CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » निगमको आन्तरिक उडान दसैंमा बन्द हुने

निगमको आन्तरिक उडान दसैंमा बन्द हुने

निगमको आन्तरिक उडान दसैंमा बन्द हुनेकाठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नयाँ इन्जिन जोहो गर्न नसके दसैंमा यसका आन्तरिक उडान नहुने देखिएको छ। निगमसँग हाल आन्तरिक उडान गर्न एउटामात्र जहाज रहेको छ। यो जहाजमा रहेका दुईथान इन्जिनमध्ये बायाँ इन्जिनको उडान अवधि पनि अब ३० घन्टामात्र बाँकी छ। ३० घन्टा उडान सकिनुअघि नै निगम व्यवस्थापनले अर्को इन्जिन व्यवस्था गर्न नसके आन्तरिक उडान बन्द हुनेछ।
निगम बढी केन्द्रित गरेको दुर्गम भेगका विमानस्थलका लागि अहिले यो जहाजलाई दैनिक एक घन्टा उडायो भने दसैंमा यो 'ग्राउन्डेड' हुने निश्चित छ। यस्तो भयो भने दुर्गम भेग जाने यात्रुले निजी वायुसेवा कम्पनीहरूको महँगो भाडामा जानुपर्छ। 

'आन्तरिक उडान गर्न हामीसँग रहेको जम्मा एउटा जहाजको इन्जिनको उडान अवधि पनि साह्रै कम छ,' निगमका एक उच्च अधिकारीले बुधबार नागरिकसँग भने, 'यस्तो बेलामा झन् उडानका लागि दबाब झेल्नुपरिरहेको छ।'

इन्जिनको उडान अवधि अहिले जोगाएर दसैंमा यात्रुलाई दुर्गम लैजाने योजना बनाएको निगमलाई उसैको तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका मन्त्री रामकुमार श्रेष्ठले केही दिनअघि थप समस्यामा पारिदिएका थिए।

मन्त्री श्रेष्ठले मनाङको हुम्दे विमानस्थलमा परीक्षण अवतरण गर्न निगमले दसैंलाई जोगाएर राखेको जहाज लिएर गएका थिए। श्रेष्ठले पाँच घन्टाका लागि भनेर जहाज लगे पनि दोब्बर बढी समय उडाइदिएको सम्बद्ध स्रोतले जानकारी दियो। 'मन्त्रीकै कारण जहाजको उडान अवधि कम हुन पुग्यो,' स्रोतले भन्यो।

अब निगमका अगाडि दसैंमा आन्तरिक उडान गर्न सकिन्छ कि सकिन्न भन्ने सबैभन्दा ठूलो चुनौती तेर्सिएको छ। यसबाट पार पाउने उसको प्रयास भने जारी छ। दसैंलाई नै भनेर आन्तरिक उडानमा रहेको १९ सिट क्षमताको एकमात्र टि्वनअटर जहाजलाई नियमित उडानसमेत गराइएको छैन। 'जति बढी समय उडायो, त्यत्ति चाँडै इन्जिनको अवधि सकिन्छ,' ती अधिकारीले भने, 'वाध्य भएर दुई/चार दिन रोक्दै उडाउँदै गरिरहेका छौं।'

उनका अनुसार दसैंमा उडान गर्ने व्यवस्थापनले दाबी गरे पनि सप्तमी वा अस्टमी एक/दुई दिनबाहेक अरू उडान हुन सक्दैन। त्यो पनि माथिल्लो निकायबाट दबाब आयो भनेमात्र हुन्छ, नत्र हुँदैन।

'एउटा जहाजलाई कहाँ–कहाँमात्र उडाउने? अन्यौल छ,' उनले भने, 'अब मन्त्री र ठूला नेताले जहाँ–जहाँ भन्छन्, त्यतै उडाउनुपर्ला।' निगमसँग हाल बाँकी रहेको ९एन–एबिबी कलसाइनको टि्वनअटर पनि ४० वर्ष पुरानो हो। यही जहाजबाट निगमले झन्डै दुई दर्जन आन्तरिक गन्तव्यमा उडान गर्नुपर्ने वाध्यता छ। निगमसँग रहेका दुईमध्ये एक टि्वनअटर गत जेठ २ गते मुस्ताङको जोमसोममा दुर्घटनाग्रस्त भएको थियो।

दसैंमा थप दुईवटा टि्वनअटर उडाउने निगमको योजना पनि अन्यौलमा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि 'ग्राउन्डेड' आफ्ना दुइटा टि्वनअटरका चार थान इन्जिन र उडान गरिरहेको एउटा टि्वनअटरको दुई इन्जिन सम्बद्ध कम्पनीलाई दिएर 'ओभरहल' (पूर्णमर्मत) गरिएका इन्जिन ल्याउने निगमको योजना केही पर धकेलिएको छ।

'इन्जिन साट्दा अरू इन्जिन तुरुन्त आउँछ भन्ने हामीले ठानेका थियौं, तर त्यो गलत हुन पुग्यो,' सम्बद्ध एक अधिकारीले भने, 'असोज दोस्रो सातादेखि कात्तिक दोस्रो साताभित्र ६ थान इन्जिन आउनुपर्ने हो, तर ठेगान छैन।'

इन्जिन साट्नका लागि निगमले जेठ पहिलो साता आह्वान गरेको अन्तर्राष्ट्रिय टेन्डर जितेर भारतको बर्मन एभिएसन प्रालिले चार तथा अमेरिकाको साउथवेस्ट एयर मोटिभ कम्पनीले दुईथान इन्जिन साट्न पाउने भएका हुन्।

इन्जिन साट्ने भनिए पनि खर्च भने बेहोर्नुपर्छ। ६ थान इन्जिनका लागि निगमले न्यूनतम १५ लाख अमेरिकी डलर (१५ करोड ७५ लाख रुपैयाँ) देखि अधिकतम २१ लाख डलर (२१ करोड १० लाख ५० हजार रुपैयाँ) सम्म खर्च गर्नुपर्ने सम्बद्ध एक अधिकारीले जानकारी दिए।

उनका अनुसार एउटा इन्जिन साट्न २ लाख ५० हजारदेखि ३ लाख ५० हजार डलर खर्च लाग्छ। भारतीय र अमेरिकी कम्पनीले निगमका इन्जिन लगेर ओभरहल गरिएका इन्जिन दिनेछन्। निगमकै इन्जिन मर्मत गर्न भने उक्त परिमाणबराबरको खर्च लाग्नेछ।

'बर्मनले असोज १७ मा एउटा, साउथवेस्टले असोज २० मा एउटा र त्यसको करिब दुई साताभित्र दुवै कम्पनीले एक–एक थान इन्जिन दिने भनेका छन्,' उनले भने, 'यहाँ भने इन्जिनकै कारण समस्या सुरु भइसक्यो।'
आन्तरिक उडानलाई अझै विश्वसनीय बनाउन र सकेसम्म बढी उडान गर्न दुईटा जहाज थप्ने योजना बनाइएको उनले बताए।

आफैंले इन्जिन ओभरहल गर्न ६ देखि आठ महिना लाग्ने भएका कारण निगमले इन्जिन साट्ने योजना ल्याएको थियो। निगमले भने टि्वनअटरका इन्जिन एउटालाई ४ हजार घन्टा उडाएपछि ओभरहल गर्दै आएको छ।

आन्तरिक उडानबाट थप आम्दानी गर्न निगमले एक दशकदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेडमध्ये दुई टि्वनअटरलाई निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरलाई भाडामा दिएको छ। तीमध्ये एउटा जहाज दुर्घटनामा परिसकेको छ। सरकारले तोकेको भाडा दरमा उडान गर्नुपर्दा निगमले आन्तरिक उडानमा पर्याप्त आम्दानी गर्न सकेको छैन।
साभार : नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis