लन्डन, २५ चैत । उच्च दक्ष आप्रवासन कार्यक्रम (हाइली स्किल्ड माइग्रेन्ट प्रोग्राम) मा पाँच वर्षअघि बेलायत छिरेका शिक्षा मन्त्रालयका एक उपसचिव सेक्युरिटी काममै रमाइरहेछन् । कारण- बसी-बसी हुने काम, अनि चित्तबुझ्दो पारिश्रमिक । लन्डनको हङ्स्लोमा बस्ने उनीसँग बेलायती नागरिकता छ, परिवारका पनि सबैले पाईसकेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
बहालवाला सरकारी कर्मचारी भएकाले उनी बेलाबखत नेपाल जान्छन्, जागिर जोगाउँछन्
अनि फेरि यूके आएर सुरक्षा गार्डमै रमाउँछन् । ‘यूके बसेरै सहसचिव प्रमोसनको लाइनमा छन्,’ एक निकटस्थले भने । नेपालमा राम्रो हैसियत बनाएका अर्का एक ‘बुद्धिजीवी’ यही भिसामा बेलायत आए, सुरुमा राम्रो कम्पनीमा जागिरे थिए उनी ।
तर आर्थिक मन्दीले कम्पनी बन्द भएपछि अस्पतालमा बिरामीलाई खाना खुवाउने काम सम्हाले । अहिले त बुढ्यौलीले अस्पतालबाट सेवानिवृत्तसमेत भइसके । विद्यावारिधि योग्यतापछि सोही कार्यक्रमअन्तर्गत बेलायत छिरेका अर्का एक नेपाली पनि केही वर्ष सेक्युरिटीमै रमाइरहेका थिए, तर आफूअनुकूल जागिर नभेटेर अमेरिका हानिए ।
त्यही भिसामा आएका राजस्वका एक अधिकृत पनि सुरक्षा गार्डकै रूपमा काम गर्छन् यहाँ । नेपाल छँदा राम्रै कलेज/स्कुलमा पढाउने धेरै अध्यापकहरू यहाँ क्लिनिङ, केयर होम र सेक्युरिटीका काममा संलग्न छन्, जो एचएसएमपी भिसामै यता आएका हुन् ।
केहीको आफ्नै व्यवसायमा लगानी छ, कतिपयको जागिर लोभलाग्दो नभएको पनि होइन । केही डाक्टर, इन्जिनियर र नर्स पनि छन् । तर, अपवादबाहेक एचएसएमपीमा आएका अधिकांश बेलायतको ‘टप प्राइरोटी’ जागिरबाट वञ्चित छन् । उनीहरू भिसा स्ट्याटसले देखाएजस्तो आफ्नो उच्च सीप कि त सुरक्षा क्षेत्रमा, कि त सानोतिनो रेष्टुरेन्ट व्यवसायमा खर्चिरहेका छन् । सन्तानको शैक्षिक भविष्य अनि आवासीय अधिकार सुरक्षित गर्ने स्वार्थले पनि अधिकांश निम्नस्तरकै जागिरमा रमाएका हुन् ।
‘सुरु-सुरुमा भाषा समस्या र भिसा अवधि कम भएकाले जब-मार्केटमा छिर्नै सकिँदैन, पछि अधिकार भए पनि काम सन्तोषजनक पाइन्न,’ रेडिङ् एचएसएमपी फोरमका संयोजक कृष्ण न्यौपानेले भने ।
बेलायत सरकारले अन्य मुलुकबाट दक्ष जनशक्ति भित्र्याउने उद्देश्यअनुरूप २८ जनवरी २००२ मा ल्याएको एचएसएमपी स्किम (हाल बन्द) मा नेपालीहरू आउने क्रम सन् २००५ देखि वृद्धि भएको हो । यस कार्यक्रमअन्तर्गत करिब ६ सय नेपाली परिवार बेलायत आएको अनुमान नेप्लिज सोसाइटी अफ हाइली स्किल्ड माइग्रेन्ट्सका संस्थापक अध्यक्ष यादव श्रेष्ठको छ ।
ती मध्ये ७५ प्रतिशत परिवारसहित बेलायत आएका र प्रायः सबैले आवासीय अधिकार लिइसकेका छन् । करिब १५ प्रतिशत केही सिकेर नेपालै फर्किएको अनुमान छ । सुरुमा निम्नस्तरको काम गर्न बाध्य भए पनि पछि ‘सेटल्ड’ भएर करिअर अपग्रेड गर्नेहरु थुप्रै रहेको श्रेष्ठको दाबी छ ।
‘व्यवसायमा लगानी गर्ने साथीहरू पनि छन्, विशेष गरी सन्तानको शैक्षिक भविष्य र नेपालीलाई स्थानीय समुदायसँग समायोजन गर्न यो समूहको महत्त्वपूर्ण भूमिका छ,’ उनले भने । यो स्किममा परिपक्व भिजनसहित आएका प्रोफेसनल व्यक्तिहरू भएकाले तिनले ‘क्वालिटी अफ लाइफ’ लाई नै महत्त्व दिएको श्रेष्ठको जिकिर छ । ‘आफूसँग भएको सीप उपयोग गर्दै क्वालिटी अफ लाइफ बनाउने हिसाबले नै आएको देखिन्छ,’ उनले भने ।
केही वर्षयता चरम आर्थिक मन्दीबाट गुजि्ररहेको बेलायतमा गत जनवरीसम्म २५ लाख २० हजार बेरोजगार रहेको अफिस फर नेसनल स्ट्याटिसटिक्सको तथ्यांक छ । - हाम्रा कुरा
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !