अस्पताल भर्ना भएका सिटौला हजुरबालाई भेट्न गइयो। साधारण भलाकुसारीपछि थाहा भयो, हजुरबालाई अरू बिमारभन्दा देशको चिन्ताको बिमारी बढी रहेछ। बूढा अलि बटारिएका कुरा गर्ने आदतका छन्। नेपाल साप्ताहिक पल्टाउँदै बूढाले कुरा सुरु गरे, "तिमी यो पत्रिकामा लेख्छौ होइन ?"
मैले भनेँ, हो।
"के लेख्छौ खै ! लेख्नुपर्ने कुरा लेख्दैनौ !"
के लेखिनँ र मैले ?
"खालि नेताहरूका मात्रै कुरा लेख्छौ। जनावरका बारेमा कहिल्यै लेखेका छौ ?"
मैले भनेँ छैन। जनावरहरूले व्यंग्य बुझ्दैनन् के लेख्नू !
"गाई भैँसीले के दिन्छन्, थाहा छ ?" बूढाले बाङ्गा कुरा सुरु गरिहाले।
मैले भनेँ, दूध !
"राँगा-गोरुले के काम गर्छन् ?"
खेत जोत्छन्, गाडा तान्छन्, मासु दिन्छन्। तिनीहरूको गहुँत, गोबर, हाड, छाला, खुर सबै काम लाग्छ।
"खसी, बोकाले नि ?"
बूढाका कोक्ल्याँटे प्रश्नका जवाफ एकैपल्टमा सकिदिने विचारले मैले भनेँँ, खसी, बोका, च्याङ्ग्रा, भेँडा, बङ्गुर, सुँगुरहरूले मासु दिन्छन्। मृग, घोरल, बँदेल, जरायो, बाघ, भालुलगायत सबै जनावर तथा चराचुरुंगीहरू विभिन्न काममा आउँछन्। तिनीहरूले वनजंगलको सौन्दर्य पनि बढाउँछन्। बिरालोले मुसा मार्छ, कुकुरले चोर लखेट्छ। अष्टबक्रे ऊँट र गान्टे गधाहरूले मरुन्जेल भारी बोक्छन्। स्याल, सर्प, चिप्लेकीरा, गँगटो, भ्यागुता सप्पैले प्रकृतिमा केही न केही योगदान गर्छन्। गिद्धले मरेका जनावरहरूको सिनो सफाचट पारेर वातावरण सुग्घर बनाउँछ। सबैले आ-आफ्नो जिम्मेवारी निभाउँछन्। अरू त अरू, डामेर छाडेको साँढेले पनि गाईहरूमा बाली लगाउँछ ! वनस्पतिहरूमा कामै नलाग्ने ठानिएको वनमारा, तीतेपाती, उन्यू, लेउ, झ्याउ सबै थोकले प्राकृतिक सन्तुलनमा भूमिका खेल्छन्, कतिले जडीबुटीको काम गर्छन्।
बूढाको चित्त बुझ्यो होला भन्ठानेको, छैन रै'छ। फेरि सोधे, "जिम्मा पाएको काम नगर्ने, गर्न नहुने नहुने काम मात्रै गर्नेचाहिँ कुन जनावर हो नि, ल भन त !"
खोइ कुन्नि है हजुरबा, तपाईंले कुरा घुमाईघुमाई हाम्रा नेताहरूलाई गाली गर्न खोज्नु भा' हो कि जस्त्ाो लाग्यो मलाई। त्यति साह्रै होच्याएर चाहिँ भन्न पाइँदैन। अब त केही गर्लान् नि ! त्यत्रो प्रधानमन्त्री, मन्त्रीको पदै त्याग गरेका छन्।
"त्याग्न हुने कुरा पो त्याग्नुपर्छ। मूल कर्तव्य नै त्यागेर अर्काका टाउकामा हाल्ने ? तिमीहरूको काम राजनीति गर्ने हो। संविधान बनाओ, सरकार बनाओ, मन्त्री-प्रधानमन्त्री खाओ, सबैलाई विकास निर्माणका काममा जुटाओ, देशलाई अघि बढाओ, हामी तिमीहरूका रैती हौँ, हामीमाथि शासन गर, परिआए डन्डा लगाओ भनेर हामीले तिनीहरूसँग आत्मसमर्पण गरेको होइन ? खोइ त जिम्मेवारी पूरा गरेको ? पानीमरुवाहरू ! अर्काले निर्वाचन गराएर लौ चढ्नूस् हजुर भनेर तिनीहरूलाई किस्तीमा राखेर कुर्सी दिनुपर्ने ? नकचराहरू !"
बूढा जोड जोडले कराउन थालेपछि त्यहाँ बस्नु ठीक छैन भनेर म हिँडेँ। हिँड्दा हिँड्दै उनले थपिहाले, "ए बाबु ! मैले नेताहरूलाई जनावरजत्तिको पनि काम लागेनन् भन्या मात्रै हो है ! जनावरै भन्याचाहिँ होइन नि फेरि !"
म अबदेखि नेताहरूका बारेमा लेख्न छाडेर जनावरहरूका बारेमा पो लेख्न थालौँ कि भन्ठान्दै बाटो लागेँ।
-- नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !