CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » विशालबजारमा अर्को काण्ड

विशालबजारमा अर्को काण्ड

विशालबजारका अवैध सञ्चालकहरूले जनताको सम्पत्तिमाथि ब्रम्हलूट गरेको तथ्य फेला परेको छ। उनीहरूले विशालबजार कम्पनीमा भएका भ्रष्टाचार र अनियमितता ढाकछोप गर्नका लागि दसैँको खर्चका नाममा लाखौँ रकम बाँडेका छन्। लूटको धन फुपुको श्राद्ध भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै सरकारी कोषमा जम्मा हुनुपर्ने रकम उनीहरूले मनोमानी खर्च गरेका छन्। सर्वोच्च अदालतले डेढ वर्षअघि नै सरकारीकरण गर्न आदेश गरे पनि तिनै सञ्चालकहरूले विभिन्न शक्तिकेन्द्रलाई प्रभावमा पारी आफ्नो हालीमुहाली कायमै गरेका छन्। अहिले उनीहरू जसरी पनि कम्पनीलाई डुबाउने र आफ्नो दुनो सोझ्याउने ध्याउन्नमा लागेका छन्। पछिल्लोपल्ट उनीहरूले जनही १ लाख २५ हजार रुपियाँ कम्पनीको कोषबाट बाँडीचुडी खाएको एक सञ्चालकले दृष्टिलाई बताएका छन्।  
विगत वर्षहरूमा प्रमुख कार्यकारी अधिकृतका नाममा निकासा
गरिँदै आएको यो रकम यसपालि सञ्चालक समितिका अध्यक्ष अशोकजीव तुलाधरका नाममा निकालेका थिए। उक्त रकम प्रत्येक सञ्चालकका नाममा १ लाख २५ हजारका दरले बाँडिएको थियो भने लाखौं रकम अख्तियार, अदालत, प्रहरी, पत्रकारका नाममा बाँडिएको थियो। उक्त रकम खाने कर्मचारीहरूको नाम भने बिल भौचरमा उल्लेख गरिएको छैन। प्रमुख कार्यकारी अधिकृत विश्वराज सुवेदीले आफ्नो नाममा निकासा गर्न नमानेपछि तुलाधर अघि सरेको स्रोत बताउँछ।  
स्रोतअनुसार, सञ्चालक समितिका तीन सदस्यले भने उक्त रकम लिन अस्वीकार गरेका छन्। अस्वीकार गर्नेमा नेसनल टे्रडिङ, खाद्य संस्थान र राजेन्द्र वैध रहेका छन्। अर्का सञ्चालक निर्मल धानुकाले रकम लिन अस्वीकार गरे पनि सञ्चालक प्रमोदकुमार अग्रवालले धानुकाकै पसलमा पुर्‍याइदिएका थिए। अन्य सदस्यले भने विश्वम्भरलालको पसलमा रकम बाँडचुड गरेका थिए।  
यसैबीच, भारी कमिसनको मोलमोलाइसहित विशालबजार सञ्चालक समितिले काठमाडौँको स्वयम्भूमा जग्गा किन्ने तयारी गरेको छ। १२ देखि १५ करोड रुपियाँ कम्पनीको कोषबाट खर्च गर्ने र ७० देखि ८० करोड रुपियाँ बैंकबाट ऋण लिने गरी जग्गा खरिदको तयारी भइरहेको बुझिएको छ। कमिसनबाट प्राप्त रकमले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारी पदाधिकारीलाई प्रभावित पार्न प्रयोग गर्ने तयारीका साथ जग्गा खरिद प्रक्रियामा लागेको स्रोतको भनाइ छ। जग्गा खरिदका लागि विशाल बजार कम्पनीका नाममा प्रस्ताव आह्वान हुँदा पाँचवटा प्रस्ताव परेका छन्। उनीहरूमध्ये जसबाट बढी रकम कमिसनवापत आउँछ, उसैलाई स्वीकृत गर्ने निष्कर्षमा विशालबजारका सञ्चालकहरू पुगेका छन्। तर, पाँच करोड पुँजी रहेको कम्पनीले कसरी ७०–८० करोड रुपियाँ ऋण लिन सक्छ भन्ने आशंका भने सञ्चालकहरूबीच नै रहेको छ। तर, सञ्चालक समितिका नाममा ब्रम्हलूट मच्चाउँदै आएको प्रमुख गिरोहका सदस्यहरू भरतलाल श्रेष्ठ, विश्वम्भरलाल अग्रवाल लगायतले भने विशालबजारलाई नपत्याउने कुन बैंक हुन्छ र भन्ने गरेका छन्। विशालबजार अवस्थित जग्गा सरकारी रहेको ठहर गर्दै त्यसलाई सरकारका नाममा सेयर कायम गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनको चरण छ। तर, यहाँका सञ्चालकहरू आफ्नो हालीमुहाली कायमै राख्न न्यून मूल्य कायम गरी सरकारलाई नगद मुआब्जा दिने व्यवस्था मिलाउन खोजिरहेका छन्। यसका लागि प्रधानमन्त्रीपत्नी हिसिला यमी र हत्या अभियोग ठहर भई फरार रहेका माओवादीका पूर्वसभासद बालकृष्ण ढुंगेलमार्फत् कुराकानी भइरहेको स्रोतले जनाएको छ।  

dristi 24
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis