वाणिज्य बैंकका सीईओहरुको तलब सुविधा मासिक १४ लाख रूपियाँसम्म
घरदेखि कार्यालयसम्म स्यालुट ठोक्ने गार्ड। घरमा चौबीसै घन्टा पालोपहरा। खाना पकाइदिने कुक। फूलबारी हेरिदिने माली। घरमै काम गर्ने अरू एकाध कामदार। हातमा महँगा लेटेस्ट ग्याजेट र तिनले गर्ने खर्चको बिल। महँगा गाडी, त्यसले खाने तेल, चलाउने चालकदेखि मर्मतसम्भार। आफू मात्र होइन,
परिवारका जुनसुकै सदस्य बिरामी पर्दा पनि औषधी र उपचार खर्च। दसैँमा आफ्नो र परिवारका लागि मात्र होइन, मन परेका व्यक्तिलाई उपहार।
यस्तो सुविधासम्पन्न, विलासी र महँगो जीवनशैली अपनाउने को होलान् ? उद्योगी, व्यवसायी वा कुनै द्विपक्षीय वा बहुपक्षीय विदेशी संस्थाका अधिकारी ? होइन, ती त हुन्, नेपाल राष्ट्र बैंकबाट 'क' श्रेणी पाएका आमनागरकिको निक्षेप र सेयर भएका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू, जो मुलुकमा सबैभन्दा धेरै तलब खाने र सुविधा उपभोग गर्नेमा पर्छन्।
प्रायः सीईओ निश्चित अवधिका लागि करारमा नियुक्त गरिएका हुन्छन्। तर, उनीहरू जागिरबाट निवृत्त भएपछि पनि केही फिक्री हुन्न। सरकारी कर्मचारीले वर्षौंसम्म जम्मा गर्न नसक्ने रकम महिना दिनमै सञ्चय कोषमा जम्मा हुन्छ, उनीहरूको। जागिरकै सिलसिलामा ज्यानै तलमाथि भइगए परिवारले २५ लाख रुपियाँसम्म बिमाबापत पाउँछन्। र, बिमाको प्रिमियम पनि आफू काम गर्ने बैंकले नै तिरिदिन्छ। बिमा, औषधी खर्च, सवारी, इन्धन, सञ्चयकोषबाहेक मासिक तलब र भत्ता मात्र हिसाब गर्दा पनि एउटा सीईओको तलब मुलुकका मुख्यसचिवले वर्षभरि कमाउने तलबभन्दा धेरै गुणा बढी हुन्छ। तर, यसरी तलबभत्ता बुझ्ने र सुविधा उपभोग गर्ने सीईओहरूका लागि लिइएका मापदण्डमा भने एकरूपता देखिँदैन।
उदाहरणका लागि नबिल बैंकमा ३ हजार ५ सय रुपियाँ मासिक तलब बुझ्ने कर्मचारी पनि छन् र त्यहाँका प्रमुख कार्यकारी अधिकृत अनील ज्ञवालीले मासिक १४ लाख १० हजार रुपियाँभन्दा बढी पाउँछन्। उक्त बैंकको वाषिर्क कर्मचारी खर्च ६४ करोड ७० लाख रुपियाँ छ। ६ सय ५७ कर्मचारीलाई बराबर भाग लगाउँदा हरेकलाई ९ लाख ८४ हजार हुन्छ। अर्थात्, प्रतिकर्मचारी मासिक औसत ८१ हजार रुपियाँ तलब हुन्छ। तर, यस खर्चको ठूलो हिस्सा सीईओको भागमा पर्छ। यो कथा नबिलको मात्र होइन। अरू सबैजसो निजी बैंकको अवस्था यस्तै हो। तल्लो तहका कर्मचारी र नेतृत्वका बीचमा ठूलो खाडल छ।
सरकारी कर्मचारीमा सबैभन्दा तल्लो तह र उच्चतम तहका बीचको अनुपात १ः३.६ छ। सबैभन्दा तल्लो पद राजपत्र अनंकित प्रथमस्तरका कर्मचारीले १२ हजार ८ सय रुपियाँ पाउँछन् भने उच्चतम पदका मुख्यसचिवले ४० हजार ६ सय ९५ रुपियाँ। अर्थात्, मुख्यसचिवको तलबको लगभग तीन भागको एक भाग तल्लो तहका कर्मचारीले पाउँछन्।
करबि तीन वर्षअघिको प्रसंग हो, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटा अर्थ मन्त्रालयमा छँदै कर प्रयोजनका लागि मुलुकमा सबभन्दा धेरै तलब खानेहरूको सूची बनाउन तम्से। त्यस क्रममा वाणिज्य बैंकका सीईओ नै अगाडि देखिए। वाषिर्क आठ करोड रुपियाँसम्म एउटै सीईओले बुझेको पाइएको थियो। सरकारी कर्मचारीको उच्चतम पद मुख्यसचिवको सेवा सुविधासँग बैंकका सीईओको तुलना गर्दा सचिव बास्कोटा यस्तो निष्कर्षमा पुगे, त्यो उनकै शब्दमा, "कोही व्यक्ति जन्मिँदै मुख्यसचिव भएर नमरुन्जेल मुख्य सचिव नै रहिरह्यो भने पनि सीईओको एक वर्षको तलब बढी हुने रहेछ।"
नेपाल राष्ट्र बैंकले सबै बैंकलाई न्यूनतम सरकारी कर्मचारीबराबर सेवासुविधा दिनुपर्ने निर्देशन गरेको छ। तर, बैंकहरूमा यसभन्दा निकै फराकिलो अन्तर छ। वासलात अनुसार सिभिल बैंकको गत वर्षको जम्मा आम्दानी १२ करोड १३ लाख छ। यस बैंकको कुल आम्दानीको १२ प्रतिशत त सीईओको मासिक तलबमै जान्छ। मासिक १२ लाखका दरले सीईओले वर्षमा १ करोड ४४ लाख रुपियाँ तलब पाउँछन्। यसबाहेक दसैँ भत्ता, बोनस, सञ्चयकोष, सवारी सुविधा, बिमाको त हिसाबै छैन।
राष्ट्र बैंकको निर्देशन पालना नभएको भन्दै कर्मचारी संगठनहरूले गुनासो गर्दै आएका छन्। निजी क्षेत्रका वाणिज्य बैंकका कर्मचारीहरूको संगठन नेपाल बैंक कर्मचारी संगठन (एनबीईए)का अध्यक्ष पूरणबहादुर भाट भन्छन्, "कुनै पनि निजी बैंकले तलब सुविधामा रहेको अत्यधिक विभेद कम गर्न राष्ट्र बैंकले जारी गरेको निर्देशन पालना गरेका छैनन्। यस्तो निर्देशन पालना गरी न्यायोचित रूपमा तलब समायोजन हुनुपर्छ।"
भारी तलब सुविधा दिनुको औचित्य साबित गर्न अन्य उद्योग व्यवसाय धराशयी हुँदा पनि बैंकहरू निरन्तर नाफा दिन सफल भएको तर्क बैंक सञ्चालकहरू गर्छन्। तर, बैंकले आर्जन गरेको नाफा, लगानीकर्ताहरूलाई दिने लाभांश, सेयरको बजार मूल्यलगायत सूचकलाई सीईओको तलबको मापदण्ड मान्न सकिने देखिँदैन। बैंकहरूले देखाउने नाफा, बाँड्ने लाभांश र सेयरको बजार मूल्यलाई पत्यारलाग्दो र यथार्थपरक सूचकका रूपमा स्थापित गर्न सकेका छैनन्। जस्तो कि, गएको वर्ष मेगा बैंकले प्रतिसेयर साढे चार रुपियाँ कमायो तर सेयरधनीलाई उसले नौ रुपियाँ प्रतिसेयरका दरले नाफा बाँड्यो। चार रुपियाँ कमाएर नौ रुपियाँ लाभांश बाँड्नु आफैँमा स्वाभाविक लाग्दैन। मेगाले पुरानो सञ्चित नाफाबाट सेयरधनीलाई यो रकम बाँड्ने उपाय निकालेको थियो। तीन वर्षसम्म खराब ऋण, नन पर्फमिङ् एसेट र लोन लस प्रोभिजन देखाउनु नपर्ने भएकाले विगतमा उसलाई नाफा देखाउन सजिलो थियो। तर, यसपालि त्यो सहुलियत बैंकले पाएन र मुनाफा कम देखियो। "र, पुरानै मुनाफाबाट लगानीकर्तालाई लाभांश बाँड्नुको एउटा उद्देश्य वाषिर्क साधारणसभामा बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतले पाउने भारी तलब, भत्ता र सुविधाबारे हुन सक्ने आलोचना रोक्नु पनि देखिन्छ," सोही बैंकका एक प्रबन्धक भन्छन्।
सेयर मूल्यबाट हेर्दा पनि तीन वर्ष पुगेको र प्रतिसेयर साढे चार रुपियाँ कमाइ भएको बैंकको प्रतिसेयर बजारमूल्य ४ सय ५० छ। यस हिसाबले २९ वर्ष पुगेको, प्रतिसेयर ९५ रुपियाँ आम्दानी भएको, ७० करोड रुपियाँ सञ्चित नाफा रहेको र हालसम्म ४ सय ९५ प्रतिशत बोनस सेयर बाँडेको नबिल बैंकको सेयरको बजार मूल्य कति हुनुपर्यो ? जबकि, उसको सेयर मूल्य २ हजार १ सय अर्थात् मेगाको भन्दा चार गुना मात्र बढी छ।
केही वर्षअघि नेपाल बंगलादेश बैंकको सेयर मूल्य ३ हजार ६ सय रुपियाँसम्म पुग्यो। त्यसबापत तत्कालीन सीईओ नरेन्द्र भट्टराईले नेपाल व्यवस्थापन संघबाट वर्षका व्यवस्थापक सम्मानसमेत पाए। सीईओ र बैंक संस्थापकहरू मिलेर एकापसमा किनबेच गर्दै अस्वाभाविक रूपले सेयर मूल्य बढाएको पछि मात्र खुल्यो। त्यतिखेर थोरैले मात्र केही रकम कमाए। धेरै सर्वसाधारण सेयरधनी डुबे। पछि बैंक नै संकटग्रस्त घोषणा गरी राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्यो। त्यसैले धेरै नाफा, लाभांश र सेयरको बजार मूल्यले पनि सीईओको तलब निर्धारति हुने देखिँदैन।
सीईओले पाउने भारी तलबले बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गरेको, क्षमता र दक्षताकै आधारमा यस्तो सुविधाको पहुँचमा पुगेको भन्ने पनि छैन। धेरै बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय नेतृत्वमा सञ्चालक र विभिन्न शक्तिकेन्द्रसँग नाता सम्बन्ध भएका व्यक्तिहरूको पकड छ। संस्थापकहरूका परिवारकै सदस्यहरूको बाहुल्य उच्च व्यवस्थापन तहमा रहेको छ। यसबाहेक कतिपय बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय नेतृत्वमा राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायत नियमनकारी निकायमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका व्यक्तित्वहरू नै छन्। सर्वसाधारणको लगानी र बचत रकमबाट चलेका बैंकहरूबाट ठूलो स्रोत समाजको कस्तो वर्गमा सीमित भइरहेको छ भन्ने यसबाट स्पष्ट हुन्छ। "बजार नीति अनुसार असल र क्षमतावान्ले बढी तलब खानु स्वाभाविक हो," सचिव बास्कोटा भन्छन्, "उहाँहरूको मानमर्दन नहोस्। त्यस्ता अद्वितीय क्षमताका त कोही पनि सीईओज्यू हुनुहुन्न।"
सीईओको तलब बैंक सञ्चालक समितिले तोक्छ। सञ्चालकहरूले पाउने भत्ता र सुविधा हेर्ने हो भने आपसी मिलेमतोमा यो रकम तोकिएको देखिन्छ। सञ्चालक समितिको एउटा बैठक बसेबापत आठ हजार रुपियाँसम्म भत्ता पाउँछन् सञ्चालकले। सञ्चालक समिति अन्तर्गत विभिन्न उपसमिति हुन्छन्। तिनका बैठकमा उपस्थित भएबापत पनि त्यही दरमा भत्ता प्राप्त हुन्छ। मोबाइल, गाडी, पत्रपत्रिकालगायत विभिन्न सुविधा उस्तै। प्रायः बैंकका सञ्चालकले पनि सीईओकै हाराहारी भत्ता र सुविधा लिएको तिनका वासलातमा देखिन्छ।
अर्कोतर्फ, सञ्चालक समितिमा प्रायः एउटै पारिवारकि र व्यावसायिक समूह हुनु नेपालका बैंक तथा वित्तीय संस्थाहरूको विशेषता बनेको छ। भलै, औपचारकिताकै लागि भए पनि सर्वसाधारण र विशेषज्ञ सञ्चालकसमेत नियुक्त गर्नुपर्ने प्रावधान छ। अलगअलग समूह हुँदा सुविधा र स्वार्थकै विषयलाई लिएर कुन हदसम्मको द्वन्द्व हुन्छ भन्ने कुराको पछिल्लो उदाहरण, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक हो। निर्वाचित सञ्चालक समितिबीचको विवादले बैठक नै बस्न नसक्ने अवस्था बन्यो। दुई समूहको विवादले बैंक नै संकटमा पर्न लागेपछि २१ माघमा राष्ट्र बैंकले नै व्यवस्थापन नियन्त्रणमा लियो। यसअघि यस्तै समस्या कुमारी, लक्ष्मीलगायत बैंकमा भएको थियो।
समाजका अन्य क्षेत्रबाट पनि सीईओहरूको तलब सुविधा अस्वाभाविक रहेको भन्दै टीकाटिप्पणी हुँदै आएका छन्। राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले अस्वाभाविक तलब सुविधा नियन्त्रण गर्ने सार्वजनिक घोषणा नै गरे। तर, बैंकरहरूको लबिङ् यति बलियो भइदियो कि खतिवडाको प्रयास नै प्रभावहीन बन्यो। २० पुस ०६६ मा राष्ट्र बैंकले बैंक/वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मापदण्ड तय गर्ने निर्णय गर्यो। माघ ०६७ मा जारी मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागद्वारा जारी उक्त मार्गदर्शनअनुसार क श्रेणीका बैंकका सीईओहरूले तीन वर्षको औसत कर्मचारी खर्चको पाँच प्रतिशत र बैंकको कुल सम्पत्तिको शून्य दशमलव ०२५ प्रतिशतमध्ये जुन कम हुन्छ, त्यसमा नबढ्ने गरी तलब भत्ता तोक्नुपर्छ। "यो अधिकतम सीमा हो," राष्ट्र बैंकका प्रवक्ता भास्कर ज्ञवाली भन्छन्, "यति पुग्नैपर्छ भन्ने छैन।"
नियमन विभागकै कर्मचारीका अनुसार राष्ट्र बैंकद्वारा जारी मार्गदर्शन अनुसार सीईओहरूको तलब निर्धारण र नियमन गर्न सकिएको छैन। तोकेको सीमाभन्दा बढी तलब सुविधा लिएको पाइएमा बढी भएको रकम राष्ट्र बैंकले फिर्ता गराउने र हस्तक्षेपसम्म गर्न सक्ने भए पनि अहिलेसम्म त्यस्तो कारबाहीको उदाहरण छैन। खाईपाई आएको सुविधा घटाउन नमिल्ने कानुनी व्यवस्था एकातिर तगारो बनेको छ भने अर्कोतिर निर्देशन जारी हुनुअघि नै नियुक्त सीईओका हकमा उसको पदावधि कायम हुन्जेल पुरानै सेवासर्त लागू हुने प्रावधान छ। त्यसैले अधिकांश बैंक तथा वित्तीय संस्थाका सीईओले मापदण्ड मिचेरै तलब सुविधा लिइरहेका छन्।
विगतमा आकर्षक पेसाका रूपमा डाक्टर र इन्जिनियर मानिन्थ्यो। डाक्टर इन्जिनियर बन्न मरहित्ते गर्ने प्रवृत्ति निरुत्साहित पार्न र समाजमा अरू पनि आकर्षक जागिर छन् भन्ने स्थापित गर्न पनि सीईओको तलब सुविधाले धेरथोर मद्दत गर्यो, सायद। यति हुँदाहुँदै पनि समाजशास्त्री प्राध्यापक डिल्लीराम दाहाललाई सीईओले पाएको तलब सुविधा एउटै परिवार र व्यापारकि समूहमा केन्दि्रत हुँदा सामाजिक न्याय मर्न सक्ने देख्छन्। भन्छन्, "कुनै पनि नेपालीले राम्रो काम गरेबापत धेरै तलब सुविधा पाउनु राम्रो कुरा हो तर सुविधा र शक्तिको दुरुपयोग गरी आफ्नै वरपिरि स्रोत केन्दि्रत गर्ने प्रवृत्तिले समाज र व्यवस्थालाई भ्रष्टीकरण गर्छ।"
कसको तलब सुविधा कति ?
अनिल ज्ञवाली
नबिल बैंक
वर्षमा १ करोड ६९ हजार २० हजार (मासिक १४ लाख १० हजार)रूपियाँ । यसबाहेक अन्य सुविधा पनि।
ज्योतिप्रकाश पाण्डे
नेपाल इन्भेस्टभेन्ट बैंक
०६९/७० मा तलब ४६ लाख २८ हजार, भत्ता ८५ लाख ७५ हजार, दसैँ खर्च ११ लाख, सञ्चयकोष ४ लाख ६२ हजार गरी जम्मा १ करोड ४७ लाख ६५ हजार (मासिक १२ लाख ३० हजार १६) रूपियाँ ।
अन्य सुविधा ः बिजुली, पानी, टेलिफोन, चालक, इन्धन, मर्मतसम्भारसहित सवारीसाधन, बोनस, उपदान, दुर्घटना बिमा, औषधोपचार बिमा, जीवन बिमा र पत्रपत्रिका खर्च।
जोसेफ सिल्भानुस
स्ट्यान्डर्ड चार्टर्ड बैंक
०६८/६९ मा तलबभत्ताबापत १ करोड ५५ लाख ४२ हजार ६ सय १० (मासिक १२ लाख ९५ हजार) रूपियाँ। अन्य सुविधा ः बैंकको विनियम अनुसार।
अशोकशमशेर जबरा
हिमालयन बैंक
०६८/६९ मा तलब ५४ लाख ७० हजार २ सय ६९, भत्ता ३६ लाख २८ हजार ३ सय ७५, सञ्चयकोष ३ लाख ४७ हजार ३ सय ३६, टेलिफोन/मोबाइल १ लाख ३६ हजार ७ सय ९२, विविध ४८ लाख ५७ हजार ९ सय ६७ गरी जम्मा १ करोड ४४ लाख ४० हजार ७ सय ३९ (मासिक १२ लाख ३ हजार ३ सय ९४ ) रूपियाँ ।
अन्य सुविधा ः चालक, इन्धन र मर्मतसम्भारसहित सवारीसाधन, दुर्घटना बिमा, औषधोपचार बिमा र जीवन बिमाका साथै, आश्रति परिवारका लागि औषधोपचार बिमा, मोबाइल फोनको खर्च, खानेपानी र बिजुलीको महसुल र बोनस।
ज्ञानेन्द्रप्रसाद ढुंगाना
नेपाल बंगलादेश बैंक
तलब ः १४ लाख ५५ हजार, भत्ता र अन्य ः १६ लाख ७४ हजार २ सय ६४ गरी वाषिर्क ३१ लाख २९ हजार २ सय ६४ (मासिक २ लाख ६० हजार ७ सय ७२) रूपियाँ अन्य सुविधा ः सवारीसाधन, बोनस र कर्मचारीसरहको सुविधा।
पीके महापात्र
एभरेस्ट बैंक
०६८/६९ मा भुक्तानी गरेको तलबभत्ता तथा सुविधा ः ६१ लाख २७ हजार ५ सय ३९ (मासिक ५ लाख १० हजार ६ सय २८) रूपियाँ ।
अन्य सुविधा ः बोनस, दुर्घटना तथा औषधोपचार बिमा प्रिमियम ।
अजय श्रेष्ठ
बैंक अफ काठमाण्डू
०६८/६९ मा तलब भत्ताबापत ७७ लाख ५० हजार (मासिक ६ लाख ४५ हजार ८ सय ३३) रूपियाँ । अन्य सुविधा ः बोनस, सञ्चयकोष, औषधोपचार खर्च, सवारी र मोबाइल फोनको खर्च।
अमृतचरण श्रेष्ठ
एनसीसी बैंक
०६८/६९ मा तलब २६ लाख ६६ हजार ६७ (मासिक ४ लाख ४४ हजार ३ सय ४४) रूपियाँ
अन्य सुविधा ः मोबाइल/टेलिफोनको बिल भुक्तानी, चालक, इन्धन, सवारीसाधन र व्यक्तिगत दुर्घटना बिमा।
शोभनदेव पन्त
लुम्बिनी बैंक
०६९/७० मा तलबभत्ता १ करोड १६ लाख १० हजार, बोनस २७ लाख र मुनाफाबापत कार्यसम्पादनमा आधारित पारिश्रमिक ४० लाख ८७ हजार ९ सय ३५ गरी जम्मा १ करोड ८३ लाख ९७ हजार ९ सय ३५ (मासिक ३० लाख ६६ हजार २ सय २२) रूपियाँ । अन्य सुविधा ः चालक, इन्धन तथा मर्मतसम्भारसहित सवारीसाधन, २५ लाखसम्मको दुर्घटना बिमा, पत्रपत्रिका, मोबाइल र फोन खर्च।
उदयकृष्ण उपाध्याय
कुमारी बैंक
०६८/६९ मा तलब २८ लाख ९६ हजार ५ सय ५२, भत्ता २१ लाख २४ हजार १ सय ३८, सञ्चयकोष २ लाख ८९ हजार ६ सय ५५, औषधोपचार १ लाख ४० हजार ५ सय ४८, पानी, टेलिफोन, बिजुली ५१ हजार ३ सय ६९ रुपियाँ गरी जम्मा ५५ लाख २ हजार २ सय ६२ (मासिक ४ लाख ५८ हजार ५ सय २९) रूपियाँ अन्य सुविधा ः चालक, इन्धन र मर्मतसम्भारसहित सवारीसाधन।
तुल्सीराम गौतम
माछापुच्छ्रे बैंक
०६९/७० मा तलबभत्ताबापत ६२ लाख ४४ हजार (मासिक ५ लाख २२ हजार) रूपियाँ
अन्य सुविधा ः सवारी, इन्धन, सवारीको बिमा, दुर्घटना तथा औषधोपचार बिमा प्रिमियम।
सुमन जोशी
लक्ष्मी बैंक
०६८/६९ मा तलब भत्ताबापत १ करोड ३० लाख ६८ हजार (मासिक १० लाख ८९ हजार) रूपियाँ ।
अन्य सुविधा ः प्रस्ट नभएको।
सुरेन्द्र भण्डारी
सिद्धार्थ बैंक
०६९/७० मा पारिश्रमिक, भत्ता तथा अन्य सुविधाबापत ९० लाख ९४ हजार ६ सय ९८ (मासिक ७ लाख ५७ हजार ८ सय ९१) रूपियाँ ।
रत्नराज बज्राचार्य
ग्लोबल आईएमई बैंक
०६९/७० मा तलब ः ६० लाख, १८ लाख ४४ हजार ३ सय ८२, सञ्चयकोष ः ६ लाख, बिदाबापत ः ६ लाख ५३ हजार ६ सय ९८, दसैँ भत्ता ः ६ लाख ५३ हजार ६ सय ९८, बोनस २१ लाख ८३ हजार १ सय ४३, मोबाइल ५३ हजार ४ सय ९८ गरी १ करोड १९ लाख ८८ हजार ४ सय १९ (मासिक ९ लाख ९९ हजार ३५) रूपियाँ।
अन्य सुविधा ः कर्मचारी नियमावली र बेलाबेला सञ्चालक समितिको बैठकबाट तोकिएको सुविधा।
राजनसिंह भण्डारी
सिटिजन्स बैंक इन्टरनेसनल
०६८/६९ मा तलब ५३ लाख ७४ हजार २ सय, भत्ता ३१ लाख २० हजार, दसैँ भत्ता उपहार ६ लाख ७३ हजार ४ सय, सञ्चय कोष ४ लाख ९६ हजार ८० गरी जम्मा ९६ लाख ६३ हजार ६ सय ८० (मासिक ८ लाख ५ हजार ३ सय ६) रूपियाँ। अन्य सुविधा ः बोनस, मोबाइल फोनको भुक्तानी, चालक, इन्धन र मर्मतसम्भारसहित गाडी सुविधा, सवारीसाधनको दुर्घटना बिमा, आफ्नो र परिवारको औषधोपचार बिमा।
नारायणदास मानन्धर
प्राइम कमर्सियल बैंक
०६९/७० मा तलब ः ५७ लाख ६० हजार, भत्ता ः ३८ लाख ४० हजार, ४ लाख ८० हजार, ५ लाख ७६ हजार गरी कूल १ करोड ६ लाख ५६ हजार (मासिक ८ लाख ८८ हजार) रूपियाँ। अन्य सुविधा ः बोनस, सवारीसाधन, इन्धन, मोबाइल खर्च।
शशिन जोशी
एनआईसी एसिया
०६८/६९ मा ९८ लाख १९ हजार १ सय ७४ रुपियाँ तलब भत्ता एनआईसीबाट(मासिक ८ लाख १८ हजार २ सय ६४) रूपियाँ । अन्य सुविधा ः सवारीसाधन, फोन, बोनसलगायत (बैंक अफ एसियासँग गाभिएपछिको विवरण आउन बाँकी)
सुधीरबाबु खत्री
ग्रान्ड बैंक नेपाल
०६८/६९ मा तलब ६३ लाख ६० हजार, भत्ता ३१ लाख ८० हजार, दसैँ भत्ता ७ लाख ९५ हजार, बिदा भत्ता ७ लाख ९५ हजार गरी कुल १ करोड ११ लाख ३० हजार (मासिक ९ लाख २७ हजार ५ सय) रूपियाँ।
अन्य सुविधा ः बोनसलगायत कर्मचारी नियमावली र सञ्चालक समितिले पटके निर्णय गरी तोके अनुसार।
उपेन्द्र पौडेल
एनएमबी बैंक
०६९/७० मा तलब भत्ताबापत १ करोड ९ लाख ४८ हजार २ सय ७ (मासिक ९ लाख १२ हजार ३ सय ५०) रूपियाँ ।
अन्य सुविधा ः प्रस्ट नभएको।
कमलप्रसाद ज्ञवाली (तत्कालीन प्रबन्ध सञ्चालक)
किस्ट बैंक
०६८/६९ मा तलब ९५ लाख २० हजार, दसैँ खर्च ८ लाख १६ हजार ६ सय ६७, औषधोपचार खर्च ७ लाख ९३ हजार ३ सय ३३, सञ्चयकोष ९ लाख ५२ हजार गरी १ करोड २० लाख ८२ हजार -मासिक १० लाख ६ हजार ८ सय ६३) रूपियाँ । अन्य सुविधा ः बोनस, बिदाबापतको रकम, सञ्चार र सवारी सुविधा।
अनिल शाह
मेगा बैंक
०६९/७० मा १ करोड ४७ लाख, दसैँ भत्ता १२ लाख २५ हजार गरी जम्मा १ करोड ५९ लाख २५ हजार (मासिक करिब १४ लाख) रूपियाँ। अन्य सुविधाः गाडी, चालक, सुरक्षा गार्ड, मोबाइल खर्च, बिमा र बोनस।
सुरेन्द्रमान प्रधान
सनराइज बैंक
०६८/६९ मा प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारीलाई तलब तथा भत्ताबापत १ करोड ६५ लाख, कर कट्टीपछि(मासिक १३ लाख ७५ हजार) रूपियाँ । अन्य सुविधा ः प्रस्ट नभएको।
विजय पन्त
जनता बैंक
०६८/६९ मा बैठक भत्ता १ लाख २५ हजार, तलब र भत्ता ७० लाख ३० हजार, दसैँ भत्ता, उपहार ५ लाख, सञ्चयकोष ६ लाख, बोनस ७ लाख २६ हजार ५ सय १६, टेलिफोन/मोबाइल ३१ हजार ४ सय २८, इन्धन २ लाख ८४ हजार २ सय २०, गाडी ५० लाख गरी जम्मा १ करोड ४२ लाख ९७ हजार १ सय ६४(मासिक ११ लाख ९१ हजार ४ सय ३०) रूपियाँ । अन्य सुविधा ः गाडी चालक, मर्मतसम्भार र दुर्घटना बिमा।
अनलराज भट्टराई
कमर्ज एन्ड ट्रस्ट बैंक
०६८/६९ मा तलब ः ६१ लाख ११ हजार ५ सय, दसैँ खर्च ः ४ लाख ५० हजार ५ सय, सञ्चय कोष ३ लाख ६ हजार, टेलिफोन ८२ हजार ७ सय ३२, कुल ः ६९ लाख ५० हजार ७ सय ३२ (मासिक ५ लाख ७९ हजार २ सय २७) रूपियाँ। अन्य सुविधाः इन्धन, बिमाबापतको खर्च, बोनस, सवारीसाधन र मर्मत खर्च, एक महिनाको तलबबराबरको औषधोपचार खर्च, ५० लाखको दुर्घटना बिमा।
किशोर महर्जन
सिभिल बैंक
०६९/७० मा तलब ः १ करोड ४४ लाख (मासिक तलब १२ लाख) रूपियाँ। अन्य सुविधा ः दसैँ भत्ता, बोनस, सञ्चयकोष, सवारीसाधन, इन्धन, मर्मतसम्भार, चालक, मेडिकल तथा दुर्घटना बिमा आदि।
गणेशकुमार श्रेष्ठ
सेन्चुरी बैंक कमर्सियल बैंक
०६९/७० मा तलब ः ३६ लाख ८३ हजार २ सय २६, भत्ता ः १५ लाख, दसैँ खर्च ४ लाख २७ हजार ५ सय, सञ्चयकोष ः ३ लाख ६८ हजार ३ सय २३। कुल ः .५९ लाख ७९ हजार ४९ (मासिक ४ लाख ९८ हजार २ सय ५४) रुपियाँ। अन्य सुविधा ः मोबाइल सेटसहित बिल भुक्तानी, आवश्यकता अनुसार इन्धन, पत्रपत्रिका, ५४ लाखको गाडी, चालक, मर्मतसम्भार, दुर्घटना बिमा।
भुवनकुमार दाहाल
सानिमा बैंक
०६९/७० मा तलब ः ७९ लाख २९ हजार, ४ लाख ६६ हजार सञ्चयकोष थप गरी जम्मा ८३ लाख ९५ हजार (मासिक ५६ लाख ९९ हजार ५ सय ८३) रुपियाँ। अन्य सुविधा ः चालकसहित सवारीसाधन, बोनसलगायत।
महेश्वरलाल श्रेष्ठ
नेपाल बैंक लिमिटेड
संयोजक, व्यवस्थापन समूह
०६८/६९ मा ५ लाख ५९ हजार रूपियाँ र सवारीसम्बन्धी खर्च बेहोरिएको।
अन्य सुविधा ः प्रस्ट नभएको।
तेजबहादुर बुढाथोकी
कृषि विकास बैंक
०६८/६९ मा मासिक तलब १ लाख ३० हजार रूपियाँ। अन्य सुविधा ः वाषिर्क रूपमा औषधोपचार खर्चबापत डेढ महिनाको तलब, दसँै खर्च, बैंक दिवसबापत एक महिनाको तलब, टेलिफोन र सोको महसुल, १५ हजार रुपियाँसम्मको फिर्ता गर्न नपर्ने मोबाइल सेट र घरमा कामदार एक जना।
कृष्णप्रसाद शर्मा
राष्ट्रिय वाणिज्य बैंक
०६८/६९ मा तलब ७ लाख ३ हजार ५ सय ९१, भत्ता २० लाख ४६ हजार ४ सय ७५, सञ्चयकोष १९ हजार ७ सय ६१ गरी जम्मा २७ लाख ६९ हजार ८ सय २७ (मासिक २ लाख ३० हजार ८ सय १८)रूपियाँ । अन्य सुविधा ः मर्मतसम्भारसहित सवारीसाधन, चालक, इन्धन, मोबाइल फोनको बिल भुक्तानी।
(स्रोत ः सम्बन्धित बैंकका पछिल्ला वासलात)
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !