CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » 'बाबुरामको जय होस्'

'बाबुरामको जय होस्'

दिउँसोको २ बजेको थियो। घाम चरक्क चर्केको थियो। पुरानो बानेश्वरचोकको सडक छेउमा एक युवा बालुवा छान्दै थिए। बालुवाले धुस्रै र फुसै्र भएका उनलाई बाटोमा गुडिरहेका बस, बाइक, ट्याम्पूको ट्याँट्याँ र टुँटुँले डिस्टर्ब गरिरहेका थिएनन्। न गाडीको धुलोधुँवाले उनलाई केही असर गरिरहेको थियो। उनी एकाग्र भएर काम गरिरहेका थिए। उनी थिए, दोलखाका २२ वर्षीय दीपेश थापा।
ठाउँठाउँमा उध्रेको कालो रङको ट्र्याकसुट धुलोमैलोले फुस्रो भइसकेको थियो। निधारमा पसिनाका थोपा टल्किरहेका थिए।
पसिना पुछ्ने फुर्सद पनि थिएन उनलाई। 'पसिना पुछ्दासम्म त दुई साबेल बालुवा छानिसक्छु,' उनले भने।
सडक विस्तारले काठमाडौँका घरधनीलाई दुःखी बनाए पनि मजदुरहरूलाई खुसी दिएको छ। भत्किएका घर र सडकले मजदुरको दुई छाक टार्ने जोहो गरिदिएका छन्। 'बाबुरामको जय होस्। काम नभएर लन्ठिएर घुमिरहेको थिएँ। आजभोलि मजाले काम पाइएको छ,' दीपेशले भने। 
दुई महिनादेखि दीपेशले राम्रो रोजगारी पाएका थिए। मजदुरी उनको पेसा हो। 'के गर्नु, पढ्ने उमेरमा घरबाट भाग्दै ठिक्क भो,' उनले भने, 'अब यो काम नगरी सुखै छैन।' आठ कक्षासम्म पढेका छन् उनले। लेखपढ र हरहिसाब जान्दछन्। पढ्दापढ्दै उनी दुई पटक घरबाट भागेका थिए। तर, मोजमस्तीका लागि नभई, पैसा कमाउन। 'घरको आर्थिक अवस्था निकै कमजोर थियो। खानलाउन धौधौ पर्थ्यो। काम गरी पैसा कमाउँछु र घर पठाउँछु भनी भागेको थिएँ,' उनले सम्भि्कए। 
घरमा आमाबुवा, दाजुभाइ, बहिनी र उनी गरी छ जनाको परिवार थियो। भएका घरखेतले घर चलाउन गाह्रो हुन्थ्यो। घरको नाजुक अवस्थाले गर्दा उनका ठूला दाइ पनि घरबाट भागेका थिए। 'दाइ भागेर सिक्किम गयो। अहिले पनि त्यहीँ छ। तर, पैसा कमाउन थालेपछि दाइले घरको माया मार्‍यो। घरमा सुको पठाउँदैन,' निराश हुँदै उनले आफ्नो व्यथा पोखे। घरमा दुई छाक टार्न गाह्रो भएपछि दीपेश पनि घरबाट भाग्न बाध्य भए। २०६० सालमा सात कक्षा पास भएपछि उनी भागेर काठमाडौँ आए। राजधानी छिरेपछि केही दिन मजदुरीमै बिते। चिनापरिचयको दायरा बढ्न थाल्यो। पछि उनले मःमः बेच्ने ठेलामा काम पाए। 'त्यतिबेला मैले नौ सय रुपैयाँ तलब पाउँथेँ। केही घर पठाउँथेँ र केही आफूसँग राख्थेँ,' उनले सम्भि्कए। काठमाडौँ उनलाई त्यति मन परेन। 'जसोतसो गरी एक वर्ष काम गरेँ,' उनले भने, 'यहाँ बस्न मनै लागेन। घर फर्किएँ।' 
राजधानीबाट फर्किएपछि उनी फेरि स्कुलमा भर्ना भए र आठ कक्षासम्मको पढाइ पूरा गरे। तर, घरको अवस्था जस्ताको तस्तै। साना भाइबहिनीको भोको पेट उनले हेर्न सकेनन्। साथीभाइसँग मिलेर सिक्किम भाग्ने योजना बनाए। 'गोजीमा सुको थिएन,' उनले स्मरण गरे, 'घरको कुखुरा बेचेर चार सय जुटाएँ र घर छोडेर गएँ।' देशमा राम्ररी बस्न सक्ने अवस्था नहुँदा परदेशको बसाइ झन् के सजिलो हुन्थ्यो र! सुरुमा त्यहाँ पनि मजदुरी नै गरे उनले। पछि गाउँले साथीभाइको सहयोगमा ग्यारेजमा काम पाए। त्यो काम उनलाई रुचेन। उनी लागे होटलतिर। 'होटलमा भाँडा माझ्थेँ,' उनी अतीतमा फर्किए, 'भाँडा माझ्दामाझ्दै खाना पकाउने काम सिकेँ र कुक भएर काम गरेँ।' कुकको काममा उनले राम्रो आम्दानी गर्न थाले। 'खाना पकाउने काममा छसात हजार कमाइ हुन्थ्यो। त्यसमध्ये बढी पैसा घरै पठाउँथे। मैले पठाएको पैसाबाट बुवाले एउटा खेत किने,' उनले सुनाए।
घरको आर्थिक अवस्था केही सुधि्रन लागेको थियो कि फेरि फसाद पर्‍यो। होटलमा खाजा खान आउने सिक्किममा बसोबास गर्ने नेपाली केटी दीपेशलाई मन पर्न थाली। लामो समयको प्रेमपछि उनले त्यसै केटीसँग बिहे गर्ने निधो गरे। 'बिहे गरेर त्यहीँ बस्न सक्ने अवस्था नभएकाले कल्पनालाई भगाएर ल्याएँ,' उनले भने। उनकी श्रीमतीको नाम कल्पना थापा हो। नेपाल फर्कने बेला साहूले पैसा दिएन। 'आफूसँग भएको अलिअलि पैसा बोकेर घर दोलखा फर्किएँ,' उनले भने। छ महिनासम्म उनले त्यही पैसाले घरखर्च टारे। तर, कहिलेसम्म पुग्थ्यो र त्यो थोरै पैसा? 'ल्याएको पैसा सकियो। गाउँमै केही गरुँ भने कामै नपाइने। केही सीप नलागेर काठमाडौँ आउने सोच बनाएँ,' उनले काठमाडौँ आउनुको कारण खोले। राजधानीमा मजदुरीबाहेक अरू के पो काम पाउँथे र उनले? 'तीनचार महिना साथीहरूको कोठामा बस्नेखाने गरेँ। पछि कोठा खोजेर बुढी पनि यहीँ लिएर आएँ,' उनले आफ्ना दुःख दिन सम्भि्कए। 
अहिले यो दम्पतीको डेढ वर्षको छोरा छ। काठमाडौँको जीवन सहज लाग्दैन दीपेशलाई। 'एक जनाको कमाइले काठमाडौँको खर्च ब्यहोर्नुपर्ने अनि घरमा पनि पठाउनुपर्ने। कहाँ सकिन्छ र! त्यसमा पनि कहिले काम पाइन्छ कहिले पाइँदैनँ,' उनले दुखेसो पोखे। त्यसैले आफ्नै गाउँका अंकललाई भनेर कल्पनालाई बोर्डिङ स्कुलमा काम लगाइदिएका छन्। कल्पनाले ११ कक्षासम्म पढेकी छिन्। उनले पनि घरखर्चमा दीपेशलाई सहयोग गर्ने गरेकी छिन्।
बानेश्वर बस्ने यी बुढाबुढीको कमाइमध्ये बाइस सय रुपैयाँ कोठाभाडा र बत्तीपानीमा खर्च हुन्छ भने बाँकी घरमा पठाउँछन्। 'आमाबुवाका लागि रासनपानी यहीँबाट किनेर पठाउँछु,' उनले भने। 
बिहान ६ बजे उनी काममा हिँड्छन्। एक कप चियाको भरमा मध्याह्न १२ बजेसम्म काम गर्छन्। त्यसपछि उनी खाना खान कोठामा जान्छन्। आधा घण्टापछि फेरि काममा फर्कन्छन्। बेलुका ५ बजेसम्म काम गर्छन्। 'दिनभरिको कामले शरीर एकदमै दुख्छ,' उनले भने, 'तर, काम नगरी खान पाइन्न।' अहिले काम पाएकोमा उनी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईप्रति आभारी छन्। 'उनको जय होस्,' उनले भने, 'उनले घर नभत्काइदिएको भए हाम्ले कसरी काम पाउँथ्यौँ?'
संगीता श्रेष्ठ- -नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis