- राजधानीका नाम चलेका स्कुलको इन्ट्रान्सका लागि तयारी कक्षा भन्दै निजी इन्स्टिच्युटहरूद्वारा मनपरी असुली
पुरानो बानेश्वर, काठमाडौँका विकास शाहीले आफ्नो छोरालाई हालसालै नयाँबानेश्वरको एक इन्स्टिच्युटमा एक प्रतिष्ठित स्कुलको 'इन्ट्रान्स' (प्रवेश परीक्षा)का लागि तयारी कक्षामा भर्ना गरिदिए। कक्षा सकिनै लाग्दा इन्स्टिच्युट सञ्चालकले भनेछन्, 'तपाईंको छोरा पढाइमा कमजोर छ, भर्ना नै गर्ने भए साढे तीन लाख रुपियाँजति खुवाउनुपर्छ ।' सञ्चालकको त्यस्तो भनाइ सुनेपछि उनी झसंग
भए। भन्छन्, "शिक्षाको नाममा त गजबको धन्दा हुँदो रहेछ।"राजधानीका प्रतिष्ठित स्कुलहरूमा आफ्ना छोराछोरी पढाउने सपनाकै कारण ठगिने शाही एक्ला अभिभावक होइनन्। नाम चलेका स्कुलहरूले प्रत्येक शैक्षिक सत्रमा भर्नाका लागि लिने इन्ट्रान्स तयारी कक्षा भन्दै राजधानीमा छ्यापछ्याप्ती खुलेका इन्स्टिच्युटहरूले महँगो शुल्क असुलेर अभिभावक ठगिरहेका छन्। त्यस्ता इन्स्टिच्युटले न ती स्कुलसँग कुनै सम्बन्धन लिएका छन्, न सरकारी अनुमति नै। कर तिर्ने कुरा त झन् परकै भयो।
सेन्ट जेभियर्स, सेन्ट मेरजि, उलन्स, रातो बंगला र बूढानीलकण्ठजस्ता स्कुलले लिने इन्ट्रान्सका लागि तयारी कक्षा सञ्चालन गर्ने त्यस्ता इन्स्टिच्युटले कक्षा १ मा भर्ना हुन चाहनेबाट १० देखि १५ हजार रुपियाँसम्म शुल्क असुल्छन्। अझ अनौठो त के भने अधिकांश त्यस्ता इन्स्टिच्युटले सम्बन्धित विद्यालयको जस्तै नाम राखेर अभिभावक झुक्याइरहेका छन्। जस्तो : नयाँबानेश्वरमा रहेको सेन्ट जेभियर्स एजुकेसनल कन्सलटेन्सी। यसले महिनौँदेखि ठूलो तुल टाँगेर विद्यार्थीका लागि तयारी कक्षा चलाइरहेको छ। बूढानीलकण्ठ स्कुलमा कक्षा ५ र अन्य स्कुलमा कक्षा १ का लागि लिइने इन्ट्रान्सको तयारी कक्षाबापत यो इन्स्टिच्युटले क्रमशः १० र १२ हजार रुपियाँ लिन्छ।
अभिभावक बनेर पुगेको यस संवाददातालाई इन्स्टिच्युटका कर्मचारीले बालबालिकालाई नाम चलेका स्कुलमा भर्ना गर्नका लागि तयारी कक्षाको विकल्प नभएको बताए। दैनिक एक घन्टा कक्षा र हरेक साता लिइने परीक्षाकै भरमा बालबालिकालाई परीक्षामा सहभागी हुन योग्य बनाइदिने तिनको दाबी थियो।
स्कुलकै नामसँग मिल्दोजुल्दो नाम राखेर सञ्चालनमा रहेको यस इन्स्टिच्युटले ब्रोसर (प्रचार पुस्तिका) नै छापेको छ। ब्रोसरमा सेन्ट मेरजि स्कुल भनेर अरू नै स्कुलको तस्बिर प्रयोग गरिएको छ भने सेन्ट मेरिज स्कुलको अंग्रेजी हिज्जेसमेत गलत लेखिएको छ। स्कुलकी प्राचार्य मार्लिन सीजे आफ्नो स्कुलको तस्बिर र नाम अनुमतिबिना प्रयोग गर्नु कानुनविपरीत भएको बताउँछिन्। इन्स्टिच्युटका निर्देशक दीपक कोइराला अभिभावकले स्कुलको ठेगाना थाहा पाउन् भनेर मात्रै फोटो प्रयोग गरेको बताउँछन्। भन्छन्, "स्कुलसँग त हाम्रो कुनै सम्बन्ध र सम्पर्क छैन।"
रातो बंगला स्कुलकी प्राचार्य शान्ता दीक्षित पनि विभिन्न इन्स्टिच्युटले आफ्नो स्कुलले लिने इन्ट्रान्सको तयारी कक्षा बिनाअनुमति चलाइरहेको बताउँछिन्। भन्छिन्, "तर, हामीले केही गर्न सक्ने अवस्था छैन। सरकारको जिम्मेवार निकायले यो विषयमा केही बोल्नुपर्ने हो।"
गौशालाका चेतनाथ आचार्य आफ्नी छोरीलाई नाम चलेको स्कुलमा कक्षा १ मा भर्ना गर्न चाहन्छन्। तर, त्यस्ता स्कुलमा भर्ना गर्नु उनका निम्ति सजिलो काम भने होइन। त्यसैले उनले नाम चलेका स्कुलको इन्ट्रान्सका लागि तयारी कक्षा चलाउने दर्जन इन्स्टिच्युट चहारसिकेका छन्। भन्छन्, "चर्को शुल्क त छँदै छ, आकर्षक लाग्ने अपत्यारिला कुरा पनि सुनाउँदा रहेछन्। धेरै अभिभावक त्यस्ता इन्स्टिच्युटले थापेको बल्छीमा पररिहेका छन्।"
नयाँबानेश्वरमै रहेको काठमाडौँ सेन्ट जेभियर एजुकेसनल कन्सलटेन्सीले पनि त्यस्तै तयारी कक्षा चलाइरहेको छ। कन्सलटेन्सीका म्यानेजिङ् डाइरेक्टर शैलेश सुवेदीका अनुसार अहिले १३ विभिन्न समूहमा तयारी कक्षा सञ्चालन भइरहेको छ। उनी दुईमहिने अवधिको कक्षा १ को तयारीका लागि ११ हजार र कक्षा ५ का लागि १५ हजार रुपियाँ लिन्छन्।
सुवेदी नाम चलेका स्कुलले थोरै संख्यामा विद्यार्थी भर्ना लिने गरेका कारण कतिपय अभिभावक पैसा खुवाएर भए पनि नाम निकाल्न तयार भएको बताउँदै धाउने गरेको सुनाउँछन्। यो तथ्यले नाम चलेका स्कुलमा भर्नाका लागि अभिभावकबीच भइरहेको अस्वस्थ प्रतिस्पर्धा र त्यसैको आडमा इन्स्टिच्युटहरूले कसरी चर्को शुल्क लिएर अभिभावक झुक्याइरहेका छन् भन्ने बुझ्न गाह्रो पर्दैन।
बूढानीलकण्ठ स्कुलले कक्षा ५ मा छात्रवृत्ति कोटा अन्तर्गत ४० जना र सशुल्क अन्तर्गत ८० जना भर्ना लिन्छ। त्यसका लागि क्रमशः दुई हजार र ६ सयसम्म आवेदन पर्छन्। कक्षा १ मा १ सय ३५ जना विद्यार्थी भर्ना लिने सेन्ट जेभियर्समा बर्सेनि चार हजारभन्दा बढी आवेदन पर्छन्। सेन्ट मेरजिले कक्षा १ का लागि लिने प्रवेश परीक्षाका निम्ति करबि दुई हजार आवेदन पर्ने गरेका छन्। त्यस्तै कक्षा १ का लागि बर्सेनि तीनदेखि चार सय आवेदन पर्ने रातो बंगला स्कुलले ६० जनालाई मात्रै भर्ना लिन्छ।
यस्ता विद्यालयमा भर्ना गराउन तयारी कक्षा सञ्चालन गर्ने अर्को संस्था हो, बागबजारस्थित जीपीएस नेपाल प्राइभेट लिमिटेड। उसले कक्षा १ को तयारी कक्षाका लागि दुईमहिने 'कोर्स'मा १० हजार ५ सय रुपियाँ लिन्छ। यस संवाददातासँग त्यहाँका कर्मचारीले सेन्ट जेभियर्सकै शिक्षकहरूले तयारी कक्षा लिने गरेको बताएका थिए। तर, सेन्ट जेभियर्सका प्राचार्य अमृत राई आफ्नो स्कुलका शिक्षकले बाहिर इन्स्टिच्युटमा नपढाउने जिकिर गर्छन्।
आफ्नो स्कुलको नाम, फोटो र लोगो बेचेर तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटहरूबाट नाम चलेका स्कुलसमेत आजित छन्। कतिसम्म भने सेन्ट मेरजि स्कुलले आफ्नो गेटमै स्कुलको कुनै पनि संस्थासँग सम्बन्ध नरहेको सूचना नै टाँसेको छ। प्राचार्य मार्लिन सीजे भन्छिन्, "त्यस्ता इन्स्टिच्युटमा पढाएकै भरमा आफ्ना छोराछोरी इन्ट्रान्सका लागि अब्बल हुन्छन् भन्ने ठान्नु गलत हो।"
सेन्ट जेभियर्स स्कुलका प्राचार्य राईले आफ्नो स्कुलको नाम बेचेर बारम्बार तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटहरूलाई थुप्रैपटक त्यस्तो काम नगर्न अनुरोधसमेत गरसिकेका छन्। भन्छन्, "हामीलाई नै नसोधीकन स्कुलको फोटो र लोगो प्रयोग गरेर अभिभावक झुक्याउने काम भइरहेको छ।"
त्यसो त अधिकांश इन्स्टिच्युटले नाम चलेका स्कुलमा पढाएका भूतपूर्व शिक्षकहरूबाट तयारी कक्षा चलाइरहेका छन्। विद्यार्थीको क्षमता नै नबुझीकन जसलाई पनि भर्ना लिने र पढाइदिने यस्ता इन्स्टिच्युटको उद्देश्य हो, विशुद्ध व्यापार। जस्तो: नयाँबानेश्वरमै रहेको बूढानीलकण्ठ इन्टरनेसनल एकेडेमी। यहाँ सबैभन्दा धेरै बूढानीलकण्ठ स्कुलमा कक्षा ५ मा भर्ना हुन चाहने बालबालिका छन्। हाल १७ समूहमा कक्षा चलाइरहेको एकेडेमीले कक्षा १ र कक्षा ५ को दुईमहिने तयारी कक्षाका लागि क्रमशः १० र १२ हजार रुपियाँ शुल्क लिन्छ। विद्यार्थीको तस्बिर राखेर एकेडेमीले तयार पारेको ब्रोसरमा तयारी कक्षा लिएका १ हजार ३ सय ९१ जना विद्यार्थीले सेन्ट जेभियर्स, सेन्ट मेरजि, रातो बंगला र उलन्स स्कुलमा भर्ना पाएको उल्लेख छ। तर, सेन्ट जेभियर्सका प्राचार्य ब्रोसरमा उल्लेख भएका धेरै विद्यार्थी आफ्नो स्कुलका नभएको बताउँछन्।
अभिभावक बनेर पुगेको नेपाल संवाददातासँग एकेडेमीकी प्रमुख कार्यकारी अधिकृत अन्जु भट्टराई (सुवेदी)ले 'कोर्स'को अन्तिमतिर केही दिन बूढानीलकण्ठकै शिक्षकहरू आएर पढाउने बताइन्। बूढानीलकण्ठ स्कुलका प्राचार्य नारायण शर्मा भने आफ्ना शिक्षकले कानुनी रूपमै बाहिरी इन्स्टिच्युटमा पढाउन नपाउने दाबी गर्छन्। भन्छन्, "कसैले पढाएको थाहा पाए तुरुन्तै कारबाही गर्छौं।" स्रोतका अनुसार बूढानीलकण्ठ स्कुलकै शिक्षकहरू यस एकेडेमीसँग चोर बाटोबाट आबद्ध मात्रै छैनन्, आफ्नो नामै बदलेर समेत कक्षा लिने गरेका छन्।
नाम चलेका स्कुलप्रतिको बढ्दो आकर्षणका कारण यस्तो विकृति देखिएको त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा केदारभक्त माथेमाको भनाइ छ। उनी कक्षा १ मा भर्नाका लागि हुने तयारी कक्षा शिक्षाका नाममा व्यापारबाहेक केही नभएको बताउँछन्। भन्छन्, "यो बजार अर्थतन्त्रले निम्त्याएको भद्दा विकृतिसिवाय केही होइन।"
शिक्षा मन्त्रालयका विद्यालय व्यवस्थापन शाखाका उपनिर्देशक रामकृष्ण सापकोटा साना कक्षाका लागि समेत चर्को शुल्क लिएर पूर्वतयारी कक्षा चलाउने प्रवृत्तिले शैक्षिक पद्धतिलाई नै नराम्रो बाटोमा लैजाने बताउँछन्। भन्छन्, "कोचिङ् कक्षा सञ्चालन गर्न पनि जिल्ला शिक्षा कार्यालयको अनुमति चाहिन्छ। यसका लागि शिक्षा विभागले छुट्टै निर्देशिकासमेत बनाएको छ।"
जनकराज सापकोटा