CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » भिडियोमा जँड्याहा देखेपछि छोरी नै दिएनन्

भिडियोमा जँड्याहा देखेपछि छोरी नै दिएनन्


नारद खतिवडा, हास्य कलाकार

मापसे कत्तिको गरिन्छ ?

केटाकेटीले दूध पिउँछन्, बूढाहरूले कि तातोपानी कि चिलिम । रक्सी भनेको युवाले पिउने हो, म युवा नै हुँ ।

रक्सीको सुरुवातचाहिँ कहिलेबाट गर्नुभयो ?

९ कक्षामा पढ्दा पहिलोचोटि रक्सी पिएको थिएँ । मीठो/मसिनो खानेहरू आफू केही गर्न नसकेर औँला हल्लाउँदै अरूलाई काम लगाउने गर्थे । तर, जो दुःख गर्छ, दिनभरि अर्काकोमा काम गरेर साँझमा भात र जाँड खान्छ, ऊचाहिँ बलियो देखेँ । त्यो देखेर मलाई रक्सीमा तागत हुँदो रहेछ भन्ने लाग्यो । त्यसपछि मैले पनि प्योर कोदोको जाँड खाएको त दुई दिनसम्म
'सेन्टिफ्ल्याट' भएँ ।


अहिले त तपाईं जतिवेला पनि झ्यापमा हुनुहुन्छ रे नि ?

नारद खतिवडाले पानी खाइरहेको देख्यो भने पनि रक्सी नै खायो भन्दा रहेछन् । तर, म साँझमा मात्रै पिउँछु । मुड चलेको वेला हप्तैभरि पिउँछु, मुड नचल्दा महिनौँ दिनसम्म रक्सी छँुदिनँ । सायद 'ढोका खोल न पोस्टेकी आमा' गीतको भिडियो हेर्ने दर्शकले त्यसो भनेका होलान् । 

तपाईंको 'लिमिट’ कति हो नि ?

प्रचण्डले एउटा अन्तर्वार्तामा चार पेग लिन्छु भनेका थिए, मलाई त्यसको आधाले पुग्छ ।

कुनै स्पेसल ब्रान्ड छ कि ?

घरमा दुई/चार फुल 'स्कच' स्टक नै हुन्छ । घरमा बस्दा म स्कच नै पिउँछु । खल्तीमा पैसा भयो भने बाहिर 'रोयल स्यालुट' लिन्छु । गाउँघरतिर जाँदा कोदाकै हान्दिन्छु । म जहाँ जे उपलब्ध हुन्छ, त्यही पिउँछु, कुनै स्पेसल ब्रान्ड छैन । तर, विदेशका कार्यक्रमबाट फर्किंदा पारिश्रमिकको २५ प्रतिशतको विदेशी ब्रान्ड बोकेर चाहिँ ल्याएको हुन्छु ।

अनि मापसे गरेपछि कत्तिको लफडा गरिन्छ नि ?

अरू रक्सी पिएर हल्ला गर्छन्, लफडा गर्छन् । तर, म रक्सी पिएपछि लफडा, हल्ला होइन, सल्लाह गर्छु ।

भिडियोकै कारण तपाईंलाई छोरी नै दिन मानेनन् रे नि ?

मेरो 'लुलोपाइलो' एल्बमका आठवटै गीत फरक स्वादमा चर्चामै थिए । कुनै भिडियोमा म बद्मास थिएँ, कुनैमा जँड्याहा । सायद त्यसैको प्रभावले होला, जति ठाउँ केटी हेर्न गएँ, सबै ठाउँबाट रिजेक्टेड भएँ ।

केटीका परिवारले के भन्थे त ?

उनीहरूले बिहानै टिभी खोल्दा म 'टिल्ल' भएको भिडियो बजिरहेको हुँदो रहेछ र उनीहरूले पनि मलाई त्यही रूपमा हेर्दा रहेछन् । 'बाबु, त बिहानैदेखि टिल्ल हुनुहुँदो रहेछ, ट्वाकेलाई कसरी छोरी दिने ?' भन्थे अनि हामी फर्किन्थ्यौँ । केही ठाउँमा त मलाई 'के गरिन्छ' भनेर सोधे । मैले कलाकार हुँ भने । काम नि भने, मैले कलाकार हुँ भनेँ । 'पैसा आउने कामचाहिँ के गरिन्छ, कसरी पाल्छौ त मेरी छोरी' भने । रिसले पारो चढेपछि 'तपाईंकी छोरी 'माडे'लाई दिनु, बरु अहिले खाएको भातको कति हो भन्नु तिर्छु,' भनेर हिँडेँ ।


अनि विवाह कसरी भयो त ?

तीन/चार ठाउँबाट रिजेक्ट भएपछि मागेर बिहे नहुने देखेँ, लभ गर्नुपर्छ भन्ने लाग्यो । लभ गरेँ अनि उनैसँग विवाह पनि गरेँ ।

अनि भिडियोमा जस्तै ढोका खोल्न कर गर्नुपरेको छैन नि ?

अनि भिडियोमा जस्तो त म पनि छैन नि । म आउँदै छु भनेर पाँच मिनेट अघि नै कल गर्छु । कहिलेकाहीँ त्यस्तो अवस्थामा भइयो भने गेटको चाबी मसँग पनि हुन्छ । बिस्तारै ढोका खोलेर श्रीमतीलाई 'लो लो लो लो' गर्दै भित्र पस्छु । 

अनि जँड्याहाले बोल्ने शब्द त रुचाइयो नि है ?

मैले नारीको पक्षबाट त्यो गीत सिर्जना गरेको हुँ । मैले भिडियोमार्फत भित्र छिर्ने हैसियतमा आऊ, हैसियत बिगारेर नआऊ अन्यथा रातभरि चिसोमा बाहिरै लडेर बस्नुपर्ला भन्ने सन्देश दिएको थिएँ । तर, दर्शकले मैले जाँड खाएर उप|mेको मात्रै बुझे, नारीको समस्यामा कसैले ध्यान दिएको पाइनँ, खै किन हो ?


त्यो भिडियोको प्रभाव कतै भेट्नुभयो कि ?

भिडियो सबैले रुचाए, तर त्यसको प्रभाव कतै देखेको पनि छैन, सुनेको पनि छैनँ । बरु धेरै कार्यक्रममा त्यो गीतमा अभिनय गरेको देखेको छु । अभिनय मन परेर म पाँच सय रुपैयाँ इनाम दिँदै हिँड्थेँ, इनाम दिने पैसा नहुँदाचाहिँ लुकेर हेर्ने गरेको छु । मेरो अर्को गीत 'मलाई छोरी दिने कोही छ' भन्ने गीतमा नृत्य गर्दा कार्यक्रमस्थलमै छोरी दिन आए भन्दै सुनाउने फ्यानहरूचाहिँ भेटेको छु ।

नारद खतिवडालाई त रक्सीले बिगार्‍यो, त्यसैले हरायो पनि भन्छन् नि ?

म हराएको छैन । स्टेज प्रोग्रामहरू गरिरहेको नै छु । भर्खरै पनि हङकङमा कार्यक्रम गरेर फर्किएको हुँ । टेलिभिजन, फिल्ममा चाहिँ नदेखिएको हुँ ।

किन नि ?

पहिलो कुरा त म अरूको सिर्जनामा मिसिएर आउनै चाहन्नँ । टेलिभिजनमा पनि धाइरहनुपर्ने, गुलामी गर्नुपर्ने अनि टेबलमुनिबाट पनि काम गराउनुपर्ने, त्यो म चाहन्नँ । त्यसैले म टेलिभिजनमा नदेखिएको हुँ । फिल्म पनि आपै“mले बनाए मात्रै खेल्छु । १५ सय पारिश्रमिक लिएर अरूको सिर्जनामा मिसिएँ भने अमिक शेरचन माओवादीमा छिर्नुजस्तै हुन्छ । संविधानसभा चुनावमा दुई सिटमात्रै किन नहोस्, बरु नारायणमान बिजुक्छेको नै बोली बिक्छ नि अमिक शेरचनको भन्दा ।

१० वर्षदेखि तपाईंको सिर्जना देखिएको छैन, के गरिरहनुभएको छ त ?

जय आउटडोर नामक कम्पनीको म एमडी हुँ । होर्डिङ बोर्ड, टिभी एड बनाइरहेको छु । भर्खरै मात्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र बिमा समितिको विज्ञापन गरेँ । र, नयाँ एल्बमको तयारी पनि गरिरहेको छु ।


नयाँ एल्बममा पनि मापसेकोे गीत होला नि ?

'ढोका खोल न पोस्टे कि आमा' गीत जहाँ सकिएको थियो, त्यहीँबाट सुरु हुन्छ नयाँ गीत । १० वर्षअघि 'पोस्टेकी आमा' गीत लेख्दा रक्सी पिएर रमाइलो गर्नुपर्छ भन्ने थियो । तर, अहिले आफ्नै भोगाइ पनि छ । कलेजो, फोक्सो र मुटु लेमिनेसन गरिएको हुँदैन । रक्सीले तीनै भागमा असर पुर्‍याउँछ । त्यसैले सकेसम्म मापसे नगरौँ भन्ने सन्देश हुनेछ मेरो गीतमा ।

अन्य गीतचाहिँ ?

जितियो भने लुटिन्छ
हारियो भने कुटिन्छ
यसपालिको चुनावमा
उठिन्छ... उठिन्छ...
यो गीतको भिडियो सायद यही महिनाभित्रै आउँदै छ ।
प्रस्तुति : प्रवीण बुढाथोकी
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis