CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » फ्याँक्ने जुत्ता बेचेर उपभोक्ता ठगी

फ्याँक्ने जुत्ता बेचेर उपभोक्ता ठगी

काठमाडौं। राजधानीको राष्ट्रिय सभागृहको प्रांगणमा बिग सेलको नाममा केही छालाजुत्ता कम्पनीले कवाडीमा फ्याँक्ने खालका जुत्ता बिक्री गरेर उपभोक्ता ठगेको पाइएको छ। जुत्ता प्रयोग गर्न नमिल्ने (ड्यामेज) वा क्षणिक समयका लागि मात्र प्रयोग गर्न मिल्ने जुत्ताको उच्च मूल्यांकन गरेर ८० प्रतिशतसम्म छुट दिएको बहनामा उपभोक्ता ठगेका हुन्।  
नेपाल छाला जुत्तामा आत्मनिर्भर उन्मुख भएको अवस्थामा ६ वटा उद्योगको मिलेमतोमा गरिएको बिग सेल मेलाले न्यून गुणस्तरका जुत्ता–चप्पल बिक्री गरेपछि स्थानीय उत्पादनको साख गिर्ने खतरा बढेको छ। बिक्री (सेल) मेला लाग्दा सामान्य 'फेसन आउट' सामग्रीलाई लागत मूल्यमा नै बिक्री गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यताविपरीत विशेष छुटका नाममा चर्को मूल्य असुल
गरेर उपभोक्ता ठगेको पाइएको हो।  
उपभोक्ताले सामान खरिद गरेर लिएको बिलसमेत मेलाको मूल गेटबाट खोसेर उपभोक्ताको अधिकार र राजस्वमाथि ठगी गरिएको छ। छाला तथा वस्तु उत्पादक संघ नेपालको संस्थागत निर्णयबिना नै गरिएको उक्त मेलामा कोसेली, बीएफ डेयर बिल, स्काई, शिखर, फिदर विंस र टाकुरा गरी ६ वटा उद्योगका उत्पादनको मात्र सहभागिता रहेको छ। संघमा आबद्ध भएका थप ५९ वटा अन्य स्थापित उद्योग मेलामा सहभागी भएका छैनन्। संघको सक्रियतामा १५ दिनअगाडि भृकुटीमण्डपमा नै छालाजुत्ता प्रदर्शनी गरेको भए पनि माघ ५ देखि १८ सम्म पुनः बिग सेल गरेर उपभोक्तामाथि मूल्य र गुणस्तरमा अन्याय गरिएको उपभोक्ता अनुसन्धान 
मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताउनुभयो। 'नियमन निकाय नभएको मौका छापेर उपभोक्तामाथि गरिएको शोषण हो यो'– उहाँले भन्नुभयो।  
दुई दिनअगाडि मेलाबाट दुई जोर जुत्ता खरिद गरेका कोटेश्वरका रामचन्द्र थापाले घरपुग्दा कामै नलाग्ने जुत्ता पत्ता लागे पनि सोमबार साट फेर गर्न पाएनन्। कोसेली जुत्ताबाट २० देखि ८० प्रतिशत छुटका नाममा जुत्ता खरिद गरेका थापा मेलामा पछुतो मानेर बसेका थिए। ६ वटा उद्योगले नै सुरुमा नै जुत्ताको १ हजार ५ सयदेखि ४ हजार ५ सयसम्म उच्च्ा मूल्यांकन गरेर २० देखि ८० प्रतिशत छुट दिएको उपभोक्तालाई भ्रम पारेका छन्। मेलामा उपलब्ध जुत्ता चप्ललमा एउटै साइज नहुने, एउटा राम्रो एउटा नराम्रो हुने, सिलाइ फाटेको, सोल घर्सेकोलगायतका सामानसमेत बिक्री गरिएको छ।  
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मेलाको नाममा उपभोक्तामाथि ठग्ने उद्योगी र बिक्रेतालाई उपभोक्ता संरक्षण ऐन २०५४ तथा नियमावली २०६५ को प्रयोग गरेर हदैसम्मको कारबाही गर्न सकिने व्यवस्था रहेको बताउनुभयो। उहाँका अनुसार उक्त कारबाही वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय तथा प्रहरीले अगाडि बढाउन सक्नेछ। छाला तथा वस्तु उत्पादक संघ नेपालका अध्यक्ष होमनाथ उपाध्यायले कम्पनीमा भण्डारण भएका जुत्तालाई बिग सेलको नाममा हटाउनुपर्ने भएकाले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार संस्थागत निर्णयबिना नै गरिएको उक्त मेलामा बिक्री भएका जुत्ता चप्पलको उद्योगले ग्यारेन्टी र जिम्मेवारी दिन सक्दैनन्।  
सांग्रिलामा मान्छे राख्न दादागिरी 
व्यवस्थापनले हटाएको कर्मचारीलाई पुनर्बहालीको माग राख्दै क्यासिनो सांग्रिलाका माओवादीनिकट मजदुर युनियनले दादागिरी मच्चाउन थालेका छन्। श्रम ऐनअनुसार नै अवकाश दिइएकाले पुनर्बहाली हुन नसक्ने अडानमा व्यवस्थापन रहे पनि उनीहरूले पुनर्बहाली गराएरै छाड्ने भन्दै सत्ताको दुरुपयोग गरेर धम्की दिन थालेको बताइन्छ। प्रसंग क्यास माओवादीनिकट अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ सांग्रिला एकाइका सचिव मुकुन्द पन्तको होत्। क्यासिनोमा तास फिट्ने क्रुपियर पदमा पाँचौं तहमा कार्यरत उनलाई असोज २९ यता बिना पूर्वजानकारी ड्युटीमा उपस्थित नभएको भन्दै सेवाबाट हटाएको पत्र व्यव्ास्थापनले पुस ३ गते दिएको थियो। त्यसयता पन्तको पुनर्बहालीको माग गर्दै क्यास माओवादी पक्षीय मजदुरहरूले दिनहँुजसो कार्यालयको काम अस्तव्यस्त बनाइरहेको एक मजदुर नेताले बताए। पन्तको पुनर्बहाली गर्ने भए विगतमा यही बेहोराका कारण जागिरबाट बर्खास्त गरिएका अमित डीसी, अमितप्रताप मल्ल र वसन्त खड्कालगायतको पनि पुनर्बहाली गर्नुपर्ने अन्यथा कसैलाई काखा र कसैलाई पाखा गरिन नहुने भन्दै एमाले, कांग्रेस र ड्यास माओवादी निकट संगठन एक भएका छन्।  
एमाओवादी युनियनको एकाइ सचिवसमेत रहेका पन्तको पुनर्बहाली गराउन भन्दै एक हप्ताअघि सञ्चारमन्त्री अग्नि सापकोटा र शालिकराम जमरकट्टेल होटल पुगी त्यसका मालिक प्रशिद्ध पाण्डेलाई पुनर्बहाली नगरे नराम्रो हुने चेतावनी दिएको बताइन्छ। व्यवस्थापनले पन्तको आचरण खराब भएको र लगातार अनुपस्थित भएको विषयमा सोधिएको स्पष्टीकरणमा जवाफ नदिएको र फेरि ३० दिनभन्दा बढी बिनाबिदा काममा नआएको भन्दै प्रचलित श्रम ऐनअनुसार हटाउन बाध्य भएको बताएको थियो। क्यासिनो व्यवस्थापनको पछिल्लो निर्णयपछि भने पन्तका समूह कार्यालय आएर सूचना पार्टी जलाउने, तोडफोड गर्ने र जबर्जस्ती हाजिर गरेर फर्कने गरेपछि होटल साहुसमेत तनावमा परेको बताइन्छ। दिनहँु क्यासिनोमा पुनर्बहालीको विषयमा तनाव हुन थालेपछि मानव संसाधन विभागका निर्देशक निरञ्जनकुमार घिमिरे र उनका सहायक आसुतोष ज्ञवाली आफूले बोक्ने गरेका मोबाइलका स्विच अफ गरी कार्यालय नै उपस्थित हुन छोडेका छन्। 

----माघ १७ , बुधबार 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis