- नयाँ पुस्तामा भिज्ने क्रममा नेपाली र्याप म्युजिक
ऊ मेरो बाल्यकालदेखिको साथी
हाम्रो मित्रता अरू सम्बन्धभन्दा माथि।
हामी सहर घुम्न जान्थ्यौँ राती राती
घरमा आमाबुबालाई ढाँटी ढाँटी।
दुई वर्षअघि काठमाडौँमा बीआईटी पढ्दै गरेका अनिल अधिकारीले ख्यालख्यालमै 'म्युजिक' रेकर्ड
हाम्रो मित्रता अरू सम्बन्धभन्दा माथि।
हामी सहर घुम्न जान्थ्यौँ राती राती
घरमा आमाबुबालाई ढाँटी ढाँटी।
दुई वर्षअघि काठमाडौँमा बीआईटी पढ्दै गरेका अनिल अधिकारीले ख्यालख्यालमै 'म्युजिक' रेकर्ड
गरी यूट्युबमा 'अपलोड' गरेको यो र्याप म्युजिकका 'भिजिटर'को संख्या १४ लाख पुगिसक्यो। त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा उनको गीत मन पराउनेहरू २५ हजारभन्दा बढी छन्।
संगीत उद्योगका रूपमा अझै नफस्टाएको नेपाली समाजमा पछिल्लो समय 'प्यासन'का रूपमा 'हिपहप म्युजिक' रेकर्ड गरी सामाजिक सञ्जालमार्फत चर्चा र पैसा कमाउने संगीतप्रेमी युवाको संख्या बढिरहेको छ। सहरतिर नयाँ पुस्तामा र्याप पारखीको बेग्लै सर्कल छ।
झन्डै २० वर्षअघि काठमाडौँमा डीजे गिरीश (गिरीश खतिवडा) र्याप म्युजिक रेकर्ड गरी हातमा सीडी बोकेर बजार चहार्थे। तर, पछिल्लो पुस्ता उनैलाई उछिन्ने गरी एकल प्रयासमा र्याप भर्न थालिसकेको छ। समाजमा नपचेका र सांगीतिक विकृतिको संज्ञा पाएका सुरु सुरुका र्याप अहिले जनजिब्रोमा आइसकेका छन्।
संगीतका पुराना पारखीहरू र्यापका शब्दहरूलाई अत्यन्तै फिक्का मान्लान्। तर, र्यापकै दायराबाट अवलोकन गर्ने हो भने यी उत्तिकै प्रभावकारी मानिन्छन्। संगीतका अन्य विधाजस्तै र्याप व्यावसायिक भने बन्न सकेको छैन। खासगरी, नयाँ पुस्ता र्यापका श्रोता र पारखी दुवै हुन्।
सुरु सुरुमा डीजे आफैँले हातमा माइक समातेर गीतको बीचबीचमा र्याप भर्थे। पछि व्यावसायिक रूपमै र्यापर्स आउन थाले। खासगरी, अमेरिका र युरोपमा काला तथा गोराबीचको जातीय द्वन्द्वका क्रममा काला जातिले आफूहरूमाथि हुने दमनलाई गीतको माध्यमबाट विस्फोट गर्ने क्रममा र्याप जन्मेको हो। त्यसै क्रममा केही 'स्ल्याङ् वडर्स' (रैथाने बोलीचालीका शब्द)समेत र्यापमा अटाउन थाले। मूलधारका अधिकांश संगीतकारले यसको विरोध गरे पनि र्यापरहरू स्ल्याङ् वडर्सलाई र्यापमा समेट्न सकिने बताउँछन्। खासमा गीतमा नअटाउने कुण्ठालाई लय मिलाएर भन्ने शैली नै र्याप हो। र्यापको ठोस सूत्र या नियम नभए पनि सामान्यतः लय मिलाउनुपर्ने हुन्छ। १६ लाइनमा तयार पारिएको र्याप 'स्ट्यान्डर्ड' मानिन्छ।
उसो त अनिल अन्डरग्राउन्ड गायकजस्तै छन्। पेसाले मार्केटिङ्मा भए पनि उनी आफैँ म्युजिक रेकर्ड गर्छन् र फेसबुक, यूट्युब र वेबसाइटमा अपलोड गर्छन्। हालसम्म रेडियो, टीभीमार्फत आफ्नो गीत सार्वजनिक नगरे पनि उनको र्याप म्युजिक अत्यधिक रुचाइनेमध्ये पर्छ।
दुई वर्षअघि र्याप म्युजिकमा लागेका अनिलले ५० भन्दा बढी रेकर्ड गरसिके। उनका र्याप माया, प्रेम र रोनाधोनाको दायराभन्दा पनि सामाजिक सचेतनासँग सम्बन्धित छन्। डीजे गिरीश भन्छन्, "र्यापलाई हल्का र गहनका रूपमा हेरिनुहुँदैन। यसको आफ्नै विशेषता छ। यसमा सरल र प्रभावकारी रूपमा मान्छेको मुखमा झुन्डिने शब्द उच्चारण हुन्छन्।" र्यापर निर्णय श्रेष्ठचाहिँ विश्वव्यापी मान्यता अनुसार रदिममा कविता भन्नुलाई नै र्याप मान्छन्। भन्छन्, "गीतमा नअटाउने मनभित्र दबेका शब्दलाई र्यापको माध्यमबाट भन्ने चलन छ।"
आठ वर्षको अमेरकिा बसाइपछि फर्केका डीजे गिरीश एउटा रेडियो कार्यक्रमको प्रस्ताव लिएर ललितपुरस्थित रेडियो कान्तिपुरको स्टुडियो पुगे। र, उनले आफ्नो रेडियो अवधारणा सुनाए, 'नेपहप'। रेडियो तालिकामा दिउँसोको खाली र बचेखुचेको समय पाए पनि। डीजे गिरीशलाई त्यही काफी भयो। कार्यक्रम प्रसारण गर्नुअगावै दाबी गरे, यस कार्यक्रमका श्रोता ह्वात्तै बढ्नेछन्। नभन्दै नेपहप केही महिनामै हिट भयो। गिरीश भन्छन्, "प्रोग्राम यति हिट भयो कि पछि हरेक शनिबार साँझ ७ देखि ८ बजेसम्मको प्राइम आवरमा प्रसारण हुन थाल्यो। यसले के देखाउँछ भने नयाँ पुस्ता र्याप म्युजिकका लागि लालायित छ।"
शास्त्रीय धुन र सूत्रमा बाँधिएर गीत गाउनु एउटा कुरा हो। तर, युवाको अपेक्षा अनुसार सरल तरकिाले संगीत भर्नुलाई आफ्नो अस्तित्व मान्छन् र्यापरहरू। संगीत सबैले बुझ्ने र सरल हुनुपर्ने उनीहरूको मान्यता छ। हिपहप म्युजिकमा ब्रेक डान्स, डीजेइङ्, बी बोइङ् र र्याप पर्छन्।
अमेरिकामा स्कुले अनुभव पाएका निर्णय श्रेष्ठको 'ड्रेसअप' हेर्ने हो भने सहजै अनुमान लगाउन सकिन्छ, उनी र्यापर हुन्। त्यसो त उनी नेपाली र्याप म्युजिकका 'आइकन' नै मानिन्छन्।
अंग्रेजी संगीतको माहोलमा हुर्केका निर्णय नेपाल आउँदा हिपहप म्युजिकको बजार त परै जाओस्, गिरीशले गाएको एउटै गीत थियो, 'मिनिङ्लेस र्याप...'। रहरै रहरमा उनले कोसिस गरे। द्वन्द्वको बेला थियो, दिनहुँ हत्या, हिंसा भइरहेकै हुन्थे। गम्भीर र लजालु स्वभावका निर्णयलाई त्यस्ता घटनाले झट्टै छोइहाल्यो। अनि गाए, तिमी नेपाली, म नेपाली ।
शब्द जोखेर गीत लेखिने जमानामा अंग्रेजी भाषामा र्याप भर्दा मूलधारका गायक, संगीतकार उनीमाथि खनिएका पनि हुन्। तर, उनको आशय भाषा मात्रै नभएर उनले बुझेको र भोगेको हिपहप एवं र्याप म्युजिकलाई नेपालीपनमा ढाल्नु थियो। सामान्य रूपमा जीवन अघि बढेको भए, निर्णय यतिबेला सायद कुशल इन्जिनियर बनिसकेका हुन्थे। भन्छन्, "र्याप प्यासन मात्रै नभएर समाज परविर्तन गर्ने प्रभावकारी माध्यम पनि हो। जस्तो : अमेरिकामा काला र गोराबीचको जातीय विभेद हटाउन र्याप म्युजिक नै प्रभावकारी भयो।"
उसो त र्याप म्युजिकलाई उनले स्थानीयकरण गरेरै देखाए। युवाको मुखमै झुन्डिने सहज र सरल र्याप भरिदिए। खासगरी शास्त्रीय संगीत नबुझ्ने र त्यसमा रुचि नहुने 'टिनएजर्स'का जिब्रोले उनका सरल र हल्का गीत झट्ट टिपे। उनले चारैतिरबाट उत्तिकै राम्रो 'रेस्पोन्स' पाए। उनी र्यापकै माध्यमबाट सामाजिक कार्यमा समेत सक्रिय छन्। भन्छन्, "सामाजिक सेवा मेरो रुचिको विषय हो। र्याप म्युजिक त्यसको एउटा माध्यम हो।"
केही साथीसँग र्याप ब्यान्ड 'जी एक्स सोल' चलाउँदै आएका भाइबर -विवश गिरी)को अनुभवमा राज्य र सञ्चारमाध्यमले आवश्यक अवसर सिर्जना नगरिदिएकाले र्याप म्युजिक व्यावसायिक बन्न नसकेको हो। भन्छन्, "अरू म्युजिकका लागि विभिन्न अवार्ड र प्रोग्राम हुन्छन्। तर, हिपहपका लागि भने त्यस्तो केही छैन।"
सकारात्मक पक्ष के भने नेपाली हिपहप म्युजिकमा राजनीतिक प्रतिशोध या अस्वस्थ प्रतिस्पर्धा छैन। तर, व्यावसायिक बन्न नसक्दाको परिणाम सबै र्याप कलाकार खालि 'प्यासन'मा सीमित छन्। पछिल्लो समय र्यापरहरू आफैँले नेपाली हिपहप शब्दलाई चुस्त बनाएर नेपहप कम्युनिटी नाम दिएका छन्, जुन व्यावसायिकताको पहिलो खुड्किलो पनि हो।
गिग्स (सांगीतिक प्रस्तुति), अवार्ड र रोयल्टीसमेत उनीहरूका लागि नौलो छ। उनीहरूले यूट्युब, फेसबुक, वेबसाइटमा हेर्ने दर्शकको 'लाइक' र प्रतिक्रियामै चित्त बुझाउनुपरेको छ। त्यसमाथि कसैकसैले गलत नियतवश दिने प्रतिक्रियाले भने खिन्न बनाउने र्यापर रुचि श्रेष्ठको अनुभव छ। भन्छिन्, "सहयोग गर्नुको सट्टा जथाभावी गालीगलौजका शब्दले चित्त दुख्छ।"
छिमेकी देश भारतमा भन्दा नेपालमा र्याप म्युजिक धेरै अगाडि भएको र्यापरहरू ठान्छन्। त्यस्तै, ठूलो रकम नपाए पनि भारततिर फाट्टफुट्ट गिग्सका लागि भाइबर आफ्नो ब्यान्ड लिएर गइरहेका हुन्छन्। यसले भने उनीहरूमा आशा जगाएको छ। भाइबर गिग्सका लागि अस्ट्रेलिया र हङ्कङ्को भिसाको पर्खाइमा छन्।
संयोग के भने सबैजसो र्यापर 'स्टेज नेम' वास्तविकभन्दा छुट्टै राख्छन्। र, उनीहरूको 'गेटअप' पनि उस्तै भद्दाजस्तो देखिन्छ। अधिकांश र्यापर आफूलाई सजिलो हुने गेटअपमा हुनुपर्ने मान्यता राख्छन्। तर, भद्दा टिसर्ट, जुत्ता, क्याप र घाँटीभरि भिरिने माला कत्तिको सजिला हुन्छन्, उनै जानून्।
चल्तीका र्यापर
निर्णय श्रेष्ठ, ३५, को स्टेज नेम एनएसके अर्थात् 'नटी सोल किड' हो । अहिलेसम्म पाँच एल्बम सार्वजनिक गरिसकेका निर्णय अर्को नयाँ एल्बमको तयारीमा छन् । उनका सबैजसो र्याप गीत राष्ट्रप्रेमसँग जोडिएका छन् । अंग्रेजीमा र्याप गाउने उनी पहिलो नेपाली हुन् । बिनाब्यान्डका निर्णय अमेरिकामा छँदा 'नेपाली ह्यामर' भनेर चिनिन्थे ।
गिरीश खतिवडा, ३३, को स्टेज नेम डीजे गिरीश अर्थात् 'गोर्खाली जी' हो । अहिलेसम्म चार एल्बम निकालिसकेका गिरिश पहिलो नेपाली र्याप गायक हुन् । सबैभन्दा पहिले उनले सन् १९९३ मा कक्षा १० मा अध्ययन गर्दा एल्बम निकालेका थिए । अर्का गायक प्रनिलको साथमा गायनमा छिरेका उनी गिरीश एन्ड युनिटी हुँदै यति बेला एक्लै छन् ।
विवश गिरी, २४, को स्टेज नेम 'भाइबर' हो । उनी ब्यान्ड जी एक्स सोलको नेतृत्व गर्छन् । उनले भारतको बैंग्लोर र दिल्लीमा समेत गिग्स गरिसकेका छन् ।
रुचि श्रेष्ठ, २०, को स्टेज नेम 'स्वागिकल र्याप स्था' हो । दुई वर्षअघि र्याप म्युजिकमा लागेकी रुचि र्याप कनेक्ट ब्यान्डसँग आबद्ध छिन् । महिलामा एक्ली र्यापर बनेकी रुचिको गायन शैली र आवाज हलिउड स्टार निकी मिनाजको जस्तै मानिन्छ ।
अनिल अधिकारी, २५, पछिल्लो समय अति नै रुचाइएका र्यापर हुन् । रेडियो, टीभीबाट प्रसारण नभएका उनका र्याप गीत सामाजिक सञ्जालमा लोकपि्रय छन् । एकल प्रयासमा ५० भन्दा बढी गीत रेकर्ड गरिसकेका अनिल न कुनै ब्यान्डमा आबद्ध छन्, न त ब्यान्डमा बाँधिनै मन पराउँछन् । उनी यम बुद्धको नामबाट पनि चिनिन्छन् ।