CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » फन्दामा गैरकानुनी ट्राभल एजेन्सी

फन्दामा गैरकानुनी ट्राभल एजेन्सी

फन्दामा गैरकानुनी ट्राभल एजेन्सी
काठमाडौं - सरकारले गैरकानुनी रूपमा सञ्चालित ट्राभल एजेन्सीहरूमा अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। बिनाअनुमति सञ्चालित त्यस्ता कम्पनीले ट्राभल एजेन्सीका नाममा अन्य कारोबार गरेपछि मंगलबार आकस्मिक अनुगमन गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाले मंगलबार राजधानीको गौशाला क्षेत्रमा रहेकामध्ये एक दर्जन ट्राभल एजेन्सीहरूमा अनुगमन गरेको थियो। तीमध्ये पाँचवटा गैरकानुनी तरिकाले चलिरहेका थिए।

'गैरकानुनी रूपमा सञ्चालित ट्राभल एजेन्सी सञ्चालन गरी पर्यटन व्यवसायलाई बदनाम गराउने गरेको पाइएपछि तिनीहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अनुगमन गरेका हौं,' महाशाखाका प्रमुख तथा सहसचिव पूर्णचन्द्र भट्टराईले मंगलबार नागरिकसँग भने, 'अनुगमनले निरन्तर पाउने छ।'

महाशाखाका अनुसार ट्राभल एजेन्सीहरू गैरकानुनी रूपमा सञ्चालन भइरहेको गुनासो व्यापक भएपछि अनुगमन तीव्र पारिएको हो। मंगलबार महाशाखाका एक उपसचिवको नेतृत्वमा पर्यटक प्रहरीसहितको टोलीले गौशालामा अनुगमन गरेको थियो।

'एक दर्जन एजेन्सीमा अनुगमन गर्दा पाँचवटा गैरकानुनी तथा पाँचवटा कानुनी रूपमा चलेका रहेछन्,' अनुगमन टोलीमा सहभागी एक अधिकारीले भने, 'अनुगमनक्रममा दुइटा एजेन्सीका कर्मचारी कार्यालयको सटर बन्द गरेर भाग्न भ्याए।'

उनका अनुसार मंगलबार गौशालामा अनुगमन गर्दा आयुष ट्राभल एन्ड टुर्स प्रालि, गौशाला इन्टरनेसनल ट्राभल एन्ड टुर्स प्रालि, मनिषा टुर्स एन्ड ट्राभल्स प्रालि, नेपाल फर्स्ट सेभेन सिज ट्राभल एन्ड टुर्स प्रालि र सुपर साकम्बरी ट्राभल एन्ड टुर्स प्रालिले सम्बद्ध कागजपत्र पेस गर्न नसकेपछि गैरकानुनी सञ्चालन भइरहेको पत्ता लागेको थियो।

अनुगमनक्रममा कार्यालय बन्द गरी कर्मचारी भागेका एजेन्सीमा रिद्धिसिद्धि ट्राभल एन्ड टुर्स प्रालि र एड्भान्स सलोनी ट्राभल एन्ड टुर्स प्रालि हुन्। 'पछिल्लो समय गौशाला क्षेत्रबाट यस्ता एजेन्सीका कारोबारबारे गुनासो आएपछि त्यहाँ अनुगमन गरेका हौं,' ती अधिकारीले भने।

उनका अनुसार गैरकानुनी रूपमा सञ्चालित ट्राभल एजेन्सीले साइनबोर्डमा ट्राभल एजेन्सीको नाम राखेर कारोबार भने अरू नै गर्ने गरेको पाइयो। त्यस्ता एजेन्सीले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने, ट्रेकिङका कामलगायत अनुमति नै नपाएका काम गरिरहेका छन्।

मंगलबारको अनुगमनपछि कारबाहीमा परेका ट्राभल एजेन्सीलाई सफाइको मौका भने दिइने उनले बताए। त्यस्ता एजेन्सीको कारोबार बन्द गराई २० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था रहेको उनले जानकारी दिए।

पर्यटन उद्योग महाशाखाले ट्राभल एजेन्सीहरूमा अनुगमन गर्न थालेको दुई महिना भइसकेको छ। गत भदौ र असोजमा महाशाखाले राजधानीका आधा दर्जनजति ठाउँमा अनुगमन गरेको थियो। ठमेल, कमलादी, सुन्धारा, गोंगबुलगायत स्थानमा रहेका ट्राभल एजेन्सीमध्ये ६० वटामा अनुगमन गरिएको थियो। तीमध्ये २० प्रतिशत (एक दर्जन) गैरकानुनी रूपमा सञ्चालन भइरहेका थिए।

मन्त्रालयको भैरहवास्थित पर्यटन कार्यालयले पनि त्यहाँका ट्राभल एजेन्सीहरूको अनुगमन गरिरहेको महाशाखाले जनाएको छ। यस्तो अनुगमन अन्य जिल्लास्थित पर्यटन कार्यालयबाट पनि गरिने महाशाखाले जनाएको छ।

पछिल्लो समय ट्राभल एजेन्सीहरू गैरकानुनी रुपमा सञ्चालन भइरहेको, अनुमति नलिएको, तोकिएभन्दा अन्य कारोबार गरिरहेको लगायत गुनासो तीव्र भएपछि पर्यटन उद्योग महाशाखाले अनुगमन तीव्र पारेको छ।

नेपाल भ्रमणमा आएका र आउने योजना बनाइरहेका पर्यटक त्यस्ता गैरकानुनी ट्राभल एजेन्सीको 'फन्दा' मा परेर पर्यटन उद्योग र समग्र देशकै प्रतिष्ठामा आँच नआओस् भन्ने उद्देश्यले महाशाखाले सबै एजेन्सीलाई कानुनी दायरामा ल्याउन तीव्र गतिले अनुगमन गरिरहेको छ।

पर्यटन मन्त्रालयबाट सन् २०१२ सम्ममा अनुमति पाएका ट्राभल एजेन्सीको संख्या २ हजार १ सय १६ पुगेको छ। यो संख्या गत वर्षको भन्दा ९ दशमलव ३ प्रतिशतले बढी हो। गत वर्ष २०११ सम्म १ हजार ९ सय ३६ एजेन्सीले अनुमति पाएका थिए।
साभार : नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis