फेसबुकबाटै दाम र नाम कमाएका एक नेपाली - बुकेश
गहुँगोरो र ठूलो गोलाकार हँसिलो अनुहार । भर्खरै हुर्कने क्रममा रहेका जुँगाका रेखी । हट्टाकटा देखिने मझौलो शरीर । बाक्लो केशमा टाउकाको पछाडिपट्टि तन्किएको लामो टुप्पी । छातीमा नेपाली संस्कृति झल्कने टि-सर्टका अनेक रूपरङ्गमा सजिने सौख । उनको पहिचानका लागि यस्तै हुलिया पर्याप्त छ । २४ वर्षीय बुकेश महर्जन कुनै समय असनको देउडा गल्लीभित्र आफ्नै बुबा बुद्धरत्न महर्जनको छापाखानामा रमाउँथे । नेवारी कला संस्कृतिसँग राम्रोसँग भिजेका बुकेशको बाल्यकाल दु:खमै बित्यो । काठमाडौंमा
सुविधासम्पन्न निजी स्कुलहरू खुलिरहेका बेला उनले अन्नपूर्ण माध्यमिक विद्यालयबाट स्कुल स्तरको पढाइ सिद्धाए । सामान्य परिवारमा जन्म भएकाले उनले अङ्ग्रेजी माध्यममा पढ्ने सपना देखेनन् । दिनभर विद्यालय अनि साँझ-बिहान बुबाको अपसेटमा काम सघाउँदै उनको दैनिकी बित्थ्यो । नेवारी समुदायका भएकाले उनी नेवारी संस्कृतिसँग बाल्यकालदेखि नै परिचित थिए । काठमाडौंको ऐतिहासिक सम्पदा र कला पनि उनका लागि नौला थिएनन् । मल्लकालीनदेखि शाहकालीन कला-कौशलले सजिएका सम्पदा एवं मठमन्दिरहरूसँग परिचित थिए उनी ।
बुकेश किशोरावस्थामै हुँदा इन्टरनेटमा फेसबुक प्रयोगकर्ताहरूको संख्या बढिरहेको थियो । ग्राफिक्स डिजाइनमा पनि फरकपन आउन थालेको थियो । प्लस टु पढदाताका नै उनले ग्राफिक्स डिजाइनको सामान्य तालिम लिए । तालिमपछि डिजाइनमै सामान्य जागिर पनि मिल्यो । 'अफिसमा बसेर म अनेक थरी डिजाइन गरिरहन्थें,' उनले भने- 'अफिसमै बसेर नेपाली मौलिकता झल्कने स्केचहरू पनि तयार पार्थें ।' विस्तारै उनी ग्राफिक्स डिजाइनमा पोख्त हुँदै गए । विभिन्न किसिमका डिजाइन अफिसमै सिके । यही सिलसिलामा उनले दुई वर्षअघि एउटा फेसबुक पेज तयार पारे । पेजको नाम 'मँैचा व बौचा' अर्थात केटी-केटा रह्यो । उनले पनि यसैलाई सक्दो प्रयोग गर्ने र साथीहरू बनाउने योजना बनाए । आशीर्वाद कलेजमा बीबीएसका विद्यार्थी बुकेशले फेसबुकमार्फत कलेजका धेरै साथीहरूलाई जोडेका थिए । देश-विदेशबाट उनको पेज लाइक हुन थाल्यो ।
पेजमा उनले अनेक थरीका स्केच तयार पारेर पोस्ट गर्न थाले । बुकेशले फरक-फरक कन्सेप्टका स्केच पोेस्ट गरिरहे । ती स्केच मन पराएर फेसबुकमा लाइक बढिरहयो । 'म फेसबुकमा रमाइलो मात्र गरिरहेको थिएँ ।' उनले भने- 'रमाइलो गर्दागर्दै लाइक संख्या सयौं पुग्यो,' उनले आफनो अनुभव सुनाए । बुकेशले अन्य पेज पनि सिर्जना गरे । 'माइला-माइली', 'च्याङबा-मैचाङ' पनि उनकै पेज हुन् । 'बौचा' उभिरहेको र 'मैँचा'ले नमस्ते गरिरहेको स्केच टि-सर्ट आकारमा कोरेर पेजमा राखेपछि उनको जीवनमा एकाएक परिवर्तन आउन थाल्यो । त्यही स्केच उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो । बुकेशले भने- 'म त आश्चर्य चकित पो भएँ, त्यो स्केच त एकाएक चर्चित भएछ ।'
'बौचा' उभिरहेको र 'मैँचा'ले नमस्ते गरेको स्केच टि-सर्टमा प्रिन्ट गरेर बजारमा लाने उद्देश्यले 'टि-सर्ट नेपाल' का इन्द्रमान महर्जनले उनलाई अफर गरे । बुकेशले त्यसलाई सहर्ष स्वीकार गरे । टि-सर्ट तयार भएपछि एक समारोहबीच त्यसको बजार प्रवर्द्धन सुरु गरियो । 'आई लभ नेपाल' प्रिन्ट भएको टि-सर्टका बीचमा उनको स्केच मारामार बिक्यो । त्यसपछि उनले निरन्तर स्केच कोरेर टिसर्टको बजार फैलाउन थाले । उनी यसरी रातारात चर्चामा आउन थालेपछि छँदा छदैको जागिरबाट निकालिए । त्यसपछि घरमै बसेर कम्प्युटरमा दिन बिताउन थाले । फुर्सदको समयमा डिजाइनमै रमाउन थाले । नेपाली मौलीक संस्कृति झल्कने स्केचहरू पनि तयार पार्न थाले । जति दिमागमा कन्सेप्ट फुथ्र्यो म कोरिहाल्थें, अनि अनेक तरिकाले स्केचलाई आकर्षक बनाउथें, -बुकेशले भने । यसरी सोच्दै नसोचेको स्केचको चर्चा र टिसर्टको बिक्रीले बुकेश एकाएक चम्किए ।
बुकेशले तयार पारेको स्केचलाई टिसर्ट नेपालले प्रवर्द्धन गर्यो । फेसबुकमार्फत पनि स्केच चम्किँदै गयो । फेसबुकमै अर्डर पनि वृद्धि हुँदै गयो । 'मैँचा व बौचा' वेबसाइट पनि तयार भयो । वेबसाइटबाट पनि बजार विस्तार हुँदै गयो । 'मेरा ११ प्रकारका डिजाइन बजारमा छन्,' बुकेशले खुसी साट्दै भने । पानी परिरहेको बेला दुई जनाले छाता ओढिरहेको, मानन्धरहरूले बजाउने 'धा:बाज:' बाजा बजाएको, न्हुँ दँया भिन्तुना लेखिएको, एउटै साइकलमा दुई जना बसेर गुडिरहेको, बोटिङ गरिरहेको, पुराना आकारका झ्यालबाट दुई जनाले हेरिरहेको स्केच धेरैको मन जित्न सफल भयो । ती टिसर्टको माग विदेशमा पनि बढ्दै गयो । पोखरा, काठमाडौं, ललितपुर, भक्तपुरका साथै अस्ट्रेलिया, बेलायत, अमेरिका, अस्टि्रया तथा ओमनमा उनका टिसर्टको राम्रो बजार छ । पर्यटकहरूले पनि उनका स्केच रुचाए ।
बुकेश सोच्दै नसोचेको कामबाट यसरी चम्किएपछि उनको सम्मान र प्रशंसा गर्नेहरूको संख्या पनि बढ्दै गएको छ । 'जहाँ गए पनि सबैले मेरो कामको प्रशंसा गर्छन्,' बुकेशले भने । सामान्य परिवारमा जन्मिएका बुकेश बुद्धरत्न र हीरादेवीका एक्ला छोरा हुन् । बुकेशले किशोर अवस्थामा पनि गलत बाटो रोजेनन् । धेरै साथी बैंक तथा वित्तीय क्षेत्रमा जीवन निर्वाह गरिरहेका छन्, तर उनले यही डिजाइनबाट जीवन चलाइरहेका छन् । 'म आफ्नै सीप र कौशलमा खुसी छु, परिवारलाई खुसी दिएको छु,' बुकेश भन्छन्- 'मेहनत र संघर्ष गरे सफलता हात पर्दो रहेछ ।'
साभार : इकान्तिपुर
Labels:
Entertainment,
happening,
news,
Society
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !