प्रधान न्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउन दलहरुले सहमति गरिसके भने पनि अझै लिखित सहमतिमा हस्ताक्षर गर्न सकिरहेका छैनन्। आज भने उनले भो अब म बन्दिन भने रे भन्ने खबर आएको छ। जनआस्था सम्पादक किशोर श्रेष्ठले फेसबुकमा राखेको जानकारी अनुसार आजको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले-
कांग्रेसका नेताहरुलाई खिलराज रेग्मीज्यूले ‘भो म अब बन्दिन भन्नुभो’ भनेको सुनाइदिएछन्।
रेग्मीले अहिलेसम्म यो विषयमा औपचारिक रुपम केही पनि बोलेका छैनन्। त्यसैले उनको कुरा अरुबाटै आउने हो। तर अर्को एउटा प्रसंगले पनि प्रधानमन्त्री बन्न प्रधान न्यायाधीशको मन मर्दै गएको हो कि भन्ने भान हुन्छ।
दलहरुले प्रधानमन्त्री भएपछि प्रधान न्यायाधीशले न्यायपालिका नहेर्ने गरी सहमति गरेको कुरा आएपछि आइतबार उनले आफूलाई कुनै पनि इजलासमा पारेका थिएनन्। दलहरुको कुरालाई उनले समर्थन गरेको रुपमा यसलाई लिइएको थियो। तर दलहरु ङ्यारङ्यार ङुरङुर गर्दै सहमति गर्न आलटाल गर्दै गएपछि उनको मन मरेको जस्तो छ। सोमबार प्रजातन्त्र दिवसको विदा भएकोले सर्वोच्च बन्द थियो। आज भने उनी दुई वटा पूर्ण इजलासमा बसेका छन्।
एउटा इजलासमा २१ पेशी थियो भने अर्कोमा २४। अरु सबै पेशी हेर्न नभ्याइए पनि एउटामा भने उनीसहितको इजलासले आदेश पनि जारी गरेको छ। के एण्ड एस इन्टरप्राइजेजका प्रोपाइटर विपिनबहादुर कर्माचार्य पक्ष भएको स्वास्थ्य सेवा विभाग समेत ३ विपक्षी रहेको मुद्दामा उनीसहितको इजलासले अन्तरिम आदेश जारी गरेको हो।
उता गोरखा पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले भने प्रधान न्यायाधीश चुनावी सरकारको नेतृत्व लिन तयार रहेको त्यहाँका पत्रकारहरुलाई बताएका छन्। साथमा उनले प्रधान न्यायाधीश नभए मेरै नेतृत्वको सरकारले चुनाव गराउँछ पनि भनेका रहेछन।
-- माई संसार