पाँच कक्षा पढ्दै गर्दा एउटा मिल्ने केटा साथी थियो। सँगै खेल्ने, खाने र पढ्ने गर्थ्यौं। मैले नजानेको उसले सिकाउने, उसले नजानेको मैले। उसले त मलाई मन पराउन पनि थालेछ। एकदिन अचानक 'कुञ्जना, आई लभ यू' पो भन्यो। मलाई त के गर्नु, गर्नु भयो। दिदीलाई भनेँ। उहाँले 'केटाहरू यस्तै हुन्छन्' भन्नुभयो। निकैपछिको भेटमा त्यो दिन सम्झेर ऊ र म जिस्कियौं।
दोस्रो पटक कक्षा ७ मा पढ्दै गर्दा अर्को केटाले मलाई प्रेम प्रस्ताव राखेको थियो। एकदिन बाटोमा अचानक अपरिचित केटाले 'आई लभ यू' भन्यो। म त हेरेको हेर्यै! पछि उसैले कुरा खोल्यो। स्कुलबाट पिकनिक
जाँदा देखेको रहेछ मलाई। तर, मैले चाहिँ याद गरेकी रहिनछु। भित्रभित्रै मलाई सपनाकी राजकुमारी बनाइसकेको उसले त्यो दिन मलाई देखेपछि आफूलाई रोक्नै सकेनछ। प्रेमपत्र लेखेर गोजीमै राखेको रहेछ, त्यो पनि दियो। नलिए अरूले देख्ने ठानेर हत्तपत्त लिएँ। पछि उसलाई 'अहिले म लभसभतिर लाग्दिनँ' भनेर पन्छिन खोजेँ। तर, उसले मेरो पिछा छाडेन। अति भएपछि अर्कैसँग चक्कर छ भनेर टारेँ। नौ कक्षामा पढ्दै गर्दा अर्काे साथीले मन्दिरमा बोलाएर गुलाब दियो। नकारिनँ, लिएँ। तर, पछि सम्झाएर पठाएँ।पद्मकन्या पढेकाले लामो समय केटाहरूसँग सरसंगतै भएन। नाटकको सिलसिलामा सितारामजी (सिताराम कट्टेल) सँग भेट भयो। सँगै काम गर्दा स्वभाविकै रूपमा नजिकियौँ। असाध्यै मिल्ने साथी बन्यौँ। सीतारामजीले भने मलाई साथीभन्दा पनि नजिकको सोचिसक्नुभएको रहेछ। एकदिन सुटिङमै मनपेट खोल्नुभयो। मैले चाहिँ त्यस्तो सोच्दै नसोचेकाले तत्काल निर्णय दिन सकिनँ। त्यसैले 'करिअरमा फोकस हुनुपर्छ' भन्दै टारेँ। एउटै ठाउँमा सँगै काम गर्दा म पनि उहाँको यति नजिक पुगिसकेकी रहिछु कि टाढा हुन सकिनँ। लाग्यो, उहाँभन्दा मलाई बुझ्ने र माया गर्ने मान्छे कोही हुनै सक्दैन। त्यसपछि उहाँको प्रस्तावमा सहमति जनाएँ।
प्रस्तुतिः सुकृत नेपाल