CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ए पुलिस ए कानून , कहाँ छिन् छोरीमैयाँ ?

ए पुलिस ए कानून , कहाँ छिन् छोरीमैयाँ ?

माघ ५ - समयको खोलो सुल्टो बग्दो हो त आज उनी अर्कै परिवेशमा हुने थिइन् । जीवनका अनेक सपना र रङहरूलाई बान्की दिने बेला थियो यो । तर सुधा महर्जन र उनकी दुई दिदीका लागि समयको बेग्लै आयोजना रहेछ सायद । पढाइ, करियर, सपना, भविष्य इत्यादि सारा कुरा छाडेर उनीहरू अचेल घरी अदालत धाउँछन्, घरी प्रहरीकोमा पुग्छन्, घरी आन्दोलनमा उत्रन्छन् । २०६८ फागुन १६ गतेसँग असिम असन्तुष्टि र घृणा छ यी तीन दिदीबहिनीको हृदयमा । यो त्यही असती दिन थियो जसले उनकी आमालाई बेपत्ता बनायो । हो, यो त्यही दिन थियो जसले छोरीमैयाँ महर्जनलाई एकाएक यो सहरबाट गायब बनायो । यो दिन
नआउँदो हो त छोरीमैयाँ हराउने थिइनन् कि ! उनी अपहरणमा पर्ने थिइनन् कि ! सुधा, सुशीला र शुभद्राका आँखाबाट यसरी आँसु रित्तिने थिएन् कि !

तन्ना, महिलाका कपडा, चकटी, पर्दा र अरू यस्तै घरेलु प्रयोजनका कपडाका सामग्री बनाउने काम छोरीमैयाँले ३० वर्षदेखि नै सुरु गरेकी थिइन् । जैसीदेवलमा घर र ५ मिनेट पर लगनटोलमा उनको माइती थियो । माइतीतिरैकी बालसखा निक्की भनिने सुरक्षा सिंह छोरीमैयाँले तयार पारेका कपडाको बिक्री गरिदिन्थन् । उनी ढुकुटी खेलाउँथिन् र आपत परेका बेला छोरीमैयाँसँग सापटी पनि लिन्थन् । पति शिवकृष्णले नेपाल राष्ट्र बैंकको शाखा अधिकृत पदबाट अवकाश पाउँदा जम्मा भएको ४३ र व्यवसायबाट जम्मा गरेको ७ गरी ५० लाख रुपैयाँ निक्कीलाई उनले दिएकी थिइन् । छोरीको पढाइका लागि त्यो पैसा उनलाई चाहिएको थियो । तर निकै ताकेता गर्दा पनि निक्कीले पैसा फर्काइरहेकी थिइनन् । त्यस दिन पनि बिहान ८ बजे छोरीमैयाँ घरबाट निक्लिन् । निक्लेको १५-२० मिनेटपछि बानेश्वर पुगेर उनले फोन गरिन् । 'म निक्कीकोमा जाँदै छु,' उनले भनिन्, 'उनी घरमा छिन् कि छैनन्, एकपटक फोन गरिदेऊ त ।'सुधाले त्यसै गरिन् । 'आन्टी, ममी आउँदै हुनुहुन्छ' उनले सोधिन्, 'तपाईँ घरमै हो ?'

त्यस दिन निक्कीले निकै हतारमा कुरा गरिन् । 'म आफैंं फोन गर्छु' भनेर राखिदिइन् । सुधालाई त्यस क्षण अलिकता पनि शंका भएन । उनीहरूको भेट भयो होला भन्ने ठानेर सुधा र सुशीला दिनभरि आ-आफ्नै काममा घरबाट बाहिर निस्के । शुभद्रा दिनभरि कपडा काट्दै आमा कुरेर बसिन् । नफर्किएपछि दिउँसो उनले फोन गरिछन् धेरैपटक । कहिले फोन लागेर पनि उठेन । कहिले लाग्दै लागेन । कहिले उठेर पनि कुरा हुन सकेन । त्यसदिन उनले सारा गडबडी एनटीसीकै टावरले गर्दा भएको ठानिन् । बेलुकी फर्किएपछि उनीहरूले थाहा पाए, आमा फर्किएकी छैनन् । कुरो सुनेर सुधा अलमल्ल परिन् । हतपत उनले निक्कीलाई फोन गरिन् । 'आन्टी, ममी त अहिलेसम्म घर फर्किनुभएन !' त्यस क्षण उनका आँखामा आँसु होइन, आमाको माया बगिरहेको थियो । 'चिन्ता नगर' निक्कीले बडो सजिलो गरी उत्तर दिइन्, 'ममी एक दुई दिनमा आइहाल्छिन् । तर प्रहरीलाई खबर नगर्नु ।' सुधाको सुधो मनले के गर्ने के नगर्ने ठम्याउनै सकेन । उनले दिदीहरू शुभद्रा र सुशीलालाई बडा मुस्किलले आमा हराएको सूचना दिन सकिन् । निक्कीले प्रहरीलाई किन खबर नगर भनिन् ? यो उनीहरूले अझै बुझ्न सकेका थिएनन् । 

तीन दिदीबहिनीले हत्तपत्त केही गर्ने मेसो पाएनन् । पछि मामासँग सल्लाह मागे । सहरका सबै अस्पतालहरूमा गए । तर आमा कतै थिइनन् । बेलुकी आठ बजे छोरीमैयाँकै नम्बरबाट एउटा एसएमएस सुधाकोमा आयो, 'म मनकामनामा छु, साथी पनि छ । पर्सि आउँछु ।' त्यो सानो टेक्स्ट मेसेजले महर्जन परिवारमा भुइँचालै ल्याइदियो । नेपाली अक्षर सामान्य लेखपढ गर्न जाने पनि छोरीमैयाँलाई अंग्रेजी अलिकता पनि आउँदैनथ्यो । उनले मेसेज गर्न जानेकै थिइनन् । त्यसमाथि छोरीमैयाँको मोबाइलको डिस्प्ले बिग्रेको थियो । 'मेसेजले हामी एकदम आत्तियौं,' सुधा सम्झन्छिन्, 'मैले तत्काल फोन गरेँ, मोबाइल स्विच्ड अफ भइसकेको थियो ।' उनीहरू एकदम अत्तालिए । तुरुन्तै जनसेवा प्रहरी कार्यालय गए । आमा हराएको सूचना दिए । जनसेवाले मनकामना एरिया सबै सर्च गर्न लगायो । तर उनी फेला परिनन् । भोलिपल्ट उनीहरू हनुमानढोका पुगे । हराएको जाहेरी दिए । 'प्रहरीले त्यतिबेलै जाहेरी लिन आनाकानी गर्‍यो,' सुधा भन्छिन्, 'त्यो देखेर हामी थप निराश भयौं ।' जाहेरी दिएको पाँचौं दिन के भएछ भनेर उनीहरू बुझ्न गए । तर उपलब्धि शून्य थियो । डीएसपी आभूषण तिमिल्सिनाले अर्का डीएसपी अरुण बीसीलाई यो मामिला सुम्पेर उनी बिदामा बसेछन् । अरुणले चाहिँ दुई इन्स्पेक्टरलाई लगाइदिएको छु, भनेर उनीहरूलाई फर्काइदिए । एघारौं दिनमा पनि प्रहरीको अनुसन्धान कतै नपुगेको देखेर सुधाका दिदीबहिनी, बा, आफन्त र छिमेकी पनि हनुमानढोकामा धर्ना दिन पुगे । धर्नापछि हनुमानढोकाको अपराध महाशाखाले अनुसन्धान बढाउने वाचा गर्‍यो । इन्स्पेक्टर अर्जुन केसीले अनुसन्धान थाले पनि । 'उहाँको अनुसन्धानबाट हामी निकै सन्तुष्ट पनि थियौं,' सुधा भन्छिन्, 'आमालाई चाँडै फेला पार्छाैं भन्ने कुरामा पूर्ण विश्वस्त थियौं ।' प्रहरीले कल डिटेल्स झिकायो । त्यसमाथि अनुसन्धान थाल्यो । त्यसबाट इन्स्पेक्टर केसीले निष्कर्ष निकाले, 'प्राइम सस्पेक्ट' निक्की सिंह । अपराध महाशाखाका डीएसपी रवीन्द्र धानुकले एक दिन सुधालाई बोलाए र भने पनि, 'निक्कीले नै तिम्रो आमालाई बेपत्ता पारेको हो । निक्कीलाई नै सबै कुरा थाहा छ ।' 'तर अहिले यसबारेमा डीएसपी बोल्न चाहँदैनन्, अनुसन्धान गर्ने इन्स्पेक्टर कुरा गर्नै मान्दैनन्,' सुधाले आँसु पुछिन्, 'पुलिसजस्ता मान्छे किन फेरिएका यसरी ?'

आमा खोज्न यी तीन छोरीले धेरै संघर्ष गरे । सहरभरिका मानिसको हस्ताक्षर संकलन अभियान थाले, धर्ना दिए । तर अहँ, छोरीमैयाँ कहीँ कतै फेला परिनन् । साउन २६ गते सातदिने रिले अनशन पनि बसे । त्यो बसेको पाँचौं दिनमा गृह मन्त्रालयका सहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा छानबिन समिति बन्यो । सात दिनभित्र सत्यतथ्य पत्ता लगाउने कुरो थियो समितिको । तर त्यो गठन भएकै ५ महिना बितिसक्यो । कुनै तथ्य बाहिर आएको छैन । 'मैले त उहिल्यै प्रतिवेदन बुझाइसकेको हो,' दुवाडी भन्छन्, 'गृह मन्त्रालयले किन बुझाएन, त्यो म जान्दिनँ ।' प्रतिवेदनमा धेरै कुरा प्रस्ट भए पनि त्यसबारे मन्त्रालयले नभनेसम्म आफूले मुख खोल्न नमिल्ने दुवाडीको कुरो सुनेपछि सुधा धेरैपटक मन्त्रालय धाइन् । तर उत्तर कसैले दिएन । उल्टै छोरीमैयाँका छोरीहरू जाँदा अचेल समितिका अधिकारीहरू झर्काे मान्छन् । भेट्न चाहँदैनन् । यस्तोमा उनीहरू अलमलमा छन् । अब के गरे आमा फेला पर्लिन् ? यही समयमा अकुपाई बालुवाटार भन्ने अभियान सुरु भएको उनीहरूले सुने । महिला हिंसाविरुद्धको यो अभियानको सुधा, सुशीला र शुभद्राले आफूहरूलाई पनि एउटा सदस्य ठानेका छन् । सारा काम छाडेर उनीहरू बिहानै बालुवाटार पुग्छन् । प्लेकार्ड बोकेर उभिन्छन् । आमा खोजिपाऊँ भनेर नारा उराल्छन् । त्यस बेलासम्म आँखा बिझाउने गरी धेरैपटक आँसु झरिसक्छ । यसरी हरेक दिन उनीहरू आमाको खोजीमा घरबाट निस्कन्छन् । यसरी बालुवाटार जान थालेपछि छोरीमैयाँ हराएका बारे प्रहरीले फेरि अनुसन्धान थाल्यो । यसपटक केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अगाडि बढाएको छ । तर त्यसले सुधाहरूको हृदयमा आशा होइन, उल्टै आक्रोश, संशय र निराशा मात्रै बढाएको छ । 

उदाहरणका लागि गएको आइतबारकै घटना उनीहरू अगाडि सार्छन् । त्यस दिन ब्युरोले छोरीमैयाँका छोरीलाई सोधपुछका लागि बोलायो । सुधा र सुशीला गए । जाँदा उनीहरूले जे देखे त्यो कल्पना पनि नगरेको दृश्य थियो । 

कोठाभित्र पुग्दा त निक्की आफ्ना श्रीमान्सहित डीएसपी दिनेश आचार्य र सई राजन पौडेलसँग हाँसेर बात मार्दै बसिरहेका थिए । तिनले 'लौ तपाईंहरू कुरा गर्नुस्' भनेर उनीहरूलाई छाडिदिए । अनि मोबाइल स्विच अफ गर्न पनि भने । 'हामीले मोबाइल स्विच अफ गर्न मानेनौं, अर्जेन्ट कल आउन सक्ने भएकाले बरु साइलेन्समा राख्छु भन्यौं,' सुधा भन्छिन्, 'तर प्रहरीले जबरजस्ती नै गर्‍यो, मोबाइल खोसिदियो ।' प्रहरीको यो चाला देखेर उनीहरू स्तब्ध थिए । यो सारा संसार आफूलाई जिस्क्याउन र पीडा दिनका लागि मात्रै भएजस्तो लाग्यो सुधालाई । तर डीएसपी आचार्य यसलाई अनुसन्धानकै एउटा पाटो ठान्छन् । 'हामीले उनीहरू दुईको भेट हुँदा निक्कीको प्रतिक्रिया कस्तो हुँदो रहेछ हेर्न खोजेका थियौं,' उनी भन्छन्, 'तर बहिनीहरूले कुरै बुझ्नुभएन ।' 'निक्की सिंहलाई चिन्नुहुन्छ ?' त्यही प्रतिक्रिया बुझ्न होला, उनले सुधालाई सोधेका थिए । 'पहिले चिनेको थिइनँ, अहिले चिन्न थालेँ,' सुधाले जवाफ दिइन् । 

निक्की उनलाई हेरेर मुसुमुसु हाँसिरहेकी थिइन् । 'आमासँग लिएको ५० लाख हामीलाई चाहिँदैन,' दुवै दिदीबहिनीले निक्कीलाई भने, 'हाम्री आमा हामीलाई फर्काइदिनुस् ।'निक्कीले भनिन्, 'प्रमाण के छ ?'

'हनुमानढोकामा छ त्यो प्रमाण,' सुधाले प्रहरीतिर हेरेर भनिन्, 'निक्की सिंहले ढुकुटी खेलाउँथिन्, आमासँग पैसा त्यसैका लागि लिइकी थिइन् । त्यो प्रमाण हनुमानढोकामा छ ।' त्यसबारे प्रहरी केही बोलेनन् । उनीहरू त्यहाँबाट निराश भएर र्फके । अहिले प्रहरी झनै पीडा दिने खालको प्रश्न गरिरहेको छ । त्यसै दिन एक भारतीय पनि हराएको थियो, तिम्री आमा पनि हराइन् । उसैसँग पो भागिन् कि पो भन्छ प्रहरी त !

'यो पनि कुनै प्रश्न हो ?' सुधाले तुरुक्क आँसु झारिन्, 'प्रहरी किन निक्कीको बोली बोलिरहेको छ ?'

आमा हराएदेखि सुधा ढुक्कले निदाउन सकेकी छैनन्, प्रस्टसँग जाग्न सकेकी पनि छैनन् । मणि हराएको नागजस्तो उदास छ उनको घर । मुद्दा लड्दा, सारा काम छाडेर आमालाई खोज्न पर्दा र वकिललाई फी तिर्दा तिर्दा महर्जन परिवारको आर्थिक अवस्था बिग्रनुसम्म बिग्रेको छ । एकातिर आमा छैनन्, अर्कातिर जिन्दगीभर रगत पसिना एक गरेर जम्मा पारेको ५० लाख पनि छैन । 'हामीलाई पैसा चाहिन्न,' सुधा भन्छिन्, 'आमा भए पुग्छ ।'

प्रहरीको यत्रो ठूलो अनुसन्धान, छानबिन समिति गठन र यतिका ठूलो दबाबपछि पनि सुधाले आमाका बारेमा कुनै सुइँकोसम्म फेला पार्न सकेकी छैनन् । आखिर के भयो उनकी आमालाई ? जमिनले निल्यो कि आकाशले लुकायो ? घामले सुकायो कि हावाले उडायो ? कसले भनिदेला उनलाई- कसले बेपत्ता बनायो ? 

निक्की भन्छिन्, उनलाई छोरीमैयाँका बारेमा थाहै छैन । 'उनी कहाँ छिन् भन्ने जानेका भए सबभन्दा पहिला मै सडकमा उत्रिन्थें नि,' छोरीमैयाँलाई अपहरण गरी शरीर बन्धक बनाएको मुद्दा काठमाडौं जिल्ला अदालतमा खेपिरहेकी र त्यसबापत केही दिन थुनिएर १ लाख धरौटीमा छुटेकी उनी भन्छिन्, 'छोरा अमेरिका पठाउँदा खाँचै परेर ५ लाख लिएकी थिएँ, त्यो पनि मैले हनुमानढोकामा सुधालाई उनकै मामा साक्षी राखेर दिइसकेँ ।' सुधा भन्छिन्, 'पैसाको खाँचै परेकाले त्यति भए पनि लिएँ ।' यो आरोप र प्रत्यारोपबीच सत्यको खोजीमा जुटेको प्रहरी पनि अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन । 'अनुसन्धान भन्ने कुरो बत्ती बालेजस्तो एकैपटक हुने कुरो पनि होइन,' यो मुद्दाको सुरुका अनुसन्धाता इन्सपेक्टर अर्जुन केसी भन्छन्, 'कहिलेकाहीँ अनुसन्धान नतिजामा पुग्न धेरै समय लाग्छ, कहिले पुग्नै सकिँदैन ।' यसो भनेर उनी छोरीमैयाँको मुद्दामा केही बोल्न चाहेनन् । केन्द्रीय अनुसन्धान ब्युरोले हेरिरहेकाले आफू बोल्नु कच्चा काम हुने उनी ठान्छन् । उता ब्युरोका डीएसपी दिनेश आचार्य अहिले अनुसन्धान नै नसकिएकाले निष्कर्ष नआउने तर्क गर्छन् । सबैका कुरा आआफ्ना ठाउँमा तर्कपूर्ण नै लाग्छन् । तर पनि प्रश्न ज्यूँका त्यूँ छ, छोरीमैयाँ आखिर छिन् कहाँ ? 





----घनश्याम खदका , कोशेली 



Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis