खासमा उनी ब्युटिसियन हुन् । ब्युटिपार्लर सञ्चालन गर्दागर्दै कसोकसो उनी फिल्ममा हेयर ड्ेरसरका रूपमा आबद्ध हुन पुगिन् । हेयर ड्ेरसर हुँदै मेकअपको काम पनि सम्हाल्ने गरेकी उनी अहिले ‘सेलिब्रेटी’ बनेकी छिन् । विशेषगरी, टेलिभिजनका दर्शकमा उनले आफ्नो बेग्लै शैली र पहिचान प्रस्तुत गरेकी छिन् । उनी अर्थात् विपना बस्नेत । तर, उनी आफ्नो सक्कली नामभन्दा पनि
पूर्वप्रधानमन्त्री तथा एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईकी पत्नी हिसिला यमीकी ‘हमसकल’का रूपमा चिनिन्छिन् । चर्चित हास्य टेलिशृंखला ‘तीतो सत्य’मा हिसिला यमीको झँै हाउभाउ, गेटअप र लबजमा अभिनय गर्न थालेदेखि नै उनको चर्चा चुलिएको हो । तीतो सत्यमा उनी नक्कली बाबुराम भट्टराई ज्योति काफ्लेसँग अभिनय गर्ने गर्छिन् । हेयर ड्ेरसिङ तथा मेकअप आर्टिस्टको जिम्मेवारी वहन गर्ने क्रममा केही चलचित्रमा फाट्टफुट्ट अभिनयसमेत गर्दै आइरहेकी भए पनि विपनाले अभिनय गरेर यसरी चर्चित र ‘डिमान्डेड’ हुने दिन आउला भन्ने कल्पनासम्म पनि गरेकी थिइनन् रे । ‘ममा सानैदेखि अभिनयप्रति रुचि त थियो, तर अभिनय गरेर यत्तिको चर्चित हुँला भन्नेचाहिँ कल्पनासम्म पनि गरेकी थिइनँ,’ विपना भन्छिन्, ‘भाग्यमा लेखेको रहेछ, साह्रै खुसी छु ।’
विपनाले पहिलोपटक ०५३ सालमा स्व. निर्देशक दीपक रायमाझी निर्देशित ‘पराइघर’ चलचित्रमा हेयर ड्ेरसरको काम गरेकी थिइन् । त्यतिवेला ब्युटिपार्लर सञ्चालन गरिरहेकी उनलाई ब्युटिसियन लीला शर्माले चलचित्रको बाटोमा डोर्याएकी थिइन् । पछि ०५५ सालमा उनले ऐतिहासिक उपन्यास बनेको ‘बसन्ती’ चलचित्रमा काम गरिन् । त्यसपछि भने उनलाई चलचित्रको हेयर ड्ेरसिङ पेसामा रुचि बढ्यो । पार्लर बेचेर एकोहोरो यसैलाई निरन्तरता दिइन् । ०६३ देखि मेकअप आर्टिस्टका रूपमा कार्यरत उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा काम गरिसकेको बताउँछिन् ।
अभिनयमा रुचि राख्ने उनलाई जवानीमा हिरोइन बन्ने अफर नआएको पनि होइन । र, उनी हिरोइन नबनेकी पनि होइनन् । तर, घरपरिवारको विरोधका कारण उनी पूरा हिरोइन बन्न पाइनन् । ‘त्यतिवेला अहिले डिजिटल चलचित्र बनेझँै भिडियो चलचित्रको जमाना थियो । मलाई ‘पश्चात्ताप’ नामक चलचित्रको हिरोइन बन्ने अफर आयो,’ उनी फ्ल्यासब्याकमा गइन्, ‘मेरो दाइहरू भने फिल्म लाइन, अभिनय भनेपछि मनै नपराउने । तर, मैले त्यो अफरलाई अवसरका रूपमा लिएर सुटिङ सुरु गरेँ । चार/पाँच दिन सुटिङ भइसकेको थियो । दाइहरूले मैले फिल्म खेलेको थाहा पाएपछि निकै विरोध गर्नुभयो । जसले गर्दा त्यो फिल्म त्यत्तिकै छाड्नुपर्यो । त्यसपछि भने मलाई मन लागे पनि अभिनय गर्न डर लाग्यो ।’ परिवारका सदस्यको असमर्थनका कारण हिरोइन बन्न बीचमै रोकिएकी उनी त्यसको धेरै वर्षसम्म मौन रहिन् । कलेज र ब्युटिसियन पेसामा लागिन् ।
तर, ०६९ को फागुनमा आएर उनको जिन्दगीले ‘यु टर्न’ लियो । जब उनी नक्कली हिसिला यमीको गेटअप र लबजमा टेलिभिजन स्क्रिनमा देखापरिन्, त्यसपछि त के चाहियो र ? रातारात उनी र उनको कलाकारिताको तारिफ भयो ।
तीतो सत्यका निर्देशक तथा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला भ्यालेन्टाइन्स डेको स्पेसल एपिसोड तयार गर्ने योजनामा थिए । जसका लागि उनीहरू नक्कली डा. बाबुरामकी पत्नीको भूमिका निर्वाह गर्न सक्ने, उस्तै सक्कल भएकी महिलाको खोजीमा थिए । सोही क्रममा भेटिएकी हुन्– विपना । दीपक र दीपाले नक्कली हिसिला बनाउन सम्भावित चार महिला छानेका थिए । तर, भाग्यले विपनालाई साथ दियो ।
‘त्यो दिन मलाई राम्ररी याद छ,’ विपनाले सम्झिइन्, ‘०६९ माघ २९ गते म एउटा फिल्मको सुटिङका क्रममा धादिङको धुवाँकोटमा थिएँ । मेरो मोबाइलमा एउटा नयाँ नम्बर ‘मिस’ देखेँ । पछि, मैले कलब्याक गरेँ । त्यो नम्बर दीपाश्री बहिनीको रहेछ । उहाँले मलाई तीतो सत्यमा हिसिला दिदी बनाउन खोज्नुभएको रहेछ । उहाँको अफर सुनेर मलाई रातभर निद्रा लागेन । कतिवेला बिहान होलाजस्तो भयो । अर्काे दिन चाँजोपाँजो मिलाएर म काठमाडौं फर्किएँ ।’ नक्कली बाबुराम ज्योति काफ्ले कार्यक्रमहरूमा निकै व्यस्त भएका कारण उनको समय मिलाएर सुटिङ गर्नुपर्ने थियो । त्यसकारण कतिवेला काठमाडौं पुगिएला भनेर विपना निकै छटपटाइन् । ‘म कहिल्यै झुटो नबोल्ने मान्छे तर त्यो दिन गाडी नचढ्दै ककनी आइपुगेँ भनेर दीपाश्री बहिनीलाई ढाँटेँ,’ विपनाले भनिन्, ‘ककनी आइपुग्दा बालाजु आइपुगेँ, अब केही बेरमै स्पटमा आइपुग्छु है भनेर झुट बोलेँ । कसोकसो स्पटमा पुगिहालेँ ।’
विपना स्पटमा पुग्दा नक्कली बाबुराम ज्योति गेटअपमा रेडी थिए । विपनालाई हिसिलाझँै गेटअपमा तयार गरियो । भ्यालेन्टाइन्ससम्बन्धी कथा भएकाले नक्कली बाबुराम र हिसिलाबीच गुलाबको फूल आदानप्रदानलगायत दृश्य सुटिङ गरियो । आफू हिसिला बनेको पहिलो एपिसोड हेर्न विपनाले निकै सास्ती खेप्नुपर्यो । ‘म बस्ने डिल्लीबजार, लोडसेडिङको मारमार । मकहाँ बत्ती थिएन । आफ्नो अभिनय हेर्न बिहीबार राति सान्दाइको घर मालीगाउँ पुगेँ,’ उनले बताइन्, ‘टिभीमा जब म देखिएँ, त्यसपछि मलाई चिन्ने सबैले फोन र एसएमएस गरेर बधाई दिए । त्यो दिनको स्मरण मेरो दिमागमा सदा रहिरहनेछ ।’
नक्कली डा. बाबुरामको भूमिकामा देखापर्दै आइरहेका ज्योतिलाई जोडी बनाउने इच्छा र अवसर त थियो । तर, उनले उपयुक्त पात्र भेटेका थिएनन् । जब विपना तीतो सत्यमा हिसिला बनेर प्रस्तुत भइन्, त्यसपछि दीपक, दीपाश्री मात्र होइन, धेरैले उनीहरूलाई जोडी बनेर कार्यक्रममा प्रस्तुत हुने सल्लाह दिए । सोहीअनुरूप विपना र ज्योति २४ चैतदेखि कार्यक्रममा जोडी बनेर प्रस्तुत
हुन थाले ।
‘हिसिला बनेर टिभीमा आउन थालेपछि ज्योति भाइले डा. भट्टराईको घरबाट तपाईंलाई सोधीखोजी हुन सक्छ है भन्नुभएको थियो,’ विपनाले सुरुवातका दिनको स्मरण गरिन्, ‘ज्योति भाइको कुराले मेरो मनमा कताकता डर भरिएको थियो । हिसिला दिदी रिसाउनुभएको छ कि भनेर त्रसित थिएँ । तर, एक दिन नयाँ नम्बरबाट फोन आयो । त्यो फोन हिसिला यमी दिदीको थियो ।’ सक्कली हिसिलाको फोन नक्कली हिसिलालाई आउँदा कस्तो भयो होला ? ‘कुरै नगर्नुस्,’ उत्साहित हँुदै विपनाले भनिन्, ‘मैले त सोचेकी थिएँ, हिसिला दिदीका आफन्त, पिए कसैले फोन गर्लान् भनेर । तर, फोन हिसिला दिदी स्वयंले गर्नुभएको थियो । उहाँले तपाईं विपना बस्नेत बोल्नुभएको हो ? भन्नुभयो । मैले हो भनेँ । त्यसपछि उहाँले म हिसिला यमी भन्नुभयो । ला अब गाली खाइने भयो, के भन्ने होला भनेर सुरुमा त निकै डर लाग्यो । तर, उहाँले कल्पनाविपरीत मेरो अभिनयको तारिफ गर्दै तपाईं विपना मेरो नाम सपना राख्नुपर्यो कि क्या हो भनेर ठट्टा गर्नुभयो । उहाँले दिउँसो एक बजे सगरमाथा टिभीमा मेरो अन्तर्वार्ता आउँदै छ, त्यो हेर्नुस्, त्यसबाट मेरो हाउभाउ, शैली सिक्न सजिलो हुन्छ भन्नुभयो । त्यो सुनेपछि भने म यति एक्साइटेड भएँ कि सपना हो कि विपना भन्ने लाग्यो ।’ फोनमा हिसिलाले उनलाई समय मिलाएर भेटौँ है भनिछन् ।
त्यसपछि वेलावेलामा नक्कली र सक्कली हिसिलाबीच फोनवार्ता हुन थाल्यो । एक दिन नक्कली डा. भट्टराई ज्योतिसमेतलाई सक्कली हिसिलाले भेट्न बोलाइन् । विपना र ज्योतिले हिसिलालाई भेटे । ‘हामी गएपछि हिसिला दिदीले अरू मान्छेलाई बाहिर पठाएर पूरा एक घन्टा हामीसँग कुरा गर्नुभयो । अभिनय, घरपरिवारसम्बन्धी कुरा भए । उहाँ साह्रै पोलाइट, व्यावहारिक, सरल र बुझ्झकी पाएँ,’ उनले भनिन्, ‘त्यसै बन्दा रहेनछन् ठूला मान्छे भन्ने कुराको ज्ञान भयो ।’ नक्कली हिसिला र बाबुरामले जोडी बाँधेदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी कार्यक्रममा सँगै प्रस्तुति दिइसकेका छन् । पछिल्लो समय बजारमा उनीहरूको जोडी निकै मन पराइएको छ । उनीहरूले एक दिनमै तीनवटासम्म कार्यक्रम गरेका छन् । विदेशमा प्रोग्रामका लागि पनि जोडीलाई थुप्रै अफर आइरहेका छन् । अहिले प्रोग्रामको अफ सिजन हो, तर पनि विपनालाई नक्कली हिसिला बन्नमै फुर्सद छैन ।
‘तीतो सत्यले मेरो जिन्दगीको बाटो नै मोडिदियो,’ केही समय यता डिल्लीबजार कालिकास्थानमा फ्रेस फुडल्यान्ड नामको रेस्टुरेन्टसमेत सञ्चालन गरिरहेकी विपनाले भनिन्, ‘यसका लागि दीपकराज भाइ र दीपाश्री बहिनीलाई जति धन्यवाद दिए पनि पुग्दैन । म उहाँहरूको ऋणी छु ।’ विपना दर्शकले मन पराउन्जेल नक्कली हिसिला बनिरहने सोचमा छिन् ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !