काठमाडौं, फागुन १८ - फिल्म समीक्षकबाट आलोचना खेपेपछि 'छड्के' युनिटले त्यसको खण्डन गर्न कार्यक्रम आयोजना गरेको छ। बिहीबार राजधानीको सर्वनाम थियटरमा यसका निर्देशक निगम श्रेष्ठ समीक्षाको खण्डन गर्नमा व्यस्त रहे। 'फिल्मलाई राज्यका
चारवटा शक्तिमाथि केन्द्रित गर्न खोजेका थियौं, दर्शकले बुझ्न सकेनन्,' उनले भने, 'फिल्मका राम्रो पक्ष समीक्षामा आएन। राम्रो फिल्म बनाउने प्रयास गर्दा चुकेँ।'निर्माता माधव वाग्लेले दर्शकले फिल्म नबुझेको जिकिर गरे। 'फिल्मको स्क्रिप्टमा कमजोरी रहेछ। सुरुवातको व्यापार त राम्रो थियो,' धेरै अपेक्षा गर्नाले फिल्म नराम्रो लागेको हुनसक्ने उनले अनुमान गरे। 'स्वतन्त्र पत्रकारले गरेको टिप्पणीसँग मेरो गुनासो छैन, तर पैसा लिएकाले पनि नराम्रो भनेकोमा मेरो आपत्ति छ,' उनको गुनासो छ।
'लुट' फिल्मका निर्देशक निश्चल बस्नेतले स्क्रिप्टमा लेखिएको कुरा निर्देशकले बुझाउन नसकेको अन्दाज गरे। 'लुट' फिल्मको सोच दिएर दर्शकलाई धेरै अपेक्षा गर्न 'छड्के'ले बाध्य पारेको बताए। 'फिल्म नराम्रो होइन, बरु दर्शकलाई बुझाउन नसक्दा चुक्यो,' उनले भने।
'भिसागर्ल'का निर्देशक प्रचण्डमान श्रेष्ठले पत्रकारले समीक्षकको काम गरिदिँदा दर्शक बिच्किएको गुनासो गरे। 'रिपोर्टरले गर्ने समीक्षालाई समीक्षा मान्न मिल्दैन, नेपालमा फिल्मको समीक्षा गर्ने व्यक्ति नै छैनन्। यहाँ फिल्मलाई प्रोत्साहन गर्ने खालको समीक्षा कहिल्यै आउँदैन्,' उनले बह पोखे।
निर्देशक निगमले फिल्ममा देखाउन खोजेको भन्दै कथाबारे बताउन खोज्दा सहभागीहरुले बुझाउनुपर्ने कुरा फिल्ममै देखाउन सक्नुपर्थ्यो भन्दै प्रतिक्रिया दिए।
- नागरिक न्युज