CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » चन्द्रमामा पाइला टेक्दा

चन्द्रमामा पाइला टेक्दा


सन् १९६९ जुलाई २० मा पहिलोपल्ट मानिसले चन्द्रमामा पाइला टेकेका थिए। उक्त साहसी तथा ऐतिहासिक व्यक्ति थिए नील आर्मस्ट्रङ। सन् १९०३ मा पृथ्वीको गुरुत्वाकर्षणलाई चुनोती दिँदै पहिलो पटक राइट दाजुभाइ पृथ्वीको सतह छाडेर आकाशमा उडेका थिए। त्यसको ६६ वर्षपछि नील आर्मस्ट्रङले पृथ्वीको सतहमात्र छाडेनन्, उनले पहिलोपल्ट पृथ्वीबाहिर ब्रह्माण्डको कुनै अन्य भूभागमा पाइला टेके। उनले मानिसको उपस्थिति पृथ्वीमा मात्र सीमित छैन, मानिस ब्रह्माण्डको अन्य भूभागमा पनि आफ्नो उपस्थिति जनाउन सक्षम छ भन्ने सन्देश दिए। आर्मस्ट्रङले आफूले चन्द्रमामा पहिलोपल्ट पाइला टेक्नुलाई 'एउटा मानिसको सानो पाइला' भनेका थिए। तर उनैले भनेजस्तै त्यो सानो पाइला वास्तवमै 'मानव जातिका लागि विशाल फड्को' थियो। उनै महान् व्यक्तिको गत शनिबार ८२ वर्षको उमेरमा निधन भएको छ।
नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्दाको दृष्य र समाचार विश्वभरका प्रायः सबै मुलुकमा टेलिभिजन तथा रेडियोमार्फत् प्रत्यक्ष प्रशारण गरिएको थियो। त्यसको केही समयअघिमात्र अन्तरिक्षमा प्रक्षेपण गरिएको भू-उपग्रहको मद्दतले उक्त प्रत्यक्ष प्रशारण सम्भव भएको थियो। विश्वभर त्यति व्यापकरूपमा कुनै घटनालाई प्रत्यक्ष प्रशारण गरिएको त्यो पहिलो पटक थियो। वास्तवमा उक्त प्रत्यक्ष प्रशारण आम सञ्चार माध्यमको विश्वव्यापीकरणको पहिलो उदाहरण थियो।
भनिन्छ त्यतिबेला आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्दाको प्रत्यक्ष प्रशारण ६० करोड मानिसले हेरेका वा सुनेका थिए। यो संख्या त्यतिबेलाको विश्व जनसंख्याको २० प्रतिशतभन्दा बढी थियो। संयोग नै भन्नुपर्छ, उक्त ऐतिहासिक घटनाको प्रत्यक्ष प्रशारण हेर्ने व्यक्तिमध्ये पंक्तिकार पनि एक थियो। त्यतिबेला पंक्तिकार तत्कालीन पश्चिम जर्मनीमा उच्च अध्ययन गर्ने क्रममा इजरलोन शहरको गोइथे इन्ष्टिच्युटमा जर्मन भाषा सिक्दै थियो। उक्त इन्ष्टिच्युटमा अमेरिकालगायत् सयभन्दा बढी मुलुकका विद्यार्थी जर्मन भाषा सिक्दै थिए। त्यस अर्थमा त्यहाँ विश्वका धेरैजसो मुलुकका प्रतिनिधि उपस्थित थिए। हामीसंगै गोइथे इन्ष्टिच्युटका प्रमुखको पनि उपस्थिति थियो। हामी सबै आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्दाका प्रत्यक्ष प्रशारण हेर्न एक ठूलो हलमा एक श्यामश्वेत टेलिभिजन सेटअगाडि बसेका थियौँ। त्यतिबेला रंगिन टेलिभिजन दुर्लभ नै थियो।
हामी सबैको मनमा आर्मस्ट्रङको उक्त ऐतिहासिक कदम सफल हुने हो होइन भन्ने ठूलो कौतुहल थियो। अन्तिम समयमा कतै दुःखद् दुर्घटना हुने त होइन भन्ने शंका र डर पनि थियो। आर्मस्ट्रङ र उनका सहयात्रीद्वय एडविन बज अल्ड्रिन र माइकल कलिन्स बोकेको मुख्य यान कोलम्बिया चन्द्रमाको सतहमा अवतरण गरिसकेको थियो। केही क्षणपछि मुख्य यान कोलम्बियाबाट आर्मस्ट्रङ विस्तारै बाहिर निस्के र बडो सावधानीपूर्वक चन्द्रमाको सतहमा पाइला टेके। आर्मस्ट्रङले पहिलो पाइला टेक्नेबित्तिकै टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेरिरहेका सबैले खुसी भएर ताली बजाउन थाले। गोइथे इन्ष्टिच्युटका प्रमुखले सबै विद्यार्थी र आफ्नोतर्फबाट त्यहाँ उपस्थित अमेरिकी विद्यार्थीलाई बधाई दिए।
आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेकेको केही क्षणपछि उनका सहयात्री अल्ड्रिनले पनि चन्द्रमा पाइला टेकेका थिए। उनीहरूले विभिन्न परीक्षण तथा निरीक्षण गर्नुका साथै त्यहाँका पत्थरका केही नमुना संकलन गर्दै चन्द्रमामा करिब तीन घन्टा बिताएका थिए। माइकल कलिन्स भने मुख्य यानमै बसेर चन्द्रमाको परिक्रमा गरिरहेका थिए। सोही यानबाट तीनैजना अन्तरिक्ष यात्री सकुशल पृथ्वी फर्केका थिए। पंक्तिकारका लागि त्यो एउटा कहिल्यै नबिर्सने र विश्वासै गर्न नसकिने वैज्ञानिक चमत्कार थियो।
नील आर्मस्ट्रङ र उनका सहयात्री विश्वका २२ विभिन्न देशको सद्भाव भ्रमण गर्ने क्रममा सन् १९७६ तिर नेपाल पनि आइपुगेका थिए। उनी र उनका सहयात्रीको सम्मानमा त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित अडिटोरियम हलमा एक कार्यक्रम आयोजना गरिएको थियो। नील आर्मस्ट्रङ र उनका सहयात्रीलाई हेर्न कीर्तिपुर अडिटोरियमभित्र र बाहिर त्रिविका विद्यार्थी तथा सर्वसाधारणको ठूलो समूह जम्मा भएको थियो। आर्मस्ट्रङलाई हेर्न पंक्तिकार पनि त्यहाँ पुगेको थियो। आर्मस्ट्रङले नेपाल भ्रमणको बेला नेपाल सरकारलाई चन्द्रमाबाट ल्याइएका पत्थरको केही नमुना उपहार दिएका थिए।
मानिसलाई चन्द्रमामा अवतरण गर्ने परियोजनाका लागि अमेरिकाले २५ अर्ब डलर खर्च गरेको थियो। आखिर त्यति ठूलो धनराशी खर्चेर एक जना अमेरिकी नागरिकलाई चन्द्रमामा पहिलोपल्ट पाइला टेकाएर अमेरिकाले के प्रत्यक्ष उपलब्धि हासिल गर्यो भन्ने प्रश्न गर्ने मानिसको संख्या त्यतिबेला अमेरिकमा नै पनि धेरै थिए। तर अमेरिकाका लागि आफूले पहिलोपल्ट चन्द्रमामा मानिस अवतरण गर्नु विशुद्ध प्रतिष्ठाको विषयमात्र नभएर विश्वमै विज्ञान प्रविधिको क्षेत्रमा आफू सर्वश्रेष्ठ र शक्तिशाली राष्ट्र हो भन्ने सन्देश दिनु थियो।
दोस्रो विश्वयुद्धमा जर्मनीविरुद्ध मिलेर लडेका अमेरिका र सोभियत संघ युद्धपछि दुई ध्रुवमा विभाजित भए र एकअर्काको प्रमुख प्रतिद्वन्द्वी विश्व महाशक्तिका रूपमा उदाए। दोस्रो विश्व युद्धको अन्त्यतिर जापानमाथि आणविक बम विस्फोट गरेर अमेरिकाले आफ्नो सैनिक क्षमता प्रदर्शन गरेको थियो। भनिन्छ, जापानमाथि आणविक बम बिष्फोट गराउनुको एक प्रमुख उद्देश्य सोभियत संघलाई अमेरिकाले आफ्नो सैनिक क्षमता प्रदर्शन गर्नु पनि थियो। उक्त घटनाबाट सोभियत संघ झस्किएको थियो र आफू पनि आणविक बम निर्माणमा लाग्न थाल्यो। यसरी अमेरिका र सोभियत संघबीच आणविक हतियार निर्माण गर्ने होडबाजी चल्यो। उक्त होडबाजीमा पछि अन्य मुलुक पनि सरिक हुन थाले।
आणविक हतियार निर्माण गर्ने होडबाजीको सुरुवात् अमेरिकाले गर्योा भने अन्तरिक्षमा पुग्ने होडबाजीको सुरुवात् सोभियत संघले गर्योस। सोभियत संघले सन् १९५७ मा मानवरहित र १९६१ मा मानवसहितको अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेपछि अमेरिकाले विज्ञान प्रविधिको क्षेत्रमा आफू सोभियत संघभन्दा पछाडि पर्न सक्ने सम्भावना देख्यो। अमेरिका र सोभियत संघबीच शीतयुद्ध प्रारम्भ भइसकेको थियो। एकले अर्कालाई निषेध गरेर विश्वमा आफ्नो आधिपत्य जमाउन दुवै राष्ट्र तल्लीन थिए। उक्त उद्देश्य प्राप्तिका लागि विज्ञान प्रविधिको प्रयोग एक महत्वपूर्ण माध्यम बन्न थाले। आणविक हतियार निर्माण गर्ने होडबाजीजस्तै अन्तरिक्ष विज्ञानको विकास र विस्तारमा यी दुई राष्ट्रबीच अर्को होडबाजी आरम्भ भयो।
यसै पृष्ठभूमिमा सन् १९६२ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले १९६० को दशकभित्र चन्द्रमामा मानिसलाई सफलतापूर्वक अवतरण गराई सकुशल पृथ्वीमा फर्काउन अमेरिकी वैज्ञानिकलाई आह्वान गरे। अमेरिकी वैज्ञानिकले केनेडीको उक्त आह्वानलाई चुनौती र अवसर दुवैका रूपमा लिए। नभन्दै १९६० को दशकको अन्तिम वर्ष १९६९ को जुलाई २० मा एपोलो ११ चन्द्रमा मिसनअन्तर्गत अमेरिकी वैज्ञानिकहरू मानिसलाई पहिलोपल्ट चन्द्रमामा अवतरण गराई सकुशल पृथ्वीमा फर्काउन र अन्तरिक्ष विज्ञानमा इतिहास रच्न सफल भए। यस सफल अभियानले विज्ञान प्रविधिको क्षेत्रमा अमेरिकाको श्रेष्ठतालाई प्रमाणितमात्र गरेनन्। यसले कतिपय अमेरिकी नागरिकमा अमेरिकाले चाहे जस्तोसुकै चुनौती पनि सफलतापूवर्क सामना गर्न सक्छ भन्ने आत्मविश्वास पनि विकास गरेको थियो।
यसअघिका कयौँ अन्य वैज्ञानिक उपलब्धिजस्तै अन्तरिक्ष विज्ञानको क्षेत्रमा भएका उपलब्धिको पनि सकारात्मक तथा नकारात्मक पक्ष रह्यो। अन्तरिक्षमा मानवरहित वा मानवसहितको यान प्रक्षेपण गर्न रकेट निर्माण आवश्यक थियो। त्यसैले वैज्ञानिकहरू शक्तिशाली रकेटको निर्माणमा जुटे। फलस्वरूप आज रकेट प्रविधिले ठूलो प्रगति गरेको छ। यिनै रकेटको निर्माण र विकासले अन्तरिक्षमा आज सयौँ भू-उपग्रहको प्रक्षेपण सम्भव भएको छ। यी भू-उपग्रहकै मद्दतले आज मौसमको प्रभावकारी भविष्यवाणी, पृथ्वीको भूभागको अध्ययन, जलवायु परिवर्तन, दूरसञ्चार, इन्टरनेटको विकास, अन्तर्राष्ट्रिय हवाई यातायात आदि क्षेत्रमा कयौँ मानव उपयोगी काम सम्भव भएको छ। यसैगरी ब्रह्माण्डका विभिन्न ग्रहको अध्ययन/अनुसन्धान गर्न रकेट प्रविधिको प्रयोगगरी अन्तरिक्ष यान प्रक्षेपण गर्न सम्भव भएको छ। हाल मानवनिर्मित अन्तरिक्ष यान मंगल ग्रहको अध्ययन/अनुसन्धान गर्ने कार्यमा प्रयोग भइरहेको छ।
अर्कोतर्फ रकेट प्रविधिको प्रयोग गरी आणविक हतियार बोक्न र प्रहार गर्न सक्ने शक्तिशाली क्षेप्यास्त्रको निर्माणसमेत सम्भव भएको छ, जसको प्रयोगले अकल्पनीय मानव क्षति हुनसक्ने सम्भावना सृजना भएको छ। हिजोआजको युद्धका लागि मूलतः पृथ्वीको जलभाग र भूभाग प्रयोग हुँदै आएको छ। अन्तरिक्ष विज्ञानमा भएका उपलब्धिका कारण भोलिका युद्धमा अन्तरिक्षसमेत प्रयोग हुने गम्भीर खतरा पैदा भएको छ।
पृथ्वी फर्कनुअघि आर्मस्ट्रङ र अल्ड्रिनले चन्द्रमाको धरातलमा एक शीला गाडेका थिए। उक्त शीलामा लेखिएको थियो- 'पृथ्वीबाट आएका हामी मानिसले यहाँ पहिलो पाइला टेकेका हौँ। हामी यहाँ सम्पूर्ण मानव जातिको शान्तिका लागि आएका हौँ।' अन्तरिक्ष विज्ञानमा अहिलेसम्म भएका र भविष्यमा प्राप्त हुने सफलताले वास्तवमै उक्त शीलामा उल्लेख भएजस्तै सम्पूर्ण मानव जातिको शान्ति र कल्याणमा योगदान पुगोस्। यही कामना गरौँ।

---दयानन्द बज्राचार्य























साभार : नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis