काठमाडौं : ग्रामीण पर्यटन, युद्ध पर्यटन र साहसिक पर्यटनबारेका समाचार त तपाईँले नेपाली मिडियाबाट थाहा पाउनुभएकै होला तर आत्महत्या पर्यटनका बारेमा तपाईँले सुन्नुभएको छ? छैन भने थाहा पाइराख्नुनुस् मानिसहरु जीवन त्याग गर्नकै लागि पनि भ्रमणमा जाँदा रहेछन्।
यो विश्वकै अतिविकसित मध्येको देश स्विट्जरल्यान्डको खबर हो। त्यहाँ पछिल्ला केही वर्षदेखि सुसाइड टुरिज्म अर्थात आत्महत्या पर्यटन खुब फस्टाएको एक अध्ययनले देखाएको छ। यसै साता प्रकाशित ‘जर्नल अफ मेडिकल इथिक्स’ को एक अनुसन्धानमूलक लेखमा विभिन्न देशका मानिस देश त्याग गर्ने उद्देश्य लिएर स्विट्जरल्यान्डको ज्युरिक भ्रमणमा आउने गरेको उल्लेख छ।
‘सुसाइड टुरिज्मः अ पाइलट स्टडी अन द स्विस फेनमेनन्’ शीर्षकको उक्त अध्ययनले आत्महत्या गर्न चाहनेहरुका लागि स्विट्जरल्यान्ड मनपर्ने स्थान बनेको निष्कर्ष निकालेको छ। ‘असिस्टेड सुसाइड’ अर्थात अन्य व्यक्तिको सहयोगमा गरिने आत्महत्याबारे स्विट्जरल्यान्डको युनिभर्सिटी अफ ज्युरिकको इन्स्टिच्युट अफ लिगल मेडिसिनले थालेको वृहद् परियोजनाको प्रारम्भिक अध्ययनको नतिजालाई ‘जर्नल अफ मेडिकल इथिक्स’ मा प्रकाशित गरिएको हो।
यसरी आत्महत्याका लागि त्यहाँ जाने मानिसलाई आत्महत्या पर्यटक भनिन्छ।
स्विट्जरल्यान्डमा इच्छा मृत्यु तथा ‘असिस्टेड सुसाइड’ अर्थात अन्य व्यक्तिको सहयोगमा गरिने आत्महत्याबारे स्पष्ट कानुन नहुँदा यस्ता घटना बढिरहेको अध्ययनको ठहर छ। कुनै निहित स्वार्थ नभएसम्म कसैको सहयोगमा गरिने आत्महत्या अर्थात 'असिस्टेड सुसाइड' स्विट्जरल्यान्डमा वैध छ।
के हो इच्छा मृत्यु?
असिस्टेड सुसाइड र इच्छा मृत्यु फरक हुन्। इच्छा मृत्युलाई अंग्रेजीमा युथनेसिया भनिन्छ। ग्रिक भाषाबाट आएको युथनेसिया शब्दको शाब्दिक अर्थ ‘सहज मृत्यु’ हुन्छ। यसलाई ‘मर्सी किलिङ’ अर्थात ‘दया मृत्यु’ पनि भनिन्छ। चिकित्सा विज्ञानमा कसैको सहयोगमा आत्महत्या वा सहज मृत्यु अर्थात कुनै कष्टबिना मर्नुलाई असिस्टेड सुसाइड भनिन्छ। सामान्यतयाः कसैको सहयोगमा गरिने आत्महत्यालाई नै अंग्रेजीमा ‘एसिस्टेड सुसाइड’ भनिन्छ।यस्तो छ आत्महत्या पर्यटनको अवस्था
अध्ययन अनुसार सन् २००९ देखि २०१२ को बिचमा आत्महत्याको लागि स्विट्जरल्यान्ड जानेको संख्या दोब्बरले बढेको छ। आत्महत्याका लागि ३१ देशबाट ज्युरिक गएका ६ सय ११ जना मध्ये सबैभन्दा धेरै जर्मन र बेलायतका नागरिक छन्। सन् २०११ मा एक भारतीय पनि जीवन त्यागका लागि त्यहाँ पुगेका थिए।सन् २००९ मा आत्महत्या पर्यटकको संख्या एक सय २३ बाट ८६ मा घटेको थियो। तर २००९ देखि २०१२ को बिचमा यो संख्या दोब्बरले बढेर एक सय ७२ पुग्यो।
चार वर्षसम्म गरिएको अध्ययनबाट पत्ता लागेका ६ सय ११ ‘असिस्टेड सुसाइड’ मध्ये आधाभन्दा बढी अर्थात ५८ प्रतिशत महिलाका छन्। त्यहाँ आत्महत्याका लागि गएकाहरुको उमेर २३ देखि ९७ को बिचमा छ। यसहिसाबले उनीहरुको औसत आयु ६९ वर्ष हुन्छ।
अत्यधिक पीडामा बाँच्नुभन्दा चिकित्सकको सहयोगमा बिरामीलाई मर्न दिने कानुनको पक्षविपक्षमा विश्वभर नै बहस भएको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ।
‘मर्न पाउने अधिकारको पक्षमा कार्यरत ६ संस्थाले स्विट्जरल्यान्डमा हरेक वर्ष यस्ता ६ सय घटनामा काम गरिरहेका छन्, यी मध्ये लगभग दुई सयवटा आत्महत्या पर्यटकका छन्’, लेखमा उल्लेख छ।
किन बढ्दैछ आत्महत्या पर्यटन?
इच्छा मृत्यु अर्थात आफूले चाहेको बेला देह त्याग गर्न पाउने अधिकार विश्वका अधिकांश देशमा प्रतिबन्धित छ तर स्विट्जरल्यान्डमा भने यसबारे स्पष्ट कानुन छैन। जसका कारण जीवनदेखि हरेश खाएका धेरै मानिसहरु त्यहाँ आत्महत्याका लागि पुग्छन्।जर्मनीमा ‘असिस्टेड सुसाइड’ को कानुनी प्रावधान छैन। ‘विश्वका अन्य देशमा नभएको व्यवस्था स्विट्जरल्यान्डमा छ’, वालस्ट्रिट जर्नलले कानुनविद् डा. माउसब्याचलाई उद्धृत गरेको छ, ‘त्यसकारण यहाँ यस्ता घटना घटिरहेका छन्।‘
यहाँ मर्न आउने मध्ये आधाजसो मानसिक रोगी छन्। इच्छा मृत्युमा सहयोग गर्न त्यहाँ आधादर्जन संस्था कार्यरत छन्। यी मध्ये चारवटाले विदेशी नागरिकलाई मृत्यु अनुमति दिन्छन्।
जर्मनीका दुई सय ६८ तथा ब्रिटेनका एक सय २६ जनाले त्यहाँ पुगेर आत्महत्या गरेका छन्। यसका अतिरिक्त फ्रान्स, इट्ली, अमेरिका, अस्ट्रिय, क्यानडा, स्पेन र इजरायलबाट पनि मानिसहरु आत्महत्याका लागि त्यहाँ पुग्ने गरेका छन्।
बेलायत, आयरल्यान्ड र फ्रान्समा ‘असिस्टेड सुसाइड’ लाई गैरकानुनी मानिन्छ तर हालैका दिनमा यससम्बन्धि कतिपय मुद्दा उच्च अदालतसम्म पुग्ने गरेको सिएनएनले जनाएको छ।
समाचार संस्था एएफपीका अनुसारका अनुसार गत वर्ष युरोपेली मानवअधिकार उच्च अदालतले एक वयोवृद्ध महिलाले आफ्नो देह त्यागका लागि सहयोग गर्न चिकित्सकहरुलाई सहमत गराउन नसकेपछि इच्छा मृत्युका मापदण्ड स्पष्ट गर्न सरकारलाई आदेश दिएको थियो।
‘राइट टु डाइ’
विश्वका पाँच ठाउँमा मात्र बिरामीले चाहेमा आत्महत्याका लागि सहयोग गर्ने कानुन छ। नेदरल्यान्डस, अस्ट्रेलियाको नर्दन टेरिटरी, बेल्जियम, स्विट्जरल्यान्ड र अमेरिकी राज्य ओरेगनमा आत्महत्या गर्न पाउने अधिकार सम्बन्धि व्यवस्था छ तर यी देशमा पनि इच्छा मृत्यु वा आत्महत्या गर्न पाउने अवस्था र सर्त भने फरकफरक छन्। यी देशहरुमा ‘राइट टु डाइ’ अर्थात मर्न पाउने अधिकारको पक्षमा काम गर्ने थुप्रै संस्था पनि कार्यरत छन्।अस्ट्रेलियामा गैरकानुनी भएपनि यसको उत्तरी राज्य नर्दन टेरिटरमा सन् १९९५ मा इच्छा मृत्यु विधयेक पारित गरी यसलाई कानुनी वैधता दिइएको छ। यस्तै सन् १९९४ मा अमेरिकाको ओरेगन राज्यमा इच्छा मृत्युलाई कानुनी वैधता दिइएको थियो। अप्रिल २००२ मा नेदरल्यान्डमा विशेषअवस्थामा इच्छा मृत्यु दिन सकिने कानुन पारित गरिएको थियो। बेल्जियममा सन् २००२ मा इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको थियो। स्विट्जरल्यान्डमा सन् १९३७ देखि चिकित्सकको सहयोगमा आत्महत्या गर्न अनुमति दिइएको थियो।
असफल नियन्त्रण प्रयास
स्विट्जरल्यान्डमा सन् १९४१ देखि नै इच्छा मृत्युलाई वैध मानिन्छ। तैपनि आत्महत्या पर्यटन अन्त्य गर्न विभिन्न प्रयास पनि भैरहेकै छन्। सन् २०११ मा आत्महत्या पर्यटनमाथि प्रतिबन्ध लगाउन जनमत संग्रह नै भयो। तर ८५ प्रतिशत मतदाताले आत्महत्या पर्यटन अन्त्य गर्ने प्रस्तावको विपक्षमा मतदान गरे भने ७८ प्रतिशत मतदाता विदेशीलाई प्रतिवन्ध लागाउने प्रस्तावको विपक्षमा उभिए। यसको एक वर्षपछि नै त्यहाँको राष्ट्रिय संसदले पनि आत्महत्या पर्यटनमा नियन्त्रण गर्ने प्रस्तावको विपक्षमा मतदान गर्यो।हिन्दू धर्ममा स्वेच्छा मृत्यु
पूर्वीय सभ्यतामा मानिसलाई अन्तिसम्म पनि बचाउन कोशिस गर्नुपर्छ भन्ने मान्यता छ। तर कतिपय धार्मिक ग्रन्थ तथा मिथकमा स्वेच्छा मृत्युको प्रसंग उल्लेख छ। हिन्दू धर्ममा आफ्नो मृत्युका लागि इच्छाएको समय र तरिका रोज्नुलाई स्वेच्छामृत्यु भन्ने गरिन्छ।महाभारत युद्धमा गंगापुत्र भीष्मपितामहले आफ्नै पिता सान्तनुबाट स्वेच्छा मृत्युको वरदान पाएका थिए। जनकपुत्री सीताले फाटेको धर्तीमा विलय भएर देहत्याग गरेको थिइन्। यस्तै मर्यादापुरुष राम र उनका भाई लक्ष्मणले सरयू नदीमा जलसमाधि लिएका थिए। भारतका प्रसिद्ध दार्शनिक स्वामी विवकानन्दले योगसमाधिबाट नै आफ्नो प्राण त्याग गरेका थिए।
साभार : पहिलो पोस्ट
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !