१८ फागुन काठमाडौं । पुरानो बानेश्वरस्थित गोल्डेनगेट कलेजका प्रमुख रमेश सिलवालले कलेजभित्रै बाउन्सर बोलाएर विद्यार्थीलाई पिट्नुका साथै खुट्टा ढोग्न लगाएको एमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले आरोप लगाएका छन् ।
नागरिक अधिकारको प्रयोग गर्दै फागुन ६ गते हाम्रो संगठन अखिल (क्रान्तिकारी)को इकाई समिति गठन गरे ।’ शर्माद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ- ‘कलेज प्रशासन विशेष गरी रमेश सिलवाललाई यो कुरा मन परेन र उनले फागुन ९ गते हाम्रो संगठनका इकाई अध्यक्ष सरोजकुमार कामती, सचिव सुमन जिटीसहित सबै पदाधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाई डिआई (बाउन्सर) को प्रयोग गरेर निर्धात रुपले कुटे र संगठन खोलेको कारण कलेजबाट निष्काशन गर्ने धम्की दिएर जर्बजस्ती खुट्टामा ढोगाएर माफी माग्न लगाए ।’
कुटपिटको विरोधमा फागुन ११ गते प्रर्दशन सहित ४८ घण्टे अल्टिमेटम सहतिको ज्ञापन पत्र बुझाउनुका साथै सिलवाल र कोर्डिनेटर गोविन्द कडेंलसँग ५० औं पटक फोन गरी संवादको माध्यमबाट समस्या हल गर्न आग्रह गर्दा पनि उनीहरुले नटेरको शर्माको आरोप छ । ‘यी सबै प्रयत्नलाई कमजोरी ठानेर कलेज प्रशासनद्वारा हाम्रा साथीहरुलाई कलेजबाट निष्कासन गर्ने र गुण्डाहरु प्रयोग गरेर मारिदिनेसम्मको धम्की दिइयो ।’ शर्माले भनेका छन्- ‘यसको कल डिटेलसहित गौशाला प्रहरीमा विद्यार्थीको तर्फबाट निवेदन पेश भएको छ ।’
कलेज प्रशासनले क्रान्तिकारीका सात जना विद्यार्थीका विरुद्ध प्रहरीमा मुद्दा दायर गरेको शर्माले जनाएका छन् । उनले आफ्ना साथीहरुमाथिको किटानी जाहेरी फिर्ता र इकाइका विद्यार्थीसँग माफी नमागेसम्म तथा आस्थाका आधारमा संगठित हुने नागरिक हकको ग्यारेन्टी नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
अध्यक्ष शर्माद्वारा शुक्रबार जारी विज्ञप्तिमा गोल्डेन गेट कलेजका रमेश सिलवालमाथि यस्तो आरोप लगाइएको छ:
· ९ महिनासम्म त्रिचन्द्र कलेजमा हँजिर नहुने तर त्रिविविको तलव खाने, निजी कलेजको कार्यकारी संञ्चालक हुने रमेश सिलवाल प्रवृति नै शैक्षिक माफियाकरणको एक ज्वलन्त नमुना हो ।
· विश्वविद्यालयको स्वीकृत कोटा र मापदण्ड विपरीत मोटो रकम असुली विद्यार्थी भर्ना लिने ।
· विद्यार्थी, शिक्षक र कर्मचारीमाथि चरम शोषण गर्ने, स्मरणरहोस् केही समय पहिले कर्मचारी युनियन गठन गरेको कारण कर्मचारीलाई कलेजबाट निष्कासन गरिएको छ । एक जना महिला कर्मचारी प्रमुख कार्यकारी अधिकृत रमेश सिलवालको शोषणको कारण अमेरिका पलायन हुन बाध्य भइन् ।
· विद्यार्थीले २१ औं शताब्दीको अधिकार खोज्दा दासयुगीन जंगली व्यवहारको प्रर्दशन गरियो ।
· एसएलसीको बोर्ड फस्ट विद्यार्थी किन्ने तथा उच्च माध्यमित शिक्षा परिषदको रिजल्ट किन्ने जस्ता शैक्षिक विकृतिको सुरुवात गर्ने पहिलो शैक्षिक माफिया हुन्, यिनै सिलवाल ।
क्रान्तिकारीले लगाएको आरोपबारे बुझ्न कलेज प्रमुख सिलवालसँग सम्पर्क गर्दा उनले अनलाइनखबरको टेलिफोन रिसिभ गरेननन् । क्रान्तिकारीसम्वद्ध विद्यार्थीहरुले बिहीबार आफ्नो एक स्कुल बलमा आगो लगाएको गोल्डेनगेटले बताएको छ ।
- अनलाईन खबर