CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » सादा पोशाक :गांठ कमाउने तरिका

सादा पोशाक :गांठ कमाउने तरिका

केपी ढुंगाना, काठमाडौँ- मन्त्री क्वार्टरदेखि विमानस्थलसम्म। राजनीतिक दलका गोप्य गतिविधि अनि उपत्यकामा हुने आपराधिक घटनाको योजनाकार। कोही पनि प्रहरीको निगरानीबाट मुक्त छैनन्। हरेकलाई मिहिनरूपमा केलाउन दत्तचित्त छन् महानगरीय प्रहरी आयुक्त कार्यालय मातहतका प्रहरी। तर, कागजमा मात्रै।
अपवादबाहेक आपराधिक घटनाको तयारी हुँदाहुँदै विफल बनाएका उदाहरणीय सफलताको सूची छैन। न मध्यदिन मध्य सडकमा हत्या गरेर भाग्दाभाग्दै कोही पक्राउ परेका
उदाहरण छन्। 
घटनापछि अनुसन्धानको पुरातन शैली नै उपत्यका प्रहरीको मूलमन्त्र भए पनि जिल्ला तहदेखि वडा तहसम्मका प्रहरी कार्यालयमा सुराकी राख्न प्रतिस्पर्धा चल्छ।
महानगरीय प्रहरी आयुक्त कार्यालय मातहतका एसएसपी दरबन्दी हुने परिसर हुन् या प्रहरी निरीक्षक प्रमुख हुने प्रभाग हुन्, त्यहाँ अरू हुन् या नहुन् सादा पोसाकधारी सुराकी भने पक्कै छन्। 
सादा पोसाककै दरबन्दी हुने कार्यालयबाहेक पनि उपत्यकाका विभिन्न कार्यालयअर्न्तगत ७२ जना सादा पोसाकमा खटिन्छन्। महानगरीय प्रहरी आयुक्त कार्यालयको तथ्यांकअनुसार एसएसपी दरबन्दी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँ र यसअर्न्तगतका कार्यालयमार्फत ३४ जना सादा पोसाकमा प्रहरी खट्छन्। 
काठमाडौँ परिसरअर्न्तगत १३ जना सादा पोसाकधारी प्रहरी खटिन्छन्। डिएसपी प्रमुख हुने पाँच वृत्तमध्ये कालीमाटी, बानेश्वर र महाराजगन्जले सादा पोसाकमा प्रहरी टोली खटाउँछ। 
बौद्ध र बालाजु वृत्तको सूचीमा सादा पोसाकमा खटिने प्रहरीको संख्या उल्लेख छैन। तर, यी दुवै कार्यालयले पनि आवश्यकताअनुसार सादा पोसाकमा प्रहरी राख्छन्।
प्रहरी निरीक्षक प्रमुख हुने २२ प्रभागमध्ये सहरी क्षेत्रमा रहेको जनसेवा, सिंहदरबार, कीर्तिपुर, बुढानिलकण्ठ, गोंगबु, कमलपोखरी र गौशालामा सादा पोसाकधारी प्रहरीको दरबन्दी छ। सोह्रखुट्टेलगायत अन्य प्रभागले पनि नियमित र आफूअनुकुल सादा पोसाकमा प्रहरीलाई कार्यक्षेत्रमा पठाउँछन्।
एसएसपी दरबन्दी रहेको महानगरीय प्रहरी परिसर ललितपुर र त्यसअर्न्तगत वृत्त र प्रभागले छ जना सादा पोसाकमा प्रहरी खटाउँदै आएको छ। एसपी प्रमुख रहेको भक्तपुर परिसरअर्न्तगत भने तीन जनामात्र सादा पोसाकका प्रहरी कार्यरत छन्।
आफूअर्न्तगत प्रहरी कार्यालयको नियन्त्रण, रेखदेख र नीति निर्माण गर्ने जिम्मेवारी पाएको महानगरीय प्रहरी आयुक्त कार्यालय पनि सुराकीविहीन छैन। उसले इन्टेलिजेन्स महाशाखा बनाएर एसएसपीको कमान्डमा २९ सादा पोसाकधारी प्रहरी खटाउँदै आएको छ। 
मनपरी परिचालन
'आपराधिक घटनाको योजनाबारे पूर्व जानकारी संकलन, अपराधमा सक्रियहरूको निगरानी, आपराधिक घटनामा संलग्नको खोजी।' सम्बन्धित प्रहरी अधिकारीहरूले सादा पोसाकमा प्रहरी परिचालनको महत्व यसरी बखान गरे पनि परिचालनको लक्ष भनेझैँ देखिन्न।
'अपराध नियन्त्रण र गोप्य जानकारी संकलन भने पनि सुराकी परिचालनको पहिलो लक्ष्य अर्थोपार्जन नै हो', जानकार एक प्रहरी अधिकारीले भने, 'आम्दानीको स्रोतको पहिचान र सफल परिचालनमै अधिकांश केन्द्रित छन्।'
निश्चित मापदण्ड र अनुगमनको अभाव, सादा पोसाकमा खटिनेको योग्यता र दक्षता, तालिम र सूचना संकलन गर्नसक्ने क्षमताको आधारमा भन्दा पनि 'कार्यालय प्रमुखको प्रिय र गोप्यता कायम गर्न सक्ने खुबीका आधारमा सादा पोसाकधारी प्रहरीको चयन हुनुले समेत ती प्रहरी अधिकारीको तर्क पुष्टि हुन्छ।
उपत्यकाका विभिन्न निकायमार्फत खटिएका प्रहरीको पद, शैक्षिक योग्यता र संख्याले पनि यसको पुष्टि गर्छ। एउटै ओहोदा प्रमुख रहेको कार्यालयमा पनि संख्या मनलागी छ। न शैक्षिक योग्यतामा समानता देखिन्छ, न पदमा।
केही महिनाअघिसम्म काठमाडौँ परिसरको सादा पोसाक प्रमुख डीएसपी थिए। अहिले प्रहरी निरीक्षकले १३ जना परिचालन गर्छन्। उनीअर्न्तगत एक सई, चार असई छन्। बाँकी प्रहरी हवल्दार र जवान। सादा पोसाकमा खटिने प्रहरीको शैक्षिक योग्यता एमबीएसदेखि कक्षा ८ उत्तीर्णसम्म छ।
ललितपुर परिसरमा सादा पोसाक प्रमुख प्रहरी निरीक्षक नै छन्। उनलाई एक जना सई, बाँकी हवल्दार र जवान सहयोगी छन्। ललितपुरको सादा पोसाकधारी छ जनामध्ये प्रहरीमा साधारण लेखपढ गर्नसक्नेसम्म छन्।
वृत्तमा संख्या निश्चित छैन। भक्तपुरमा सईको कमान्डमा तीन जना खटिन्छन्। कमान्डरको योग्यता प्रवीणता प्रमाणपत्र उत्तीर्ण हो भने सहयोगी साधारण लेखपढ।
वृत्तमा कमान्डरदेखि संख्यामा समेत मनलागी छ। कालीमाटीमा असईको कमान्डमा चार जना छन्। डीएसपी कमान्डर रहेको बानेश्वरमा हवलदारसहित तीन जना खटिन्छन्। 
आपराधिक दृिष्टकोणले संवेदनशील महाराजगन्ज वृत्तअर्न्तगत सई र एक जना जवान छन्। प्रभागहरूमा कतै दुई जना छन्, त कतै एकै जनाले काम चलाइरहेका छन्। सादा पोसाकका कमान्डर अधिकांश प्रहरी जवान छन्। 
ललितपुरको वृत्तपिच्छे एक जना सुराकी छन्। अधिकांश प्रहरी जवान नै सादा पोसाकका प्रमुख छन्।
एसपी दरबन्दी रहेको भक्तपुर परिसरमै सई मात्रै छन् सादा पोसाकमा। खरिपाटी र सानेपा प्रभागमा साधारण लेखपढ गर्ने प्रहरी जवान हुन् सुराकी।
राजनीतिकेन्द्रीत आयुक्त
एसएसपीको कमान्डमा २९ जना कार्यरत महानगरीय प्रहरी आयुक्त कार्यालयका सुराकीको परिचालन अपराधभन्दा बढी राजनीतिकेन्द्रित छ। एनेकपा (माओवादी), नेकपा-माओवादी, नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेसवादी दलको सुराकी गर्न कतै दुई त, कतै एक जना खटिन्छन्। राजनीतिक दलको कार्यक्रम र विश्लेषणका लागि समेत प्रहरी परिचालित हुन्छन् आयुक्तमातहत। मन्त्री क्वार्टर, विमानस्थललगायत उपत्यकाका ५० स्थानको सुराकीमा १६ प्रहरी खटिन्छन्।
अक्कलसहितको नक्कल 
उपत्यकामा हुने गम्भीर प्रकृतिका अपराधको अनुसन्धान, आपराधिक योजना, घटनामा संलग्नको खोजी र गोप्य सूचना संकलनका लागि डेढ सयभन्दा बढी सादा पोसाकधारी प्रहरी रहेको महानगरीय प्रहरी अपराध महाशाखा छ।
राष्ट्रिय स्तरको महत्व राख्ने आपराधिक घटना, गम्भीर प्रकृतिको अपराधको विश्लेषण र अनुसन्धानका लागि केन्द्रीय तहमा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको नजर उपत्यकामा नहुने कुरै भएन। सुराकीकै आवश्यकता परे पक्राउ, बयान र अनुसन्धानको काम पाएका प्रहरी कार्यालयलाई यी दुवै निकायले सहयोग नपुर्‍याउने कुरै भएन। तैपनि सादा पोसाकका प्रहरी खटाउने प्रतिस्पर्धा रोकिएको छैन। 
जानकार प्रहरी अधिकारीहरू नै अपवादबाहेक अधिकांश सादा पोसाकका प्रहरीको प्राथमिकतामा अपराधीभन्दा आर्थिक स्रोतको खोजी भएको स्विकार्छन्। कार्यक्षेत्रको आपराधिक सूचना संकलनभन्दा पनि प्रमुखको लक्ष्यअनुसार आर्थिक स्रोत पहिचान र संकलनमा उनीहरू केन्द्रित भएकोमा नेतृत्वमा रहेका प्रहरी अधिकारीसमेत विमति राख्दैनन्।
अपराधीको पहिचान र नियन्त्रणभन्दा उनीहरूसँग नियमित उठबसबाट आर्थिक लाभ लिनु उनको ध्येय भएको संगठनका उच्च अधिकारीलाई पनि थाहा छ। तैपनि नियन्त्रण हुनसकेको छैन।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी नवराज ढकाल प्रहरी पोसाकमा खटिएर गर्न नसक्ने सुरक्षाका कामका लागि सादा पोसाकका प्रहरी प्रभावकारी हुने भए पनि उपत्यकाकामा दोषमुक्त नभएको स्विकार्छन्।
'उपत्यकाका खटिएका सादा पोसाकका प्रहरीको प्रभावकारिता र व्यवहार चित्तबुझ्दो नभएकाले सुधारका लागि गृहकार्य सुरु भएको छ', उनले भने, 'सदुपयोग हुने हो भने सूचना संकलन र अनुसन्धानमा सादा पोसाकका प्रहरी प्रभावकारी हुन्छन्। तर, कमजोरीहरू छन्, सुधार्नुपर्छ।'
सादा पोसाकमा प्रहरी परिचालनको मापदण्ड, अनुगमन र नियन्त्रण आवश्यक भएको बताउँदै उनले आयुक्त कार्यालयले उनीहरूलाई प्रत्यक्ष नियन्त्रण र अनुगमन गर्ने संयन्त्रणको निर्माण गर्ने तयारी भइरहेको बताए।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis