CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » मुटु साट्नेहरूको अर्धनग्न भीड

मुटु साट्नेहरूको अर्धनग्न भीड

 तराईको मुख्य प्रवेशद्वार मानिने वीरगञ्जको तापक्रम यतिबेला ३५ डिग्री छ। गर्मी छल्ने बहानामा यहाँका युवतीहरू आफ्ना अर्धनग्न शरीर देखाउन उद्यत देखिन्छन्। वीरगञ्जका प्रत्येक चोक गल्लीमा हुलका हुल युवतीहरूका अर्धनग्न शरीर देख्न पाइन्छ। 'खत्तमै भयो नि सर,' स्कर्ट लाएर हिँड्दै गरेका एक हुल युवतीतिर इसारा गर्दै रिक्सा चालकले भने, 'बा-आमाले नि किन यस्तो छोटा कपडा लगाउन देका होलान्?''पहिले पहिले त यस्तो विरलै देखिन पाइन्थ्यो। सय जनामा मुस्किलले एक जनाले यस्तो पहिरन लगाउँदा सबै ट्वाल्ल परेर केहीबेर घोत्लिन्थे,' २० वर्षदेखि रिक्सा चलाएर गुजारा गर्दै आएका ४० वर्षीय श्रवन मियाले अनुभव सुनाए। छाडापन यति धेरै बढेको छ कि आफ्नो
रिक्सामा बस्ने भर्खरका 'टिन' जोडीले बेलुकाको मौका छोपी रिक्सामै चुम्बन गर्दा चाल पाएर पनि नपाएको अभिनय गर्नुपर्ने उनले खुलाए। बिहारबाट २० वर्षअघि वीरगञ्ज आएर रिक्सा चलाउँदै आएका उनले पछिल्लो समयमा पश्चिमा फेसनको नाममा युवा पुस्तामा विकृति बढ्दै गएको बताए। यस्ता युवापुस्तालाई बेलैमा तह नलगाए भयानक विकृति फैलिने उनको कथन छ।


रिक्सा चालकको भनाइलाई ध्यानमा राखेर त्यहाँका फेसनेबल युवायुवतीसँग केही प्रतिक्रिया लिने विचार गरेँ। माइस्थानमा 'वन पिस'मा भेटिएकी रमिताले बढ्दो फेसनले यहाँका युवतीहरू कुर्ता-सरवालबाट स्कर्ट र वनपिसतिर आकर्षित बन्दै गएको बताइन्। 'गर्मी त बहानामात्र हो,' २० वर्षीया रमिताले भनिन्, 'पछिल्लो समयमा वीरगञ्जलाई पनि पश्चिमा फेसनले डोर्‍याउँदै लगेको छ।' उनी भन्छिन्, 'कुर्ता-सरवालसँग दुपट्टा भिर्ने दिन गइसके। यहाँका युवती पनि नयाँनयाँ फेसनको पर्खाइमा हुन्छन्।' छोराछोरीको फेसनप्रति बाबुआमा पनि केही पछि हटेको देखिन्छ। आदर्शनगरमा भेटिएकी पूजना लामाले बदलिँदो आधुनिकतासँगै हामी पनि बदलिनुपर्ने धारणा राखिन्। 'ट्रेडिसनल छु भन्दैमा स्कर्ट लाउन नहुने र आधुनिक छु भन्दैमा गुन्यु चोलो लाउन नहुने भन्ने छैन,' उनले भनिन्, 'बदलिँदो परिस्थितिसँगै हाम्रा धारणा बदल्नु जरुरी छ।' उनले समय र अवस्था हेरेर यी पहिरन लाउँदा कसैको केही नबिग्रने बताइन्।
फेसनले वीरगञ्जका युवतीलाई मात्र हैन, यहाँका युवालाई पनि उत्तिकै छोएको छ। 'ट्याटु खोप्नु, मुन्द्रा लाउनु त यहाँ सामान्य भइसक्यो,' स्नातक पढ्दै गरेका विशाल पोखरेलले भने, 'फेसनलाई फलो गर्नु, मोजमस्ती गर्नु, गर्लफ्रन्ड बनाएर डेट जानु यहाँ सामान्य भइसकेका छन्।' उनले ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने सजिलो माध्यम फेसबुक भएको बताए। विश्वप्रसिद्ध समाजिक सञ्जाल फेसबुक अहिलेका युवा पुस्तामाझ मनोरञ्जन गर्ने प्रमुख थलो बनेको छ। उनीहरू यही सञ्जालमा आएर साथी बनाउने, च्याट गर्ने र त्यही क्रमलाई ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डको रूप दिने गर्छन्। मेनरोडको एक साइबरमा फेसबुक च्याटमा व्यस्त थिए राजीव थापा। उनी नयाँ-नयाँ साथी बनाउने र मोबाइल नम्बर दिन अभिरुचि राख्थे। यी १८ वर्षे युवालाई नम्बर तपार्इँले कि तपाईँको केटी साथीले माग्छन् भनेर सोध्दा उनले आफैंले मागे पनि उनीहरू सजिलै दिने गरेको बताए। उनले त्यसपछि मोबाइलमा कुरा गर्ने र भेटघाटको नाममा डेट गर्ने गरेको बताए। उनले आफ्ना साथीहरूले पनि यसरी नै फेसबुकमार्फत गर्लफ्रेन्ड बनाएको खुलाए। केटी मन परे त्यही बेला प्रपोज गर्ने र मन नपरे फेसबुकबाट डिलिट हान्ने चलन रहेको पनि राजीवले बताए।
साइबर सञ्चालक रमेश चौधरीले युवा पुस्तामा बढ्दै गएको विकृति खुलारूपमा हेर्न घडिहड्वा पोखरी जान सुझाव दिए। उनका अनुसार वीरगञ्जमा कहलिएको 'डेटिङ स्पट' हो, घडिहड्वा पोखरी। प्रत्येक युवा जोडीको पहिलो भेट हुने यो थलोमा वर्षैपिच्छे छठ पर्वसमेत मनाइन्छ।

त्यहाँबाट म घडीअर्वा पोखरीतिर रवाना भएँ। प्रवेश शुल्क तिरेर पोखरीभित्र प्रवेश गरेँ। काठमाडौँको रानीपोखरीजस्तै देखिने घडीअर्वा पोखरी अति नै सुन्दर रहेछ। रानीपोखरीको जस्तै पोखरीको बीचमा मन्दिर छ। यो पोखरी कसैको स्मृतिको लागि नभई पर्यटकका लागि निर्माण गरिएको घडीअर्वा पोखरी समितिका इन्चार्ज लखनलाल गुप्ताले बताए। उनले पोखरीमा भारतको बिहार तथा वीरगञ्जमै निर्माण हुने भोजपुरी फिल्मको प्रशस्तै सुटिङ हुने गरेको समेत बताए।
पोखरी घुम्ने क्रममा त्यहाँ प्रशस्तै युगल जोडी भेटिए। उनीहरूको हाउभाउ हेर्दा पोखरीको नाम घडीअर्वा नभई 'इश्क पोखरी' हुनुपर्ने जस्तो लाग्छ। पारिवारिक घुमघाम गर्न आएका कर्ण कुमारले पहिले यहाँ यस्ता युवा जोडी नदेखेको बताए। कुममा कुम मिलाएर बसेका एक जोडीसँग प्रतिक्रिया लिन खोजियो। उनीहरूले असहज मान्दै केही बोलेनन्। प्रत्येक १० मिटरको दूरीमा एक जोडी बसेको थियो। समितिका इन्चार्ज गुप्ताका अनुसार पोखरी प्रत्येक बिहान ४ बजेदेखि बेलुकाको ८ बजेसम्म खुल्ला हुन्छ। दैनिक सयौँ जोडीहरू आउने यस पोखरीमा कुनै जोडी बिहानदेखि बेलुकासम्मै बस्ने गरेको उनले बताए। 'बेलुका हुनुपर्छ, यहाँ कस्ता कस्ता दृष्य हेर्न पाइन्छन्,' गुप्ताले भने, 'हामीलाई लाज लाग्छ, तर उनीहरू लजाउँदैनन्।' नलेखेटेसम्म कतिपय जोडी जानै नमान्ने उनले बताए। बेलुका सिटी बजाउँदै सबै जोडीलाई बाहिर निक्लन आदेश दिने गरेको उनले बताए।

मदन चौधरी- nagrik news
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis