सञ्चार र तस्बिर
काठमाडौँबाट दिल्लीतर्फ उड्ने हवाईजहाज नेपाली आकाश भएर पश्चिम लाग्छन् र महेन्द्रनगरमाथि पुगेपछि दिल्लीतर्फ मोडिन्छन्। बादल नलागेको दिन ३० हजार फिटको उचाइबाट विमानको देब्रेपट्टिको भmयालबाट हिमालपारि चीनको भूभाग देखिन्छ, दायाँ झ्यालबाट दक्षिणमा रहेको भारत। आर्थिक रूपमा उदीयमान यी दुई छिमेकीबीचको नेपाललाई सयौँ वर्षअघि पृथ्वीनारायण शाहले दुई
ढुंगाबीचको तरुल भनेका थिए।केही वर्षअघि अमेरिकी अन्तरिक्ष संस्था नासाले सार्वजनिक गरेको अन्तरिक्षबाट राती देखिएको पृथ्वीको चित्रलाई आधार मानी मैले यसै साप्ताहिकमा एउटा लेख प्रस्तुत गरेको थिएँ। नक्सामा सिमाना कोरिएका थिएनन्, अनुमान गर्नुपथ्र्यो। चित्रमा विकसित मुलुकहरू झलमल्ल थिए भने नेपाल अँध्यारो। त्यो नक्साबारे लेख तयार गर्दा नेपालमा फर्पिङ बिजुलीघर बनेको एक सय वर्ष पुग्दै थियो। अन्यत्रभन्दा शताब्दीअगाडि नै बिजुली बाले पनि यहाँको सरकार, राज्य र समाजले लिएको व्यावसायिक ढाँचा नमिलेकाले घन्टौँ लोडसेडिङ् त सहनु परेकै छ, कतिपय जनता बिजुली बाल्ने हैसियतमा पुगेका समेत छैनन्।
केही दिनअघि अमेरिकीमा कार्यरत युवा नेपाली विश्लेषकले अमेरिकी संस्था नासाले तयार गरेको जस्तै चित्रहरू पठाइदिए। चित्रहरूमा चीन, नेपाल र भारतको सिमाना स्पष्ट छन्। एउटा फोटोमा यी मुलुकहरूको १९९२ मा अन्तरिक्षबाट खिचिएको दृश्य छ भने अर्कोमा १८ वर्षपछि सन् २०१० मा खिचिएको स्थिति प्रस्तुत छ। १९९२ को तस्बिरको तुलनामा सन् २०१० को चित्रमा पूर्वी चीन निकै चम्किलो देखिन्छ र भारत पनि। तर, चीनभन्दा कम। १८ वर्षपछि बत्ती बलेको काठमाडौँ देखिन्छ, बाँकी नेपाल अँध्यारै। काठमाडौँमा मात्रै बत्ती बलेको स्थिति पक्कै होइन, चित्रको उज्यालोको स्तरले सहरीकरण र ऊर्जा घनत्व पनि प्रस्ट हुन्छ।
मुलुकमा पहिलोपटक बिजुली बलेको सय वर्ष नाघिसक्यो तर हामी अझै अँध्यारोमा छौँ। बिजुली छैन, त्यसको खपत पनि न्यून छ। बिजुली आपूर्तिको प्रश्नमा सरकार भ्यागुते उप|mाइमा व्यस्त छ। अनेकन् योजना आइरहन्छन्। तर, बिजुली आउँदैन। लेखपढ, स्वास्थ्य सेवा, उद्योग, सेवा क्षेत्र सबै पछाडि परेका छन्। ऊर्जा आपूर्तिको प्रत्याभूति हुन नसक्दा हामी अझै पनि समृद्धिको तल्लो खुड्किलोतिर रुमलिएका छौँ। सस्तो, भरपर्दो, समाज र वातावरण सुहाउँदो एवं कार्बन उत्सर्जन नगर्ने ऊर्जा नेपाललाई रूपान्तरण गर्ने एउटा दरिलो आधार हो। यस्तो ऊर्जाले नेपाली समाजलाई उद्यमशीलतातर्फ लैजानेछ। नागरकिलाई काम र मामको व्यवस्था गर्नु राज्यको दायित्व हो।
बन्दुक उठाएर परविर्तन ल्याउन हिँडेको एमाओवादीले पुँजीवादी क्रान्तिको बाटो लिने भनेको छ। यसका सैद्धान्तिक पाटा जे भए पनि उद्यमशीलताको बाटो बन्दुकभन्दा उचित हुन्छ। तर, व्यवस्थापकीय सीप र अनुशासनबिना पुँजीवादी बाटोमा हिँड्न सम्भव छैन। नेपालमा दुवैको ठूलो खडेरी छ भन्नु अन्यथा हुँदैन। पुँजीवादी मुलुकहरू हामीभन्दा व्यवस्थापकीय हिसाबले अगाडि छन् र अनुशासित पनि। त्यहाँ नयाँ चुनौती देखिएका छन्। विकसित मुलुकहरूबारे अर्थशास्त्री जोसेफ स्टिगलिटस भन्छन्, "युरोप र अमेरिकाका निजी क्षेत्रले राम्रो काम गर्ने मौका सिर्जना गर्न सकेका छैनन्। नेताहरूले आर्थिक वृद्धि आवश्यक छ भने पनि नीति ल्याउन सकेका छैनन्। उत्पादनमूलक क्षेत्रमा लागेका चीन र अन्य मुलुकको उत्पादकत्व श्रम विस्थापित गर्ने मेसिनमा आधारति व्यवस्थाका कारण बढेको हो।"
व्यवस्थापन, सीप र अनुशासनले डोरिएर नीति र विधि संस्थागत हुन थालेमा २० वर्षपछि तयार गरिएको यस्तै नक्सामा नेपाल निकै चम्किलो देखिनेछ, सबै नेपालीले बिजुली पाउनेछन्। हाम्रो समृद्धिको यात्रामा इँटा थपिन सुरु हुनेछ। बिजुली आपूर्ति राम्रो भएका मुलुकहरूमा जस्तै नयाँ चुनौती आउनेछन्।
विकेन्दि्रत सूचनाको व्यापक पहुँचले नयाँ सम्भावना खोलेको मनुष्य समाज बेजोड गतिले बदलिँदै छ। हार्वड विश्वविद्यालयका प्राध्यापक जोसेफ नेका अनुसार प्रविधि क्रान्तिले २१औँ शताब्दीमा शक्ति सन्तुलनलाई पार्दै गरेको प्रभाव केही प्रस्ट हुँदै छ तर व्याख्या केही दशकपछि सम्भव होला। नेपाली पहिलो र दोस्रो औद्योगिक क्रान्तिमा सहभागी हुन पाएनन्। तर, अहिलेको नेपाली पुस्ता सूचना क्रान्तिको एउटा पात्र हो।
सन् २०३२ मा तयार गरिने चीन, नेपाल र भारतको रात्रि चित्र कस्तो देखिएला ? हाम्रा युवाहरूको काम गर्ने र उद्यमशील हुने थलो मुलुक होला ? मुग्लानमा ती श्रमकर्मीमा सीमित होलान् कि व्यवस्थापकीय तहमा पुग्लान् ? जवाफ दिने धेरै जिम्मा हाम्रा चार पार्टीका नेताहरूको कित्तामा पर्छ।
-- अजय दिक्षित