-कविन्द्र पान्डे/फ्लोरिडा-
एक हप्ताअघि फेसबुकमा एक जना साथीले नेपालको एउटा भिडियो पोस्ट गरेका थिए।
कहाँको हो, प्रष्ट थिएन। तर सहरनजिकैको गाउँको दृश्य जस्तो लाग्छ। झगडाको
दृश्य थियो त्यसमा। एक हुलले दुई तीन जनालाई लौरोले बेस्कन लखेटी लखेटी
चुट्दै थिए। पुलिसमात्र हैन,
गाउँलेहरु पनि मूकदर्शक थिए। तमासे बनेका थिए।
(भिडियो भित्र छ, हेर्नुस्) भिडियो देखेर म निकै विचलित भएँ। अनि जंगल राज
भएको देश भन्दै नेतादेखि जनतासम्म सबलाई ठोकेर लामै कमेन्ट लेख्न पुगेछु।
मनको भडास पोखेर कमेन्ट लेखेर सुत्न त सुतेँ। भोलिपल्ट उठ्दा दर्जनभन्दा
बढी रिप्लाइसहितका नोटिफिकेसन रहेछ। त्यो पढ्दै पारो तात्दै जाँदा झण्डै
काममा जान ढिला भयो। ‘अमेरिका चाहिँ खुब सुरक्षित छ भन्ने ठानेको?’,
‘अमेरिकामा भए गोली ठोक्थे गोली’, ‘तिमेरुको अम्रिकामा चाहिँ स्कूल कलेजमा
नरसंहार भएको छैन?’ आदि इत्यादि प्रश्नले भरिएका थिए। आज म बसेकै देशमा
भएको एउटा घटनाले उनीहरुका अगाडि म फेरि कमजोर साबित भएँ। आज यहाँ फिल्म
हलभित्र मोबाइल चलाउँदाको झगडालाई लिएर गोली चल्दा एक जनाको मृत्यु भयो।
भएको के रहेछ भने वेस्ली च्यापलको टाम्पा सबर्बमा रहेको एउटा हलमा रबर्ट
रेडफोर्डको फिल्म लोन सर्भाइभर चलिरहेको रहेछ। भूपू प्रहरी कर्टिस रिभ्स
आफ्नी श्रीमतीका साथ फिल्म हेर्न हलमा पुगेका रहेछन्। उनको अगाडि चाड उल्सन
र उनकी श्रीमती रहेछन्।
उल्सनले हलमा फिल्म चलिरहेको बेला मोबाइल फोन चलाएछन्। फोन पनि फेरि
छोरीलाई एसएमएस गर्नलाई मात्रै निकालेका रहेछन्। ओए फिल्म चलिराबेला मोबाइल
नचला त भनेर थर्काएछन् उनले। सवालजवाफ भएछ। तँलाई पख्लास् भन्दै रिभ्स
हलवालालाई कम्प्लेन गर्न पुगेछन्।
कम्प्लेन गरेर फर्किएका बेला उल्सनले म त मेरी सानी छोरीलाई मेसेज
पठाइरहेको थिएँ, तैँले कम्प्लेन गर्न गइस् भनेछन्। फेरि चर्काचर्की भएछ र
उल्सनले रिभ्सलाई पपकर्नको ब्यागले हानेछन्। त्यसपछि रिभ्सलाई सहिनसक्नु
भएछ र अटोमेटिक ह्यान्डगन निकालेर ठोक्देछन् ड्याङ्ग ड्याङ्ग। उल्सनकी
पत्नी निकोलको पनि हातमा गोली लागेको छ।
२५ जना थिए हलमा। सबै परिवारका साथ आएका। सब आतंकित भए।
मलाई याद छ नेपालमा हलमा फिल्म हेर्न जाँदा मलाई मेरो ब्यागमा भएको
बिस्कुटको एउटा प्याकेट समेत निकाल्न लगाइएको थियो। तर यहाँ त बन्दूकै
बोकेर हलभित्र छिर्दा पनि कसैलाई थाहा नहुने रैछ। अझ सामान्य विवादमा गोली
हानी मान्छे समेत मारिदिने रहेछन्।
आजै फेरि अर्को घटना पनि भयो। न्युमेक्सिकोको एउटा स्कूलमा गोली चल्दा तीन जना घाइते भए। घाइते मध्ये दुई जना स्कूले विद्यार्थी रहेछन्।
घटना सुन्ने बित्तिकै मलाई लाग्यो, यो कस्तो अमेरिका हो धत् !
यस्ता घटनालाई अपवाद भनेर पन्छिन बिल्कुल मिल्दैन। किनभने अमेरिकामा
व्यक्तिगत सुरक्षाका लागि बन्दूक राख्न दिइन्छ। बन्दूक तरकारी किने झैँ
पसलमा किन्न मिल्छ।
माथिको घटनामा त एक जनाको ज्यान गयो। तर सनकको भरमा गोली हानेर धेरैको
ज्यान लिने घटना धेरै भएका छन् अमेरिकामा। यस्ता घटना घट्दै हैन तीन गुणाले बढ्दै छन्। सन् २००६ यता हरेक दुई हप्तामा एउटा यस्ता घटना हुने युएसए टुडेले जनाएको छ। यहाँ हेर्न सक्नुहुन्छ विस्तृत बन्दूक नियन्त्रण गर्न कुरा उठेपछि यहाँका सांसदलाई धम्क्याइन्छ, फकाइन्छ। बन्दूक नियन्त्रणको पक्षमा लेख्ने पत्रिकालाई गालीगलौज गरिन्छ।
व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्दा यहाँ झन् व्यक्ति असुरक्षित छन्।
भिडभाडमा कुन चाहिँ सनकीले गोली हानेर सबलाई भुटिदिने हो, थाहा छैन।
नेपालमा पनि गोली चल्ने घटना नभएका हैनन्, तर अपवादका रुपमा भएका छन्।
एकै जना सनकीले गोली चलाएर धेरैको ज्यान लिएको घटना चाहिँ राजदरबार
हत्याकान्डपछि खासै सुनिएको छैन।
जन्मभूमिभन्दा कर्मभूमि अमेरिकालाई माया गर्ने धेरैलाई मैले यस्तो
लेखेको देखेपछि पारो तात्यो होला। उनीहरु आफू संसारकै सबैभन्दा सुरक्षित
देशमा छौँ भनी साथीहरुलाई गफ दिन नपाइएला भनेर डराएका होलान्। तर म त्यो
भ्रमबाट मुक्त भइसकेँ। सुरक्षा असुरक्षा सापेक्षिक रुपमा हेर्नुपर्छ।
नेपालका धेरै सहर र गाउँ सुरक्षाका हिसाबले अमेरिकाका धेरै सहरभन्दा शान्त
छन्। अमेरिकाको जस्तो बन्दूके आतंकबाट नेपाल सुरक्षित नै छ।
तरै पनि विदेशमा बसेर नेपाललाई नै गाली गर्न चाहनेहरुले यो भिडियो हेरे
हुन्छ, जुन भिडियो हेरेर मैले एक हप्तामात्रै अगाडि नेपालका साथीहरुलाई
लक्षित गर्दै खुब गाली गरेको थिएँ।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !