शैक्षिक प्रमाणपत्र र नागरिकतामा चक्र सुब्बा नाम भए पनि चञ्चला भनेर चिनिन्छिन्, अहिले उनी। पुरुष लिङ्गकी उनी किशोरवयपछि आफू महिला भएको महसूस गर्दै पुरुषहरूसँग नजिकिन थालिन्। अनि, स्नातकसम्म अध्ययन गरेका उनको उमेश नामका युवकसँगको सम्बन्ध 'अफेयर' हुँदै विवाहसम्म पुग्यो। लामा
नङमा पालिस र ओठमा लिपिस्टिक लगाएकी अनि थ्रेडिङ गरेर रौंविहीन अनुहार बनाएकी चञ्चला भन्छिन्, “श्रीमान्बाट पूरै खुशी छु।”
धरान विजयपुरको बूढासुब्बा मन्दिरमा १० महीनाअघि औंठी साटासाट गरेर उमेशसँग विवाह गरेकी तेस्रो लिङ्गीको संगठन नीलहीरा समाज झ्ाापाकी संयोजक चञ्चलालाई मोरङ बेलबारीमा रहेको घरले बुहारी मानेको छ भने माइतीले पनि यो विवाहलाई मान्यता दिएको छ। चञ्चला भन्छिन्, “हाम्रो परिचयलाई सबैले स्वीकारेकाले काकी, माइजू, भाउजू भनिन पाएको छु।” अरू दम्पती जस्तै चञ्चला आफूले घर सम्हालेर पति उमेशलाई छिट्टै रोजगारीका लागि विदेश पठाउने तयारीमा छिन्।
धेरै छन्, तेस्रो लिङ्गी
झापामै १ हजार ८०० तेस्रो लिङ्गी रहेको नीलहीरा समाजको भनाइ छ। जो, जन्मँदाको लिङ्गलाई अस्वीकार गर्दै विपरीत लिङ्गी भएको बताउँछन्। खुला बन्दै गएको समाजबाट फाइदा उठाउँदै यस्तो परिचय खुलाउनेको संख्या बढ्दै जाँदा उनीहरूबीच विवाह हुने क्रम पनि बढेको छ। त्यही कारण 'मुलुकी ऐन र विवाह दर्ता ऐन २०३४' ले कल्पनै नगरेको त्यस्ता विवाह झापामै एक सयभन्दा धेरै भएको छ। चञ्चला भन्छिन्, “हामी जस्ताको धेरै विवाहमा जन्ती गएर भोज पनि खाइसक्यौं।”
जोडी बन्नै लागेका छन्, झापाका रोशन (२४) र भुवन (२८) पनि। जन्मँदा दुवै पुरुष लिङ्गी भए पनि ११ वर्ष उमेर पुगेपछि रोशन केटी हँुदै गइन् भने भुवन केटा नै रहे। रोशन भन्छिन्, “छिट्टै बिहे गर्दैछौं।”
सुनसरी इटहरीकी विपासा चौधरी (२४)ले वीरेन्द्रसँग विवाह गरिसकिन्। पुरुष लिङ्ग लिएर जन्मिएकी विपासा भन्छिन्, “अरू जस्तै हाम्रो परिवार पनि राम्रोसँग चलेको छ।”
गोपाल गडतौला, झापा
हिमाल खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !