ने डरले फाइल झिक्न लगाएका छन् । इटहरी उपमहानगरपालिकासंग अहिलेसम्म के कति घर नक्सापास बिना नै निर्माण भएका छन् भन्ने यथार्थ विवरण समेत छैन ।
इटहरी उपमहानगरपालिका कार्यालयको १४ नम्बरको कोठाको घरनक्सा फायल रेकर्ड राख्ने कोठाभित्र प्रवेश गर्ने ढोकाको माथि ‘अनुमतिबिना प्रवेश निषेध’ लेखिएको छ । तर मोटो रकम लिएर घरनक्सा निर्माण गर्दै आएका कानून विपरीत इटहरी उपमहानगरपालिका कार्यालय गेटमै उपमहानगरपालिका भित्र नै काम गर्ने प्राविधिक कर्मचारीहरूले संचालन गरेका आधादर्जन बढी कन्सल्टेन्सीका कर्मचारी सहजै घरनक्साफाँटमा प्रवेश गर्छन् । उनीहरूले आफूखुसी फाइललाई दर्ता किताबमा दर्ता गर्ने, छाप लगाउने र आफूखुसी फाइल बोकेर हिंड्ने गरेका छन् । कन्सल्टेन्सीका एक कर्मचारीले प्रतिदिन दर्जनौ फाइलहरू त्यसरी ल्याउने र लैजाने गरेका छन् । यतिसम्म कि सेवाग्राही आफ्नो फायल लिन दर्ता नम्बर लिएर इटहरी उपमहानगरपालिका कार्यालयको घरनक्सा रेकर्ड राख्ने कोठामा पुग्दा कयौंपटक फेला नपरेपछि खोजी गर्दै जाँदा कन्सल्टेन्सीहरूमा थन्काएर राखेको अवस्थामा फेला पर्ने गरेको कर्मचारीहरू नै गुनासो गर्छन् । कन्सल्टेन्सीले घर निर्माणका लागि नक्सा बनाउने कामदेखि लिएर सेवाग्राहीको दर्ता दस्तुर लगायतका राजश्व तिर्ने, दर्ता गरिदिने लगायतका सबै काम बिचौलिया दलाल बनेर गर्ने गरेका छन् । उनीहरूले तयार पारेर ल्याएको फाइलको कुनै पनि काम बिनारोकटोक फटाफट दर्ता हुने गरेको छ । यसरी बिनारोकटोक फटाफट काम हुनुमा घुस, कमिहनको कमाल हो भन्छन् अन्य फाँटका कर्मचारीहरू ।
साभार : साँघु साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !