CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » टेलिकम, मलाई जेपिटी एसएमएस नपठाऊ !

टेलिकम, मलाई जेपिटी एसएमएस नपठाऊ !

jagadambaहिजो साँझ पाँच बजेपछि नेपाल टेलिकमको जिएसएम मोबाइलमा एसएमएस आएको जनाउ दिँदै आवाज बज्यो। के जरुरी मेसेज आएछ हँ भनी हत्त न पत्त हेर्दा त उही व्यापारीहरुको उनीहरुले नोबल प्राइजभन्दा बढी ठान्ने गरेको
नेसनल एक्सिलेन्स अवार्डको लागि भोट मगाई रहेछ। झनक्कै रिस उठ्यो। मेरो व्यक्तिगत मोबाइल नम्बर व्यापारीलाई विज्ञापनका लागि बाँड्ने अधिकार नेपाल टेलिकमलाई कसले दियो ? मोबाइल सेवा चलाएवापत् शुल्क र करहरु महिनैपिच्छे तिरिरहेको छु। मोबाइल सेवा लिँदा कम्पनीले उसको नेटवर्कमा जहिले जस्तो पनि एसएमएस पठाउन सक्छु भनेर मेरो मञ्जुरीनामा लिएको पनि थिएन। यसो बुझ्दा अरु धेरै साथीहरुलाई पनि यस्तो एसएमएस गएको रहेछ। मेरोमा त आएन तर अरुले वाइवाइको समेत विज्ञापन आएको बताए। के ७३ लाख ८० हजार जीएसएम मोबाइल प्रयोगकर्तालाई यस्तो मेसेज पठाइएको हो ? हामी उपभोक्ताले शुल्क पनि तिर्नुपर्ने, कम्पनीलाई मात्र नाफा हुने विज्ञापन पनि हेर्नुपर्ने- खाए खा नखाए घिच् पाराले ?
यसअघि पनि टेलिकमले यस्ता मेसेजहरु पठाउने गरेको थियो। मतदाता नामावलीमा दर्ता गर्न जाउँ, भोलि बिहान बागमति सफाइमा उपस्थित होऔँ भन्ने जस्ता राष्ट्रिय र स्थानीय महत्वका सन्देशलाई त ठीकै मानिदिनसकिन्छ। तर एनजिओको पैसा खर्च गर्न महिला हिंसा नगरौँ भन्ने जनचेतनामूलक सन्देश एसएमएसबाट दिनु रकमको दुरुपयोग हो। मोबाइलको सन्देश हेरेर कुन चाहिँ पुरुषले महिलालाई कुट्दैनन् होला ? लौ न त भनेर त्यस्ता मेसेजलाई पनि आएर फाइदा नहुने भए पनि केही बेफाइदा पनि हुन्न भन्ने मानेर चुपै लागौँला। तर हिजो आएको एसएमएस सरासर उपभोक्तालाई बेफाइदा गराउने खालको छ।
एसएमएसमा भनिएको छ- जगदम्बा स्टिललाई नेपालको बेस्ट ब्रान्ड बनाउन फलानो कोड थिचेर ७३३७ नम्बरमा एसएमएस गर्नुस् वा फेसबुकमा हाम्रो लोगो लाइक गर्नुस्।
यहाँनिर गरिएको छ बेइमानी। के त्यो ७३३७ नम्बरमा एसएमएस गर्दा तपाईँलाई यति शुल्क लाग्छ भनेर उल्लेख गर्नुपर्दैन ? एसएमएस गरेवापत् सेवा प्रदायक (नेपाल टेलिकम) लाई निश्चित रकम आउँछ भन्दैमा यस्तो उपभोक्ता ठग्ने काम गर्न पाइन्छ ? फेरि पैसा तिरीतिरी उपभोक्ताले कुनै व्यापारीको ब्रान्डलाई किन भोट गर्नुपर्ने ? त्यो नम्बरमा एसएमएस गरे तपाईँको ब्यालेन्समा २ रुपियाँ थपिन्छ भने पो मान्छे उत्साहित हुन्थे।
टेलिकमले त्यो नम्बरमा एसएमएस गरेवापत् कति शुल्क लाग्छ भनेर आफ्नो वेबसाइटमा समेत जानकारी नराखी लुकाएको छ। तल हेर्नुस् प्रमाण। कतिपय एफएम र टिभीहरुले पनि एसएमएस गरेवापत् कति शुल्क लाग्छ उल्लेख गर्दैनन्।
एक जना साथीले यही ब्लग पढेपछि भन्दै थियो- यसरी जे पनि गर्न पाइने हो भने त हामी पनि एउटा कम्पनी दर्ता गरौँ। अनि वाहियात वाहियात विषयमा जनमत लिने काम थालौँ। एसएमएस शुल्क पनि उल्लेख नगर्नु पर्ने भए एउटा एसएमएसको २० रुपियाँ तोकौँ (अथवा जति तोके पनि भयो) अनि यस्तो यस्तो प्रश्न सोधौँ-
प्रचण्डले माधव नेपाललाई थप्पड हाने भने नेपालले के भन्लान् ?
ए) पख्लास् तँलाई
बी) हाम्रो नि युथ फोर्स छ
सी) जिस्केको कि साँच्चै?
आफ्नो जवाफ MS[स्पेस]A,B वा C टाइप गरी ०९०९ मा पठाउनुस्। तपाईँको मत परिणाम माइसंसार लगायत अन्य प्रमुख वेबसाइटको कमेन्ट सेक्सनहरुमा देखिनेछ।
मारामार एसएमएस आउनेछन्। अनि हामी पक्कै धनी। एक रुपियाँ बाल मन्दिरलाई दिन्छौँ भनेर पनि फुकिदिउँ, सीएसआर जस्तो नि देखिने !
के तपाईँलाई पनि लाग्छ आफूले शुल्क तिरेर चलाएको मोबाइल नम्बर सेवा प्रदायकले कुनै कम्पनीलाई बेचेर उसको विज्ञापन पठाउन पाउँदैन ?
के तपाईँलाई पनि लाग्छ यस्ता एसएमएसका विज्ञापन गर्दा लाग्ने शुल्क करसहित स्पष्ट रुपमा बुझिने गरी लेखिनु वा भनिनु पर्छ भन्ने ?
त्यसो भए दूरसञ्चारको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा यस्ता र अरु समस्याबारे टेलिकम अपरेटरविरुद्ध उजुरी गर्न पाइन्छ। प्राधिकरण दूरसञ्चारको विषयमा निर्णय गर्ने अर्ध न्यायिक निकाय हो। उजुरी गर्न यहाँ क्लिक गर्नुस्।
कहिले पो हो प्राधिकरणले हामीकहाँ उजुरी नै आउँदैनन् भनेर गुनासो गरेको समाचार पढे जस्तो लाग्यो। हामी उपभोक्ता नै जागरुक नभई बाल मतलब गरेपछि यस्तै त हो नि।
[स्पष्टिकरणः दूरसञ्चारको विषयमा कुनै ब्लग लेख्दा अक्सर आरोप आउँछन्- एनसेलको बारेमा लेख्दा टेलिकमको भरौटे भएर लेख्यो, टेलिकमको बारेमा लेख्दा एनसेलको पैसा खाएर लेख्यो। एउटा निश्चित घेराभित्र रहेर त्यही कुरालाई सही विश्वास गर्ने र बाँकीलाई असत्य ठान्ने information cocoon हरुले बुझ्नुपर्छ- यहाँ एनसेलको गलत कामका बारेमा पनि ब्लग लेखिएका छन्, टेलिकमको पनि लेखिएका छन्। टेलिकमविरुद्ध मिडिया क्याम्पेन हुँदा त्यसको खुलासा माइसंसारले नै गरेको हो। टेलिकमले गरिरहेको गलत अभ्यास बारे लेखेर उसलाई सचेत गराउनुको नियत उसलाई डुबाउनु हैन, उसकै हितका लागि हो भन्ने बुझिदिए सबको कल्याण हुने थियो।]
पहिलो अपडेटः Aug 6, 2013 @ 14:17

व्यापारीलाई अवार्ड जिताउन पनि हामीले पैसा खर्च गरिदिनुपर्ने !

शुल्क विवरण लुकाएर किन उपभोक्तालाई मुर्गा बनाउन खोजेको?

केही व्यापारीहरु अहिले अस्कर अवार्डका लागि भिडे झैँ देखिन्छन्। नेपाल उद्योग वाणिज्य महासंघले गर्न लागेको नेसनल एक्सिलेन्स अवार्ड २०७० का लागि नेपाली कम्पनी र बहुराष्ट्रिय कम्पनी गरी १० वटा ब्रान्ड मनोनयनमा परेका छन्। व्यापारीहरुको यो संस्थाले सर्वसाधारणलाई एसएमएसबाट भोट दिन आह्वान गर्दै विज्ञापन पत्रपत्रिकाहरुमा छापिरहेको छ। केही कम्पनीहरुले पनि हाम्लाई भोट देऊ है भन्दै विज्ञापन छापिरहेका छन्। यस्ता विज्ञापन छाप्नेहरुलाई उपभोक्तालाई ठग्ने नियत राखेका छन्। नभए एसएमएस गरेवापत् यति पैसा लाग्छ है भन्ने जानकारी किन उनीहरु दिइरहेका छैनन् ?
त्यसो त भोट फेसबुकमा पनि दिन पाइन्छ। फेसबुकको भोटिङमा आपत्ति हुने कुरा भएन। एउटा निश्चित देशका लागि मात्र गरेको स्पष्ट लेखिएको अविश्वसनीय साइटमा हुने क्युटबेबी फोटो प्रतियोगिताको त लाइक रिक्वेस्ट भइरहेको छ। पाउँदै नपाइने पुरस्कार पाइन्छ भन्ने आशाले फलानोको छोराछोरीको फोटोलाई लाइक गर्देऊ भन्दै भोट माग्दै गरेको त देखिन्छ भने देशका ठूल्ठूला कम्पनीहरुले भोट माग्नु आपत्तिको विषय हैन। आफूलाई मनपर्ने ब्रान्डमा लाइक गरिदिनु पनि ठीकै हो। कसैलाई वाइवाइ मन पर्ला, कसैलाई चोको फन मन पर्ला, कसैलाई जगदम्बा राम्रो लाग्ला। तर एसएमएस भोटिङमा भने भोट माग्ने व्यापारीहरुको संस्था र व्यापारीले एसएमएस गरेवापत् उपभोक्ताको कति पैसा काटिन्छ भन्ने खुलाउनै पर्छ। यो इमान्दारी देखाउनु जरुरी छ। तर विज्ञापनहरुमा यो खुलाएको देखिन्न।
हेर्नुस् पत्रपत्रिकामा छापिएको महासंघको विज्ञापन-
Vote
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis