चेन्नई, माघ १५ (एजेन्सी) - दक्षिण भारतका सुपरस्टार कमल हसनको मेगा बजेट फिल्म 'विश्वरुपम' लाई हलहरुमा रिलिज गर्न दिने/नदिने बारे चेन्नईको हाइकोर्टले आज फैसला गर्दैछ। 'लाइभ हिन्दुस्तान'का अनुसार यसअघि स्पेसल स्क्रिनिङका क्रममा हाइकोर्टका न्यायाधीशलगायत मुस्लिम समुदायका अगुवाले समेत फिल्म हेरेका थिए। फिल्म हेरिसकेपछि हाइकोर्टले आफ्नो फैसला सुरक्षित
राखेको थियो। त्यसको घोषणा आज हुने बताइएकोछ।
मुस्लिम समुदायले यो फिल्ममा मुस्लिम समुदायको गलत छवि देखाइएको दावी गरेकोछ। सेन्सर बोर्डले अनुमति दिए पनि अदालतको फैसलाका कारण फिल्मको सार्वजनिक प्रदर्शन हुन सकेको छैन।
तमिल र तेलुगु भाषामा विश्वरुपमको प्रदर्शन २५ जनवरीमा हुनुपर्ने थियो। तर मुस्लिम संगठनहरुको विरोधका कारण तमिलनाडु सरकारले यसमा प्रतिबन्ध लगाइदिएको थियो।
मलेसियाले पनि यो फिल्ममा प्रतिबन्ध लगाइसकेको छ। मुस्लिम बहुमत रहेको मलेसियामा करिब ८ प्रतिशत आप्रवासी भारतीयमध्ये अधिकांश दक्षिण भारतीय छन्।
९५ करोड भारुको लागतमा बनेको यो फिल्मको हिन्दी संस्करण फेब्रुअरी १ मा रिलिज हुँदैछ।