“तपाईले मलाई ६ हजार रुपैयाँ तलब दिनुहुन्छ, त्यो पनि ३ महिनामा एक पटक । महिनाको २ हजार त क्यान्टिनमै खर्च हुन्छ । तपाईले दिएको पैसा अफिसकै क्यान्टिनमा बुझाएर निस्केपछि मैले कोठाभाडा कसरी तिर्नु ? कलेज कसरी पढ्नु ? कमसेकम तलब टाइममै पाए अलि सजिलो हुन्थ्यो नि ।”
एभिन्यूज टेलिभिजनमा कार्यरत रहँदा झण्डै चार वर्षअघि एभिन्यूज टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्करराज
राजकर्णिकार सहितको बैठकमा मैले यसो भनेको थिए । त्यसलगत्तैको अर्को बैठकमा एक महिनाको तलब हालेको जानकारी दिदै भाष्करले भनेका थिए, “मसंग औला उठाएर कुरा नगर्नुस्, औला काटिदिन्छु । ” त्यही औला काट्ने चेतावनि र निरन्तर तलब नपाउने तनावकाबीच मैले एभिन्यूज टेलिभिजन छोडे ।
यतिबेला टेलिभिजन पत्रकारितामा धेरै समय संघर्ष गरेका पत्रकार अनुप आचार्य वैदेशिक रोजगारका लागि कतार छिरेको प्रसंग चर्चामा छ । संगसंगै चर्चाको अर्को पाटोमा “तलब माग्दा औला काट्छु” भन्ने उनै भाष्करराज राजकर्णिकार छन् । जो यतिबेला देशकै उद्योगी व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा छन् । यो स्तम्भले व्यापारीहरुको निर्वाचनको परिणामलाई प्रभावित गर्ने न उद्देश्य राख्छ न तागत । तर नेपाली टेलिभिजनको आजको अवस्था बुझ्दा एक थान भाष्कर र एक थान अनुप प्रवृत्तिको समालोचना काफी छ ।
नेपालको संचारक्षेत्रमा भाष्करराज राजकर्णिकारको योगदान निकै महत्वपूर्ण छ । अझ लोकतन्त्र स्थापनापछिको कालखण्डमा समाचार मूलक टेलिभिजन संचालन गर्न र त्यसमार्फत समाजको निरन्तर निगरानी गराउन उनको भूमिका महत्वपूर्ण पनि छ । तर यहाँ व्यक्ति भाष्कर भन्दा पनि भाष्कर प्रवृत्तिको विश्लेषण जरुरी छ । जसले नेपाली पत्रकारिताका “अनुप”हरुलाई घचेटेर खाडी धाउन बाध्य पारिरहेका छन् ।
धेरै टेलिभिजनकर्मीलाई थाहा छ, अधिकांश टेलिभिजनमा प्रतिमहिना औसतमा ९० देखी १ सय २० दिनसम्म हुन्छ । स्वयं एभिन्यूज टेलिभिजनमा यसको अनुपात अझ बढी छ । एभिन्यूज टेलिभिजनको समाचार कक्षमै भाष्करद्वारा कुटिएर जागिरबाट निकाला गरिएका पत्रकारहरु नवीन ढुंगाना र ज्योति शाह निरन्तर श्रम अदालत धाइरहेका छन् । अन्य टेलिभिजनबाट पनि जागिर छोड्ने कुराको सहज ग्यारेन्टी हुन्छ तर पाउन बाँकी तलब पाउने कुनै ग्यारेन्टी हुँदैन ।
धेरै टेलिभिजनकर्मीलाई थाहा छ, अधिकांश टेलिभिजनमा प्रतिमहिना औसतमा ९० देखी १ सय २० दिनसम्म हुन्छ । स्वयं एभिन्यूज टेलिभिजनमा यसको अनुपात अझ बढी छ । एभिन्यूज टेलिभिजनको समाचार कक्षमै भाष्करद्वारा कुटिएर जागिरबाट निकाला गरिएका पत्रकारहरु नवीन ढुंगाना र ज्योति शाह निरन्तर श्रम अदालत धाइरहेका छन् । अन्य टेलिभिजनबाट पनि जागिर छोड्ने कुराको सहज ग्यारेन्टी हुन्छ तर पाउन बाँकी तलब पाउने कुनै ग्यारेन्टी हुँदैन ।
मेरो अनुभवमा मैले एभिन्यूज, न्यूज २४ र हिमालय गरी ३ टेलिभिजनमा काम गरे । चौथो टेलिभिजनको रुपमा कान्तिपुर टेलिभिजनमा खुल्ला प्रतिस्प्रधाबाट छनोट भएर पनि उनै भाष्करले कैलाश सिरोहियालाई गरेको “एक कल” ले मेरो जागिर सुरु नै नभइ सकियो । पत्रकारिता अभ्यासको छोटो अवधीमा मेरो भोगाईले एउटै कुरा भन्छ पात्रको रुपमा मिडिया संचालकहरुमध्ये सबैभन्दा असहिष्सुण भाष्कर नै हुन्, तथापी हरेक मिडिया मालिकमा धेरथोर “भाष्कर प्रवृत्ति” हावी नै छ ।
यहाँ जो जति टेलिभिजन संचालक मानिएका छन् वास्तवमा उनीहरुमध्ये कोही चामल व्यापारी हो त कोही गलैचा व्यापारी । कतिपय रेष्टुरेण्ट व्यवसायी हुन् त कतिपय विज्ञापन व्यवसायी । नक्कली भारुको कारोबार देखी बैंक ठगीको अभियोगसम्म हाम्रा टेलिभिजन संचालकहरुलाई लागिसकेको छ । त्यसैले नैतिकरुपमा उनीहरु उभिएको धरातल नै यति कमजोर छ कि त्यसबाट हाम्रो पत्रकारिताको रक्षा र श्रीबृद्धि सम्भव नै छैन । कतिपय संचालकहरुको आपसमा बोलचालसमेत छैन तर कर्मचारीलाई तलब नदिने र कर्मचारीमाथि सिण्डिकेट लगाउने विषयमा उनीहरु संगै बसेर चियर्स गरेका धेरै उदाहरणहरु छन् ।
टेलिभिजन पत्रकारितामा निराशा जति छ आकर्षण उत्ति नै छ । तर त्यही आकर्षणको दुरुपयोग आज हाम्रा टेलिभिजनहरुले गरिरहेका छन् । पहिलो ३ महिना इन्टर्न र दोस्रो ३ महिना खाजा खर्चमा काम गरेपछि कम्तीमा तेस्रो ३ महिनापछि मात्रै आउने तलबमा अझै आकर्षण घटेको छैन । एंकर बन्नेहरुको “स्क्रिन टेस्ट” भन्दा पहिलो शर्त “स्किन टेस्ट” बनेका घटनाहरु पनि बेलाबखतमा सार्वजनिक भएकै छन् । दिनभरी टेलिभिजनको बुम बोकेर लाइभमा साग व्यापारीसंग महंगीका बारेमा भक्सपप लिइरहेको एउटा “टिभी जर्नलिष्ट” साझ घर फर्कदा उनै साग व्यापारीसंग दश रुपैयाँ मूठाको सागका लागि बार्गेनिङ गरिरहेको भेटिन्छ । यो दरिद्रता कुनै पत्रकारले रहरले आर्जेको होइन टेलिभिजन संचालकहरुले गरेको श्रम शोषणले बाध्य बनाएको हो ।
जब तलब नपाएको महिनौ बित्दा पनि निरीह समाचार प्रमुखले बुम बोकाएर रिपोर्टिङमा कुदाइरहन्छ । जब पेश्की फाराम भरेको २ हप्ता बितीसक्दा प्रशासनले वास्ता गर्दैन । अनि जब घरबेटी, परिवार र पसलेहरुले किचकिच गर्न थाल्छन्, तब जस्तोसुकै कुशल “टिभी जर्नालिस्ट” पनि बाध्य हुन्छ एमआरपी बनाउन । हो, अनुप र अनुपहरु यसैका उपज हुन् । अबको केही महिना बित्दा नबित्दै अनुपकै बाटो पछ्याउन बाध्य भएका पत्रकारहरुको संख्या अझै बढ्नेछ । ढिलो चाडो यो डिस्कोर्स चल्नु नै थियो कि टेलिभिजन पत्रकारिताले अझ कति “अनुप” जन्माउन सक्छ ?
अनुपको कतार प्रस्थानले उनीसंगै काम गरेका धेरैलाई दुखी बनायो । तिनका स्टाटस र ट्वीटहरुमा टेलिभिजन पत्रकारिताबारे चिन्ता पनि प्रकट भए । तर यसले टेलिभिजन संचालकहरुलाइ कति फरक पारेन । बरु अनुपले कति महिनाको तलब छोडेरै गए त्यसमा उनीहरु रमाइरहेका होलान् ।
यतिबेला म स्वयं टेलिभिजन पत्रकारिताबाट बाहिर छु । निश्चित छैन, समयले कुनैदिन मलाई पनि कतार पुर्याउन सक्छ । निश्चित छैन, कुनैदिन टेलिभिजन पत्रकारिताको अवस्था सुध्रिएर म यसैमा रमाइरहेको हुनसक्छु । तर एउटा कुरा निश्चित छ, हाम्रो पत्रकारिताले जे भोगिरहेको छ यसैलाई सत्य मानेर हिड्यो भने एउटा दिन आउनेछ न टेलिभिजन हुनेछ, न टेलिभिजन पत्रकार हुनेछन् । हाम्रो भेट खाडीकै मरुभूमीमा हुन सक्छ । अहिले संचालकका फेरो समातेर रिपोर्टरको सातो लिने सम्पादकहरु ऊँट डोर्याउदै हिडेको भेटिन सक्छन् कतै । त्यसैले बेलैमा सोचौ, बेलैमा आवाज उठ्ने हो भने सुधार सम्भव छ । सबथोक बिर्सेर आफूले गरेको परिश्रम र नपाएको पारिश्रमिक सम्झेर सोच्नुस्, समाजका कस्ता कस्ता विकृतिका विरुम धावा बोल्ने हामी पत्रकारहरु “भाष्कर प्रवृत्ति”को दास बनिरहनु आवश्यक छैन । -
नकुल अर्याल
कार्टुन–शैलेन्द्र श्रेष्ठ
साभार : समाज खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !