हामीले न्यायका लागि बालुवाटारमा प्रदर्शन गरेका हौं । मेरा भाइ उज्जन श्रेष्ठलाई २०५५ साल असार १० गते बालकृष्ण ढुंगेलले नै व्यक्तिगत रिसीबीमा हत्या गरेका हुन् । यसमा राजनीति कारण केही छैन । प्रहरीले पक्राउ गर्दा मेरो बुहारीका दाइले नै भनेका छन् कि हामी बाहुनकी छोरी बिहे गरेका कारण म र बालकृष्ण ढुंगेल मिलेर हत्या गरेका
हौं । यसमा बालकृष्णले नै हत्या गरेको भनेर उसले भनेको छ ।
मेरा भाइ गोली चलाउने मान्छे पनि थिएन । कुनै नराम्रो काम गरेको पनि थिएन । कसैको सुराकी गरेको पनि होइन । सुराकी गरेको भनेर आरोप लगाउने हो भने खै क-कसलाई उसले सुराकी गरेर मार्न लगायो त ? यो हुँदै होइन । राजनीतिक कारण नै होइन । पार्टीले हत्या गर्न पनि भनेको होइन ।मेरो भाइ कुनै दलको कार्यकर्ता पनि होइन । एउटा व्यवसाय गरेर खाने मान्छे हो । व्यक्तिगत घटनालाई अहिले राजनीतिकरण गर्न खोजिएको छ । यसलाई हामी मान्ने पक्षमा छैनौं । जबसम्म न्याय पाईंदैन, तबसम्म हामी प्रदर्शन जारी राख्छौं ।
हाम्रो मुद्दामा बोल्नुभएका प्रधानन्यायाधीश अहिले सरकार प्रमुख बन्नुभएको छ । पहिलेका बाबुरामजस्तो उहाँ पार्टीको प्रधानमन्त्री होइन । त्यसकारण मैले न्याय पाउँछु भन्ने ठूलो आशा राखेकी छु । किनकि उहाँले नै हो मन्त्रिपरिषदको निर्णय रोकेर जतिसक्दो छिटो बालकृष्ण ढुंगेललाई पक्राउ गर्नु भनेर आदेश दिनुभएको हो । अब उहाँ सरकार प्रमुख भएपछि पक्कै पनि ढुंगेल पक्राउ पर्छन् । उनलाई कार्वाही हुनु भनेकै हामीले न्याय पाउनु हो ।
यो घटनामा राजनीति गर्नुपर्ने कारण नै छैन । व्यक्तिगत घटना हो । न्याय पाइन्छ भन्ने ठूलो आशा छ । अर्को कुरा, अहिले बालकृष्ण ढुंगेलले चरित्र हत्या गर्न खोजेका छन् । खबरदार, नेपाली चेलीहरुलाई यसरी चरित्र हत्या गर्न पाईंदैन । उसलाई कार्वाही हुनैपर्छ । उसलाई पक्राउ नगरेसम्म हाम्रो प्रदर्शन रोकिँदैन ।
-सावित्री श्रेष्ठ,