यसपटक घर जान बाध्यतावश रात्रिबसको टिकट लिनुपर्यो।
सिटमा बस्ने क्रममा छेउकी युवती कन्डक्टरसँग रिसाउँदै थिइन्। छेउको सिटमा लोग्ने मान्छे किन राखिदियौ भन्ने उनको गुनासो रहेछ। मैले मनमनै भनें, 'चिन्ता लिनु पर्दैन पच्चीसी, म खराब मान्छे होइन।'
छेउको सिटमा लोग्नेमानिससँग बसेकोमा असहज नहोस् भनेर बस हिँड्नुअघि नै मैले आफ्नो कुरा राखें। 'म सार्वजनिक मानिस हुँ। तपाईंलाई खुसी लाग्ने कुरा के हो भने म नारीकै विषय लेख्छु।' बसाइलाई सहज बनाउने प्रयास गर्दै भनें, 'मैले 'उनी' पुस्तक लेखेको छु। त्यसमा महिलाका संवेदनालाई सकेसम्म छुने प्रयास गरेको छु।'
उनले पुलुक्क मतिर हेरिन्। अपत्यारिलो थियो त्यो आँखा। 'तपाईं 'नारी' म्यागेजिन त पढ्नु नै हुन्छ होला।' उनको अविश्वासलाई विश्वासमा बदल्न मैले आफ्नो नाम अलिक महत्वका साथ लिँदै भनें, 'त्यसमा म नियमित लेख्छु।' मैले जानी-जानी साप्ताहिकको नाम लिइनँ। साप्ताहिकको नाम लिनुअघि म उनको मनोविज्ञान बुझ्न चाहन्थें।
नारी पत्रिकाको नाम लिएपछि थोरै विस्मयका साथ हाँसिन् उनी। मैले लेखेको पुस्तकका बारेमा सोधपुछ गरिन्। पत्रिकामा समाचार कसरी छापिन्छ भनेर चासो राखिन्। गाडी अघि बढ्दै जाँदा हामी आपसमा सहज हुन थाल्यौं। नागढुंगा कटेपछि गाडी रोकियो। मैले चियाका लागि अनुरोध गरें, उनले अप्ठ्यारो मान्दै स्वीकार गरिन्। केही घन्टाकै यात्रामा हामी नजिकका साथी भैसकेका थियौं।
केही अघिसम्म बसले नागबेली काट्दा म सकेसम्म उनको जीउसँग नठोक्कियोस् भन्ने कुरामा सचेत थिएँ। शरीर ठोक्किएपछि सरी भनिहाल्थें। भावनाले नजिक भएपछि मैले सरी भन्ने आवश्यकता त मानिनँ, तर म सकेसम्म उत्ताउलो नदेखिऊँ भन्ने कुरामा ध्यान दिइरहेको थिएँ।
खाना खाने स्थानमा बस रोकियो। मैले खाना खाने प्रस्ताव राखें। उनले 'बाहिर खाना खाने बानी नभएको' भन्दै अस्वीकार गरिन्। मैले 'चिसो-तातो जे भए पनि खानुहोस्, खाली पेट यात्रा गर्नु राम्रो होइन' भनी कर गरें। उनी अप्ठ्यारो मान्दै मेरो पछि लागिन्। त्यसपछि उनले उमालेको चाउचाउ खाइन्, मैले खाना मगाएँ।'
अघाएको पेट र बसको द्रुत यात्राले म कतिबेला निदाएँ, थाहै भएन। एकैपटक कोसी ब्यारेज पुगेपछि आँखा खुल्यो। निदाउँदा बेला-बेलामा उनको काँधमा टाउको पुगेजस्तो लाग्थ्यो, अर्कातिर फर्काएको जस्तो लाग्थ्यो। के गरें उति थाहा भएन। तैपनि उनलाई 'राति मैले दुःख दिए हैं, माफ गर्नुहोला' भनेर माफी मागें। उनी केही बोलिनन्।
मिर्मिरे बिहानी भएपछि कुनै चोकमा चिया पिउन गाडी रोकियो। हामी ओर्लियौं। उनका लागि पनि मैले चिया अर्डर गरें। चिया पिउँदै गर्दा उनले ब्यागबाट डायरी र कलम झिकेर केही लेख्न लागिन्। मैले सोधें, 'के लेख्न लाग्नुभयो ?' उनले मलाई नहेरी उत्तर दिइन्, 'तपाईंका लागि लभलेटर।'
गाडी फेरि हिँड्यो। इटहरी आउनुपूर्व पकली भन्ने स्थानमा उनी उत्रन लागिन्। सिटमुनिको ब्याग निकाल्न मैले पनि सहयोग गरें। उनी उत्रिइन्। मन खल्लो बनाउँदै मैले उनको अनुहार हेरिरहें। गाडी हिँड्ने बेलामा उनी झ्यालतिर चिहाइन्। मैले हेर्दा उनले डायरीबाट च्यातेको पाना मतिर बढाउँदै भन्दै थिइन्, 'मेरो लभलेटर पढ्नुहोला।'
मैले मुटु थामेर उनको छोटो पत्र पढ्न थालें। लेखिएको थियो, '...आखिर संसारका सबै लोग्ने मानिस उस्तै हुन्। कोही जबरजस्ती गर्छन्, कोही प्रेमपूर्वक। तपाईंको टाउकाको बोझले यो काँध कति दिनसम्म दुख्छ थाहा छैन, तैपनि यतिचाहिँ भन्न सक्छु, सबै लोग्नेमानिसको लक्ष्य एउटै हुने रहेछ—महिलामाथि अधिकार जमाउने प्रयास ...।'
साभार : साप्ताहीक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !