माघ २८ (एजेन्सी) - पीएचडीको थेसिस बुझाउँदा केही भागहरु चोरी गरेको आरोपमा विश्वविद्यालयले दिएको डक्टरेट उपाधि खोस्ने निर्णय गरेपछि जर्मनीका शिक्षामन्त्रीले राजीनामा दिएकी छिन्। एन्जेला मर्केलको सरकारमा विगत दुई वर्षमा बौद्धिक
चोरीको यस्तो स्क्यान्डल दोस्रो पटक भएको हो।
मर्केलले शनिबार शिक्षामन्त्री एन्नेट स्चाभनको राजीनामा दुःखी मनका साथ स्वीकार गरेको घोषणा गरेकी छिन्। जर्मन चान्सलर पदको तेस्रो कार्यकालका लागि चुनावी अभियानका क्रममा रहेका बेला यो लज्जास्पद घटना भएको हो।
युनिभर्सिटी अफ डस्सेलडोर्फले स्चाभनको पीएचडी थेसिसका केही भाग अर्कोसँग हुबहु मिलेकोले उपाधि खोस्ने निर्णय गरेको चार दिनपछि मन्त्रीले राजीनामा दिएकी हुन्। सन् २०११ मा यस्तै चोरीको थेसिस बुझाएको आरोप लागेपछि रक्षामन्त्री कार्ल थियोडर जु गुटेनबर्गले राजीनामा दिएका थिए।
५७ वर्षीया स्चाभनले विश्वविद्यालयको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने जनाएको एएफपीले बताएको छ।
नागरिक