बलबान हिरोका रूपमा उनले नेपाली फिल्म दर्शकलाई आफूतिर तानिरहे, जो भर्खरै सुरु भएको नयाँ व्यवस्थाका लागि एउटा सही 'आइकन' थियो ।
यो साता राजेश हमाल फेरि चर्चामा आए । चलचित्र विकास बोर्डको अध्यक्ष चाहियो भन्नेसमेतको माग राखेर अनशन बसेका फिल्मकर्मीहरूलाई साथ दिन बोर्ड पुगेका राजेशले भनिदिए, सहमति भयो भने म अध्यक्ष बन्न तयार छु । नेपाली फिल्मकी अर्की साह्रै चर्चित हिरोइन रेखा थापाले अध्यक्ष बन्न प्रचण्डदेखि बाबुराम सम्मकोमा धाएको खबर आइरहेका बेला 'महानायक'ले फ्याट्ट अध्यक्ष बन्न तयार रहेको बताए । यसको केही साताअघि उनले कतै देशलाई यदि साँच्चिकै चाहियो भने 'प्रधानमन्त्री बन्न तयार छु' भनेको समाचार आएको थियो । केही महिनाअघि त सबैजसो पत्रिका राजेश हमालले बिहे गर्ने केटी भेटे, राजेश बिहेका लागि तयार भन्ने खबर आएकै थिए । अध्यक्ष, प्रधानमन्त्री र बेहुलो सँगै राजेश फिल्म निर्देशक बन्न पनि तयारै छन् । उनले पछिल्लो दस वर्षमा कैयौंपटक आफ्नो यो मनसाय व्यक्त गरेका छन् ।
आखिर राजेश यति धेरै चीज बन्न किन तयार छन् ? अथवा फिल्म खेल्ने कुरामा राजेशको रुचि घटेको पो हो कि ? अब पर्दामा मात्र नभएर वास्तविक जीवनमै हिरो बन्ने रहर उनलाई पलाएको हो ? नेताको प्रभाव कमजोर बन्दै गएपछि अभिनेतामा नेता बन्ने रहर जाग्छ (यो रहर अरू पेसाका मानिसमा पनि जागेको देखिन्छ) । भारतमा पनि अमिताभ बच्चनदेखि राजेश खन्नासम्मका सुपरस्टारहरू एक समय राजनीतिको मैदानमा उत्रिएका थिए । र, चाँडै नै आफूहरू राजनीतिको फगत सो पिस भएको अनुभव गरेपछि फिर्ता पनि भएका थिए ।
यस्तै भावना नेपालका कलाकारहरूमा पनि बढेको हुनसक्छ । त्यसबाहेक राजेशका लागि अब नेपाली फिल्ममा पनि थुपै्र परिवर्तन आएका छन् । उमेरका हिसाबले उनी कलेज पढ्ने विद्यार्थीको भूमिकामा सुहाउँदैनन् । प्रहरी वा अरू कुनै अनुशासनमा बाँधिएको पेसाको मानिस बन्न उनी तयार छैनन् । लामो कपाल पालेको प्रहरी इन्सपेक्टर बनाउन अब निर्देशक तयार छैनन् । उमेर र करिअरका हिसाबले राजेश अहिले मध्यघाम मुन्तिर छन्, जहाँ आफ्नो छाया आफैमा हराउँछ । २०४६ को परिवर्तनसँग वेगवान् बनेको राजेशको करिअर २० ६२/६३ को आन्दोलनपछि अब अर्को मोडमा छ । ०४६ वा ६२/६३ खालि राजनीतिक परिवर्तनका मात्र मानक तिथिमिति होइनन्, ती परिवर्तनसँगै समाजको विचार पद्धति, धारणा र रुचिमा आउने परिवर्तनका पनि मानक हुन् । यी परिवर्तनसँगै समाजका अन्य क्षेत्रमा पनि परिवर्तन आएका छन् । फिल्मकै कुरा गर्ने हो भने नेपाली फिल्ममा दोस्रो जनआन्दोलनपछि धेरै परिवर्तन भएको छ । फिल्मको शैली, विषय, पात्र, कलाकार, प्रचारप्रसार र प्रदर्शनमा आकाश जमिनको अन्तर आएको छ । यो परिवर्तनले केही नयाँ कुरालाई स्थापित गरेका छन् भने पुराना स्वादलाई बिस्तारै किनारामा धकेल्न थालेका छन् ।
फिल्मको शैली, दर्शक र हलमै पनि र्म पनि पर्याप्त परिवर्तन भएको छ । अबको समयमा ग्लसी लुक र चमकदार ट्रेलर भएका मल्टीप्लेक्स फिल्मले पैसा कमाउँछन् । सहरभरि खुलेका चर्को टिकटदर भएका मल्टीप्लेक्टसले सामान्य हलले एक सातामा गर्ने कमाई तीन सोमा गरिदिन्छ । यसैले अबको समयमा फिल्म यस्ता हललाई टार्गेट गरेर बन्छन् । यी हलका दशर् क भनेका युवा दर्शक हुन् । त्यस्ता युवा, जसको विश्व सिनेमा र संसारसँग एक्सपोजर छ । जसले संसारभरका फिल्म हेरेका छन् र तिनको शैली थाहा छ । यिनलाई आफू र आफूले देखेको संसारसँग नजोडिने फिल्मको अर्थ छैन । दर्शकमा आएको परिवर्तनले आखिरमा फिल्ममा परिवर्तन ल्याउन फिल्ममेकर बाध्य भएका छन् । यो किन भएको हो भने अहिलेसम्म हाम्रो फिल्मले आफ्ना दर्शकलाई शिक्षित दीक्षित गर्ने काम गरेन ।
राजेश हमालमाथि पहिलेदेखि लाग्ने गरेको आरोप छ- 'जुन बेला उनको अनुहार पोस्टरमा नभई फिल्म चल्थेन, त्यो बेला उनले राम्रो विषय वा स्क्रिप्टको माग गरेको भए निर्देशक र लेखकहरूले मेहनत गर्ने थिए, तर राजेशले जस्तो पनि फिल्म खेलेर त्यो राम्रो बन्ने सम्भावनालाई संकुचित बनाइदिए ।' आफ्नो बचाउमा राजेशले 'भर्खर बन्न थालेका फिल्मलाई रो क्नुभन्दा बन्न दिनु नै ठीक थियो, अलि धेरै बनेपछि गुणस्तर आउँछ भनेर आफूले निरुत्साहित नगरेको' भन्दै आएका छन् । संख्या पर्याप्त भएरै पनि होला, राजेशकालभरि नभएको त्यो घटना अहिले भएको छ । अनुप बराल, सौगात मल्ल, अर्पण थापा, कर्मा र दयाहाङ राईहरूजस्ता नयाँ छिमलका फिल्म अभिनेताहरूले त्यो गुण देखाएका छन् । सायद, यस्तै परिवतर् नका कारण पनि होला, अब राजेश आफैले खेलेको फिल्मको पोस्टरमा देखिन छोडेका छन् । करिअरको मध्य भनेको सधैं असजिलो समय होला । राजेश हमालका अगाडि पनि अब त्यो असजिलो तेर्सिएको प्रतीत हुन्छ । यसैले उनी उस्तै घिसापिटा फिल्मबाट अलग हुन चाहेको देखिन्छ । विराज र निखिल उप्रेतीको प्रवेशसँगै राजेश एक्सन फिल्महरूमा 'सेकेन्ड लिड'मा देखिन थालेका थिए । पछिल्लो समयमा भने राजेशले फिल्मइतरका क्षेत्रमा आफ्नो रुचि बढाउँदै लगेको देखिन्छ । सामाजिक समारोहहरूदेखि घर पसलको उद्घाटनसम्ममा उनलाई बढी देख्न थालिएको छ । बोर्ड अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको रहर सायद, यही शृंखलाको निरन्तरता होला ।
कारण जेसुकै भए पनि, अब फिल्ममेकिङ पहिलेजस्तै छैन । एक्लो राजेशका लागि मात्र होइन, हिजोका हिरोदेखि निर्देशकसम्म कसैका लागि पनि यो उस्तै छैन । तुलसी घिमिरेदेखि नीर शाहसम्मले नयाँखाले फिल्म शैलीलाई गाली गर्नुको एउटा कारण यो पनि हो । फिल्म नै पढेका वा भिन्न खाले स्कुलिङबाट आएका युवाहरूले नेपाली फिल्ममा ठूलो परिवर्तन ल्याइरहेका छन् । यसलाई धान्न सक्ने हालतमा पुराना धेरै फिल्मकर्मी अपडेट नभएसम्म पुरानो पुस्ताको छटपटी कायम रहनेछ ।