लहरेपौवा-९ माझगाउँको शुभारम्भ अंग्रेजी निमाविको पानी ट्यांकीमा 'किप्लेस' नामक औषधि हालिएको खानेपानी खाएर आधा दर्जन विद्यार्थी बेहोस भएको र अन्य केही बिरामी परेको प्रधानाध्यापक प्रकाश घिमिरेले बताए । बेहोस भएका विद्यार्थीलाई नुवाकोटको त्रिशूली अस्पतालमा उपचारार्थ लगिएको थियो । 'तिर्खा लागेको थियो,' कक्षा ६ की यशोदा
आचार्यले भनिन्, 'पानी खाएपछि वाकवाकी लागेर आयो, अनि के भो थाहै भएन ।'
पानी खाएको ५/१० मिनेटमै नर्सरीदेखि कक्षा ६ सम्मका अधिकांश विद्यार्थी बिरामी परेपछि स्कुलभर त्रास फैलिएको घिमिरेले बताए । विद्यालयमा १ सय २४ जना विद्यार्थी अध्ययनरत छन् । 'कस्तो/कस्तो गन्ध आयो, कक्षा २ का समीर आचार्यले भने, 'पानी खाएको केही छिनपछि साहै्र गाह्रो भयो ।' पानी खाएपछि पेट पोल्ने, वाकवाकी लाग्ने र बेहोस हुने लक्षण देखिएको शिक्षकहरूले बताए । खानेपानीबाट गन्ध आएपछि विषादी हालिएको आशंकामा स्कुलले पानीको नमुना त्रिशूलीस्थित एक एग्रोभेटमा लगी सोधपुछ गर्दा 'किप्लेक्स' नामक विषादी हालिएको पत्तो लागेको थियो । बेहोस भएका विद्यार्थीहरूलाई उपचारपछि आ-आफ्नो घर पठाइएको छ । 'पानीको गन्ध एग्रोभेटका औषधिको गन्धसँग मेल खाएपछि किप्लेस नामक औषधि हालिएको चाल पाएको हो,' प्रधानाध्यापक घिमिरेले भने, 'पछि अस्पतालबाट पनि त्यही पुष्टि भयो ।' उनका अनुसार खानेपानी राखिएको प्लास्टिकको ट्यांकीभित्रै विषादीको एउटा बोत्तलसमेत फेला परेको थियो । खानेपानीको ट्यांकीमा विषादी हालिएकोबारे प्रहरीमा उजुरी गरे पनि अनुसन्धानमा तदारुकता नदेखाएको घिमिरेले जनाए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भागेन्द्रपुरुष ढकालले भने कसले विषादी हालेको भन्ने अनुसन्धान भइरहेको दाबी गरे । विद्यार्थी र शिक्षकहरू भने अझै पनि पानी खान डराइरहेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्य समितिले कलिला बालबालिकाले पिउने पानीमा विष हालिएको जस्तो जघन्य अपराधको भत्र्सना गर्दै दोषीलाई तत्काल खोजेर कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
कृष्ण थापा , कान्तिपुर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !