'लिभिङ टुगेदर' अर्थात् बिहे नगरी युवा–युवती सँगै बस्ने जीवनशैली। पश्चिमा चलन मानिने यो अनौपचारिक घरजम नेपालको शहरी समाजमा पनि सुरु भइसकेको छ। विभिन्न आवश्यकता पूरा गर्न जोडीहरूले भान्छादेखि बिछ्यौनासम्म 'सेयर' गर्ने यो जीवनशैलीका पक्ष र विपक्षमा तर्क गरिन्छन्। पक्षमा रहेकाहरू भन्छन्– यसले महिला सशक्तीकरण र स्वतन्त्रतालाई टेवा पुर्यााउँछ। र, विपक्षमा रहेकाहरू भन्छन्– पुरुषले इमान छोड्यो भने यसले महिलालाई घरको न घाटको बनाउँछ। उनीहरू यसले महिलाविरुद्ध हिंसा बढाउने पनि बताउँछन्। अम्मर जिसीले 'लिभिङ टुगेदर'का केही आयाम केलाउने प्रयत्न गरेका छन्।
स्याङ्जाका प्रवीण राना र युक्ता गुरुङ एउटै कलेजबाट प्लस टू सकेर थप अध्ययनका लागि राजधानी छिरे। यहाँ आएर फरक–फरक क्याम्पसमा भर्ना भए पनि उनीहरूको सम्बन्ध घर छाडेपछि औधी झांगियो। उनीहरूले एक–अर्कालाई सघाउने क्रम तीव्र भयो। घरबाट आएको पैसा, खानेकुरा आदि 'सेयर' गर्न थाले। त्योसँगै उनीहरूको मन पनि साटियो। 'अवस्था यस्तो आइदियो कि हाम्लाई भेटेपछि छुट्टिनै गाह्रो हुन थाल्यो,' प्रवीण भन्छन्, 'त्यसैले युक्ता र म सँगै बस्न थाल्यौँ।'
प्रवीण लगनखेलस्थित होस्टेलबाट बसाइँ सरेर कुपन्डोलस्थित युक्ताको कोठामा आए। युक्ताले फ्ल्याट नै भाडामा लिइन्। उनीहरू सँगै बसेको तीन वर्ष भइसक्यो। 'ऊसँग बस्न थालेदेखि घरबाट पैसा माग्नुपरेको छैन,' मक्ख पर्दै प्रवीण भन्छन्, 'उसको बाउ ब्रिटिस आर्मी भएकाले पैसाको समस्या छैन। मलाई पनि आनन्दै भा'छ।'
तर, प्रवीणलाई कहिलेकाहीँ नरमाइलो लाग्छ। भन्छन्, 'कहिलेसम्म अर्काको पैसामा मोज गर्ने होला?' बिहे नगरी र कसैलाई पत्तोसमेत नदिई 'घरजम' बसाइसकेका उनीहरू अब औपचारिक बिहेको लगन जुराउन खोज्दै छन्। यसो गर्नु बाध्यता भएको प्रवीण बताउँछन्। 'कति पटक एबोर्सन गराउनु, वाक्कै भइसक्यौँ,' उनले बाध्यता सुनाए, 'अब त जन्माइदिने हो। तर, बिहे नगरी बच्चा जन्माउँदा समस्या हुन्छ। त्यसैले बिहे गर्न लागेका हौँ।' युक्ताको कोखमा पाँच महिनाको गर्भ रहेको पनि उनले भने।
बिहेअघि नै 'बेडरुम' सेयर गर्ने चलन काठमाडौँलगायत शहरी क्षेत्रमा सुरु भइसकेको छ। अंग्रेजीमा 'लिभिङ टुगेदर' भनिने यस्तो सम्बन्ध नेपाली युवायुवतीमाझ 'पपुलर' हुँदै छ। गाउँबाट पढाइ पूरा गर्न राजधानी छिरेकाहरूदेखि काठमाडौँकै युवायुवतीले समेत आफ्ना प्रेमी–प्रेमिकासँग 'लिभिङ टुगेदर' सम्बन्ध राख्न थालेका छन्। पश्चिमाहरूले अपनाएको यो शैलीले नेपाली समाजमा पनि बिस्तारै जरो गाड्न थालेको छ।
बिहे नगरी घरजम बसाउनेहरूमा पोखराकी शीतल थापा र नेपालगञ्जका दिनेश मगर पनि पर्छन्। काठमाडौँमा डेरा खोज्न झन्झट भएपछि दिनेशले प्रेमिकाकै कोठामा शरण लिएका हुन्। तर, यसका लागि उनीहरूले शीतलका भाइसँग 'लड्नु' पर्योछ। 'भाइ मसँगै बस्थ्यो,' शीतल भन्छिन्, 'उसलाई लाहुरेमा भिड् भनेर ट्रेनिङको लागि पोखरा पठाइदिएँ। त्यसपछि बल्ल दिनेश मकहाँ आएर बस्न थाल्यो।'
दिनेश बालुवाटारस्थित शीतलको कोठामा सरे। दुई वर्ष सँगै बिताएपछि शीतलले दिनेशलाई बिहेका लागि प्रस्ताव गरिन्। दिनेशले सुरुमा मानेकै थिएनन्। तर, शीतलको करबलमा यो जोडी केही दिनअघि बिहेको साइत हेर्न पण्डितकहाँ पुगेको थियो।
सँगै उठबस गरेको दुई वर्षपछि बिहे! साइत हेरिदिने पण्डित नै चकित परेको शीतल बताउँछिन्। 'बाहुन बाजेलाई लिभिङ टुगेदर भनेको के थाहा?' उनी भन्छिन्, 'जमाना कहाँ पुगिसक्यो। बाजे उहिलेकै कुरा गर्छन्।'
'लिभिङ रिलेसन'मात्र
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर पढ्दै गरेकी सीता रिजाल आफैँसँग पढ्ने एकजना केटासँग 'सेक्रेट लाइफ' बिताउँछिन्। सुर्खेतबाट काठमाडौँ आएपछि उनी आफ्ना कुरा सुनिदिने साथीको खोजीमा थिइन्। 'मलाई एक्लो महसुस हुन्थ्यो यहाँ,' उनी भन्छिन्, 'त्यही बेला गोरखाबाट पढ्न आएका विवश रेग्मीसँग चिनजान भयो। कुराकानी, जातभात सबै मिल्ने भएकाले एकअर्कासँग नजिक भयौँ।'
त्यसपछि उनीहरूको सम्बन्ध एकै सिक्काका दुई पाटाजस्तै भयो। दुवैको कोठा छुट्टाछुट्टै छ। तर, अधिकांश समय उनीहरू सँगै बस्छन्। कहिले सीता विवशकहाँ बस्छिन् भने कहिले विवश सीताको कोठामा भेटिन्छन्। 'यसलाई लिभिङ टुगेदर भन्न मिल्ला?' सीता 'कन्फ्युज्ड' छिन्, 'लिभिङ टुगेदरभन्दा पनि लिभिङ रिलेसन पो हो कि हाम्रो?' लिभिङ टुगेदर हुनका लागि प्रेमी–प्रेमिका सँगै बस्नुपर्ने उनको बुझाइ छ। भन्छिन्, 'हामी त हप्तामा तीन/चार दिनमात्रै सँगै बस्छौँ।'
आफन्तले नराम्रो सोच्छन् भनी उनीहरूले कोठा छुट्टाछुट्टै लिएको बताउँछन् सीताका साथीहरू । 'सँगै उठ्ने, बस्ने गर्छन्,' सीताकी एक साथीले पोल खोलिन्, 'कोही आफन्त आएका बेलामात्रै उनीहरू आ–आफ्नो कोठामा बस्छन्।'
लिभिङ टुगेदर सम्बन्धलाई गलत भने ठान्दिनन् सीता। यो त बरु फाइदाजनक हुने उनको तर्क छ। भन्छिन्, 'एक–अर्काको आनीबानी सबै थाहा हुन्छ। यसले सम्बन्ध दिगो बनाउन मद्दत गर्छ। भगवान्ले जुराइदिएका रै'छन् भने बिहे पनि होला। नभए पनि सँगै बस्दा रमाइलै हुन्छ।' मान्छे समयअनुसार चल्नुपर्ने उनी बताउँछिन्। 'विदेशमा सबै बिहे नगरी सँगै बस्छन्। कुरा मिल्यो भने बिहे गर्ने, नमिले छोड्दिने,' उनी भन्छिन्, 'एक–अर्कालाई चिन्दै नचिनी बिहे गर्नाले त हाम्रो समाजमा महिलाहरू पीडित भएका हुन्। अब त हामी पनि तगडा हुनुपर्योल।'
आफ्नो सम्बन्धलाई 'लिभिङ टुगेदर' बताउन नचाहनेमध्येका एक हुन्, सुदन भण्डारी। कोठा नजिकै भएकाले लसपस हुनु स्वाभाविक भएको उनी बताउँछन्। तर, आफ्नो बिहे गर्ने उमेर नभएकाले अहिले नै औपचारिक घरजम जोड्नेबारे उनले सोचेका छैनन्। 'भर्खर त २२ वर्षको भइयो,' उनी भन्छन्, 'यति चाँडै बिहे गर्योड भने घरमा छिर्नै दिँदैनन्।'
उनले आफूहरूको सम्बन्ध प्रेममा मात्र सीमित राख्न खोजेका छन्। 'तर, उनको हातले पकाएको खाने बानी परिसक्यो,' सुदन भन्छन्, 'एक्लै बस्न त सकिएलाजस्तो छैन।' एक निजी कलेजमा स्नातक तहमा अध्ययनरत छिन्, उनकी प्रेमीका। प्रेमिका यो सम्बन्धलाई औपचारिकता दिन आतुर भएको सुदनले बताए। 'पोहोर सालदेखि सँगै बस्दै आएको छौँ,' सुदनले भने, 'उस्तै परे सम्बन्ध तोडिन्छ तर बिहे गरिन्न।'
पार्टनर गायब भइदिएपछि
चितवनकी रीमा पौडेल अहिले मर्नु न बाँच्नुको अवस्थामा छिन्। बिहेअघि सँगै बस्दा एकअर्कालाई बुझ्न सजिलो हुन्छ भन्ठान्थिन् उनी। पढाइका लागि राजधानी आएकी उनको लगाव पढाइमा भन्दा बढी प्रेममा थियो। 'अहिले त पढाइ पनि अधुरो, जीवन पनि अधुरै रह्यो,' उनी भन्छिन्, 'दुई वर्ष सँगै बस्यौँ। बिहे गर्ने प्लान पनि थियो। तर, मसँग बिहे गर्नुअघि नै ऊ अर्कै केटी लिएर इन्डिया भाग्यो। म त हेरेको हेर्यैग भएँ।'
रीमा अहिले एक्लो जीवन बिताउँदै छिन्। दुई जनाका लागि भनेर लिएको फ्ल्याट अहिले रित्तो छ। 'पढाइ पूरा गर्न पाएको भए त्यस्ता धोकेबाजलाई सम्झेर बस्नुपर्दैनथ्यो,' उनले भनिन्, 'तर, धोका देला भनेर सोचेकी थिइनँ। सँगै हुँदा खूब माया गर्थ्यो। त्यो सबै नाटक रै'छ। मलाई त थाङ्नामा सुतायो धोकेबाजले।'
तीन वर्षदेखि कोठा 'सेयर' गर्दै आएका धीरज क्षत्रीले धोका दिएपछि अहिले सुलोचना राई आफू घर न घाटको भएको बताउँछिन्। केही दिनअघिमात्र उनले अढाई महिनाको गर्भ 'एबोर्ट' गराइन्। 'बच्चा बसेको एक महिना भएको थियो,' उनी भन्छिन्, 'धीरज सम्पर्कविहीन भयो। कुर्दाकुर्दै डेढ महिना बित्यो। अझै ढिलो गरे गर्भ फाल्नै नमिल्ला भन्ने डरले हतार–हतार एबोर्सन गराएँ।' घरमा थाहै नदिई सँगै बसेका थिए उनीहरू। अहिले आपत् परेपछि भने सुलोचना मुख खोल्न बाध्य भइन्। 'झन्डै मारेनन् घरकाले,' उनी भन्छिन्, 'धन्न, कुरा घरबाहिर गएन। नत्र, मैले त आत्महत्या नै गर्नुपर्थ्यो।'(फिचरमा उल्लेखित व्यक्तिका नाम गोपनीयताका कारण परिवर्तन गरिएका छन्।)
महिला बढी पीडित
मोहना अन्सारी, प्रवक्ता, राष्ट्रिय महिला आयोग
'लिभिङ टुगेदर' वा 'लिभिङ रिलेसन' जे भने पनि यसले हाम्रो समाजलाई असर पुर्याभउँदै छ। नयाँ पुस्ताले प्रेमको सम्बन्धलाई अहिले 'लिभिङ टुगेदर'सम्म पुर्यालउन थालेका छन्। यो सम्बन्धले महिलालाई बढी दुःख दिने गरेको छ। यसबाट निम्तिने हिंसालाई न्यूनीकरण गर्न हामीले घरेलु हिंसा, कसुर तथा सजाय ऐन, २०६६ लाई संशोधन गर्न प्रस्ताव गरेका छौँ। यसको 'होमवर्क' अन्तिम चरणमा पुगेको छ।
ऐन संशोधनको मुख्य उद्देश्य भनेकै महिलाविरुद्धको हिंसा न्यूनीकरण गर्नु हो। लिभिङ टुगेदरजस्ता सम्बन्धबाट उत्पन्न हुने हिंसाका घटना न्यून गर्ने र दोषीलाई सजाय दिलाउने हाम्रो ध्येय हो। यो प्रस्तावले अंशबन्डाजस्ता कुरालाई सम्बोधन गर्ने होइन। लिभिङ टुगेदर रिलेसनसिपमा अंशको कुरै आउँदैन। यसले दोहोरो समझदारीमा सँगै बसेको वा सम्बन्ध राखेको भन्नेमात्रै बुझाउँछ। यसमा कुनै पनि कागजी दाबी वा विरोध गर्ने अवस्था रहँदैन। कानुनी रूपमा यसले कुनै पनि आधार पाउने अवस्था छैन।
यसलाई नियमन गर्न भने अहिले नै सोच्नुपर्ने बेला आएको छ। हामीले पश्चिमा शैलीलाई पछ्याउनमात्र जानेका छौँ। त्यसबाट उत्पन्न हुने समस्या कसरी समाधान गर्ने भन्ने सोच्दैनौँ। केही समयअघि महिला आयोगले गरेको एक अध्ययनअनुसार यस्तो सम्बन्ध राख्ने पुरुषमध्ये २० प्रतिशतमात्र त्यसलाई विवाहमा परिणत गर्न चाहन्छन्। बाँकीले यसलाई यान्त्रिक सम्बन्धमात्र बनाउन खोज्दा रहेछन्।
आधुनिकीकरणको प्रभाव
सुरेश ढकाल, मानवशास्त्री
शहरीकरण वा आधुनिकताको प्रभाव हो यो, सम्बन्ध। शहरी समाजको चरित्र तथा शैली फेरिँदै छ। यसलाई परिवर्तनका रूपमा लिइन्छ। समाज वा परिवारको निगरानी कम हुनेबित्तिकै मानिस स्वतन्त्रताको नाममा जे पनि गर्दै हिँड्छ। गाउँबाट राजधानी छिरेपछि एक्लो हुँदा उसलाई धेरै किसिमका आवश्यकता खड्किन्छ। सुरक्षा, अर्थ, यौनलगायत आवश्यकता पूरा गर्न उसले अनेक उपाय खोज्छ। कतिपयले प्रेमी–प्रेमिकामार्फत समस्या सुल्झाउन खोज्छन्।
काठमाडौँलगायत केही मुख्य शहरमा मात्र लिभिङ टुगेदरको प्रभाव बढेको छ। यसले मानसिक, सामाजिक, सांस्कृतिकजस्ता विभिन्न पाटामा असर पारेको छ। यसमा पुरुष अलि गैरजिम्मेवार बन्ने गरेकाले महिलालाई समस्या हुन्छ। उनीहरू विभिन्न खाले हिंसाका शिकार बन्ने गरेका छन्। पश्चिमाहरूलाई पछ्याउने शहरको शैली भइदियो। सकी–नसकी वा जानी–नजानी भए पनि शहरिया समाजले यो सम्बन्धलाई अपनाएको छ। यसमा कानुनी पक्ष दोस्रो नम्बरमा आउँछ। यसलाई व्यवस्थित गर्न कानुनले पनि बाँध्नुपर्छ। यसका राम्रा–नराम्रा दुवै पक्ष छन्। झट्ट हेर्दा राम्राभन्दा नराम्रा पक्ष धेरै देखिन्छन्।
सम्झौताको अर्को नाम
–अन्जान स्वीकृति
वैदेशिक रोजगारीका लागि विदेश गए पनि छ महिनापछि नै मनुलाई नेपाल फर्किनुपर्योा। परिवारलाई ऋणको भारी बोकाएर गएका कारण उनले बाबुआमाको सामु मुख देखाउन सकिनन्। आफू आएको परिवारलाई समेत पत्तो नदिईकन उनी आफ्नो प्रेमीसँग बस्न थालिन्।
कोठा, खानालगायत समस्या उनका लागि तत्काल समाधान भए। २७ वर्षीया मनु भन्छिन्, 'यसरी बसेपछि केही सम्झौता त गर्नैपर्छ। अलपत्र पर्नुभन्दा त कसैको साथमा बस्नु नै ठीक लागेर ऊसँग बसेकी हुँ। अरूको अगाडि श्रीमान्–श्रीमती भए पनि हामीले बिहे गरेका छैनौँ। बिहे गर्ने योजना पनि छैन हाम्रो।' उनको ब्वाईफ्रेन्ड कल सेन्टरमा काम गर्ने र आम्दानी पनि राम्रै भएकाले अहिलेलाई खासै आर्थिक समस्या नरहेको मनुले बताइन्।
बानेश्वर, काठमाडौँकी सुचित्रा अहिले आफ्नो ब्वाईफ्रेन्डसँग लिभिङ टुगेदर सम्बन्धमा छिन्। 'मैले उसलाई डान्स क्लबमा भेटेकी थिएँ,' उनी भन्छिन्, 'त्यहीँ चिनजान भयो। हाम्रो कुराकानी पनि मिल्यो। बिस्तारै एक–अर्कालाई मन पराउन थाल्यौँ। उसले 'एक दिन सँगै बसौँ' भन्यो। कोठा खोजेर सँगै बस्न थाल्यौँ।' स्नातकोत्तरमा अध्ययनरत सुचित्रा आफू कसैसँग लिभिङ टुगेदरमा रहेको निर्धक्क बताउँछिन्। आफूहरूले बिहे तत्काल नगर्ने उनले बताइन्। 'एकपल्ट विदेश गएर आउछुँ,' उनी भन्छिन्, 'त्यसपछि बिहेबारे सोचौँला। अहिले यत्तिकै रमाइलो गर्ने हो।'
तनहुँबाट कलेज पढ्नका लागि काठमाडौँ भित्रिएकी २१ वर्षीया पूजा शर्मा आफू बाध्यताले केटासाथीसँग बसेको बताउँछिन्। काठमाडौँको बसाइ महँगो भएकाले कसैको सहारा चाहिन्छ नै,' उनी भन्छिन्। उनी अधबैँसे विवाहित पुरुषसँग बस्छिन्। ती पुरुषले उनका सम्पूर्ण आवश्यकता पूरा गरिदिने गरेका छन्।
काठमाडौँजस्तो ठाउँमा बाँच्नका लागि सम्झौता गर्नैपर्ने उनको अनुभव छ। उनी अघोषित रूपमा त्यस पुरुषकी 'कान्छी' श्रीमती बनेकी छिन्। 'उहाँ सधैँ मकहाँ आउनुहुन्न,' पूजा भन्छिन्, 'हप्ताको दुई दिन मसँग बस्नुहुन्छ। तीन दिन आफ्नै श्रीमतीसँग। जिन्दगी जसरी बाँच्न सकिन्छ, त्यसरी नै बाँच्नु पर्दो रै'छ। मैले पढाइमा मात्र ध्यान दिने गरेकी छु। अरू सबै उहाँले नै हेर्नुहुन्छ।'
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !