नब्बेको दशकले तीन खानको त्रिमूर्ति जन्मायो- शाहरुख, आमिर र सलमानको । र, सुपरस्टारको दर्जा पाए शाहरुखले । पाँच वर्षजतिको सन्न्यासपछि अमिताभ फेरि पर्दामा फर्किंदा शाहरुख उदाउँदो सूर्यका रूपमा चम्किन थालिसकेका थिए । उनका फिल्मले बक्स अफिसमा 'रेकर्ड तोड' सफलता पाइरहेका थिए । आफैँले बनाएको फिल्म 'मृत्युदाता'को भयानक असफलतापछि सन् १९९८ मा अमिताभले फेरि अर्को फिल्म बनाए । उनले बनाएको 'मेजर साब' अलावा उनका अरू दुई फिल्म 'लाल बादशाह' र 'बडे मियाँ छोटे मियाँ' आए । यीमध्ये उनको पछिल्लो फिल्म मात्र राम्ररी चल्यो । तर, यो समयमा शाहरुख 'कुछ कुछ होता है' जस्तो फिल्मको सफलताले
स्टारडमको चरममा थिए । यस्तैमा, १९९९ मा आयो, यश चोपडाको फिल्म 'मोहब्बतें' । अमिताभका साथ 'दिवार', 'कभी कभी', 'सिलसिला'लगायत चर्चित फिल्म बनाएका यश चोपडाका छोरा आदित्यले फिल्मको निर्देशन गरेका थिए, जसले शाहरुखको साथमा आफ्नो पहिलो फिल्म 'दिलवाले दुल्हनिया ले जाएंगे' बनाएका थिए । फिल्ममा पहिलोपटक अमिताभ र शाहरुखसँगै थिए । अमिताभपछिको स्थान ओगटेका शाहरुखले अमिताभको सम्मानमा थुपै्र अन्तर्वार्ताका पाना भरे । फिल्म आयो र चल्यो पनि । फिल्मले अमिताभलाई राम्रै सहारा पनि दियो । तर, फिल्मका हिरो थिए- शाहरुख । एउटा बूढो र जिद्दी पि्रन्सिपलको भूमिकामा अमिताभ युवा शिक्षक शाहरुखका अघि थिए । फिल्मको अन्त्यमा शाहरुखका अघि अमिताभको पराजय चित्रित थियो । तर, गजब के भयो भने यो फिल्मपछि नै 'कौन बनेगा करोडपति' सुरु भयो । यो टेलिभिजन गेम सोले अमिताभको भाउ ह्वात्तै बढाइदियो । घर-घरमा फेरि अमिताभको महानताको गाथा सुरु भयो । फेरि एकपटक अमिताभको युग सुरु भएको मानियो । अर्को वर्ष ऋत्विक रोशन बलिउडमा आए । उनको पहिलो फिल्म 'कहो ना प्यार है'ले पाएको सफलताले ऋत्विक एउटै फिल्मबाट बलिउडको सबैभन्दा ठूलो स्टार बने । समग्रमा शाहरुखको अवस्था अलि खस्किएको थियो । यसपछि पनि अमिताभ र शाहरुखले 'कभी खुसी कभी गम', 'कभी अलबिदा ना केहेना'लगायत फिल्ममा सँगै अभिनय गरे । दुवै भएका सबै फिल्म हिट थिए ।
तर, शाहरुखको 'म्याजिक' यति चाँडै सकिनेवाला थिएन । उनी पुनः फिल्ममा नयाँ ऊर्जामा प्रकट भए । यता, ऋत्विकको सफलता सामान्यमा झर्दै गयो र वृद्ध अमिताभ पनि आफ्नै रफ्तारमा अघि बढे । यिनको सम्बन्धमा नयाँ मोड एकैपटक गतवर्ष आयो, जब बन्द भएको अमिताभको कार्यक्रम 'कौन बनेगा करोडपति' पुनः सुरु भयो । किनभने, यो कार्यक्रमको दोस्रो भागका सञ्चालक अमिताभ थिएनन् । उनको स्थानमा 'हट सिट'को अघिल्तिर शाहरुख थिए । कार्यक्रम सञ्चालनका लागि शाहरुखलाई अमिताभलाई भन्दा बढी पारिश्रमिक दिइएको थियो । र, यसको प्रचार पनि बढी गरिएको थियो । तर, चाँडै नै सहभागीका अघि अत्यन्त विनीत देखिने, शुद्ध हिन्दी बोल्ने अमिताभका अघि 'हंकी-फंकी' शाहरुखको 'जादु' फिका हुँदै गयो । र, तोकिएको समयभन्दा अघि नै कार्यक्रम बन्द भयो ।
यो कार्यक्रममा पहिलोपटक अमिताभ र शाहरुखको तुलना भयो । जसमा अमिताभले शाहरुखलाई पछि पारे । यो शाहरुखलाई थोरबहुत आहत गर्ने खालको प्रतिस्पर्धा थियो । शाहरुख खान बलिउडमा गुट बनाउने हिरोका रूपमा 'प्रसिद्ध' छन् । उनको अभिनय शैली, स्टारडम र ऊर्जाका अलावा साथीभाइसँगको सम्बन्ध पनि शाहरुखको सफलताको एउटा कारण हो । तर, करण जौहर, आदित्य चोपडा, फराह खानलगायत केही निर्देशक सकेसम्म शाहरुखविना फिल्म बनाउँदैनन् । यिनका फिल्मको हिरोइन बन्ने नायिकाको नाममा शाहरुखले सहमति दिनुपर्छ भन्ने गरिन्छ ।
सन् २००० मै अमिताभका छोरा अभिषेक पनि बलिउड छिरिसकेका थिए । धेरै वर्षको असफलतापछि अभिषेकले शाहरुखका पि्रय चोपडा ग्याङको फिल्म 'धुम'बाट सफलता पाए । करण जौहरको फिल्म 'कभी अलबिदा ना केहेना' मा पनि अमिताभ र शाहरुखका साथमा अभिषेक पनि प्रमुख भूमिकामा थिए । यो समयमा गसिप पत्रिकामा शाहरुख र अभिषेकको सम्बन्ध ठीक नभएको भन्ने खबर आइरहेका थिए ।
यसै वर्ष अभिषेकले बिहे गरे । यो बिहेले बच्चन-शाहरुखको सम्बन्धमा नयाँ मोड ल्यायो । हरेक अन्तर्वार्तामा आफ्नो अत्यन्त नजिकको बताउने बच्चनहरूले अभिषेकको बिहेमा शाहरुखलाई बोलाएनन् । अभिनेत्री ऐश्वर्या राय र अभिषेकको बिहेमा सञ्जय दत्त, अजय देवगनलगायत केही कलाकार बोलाइएका थिए । शाहरुखलाई नबोलाइएपछि भारतीय मिडियामा यो निकै ठूलो चर्चाको विषय बन्यो । यो विषयमा अमिताभ नै अघि सरेर स्पष्टीकरण पनि दिए । जसमा उनको भनाइ थियो- विवाह नितान्त व्यक्तिगत कुरा हो, यसमा सबै फिल्मवालालाई बोलाउने भन्ने कुरा हुँदैन । मेरानजिकका मान्छेलाई मात्र बोलाएको हुँ । यसपछि फेरि शाहरुख अमिताभको नजिकको मान्छे नभएको भन्ने अर्थ झिकियो र यिनीहरूको सम्बन्ध खराब भएको निष्कर्ष सुनाइयो ।
अभिषेकले बिहे गरेकी ऐश्वर्या शाहरुखका निकट मित्र सलमान खानकी पूर्वप्रेमिका थिइन्, जसका कारण शाहरुखले कुनै दिन सलमानको झापड खाएका थिए । शाहरुखले निर्माण गरेको फिल्म 'चलते-चलते'मा हिरोइनको भूमिकामा भएकी प्रेमिका ऐश्वर्यालाई भेट्न फिल्मको सेटमा आएका सलमानले आपसी झगडामा बीचमा आइपुगेका शाहरुखलाई थप्पड लगाइदिएपछि रायले यो फिल्म नै छाड्नुपरेको थियो ।
यो विवाह प्रकरणपछि बलिउड खान र बच्चन क्याम्पमा विभाजित भएको हल्ला चल्न थालेको छ । केही साताअघि अर्का खान अभिनेता आमीरले अमिताभको फिल्म 'ब्ल्याक'को आलोचना गर्दै अमिताभको अभिनय पनि चर्को भएको बताएका थिए । सलमानलाई त झन् ऐश्वर्यासँगको प्रेमपीडा छँदै छ । तर, हालैको आफ्नो अन्तर्वार्तामा अमिताभले यस किसिमको विभाजनको कुरालाई वाहियात भनेका छन् ।