CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » २५ पटक "लुट" हेरेपछि बैंक लुटे

२५ पटक "लुट" हेरेपछि बैंक लुटे


बैंक अफ काठमाण्डूको तुलसीपुर शाखामा डकैती गर्नका लागि सोही बैंकका कर्मचारी खगेन्द्र बस्नेतले २५ पटकसम्म 'लुट'नामक चलचित्र हेरेको खुलेको छ । बैंकिङ डकैतीको कथावस्तुमा बनेको चलचित्र लुट गतवर्ष सर्वाधिक सफल चलचित्र बनेको थियो । 
पक्राउ परेपछि बयानका क्रममा सो फिल्मबाट नै आफूले डकैतीको रणनीति सिकेको बैंकका हेड क्यासियर बस्नेतले बताएका छन् । 'लुट' फिल्ममा डकैतीका मुख्य योजनाकार
प्रहरी कब्जाबाट उम्कन सफल भए पनि बस्नेत भने तेस्रो दिनमै प्रहरी फन्दामा परिसकेका छन् । 
दाङका प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लका अनुसार बयानका क्रममा बस्नेतले डकैतीका तरिका सिक्न पटकपटक फिल्म हेरेको बयान दिएका छन् ।
अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार फिल्म र गत शुक्रबारको डकैतीका कतिपय घटनाक्रम पनि मिलेका छन् । चलचित्रमा मुख्य कलाकार 'हाकु काले' बैंक डकैती गर्न बेरोजगार युवालाई खोज्दै समूह बनाएर डकैती गर्न सफल हुन्छन् । त्यस्तै, बस्नेतले पनि आफ्ना फुपूका छोरा सुशील रोकायमार्फत डकैतीका लागि आँटिला युवाको समूह बनाएर डकैती गरेका थिए । 
त्यस्तै, फिल्ममा जस्तै बस्नेतले पनि नक्कली पेस्तोल देखाएर डकैती गराएका थिए । डकैती निकै योजनाबद्ध र चलाखीका साथ गर्न सफल भए पनि धेरै प्रमाण छाडेकाले बस्नेत उम्कन सकेनन् । केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)ले घटनामा संलग्न सबैलाई पाँच दिनभित्रै पक्राउ गर्न सफल भएको छ । मुख्य योजनाकार बस्नेत, उनका चालक अमर बोहोरा, फुपूका छोरा सुशील रोकाय, पेसेबर अपराधी प्रकाश परियार तथा उनका सहयोगी  रामेछापका प्रेम तामाङ र गोरखाका मिनुर तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ । चालक बोहोराले पैसा ओसार्न र लुकाउन सहयोग गरेका थिए भने अन्य चारजनाले बैंकमै पुगेर करिब ८७ लाख रुपैयाँ लुटेका थिए । 
सम्पूर्ण योजना बस्नेतले नै फिल्म हेरेर बनाएका थिए । बैंकमा आफ्नो अनियमितता लुकाउन उनले त्यसरी डकैतीको सहारा लिएको सिआइबीका एसएसपी उत्तम कार्की बताउँछन् । विगत डेढ वर्षयता बैंकको पैसा उनले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेर एक करोडभन्दा बढी घोटाला गरिसकेका थिए । 
सुरुमा चारै युवालाई बैंकमा ८०/८५ लाख हुने र त्यो पैसा चार भाग लगाउने उनको प्रस्ताव थियो । त्यसमध्ये बस्नेत, रोकाय र परियारलाई तीन भाग तथा प्रेम र मिनुरलाई एक भाग लगाउने सहमति भएको अनुसन्धानमा खुलेको छ । मिडियामा भने दुई करोडभन्दा बढी डकैती भनेर समाचार आउने तर त्यसमा विश्वास नगर्न उनले सुरुमा नै आग्रह गरिसकेका थिए । किनकि आफूले अनियमितता गरेको रकम पनि डकैतीमा परेको भनेर मिलाउने उनको योजना थियो । 
डकैतीका लागि सुरुमै उनले दुई लाख एडभान्स रोकायमार्फत पठाइसकेका थिए । त्यसबाट रोकायले चारैजनालाई सपिङ गराउनुका साथै करिब १०/१० हजार रुपैयाँ बाँडेका समेत थिए । 
पछि बैंक डकैती गरेपछि पनि परियारले अरूलाई थाहै नदिई झोलाबाट करिब डेढ लाख रुपैयाँ आफ्नो खल्तीमा राखेका थिए । काठमाडौं र्फकंदा प्रकाश र प्रेम एउटा बसमा तथा सुशील र मिनुर अर्काे बसमा फर्किएका थिए । प्रकाश मुग्लीनमा र्झने क्रममा आफूले लुटेकोमध्ये ५० हजार राखेको भन्दै २५ हजार प्रेमलाई दिएका थिए । खासमा उनले डेढ लाख लुटेका थिए । सो पैसामध्ये ५० हजार हजुरआमालाई तथा ६० हजार बुबालाई दिइसकेका थिए । घटनामा दुई सय ५० रुपैयाँको प्लास्टिकको पेस्तोल प्रयोग भएको समेत खुलिसकेको छ ।

यसरी भयो डकैती


बैंक डकैती गत शुक्रबार साँझ ६ बजे भएको थियो । पूर्वयोजनाअनुसार चार युवक पैसा जम्मा गर्न र अन्त पठाउन भन्दै पाँच बजेर ४० मिनेटमा प्रवेश गरेका थिए । बैंकको सन्ध्याकालीन काउन्टरमा केही ग्राहक थिए । ग्राहक हुँदा लुट्न समस्या हुनेबारे उनीहरूले पहिले नै सोचिसकेका थिए । त्यसका लागि ग्राहक गएपछि मात्र आफ्नो काम गर्ने उद्देश्यले करिब १५/२० हजार खुद्रा पैसा बोेेकेर गएका थिए । ती पैसा ५, १०, २०, ५० र १०० रुपैयाँका थिए । सुरुमा पैसा गनिसकेपछि उनीहरूले भौचर भरेर बस्नेतलाई दिए । तर, खाता नम्बर मिलेन । त्यसपछि उनीहरूले अर्का एक व्यक्तिलाई पैसा ट्रान्सफर गर्न पनि खोजे । तर, त्यसका लागि पनि आवश्यक प्रक्रिया मिलेको थिएन । त्यही क्रममा ६ बज्यो । ६ बजेपछि बैंक बन्द हुन्छ । त्यसकारण कर्मचारी त्यसपछि सटर तानेर हिसाबकिताब गर्छन् । 
पैसा जम्मा गर्न पुगेका युवाको खाता नमिलेकाले उनीहरूलाई भित्रै राखेर सटर बन्द गरिएको थियो । पैसा जम्मा गर्ने बहानामा लुट्ने योजनासहित पुगेका युवाहरू त्यही समयको प्रतीक्षामा थिए । सटरसमेत लागिसकेपछि उनीहरूले लुट्नका लागि आफूहरूले चाहेको वातावरण महसुस गरे र झोलाबाट पेस्तोल निकाले । उनीहरूको पैसा गन्न सहयोग गरिरहेका बैंकका शाखा प्रबन्धक ऋषि श्रेष्ठ, सुरक्षागार्ड प्रेम नेपाली र हेड क्यासियर बस्नेतलाई नियन्त्रणमा लिई पछाडि हात बाँध्नेमात्र होइन पट्टीसमेत बाँधेर कोठामा लगेर थुने । उनीहरूलाई थुन्नुअघि नै हेड क्यासियर बस्नेतले पैसा राख्ने भल्ट देखाइदिएका थिए । 
उनीहरू पूर्वयोजनाअनुसार पैसा लुटेर भाग्न सफल भए । पैसा लैजानका लागि उनीहरूले चारदिनअघि काठमाडौंको महाबौद्धबाट झोलासमेत किनेका थिए । दुई घन्टापछि बैंक प्रबन्धककी श्रीमती उनलाई खोज्दै आएपछि मात्र कर्मचारीले कोठाबाट निस्किएर प्रहरीलाई खबर गरेका थिए । 
प्रहरीमा बैंक लुटिएको खबरले सबैतिर हंगामा मच्चियो । किनकि यसरी नेपालमा पेसेबर रूपमा बैंक डकैती नभएको धेरै समय भइसकेको थियो । तराईको जिल्ला भएकाले भारतीय अपराधीले बैंक लुटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो । 
सो दिन एक करोड ९५ लाख रुपैयाँ डकैती भएको भन्दै प्रहरीमा खबर गरिएकोमा भोलिपल्ट दुई करोड ६ लाख रुपैयाँ डकैती भएको बैंकले जानकारी दियो । हेड क्यासियर बस्नेतले पैसाको हिसाबकिताब गर्ने भएकाले उनकै भनाइअनुसार प्रहरीलाई खबर गरिएको थियो । 
खबर पुगेलगत्तै प्रहरीले दाङमा मात्र नभई आसपासका जिल्लामा पनि कडाइका साथ चेकजाँच गर्न सञ्चारसेटमा खबर गर्‍यो । तर, केही भेटिएन । 
घटना गम्भीर भएकाले संगठित किसिमका अपराधको अनुसन्धान गर्दै आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भोलिपल्टै दाङमा डिएसपी दिनेश आचार्यको नेतृत्वमा टोली खटायो । शनिबार घटनाबारे सामान्य जानकारी लिएको सो टोलीले आइतबारबाट गम्भीर रूपमा अनुसन्धान थाल्यो ।

आशंकाबाट सुरु भयो अनुसन्धान


प्रहरीको अनुसन्धान आशंकाबाट सुरु हुन्छ । त्यसकारण सो घटनाको अनुसन्धानमा पनि प्रहरीसँग विभिन्न आशंका थिए । घटना ६ बजेको समयमा भए पनि ८ बजेमात्र प्रहरीलाई खबर गरिएको थियो । त्यसकारण डकैतीमा कर्मचारीकै मिलेमतो हुनसक्ने प्रहरीको आशंका थियो । 
पछि डकैतीको समयमा बस्नेतको व्यवहार असामान्य रहेकाले पनि कर्मचारी संलग्नताको थप आशंका बढाएको थियो । अर्कातर्फ सिसिटिभी खिच्न नसक्ने गरी डाउन गरिएको थियो । 
सुरुमा प्रहरीको शंका प्रबन्धक श्रेष्ठमाथि थियो । प्रहरी टोलीले उनको कोठामा खानतलासी लियो, तर केही फेला परेन । शंकाको दोस्रो घेरामा थिए हेड क्यासियर बस्नेत । सर्च गर्दा उनको डेरामा पनि केही भेटिएन । डकैती भएको समयमा बस्नेतका चालक बोहोरा बाहिर गाडीमा रहेको खुल्यो । प्रहरीले उनको डेरामा खानतलासी लिँदा प्रहरीको पहिलो आशंका नै सत्य सावित भयो । किनकि लुटिएको रकममध्ये ८६ लाख ७९ हजार रुपैयाँ बस्नेतका चालकको डेरामा फेला पर्‍यो । बस्नेतका आफन्तसमेत रहेका र कुमारी बैंकमा काम गर्ने महरा फन्दामा परे । उनले घटनाको बेलिविस्तार लगाए । उनलाई बस्नेतले त्यसरी पैसा लगेर डेरामा राख्न निर्देशन दिएका थिए । 'सुरुमा त उनी डराएका रहेछन्,' डिएसपी आचार्य भन्छन्, 'पछि आर्थिक प्रलोभनमा परी उनले प्रस्ताव स्विकारेको देखिन्छ ।' बैंक लुटेपछि चारै युवा बा.७च ३६८५ नम्बरको कारमा केही परसम्म पुगेर बस चढेर काठमाडौं आए भने पैसाको झोला निर्देशनअनुसार गाडीमा छाडे । चालक महरा पैसा आफ्नो डेरामा राखेर पुनः बैंक पुगेका थिए । 
महराले घटनाको पोल खोलेपछि त्यही दिन अर्थात ९ पुसमा प्रहरीले बस्नेतलाई पनि पक्राउ गर्‍यो । पैसा बरामद भएकाले उनले अस्विकार गर्न सकेनन् । त्यसपछि प्रहरी टोली घटनामा संलग्न अन्य व्यक्तिको खोजीमा सक्रिय भयो । 
अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार सुरुमा बस्नेतले घटनामा संलग्न अन्यको नाम बताउन चाहेका थिएनन् । तर, पछि बताए । घटनामा संलग्न चार व्यक्तिको उनले नाम दिएपछि प्रहरी टोली उनीहरूको पिछामा लाग्यो । 
अनुसन्धानको क्रममा चारैजना काठमाडौं आइसकेको पत्ता लाग्यो । दाङमा थप अनुसन्धान भइरहँदा सिआइबीका इन्सपेक्टर कुमोद ढुंगेलको टोली भने काठमाडौंमा सोमबारदेखि नै घटनामा फरार अभियुक्तको पछि लागेको थियो ।
बस्नेतका भाइ रोकाय धुम्बाराहीमा बस्ने तथ्य अनुसन्धानमा खुल्यो । त्यसपछि प्रहरी उनकै निवासवरपर केही समय घुम्यो । उनको पहिचान भएपछि उनी साथीसँग रहेका वेला भोलिपल्ट मन्डिखाटारबाट समातिए । उनले आफ्नो संलग्नता स्विकारे । 
त्यसपछि प्रहरी घटनामा संलग्न अन्य व्यक्तिको खोजीमा लागेको थियो । युनिभर्सल कलेजमा अध्ययनरत रोकायले आफूलाई दाइ -खगेन्द्र बस्नेत)ले फसाएको भन्दै अनुसन्धानमा संलग्न अन्यलाई पक्राउ गर्न सहयोग गरे । 
उनी पक्राउ परेको अर्का फरार अभियुक्त परियारलाई थाहा थिएन । उनले आफ्नो मोबाइलबाट परियारलाई फोन गरे । यसअघि दुईवटा मनी एक्सचेन्जसमेत लुटिसकेका उनले रोकायको फोनलाई शंकास्पद रूपमा लिए । किनकि उनले फोन गरेर परियारलाई भेट्न आग्रह गरेका थिए । रोकायलाई प्रहरीले पक्राउ गरेको हुनसक्ने उनको आशंका थियो । 'कतै पुलिस लिएर आउन लागेको त होइन ?' शंका गर्दै परियारले सोधे । रोकायले होइनभन्दा पनि उनले विश्वास गरेनन् । ल्यान्डलाइनबाट फोन गर्न भने । रोकायले ल्यान्डलाइनबाट फोन गर्न लागेपछि भने उनले विश्वास गरेर साँझ ८ बजे विशालनगरमा भेट्न आए । रोकायलाई भेट्नुभन्दा अघि उनको भेट सादा पोसाकका प्रहरीसँग भयो । रोकायसँगै प्रहरी भएको पहिले नै उनलाई आशंका थियो । त्यसकारण टुँडालदेवी पुग्नेबित्तिकै केही व्यक्तिलाई देखेपछि उनी डराउँदै सैलुन छिरे । प्रहरीले उनीमाथि शंका गरिसकेको थियो । सैलुनबाट निस्किनेबित्तिकै परियार र उनका साथीलाई पक्राउ गरे । 
'प्रकाश भनेको तँ नै हैनस् ?' प्रहरीले सोधे ।
'हो प्रकाश श्रेष्ठ भनेको मै हो,' पेसेबर आपराधिक पृष्ठभूमि भएका परियारले चलाखीपूर्वक प्रहरीलाई ढाट्ने प्रयास गरे । केही छिनमै उनले नाममात्र होइन आरोप पनि स्विकारे । उनीसँग आएका साथी भने घटनामा संलग्न नभएकाले प्रहरीले छाडिदियो । 
अनुसन्धानको क्रममा प्रकाश भारत भाग्न लागिसकेको खुल्यो । तर, उनी अघिल्लो दिन नै फन्दामा परे ।

प्रहरी चियापसलेसमेत बने

घटनामा संलग्न दुईजना पक्राउ परे पनि थप दुईजना फरार नै थिए । उनीहरूलाई पक्राउ गर्न प्रहरीले प्रकाशकै सहयोग लियो । प्रकाशले घटनामा संलग्न प्रेम र मिनुर तामाङलाई भेट्न आग्रह गर्दै फोन गरे । उनीहरूलाई पनि आफ्नो पछाडि प्रहरी लागिसकेको थाहा थियो । त्यसकारण आफूहरू सुरक्षित स्थानमा रहेको भन्दै बाहिर ननिस्कने बताए । भोलिपल्ट शंखपार्कमा भेट्ने सहमति भयो । 
प्रहरीसँगै रहेका प्रकाशले भोलिपल्ट अर्थात बुधबार बिहान पुनः प्रेमलाई फोन गरेर शंखपार्कमा आउन आग्रह गरे, उनी सहमत भए । शंका लागे पनि पछि फोन गरेर नागपोखरीमा भेट्ने प्रस्ताव राखे, त्यसमा प्रकाश सहमत भए । 
प्रकाशले प्रेमलाई चियापसलमा बोलाए । सुरुमा प्रेममात्र आए । उनीहरूले दुई कप चिया मगाए, प्रकाश र प्रेमलाई । एउटा कालो चियाको पनि अर्डर थियो । कालो चिया अर्का फरार अभियुक्त मिनुरका लागि अर्डर गरिएको थियो । 
केही समयपछि मिनुर पनि आइपुगे । चिया खाँदै प्रकाशले आफूहरूलाई प्रहरीले कब्जामा पारिसकेकाले उम्कन गाह्रो भएको भन्दै दुखेसो पाखे । प्रेम पनि डराएका थिए । पछि मिनुर पनि आइपुगेपछि थप दुईजना पनि फन्दामा परे । किनकि नागपोखरीको सो चिया पसलमा चिया पसले बनेर प्रहरी नै बसेका थिए । केही छिनका लागि प्रहरीले चिया पसले बनेर उनीहरूलाई जाल थापेको थियो ।
यसरी निकै संयम र चलाखीपूर्वक तरिकाले फिल्मी शैलीमा भएको बैंक डकैती घटनामा सबै अभियुक्तलाई फिल्मी शैलीमा नै पक्राउ गर्न प्रहरी सफल
भएको हो ।
नवराज मैनाली
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis