CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » रंगीला 'रकेट’; ५७ बर्षमा ५४ स्वास्नी .. लौ न !

रंगीला 'रकेट’; ५७ बर्षमा ५४ स्वास्नी .. लौ न !


सबैभन्दा धेरै बिहे गरेका नेपालीका रूपमा आउँछ, राणा शासक जंगबहादुरको नाम। जीवनकालमा ३३ पत्नी भित्र्याउने जंगबहादुरलाई समेत उछिन्ने अर्का नेपाली देखा परेका छन्, त्यो पनि उनैले 'श्री ३ महाराज' हुन रोजेको जिल्ला लमजुङमा। 


लमजुङ दुराडाँडाका 'रकेट' भनेर चिनिने राकेश परियार, ५७, ले हालसम्म ५४ वटा
बिहे गरसिकेका छन्। दलित समुदायबाहेक ब्राह्मण, क्षेत्री, जनजाति गरी सबैसँग बिहेको अनुभव सँगालेका छन् उनले। राकेशको अन्तिम धोको छ, राउटे महिलासँग बिहे गर्ने।

४० वर्षअघि १७ वर्षको उमेरमा राकेशको पहिलो बिहे लमजुङ भोटेओडार-४ रामदीकी फूलमाया परियारसँग भएको थियो। तर, राकेशको रंगीला स्वभावका कारण फूलमायासँगको दाम्पत्य लामो समय टिकेन। पहिलो बिहेको केही समयपछि उनको अरू नै महिलासँग हिमचिम हुन थाल्यो। राकेशलाई नजिकबाट चिन्ने दुराडाँडा-१ किरन्िचेका तारा खनिया भन्छन्, "ऊ जन्मेकै धेरै बिहे गर्न हो जस्तो लाग्छ।"

५४ वटी बिहे गरे पनि राकेशको साथमा अहिले दुईवटी श्रीमती मात्र छन्। राकेश भन्छन्, "एकपटक ११ वटी श्रीमती थिए, कमाइ पनि थियो।" त्यस बेला हनुमानढोकापछाडि जैसीदेवलमा दुईवटा फ्ल्याट भाडामा लिएर राखेका थिए, उनले तिनलाई। कुन दिन कससँग बस्ने-खाने भन्ने तालिका अनुसार नै चल्थे रे उनी। भन्छन्, "अहिले खुम्चिएर दुइटीमा झरेको छु। तर, दुवैलाई मिलाएर राखेको छु।"

यति धेरै बिहे गरे पनि उनका जम्मा १३ सन्तान मात्र छन्। उनको साथमा चाहिँ दुई मात्र छन्। फूलमायाले छाडेपछि आफूमा धेरै बिहे गर्ने इख जागेको राकेशको भनाइ छ। "उनले मलाई छाडेपछि मैले तिमी जीवित छँदै सयौँ श्रीमती ल्याएर देखाइदिन्छु भनेर चुनौती दिएको थिएँ," पछिल्ली अर्थात् ५४औँ श्रीमती लक्ष्मी राउत, ३०, कै अगाडि गत साता उनी भन्दै थिए, "तिम्रो सिन्दूर पुछिँदासम्म पनि म श्रीमतीहरू ल्याइरहेको हुनेछु पनि भनेको थिएँ।" नभन्दै उनले ५४औँ बिहे गर्दा नगर्दै फूलमायाको सिन्दूर पुछिइसकेको छ।

दुई वर्षअघि भित्रिएकी पछिल्ली श्रीमती लक्ष्मी राकेशको गाउँ दुराडाँडालगायत गाविसमा काम गर्ने गैरसरकारी संस्थासँग आबद्ध थिइन्। आजीवन अविवाहित रहने योजनामा रहेकी उनीमाथि जब राकेशको आँखा पर्‍यो, उनको योजना नै परविर्तन भयो। भन्छिन्, "उहाँको बोली र व्यक्तित्वका कारण जात र उमेर केही नहेरी बिहे गरेकी हुँ। जति बिहे गरे पनि अब उहाँलाई छाड्न सक्दिनँ।"

राकेश एक समय पाण्डव सुनुवारले चलाउने चौतारी कार्यक्रममा गाउन महिनैपिच्छे रेडियो नेपाल पुग्थे। विसं '४० को दशकमा यदि कसैले चौतारीमा गएर धेरै गीत गायो भने सायद राकेशले नै होलान्।

गीत यता रेडियोमा रेकर्ड हुन्थ्यो, राकेशचाहिँ गाउँ पुगिसकेका हुन्थे। दिउँसो गाउँमा देखेको मान्छे बेलुकी चौतारीमा गीत गाउन कसरी पुग्यो ? सोझा गाउँलेका लागि उनी रहस्य र अलौकिक पात्र हुने भइहाले। खाइलाग्दो शरीर, मीठो बोली, उस्तै परे गीत गाएरै संवाद गर्न सक्ने खुबीका कारण प्रेम र बिहेको प्रस्तावमा उनी पारंगतजस्तै भए।

त्यसो त कतिपय महिलालाई झुक्याएर बिहे गरेको आरोप पनि लागेको छ, राकेशमाथि। उनीचाहिँ यी आरोप मिथ्या भएको दाबी गर्छन्। भन्छन्, "मेरो कुरा सुनेर महिलाहरू आफैँ मोहित हुन्छन्। बिहेका लागि मैले कसैलाई धम्क्याउन र ढाँट्न जरुरी छैन।" प्रमाणका रूपमा सँगै रहेकी पत्नी लक्ष्मीलाई देखाउँछन् उनी।

बाजा बजाउनु त उनको पुख्र्यौली पेसा नै भयो। दिनरात लगातार दोहोरी गाइदिन्छन्। पाँच-सात महिना जुन बस्तीमा बस्यो, त्यहाँको भाषा सहजै बुझ्न सक्ने क्षमता छ उनमा। उनलाई चिन्ने दुराडाँडाका खनिया भन्छन्, "अचम्मको शक्ति छ उसमा। चलाख पनि उस्तै। यति भएपछि त गाउँका सोझासीधा महिला पछि लाग्ने नै भए।"

राकेश नाम जसरी रहन गयो, यसले नै देखाउँछ, उनको चतुरता पनि। सानैदेखि खेल्न, दौडन तेज थिए रे उनी। अझ दौडन त कसैले नभेट्ने। कहिले चोरीको आरोप लाग्थ्यो, कहिले केको। प्रहरी खोज्न जाने तर कहिल्यै नभेट्ने। भेटे पनि अक्सर उम्किने। दुराडाँडाका गाउँलेहरू राकेशबारे रोचक वृत्तान्तहरू सुनाउँछन् : पक्रन आएको प्रहरीले गोली हान्दा राकेशले छलेको, प्रहरीको पन्जामा परे पनि आँखामा बालुवा हालेर भागेको, खल्तीमा खुर्सानीको धूलो हालेर हिँडेको आदि, इत्यादि।

एकपटक चोरीको आरोपमा उनलाई पक्रन प्रहरी दुराडाँडा पुगेछ। आँगनमा आइसकेको प्रहरीलाई छल्दै राकेश घरबाट फुत्त निस्के। प्रहरी बन्दुक सोझ्याउँदै उनको पिछा गर्न थाल्यो। भाग्दै जाँदा भीर आइपुग्यो। राकेश सम्झन्छन्, "पछाडि फर्काैं प्रहरी थियो, अगाडि भीर। यसो हेरेको, तलबाट अग्लो बाँस डिलनजिकै आइपुगेको रहेछ। बाँसको टुप्पो समात्न सक्छु कि भनेर हामफालेँ। सौभाग्यवश, बाँसको टुप्पो भेटियो, समातेँ, बाँस बिस्तारै नुगेर तल पुग्यो, म सुरक्षित रूपले भीरतल पुगेँ। प्रहरी हेरेको हेर्‍यै।"

खनियाका अनुसार आकाशमा रकेटजसरी कुद्न सक्ने खुबीका कारण गाउँलेले उनको नाम राखिदिए, रकेट परयिार। चतुर 'रकेट'ले यही नामको उपयोग गरेर आफ्नो न्वारान आफैँ गरे। अर्थात्, यो नामलाई अलिक राम्रो बनाए। भन्छन्, "मैले रकेट नामलाई परिमार्जन गरेर राकेश परियार राखेँ। मेरो न्वारानको नामचाहिँ हरबिहादुर परियार हो।" अचेल हरबिहादुर भन्दा उनलाई आफ्नै दाजुभाइले पनि चिन्दैनन्। राकेश भन्दा सारा लमजुङले चिन्छ।

उनका 'शत्रु'हरूसमेत राकेशको 'क्षमता'को प्रशंसा गर्न चुक्दैनन्। यीमध्येकै एक हुन्, लमजुङ उदीपुर-५ का दीपक परियार, ३६। दीपक राकेशकी पहिली श्रीमती फूलमायाका दोस्रा पतितर्फका जेठा छोरा हुन्। फूलमायाबाटै जन्मेका राकेशका जेठा छोरा ध्रुवलाई भेट्न जाँदा केही वर्षअघि दीपकले तामाङ समुदायकी श्रीमतीका साथ बसिरहेका राकेशलाई काठमाडौँमा भेटेछन्। दीपक भन्छन्, "हेर्दै जादुगरजस्तो मान्छे ! देख्दैमा हरामी ! रूखले पात फेरेजस्तो स्वास्नी किन नफेरोस् !"

नेपालको कानुनले एकभन्दा धेरै श्रीमती राख्न बर्जित गरेको छ। तर, चोरी, तस्करीलगायत मुद्दामा पटक-पटक जेल परे पनि बहुविवाहको आरोपमा उनले खासै कानुनी झमेला बेहोर्नुपरेको छैन, एकपटकबाहेक। उनका अनुसार दुई वर्ष जेल बसेर ०४० मा छुट्दा उनकी श्रीमती अर्कैसँग बिहे गरेर गइसकेकी थिइन्। उनी भिनाजुको मृत्यु भइसकेको र दिदीले अन्तै बिहे गरसिकेकाले लमजुङको चितीमा रहेकी करबि १४ वर्षीया आफ्नै नाबालक भान्जीसँग बस्न थालेछन्। चितीकै जंगबहादुर विष्टले नाबालक बिहे गरेको भनेर प्रशासनमा उजुरी गरििदएछन्। छट्टू राकेशले भान्जीलाई सिकाएछन्, 'सीडीओसँग मेरो बा पनि छैनन्, आमा पनि छैनन्, राकेश मामाले हेरविचार गर्छु भनेकाले म उहाँसँग बस्न थालेको हुँ। यदि हजुरहरूले मेरो पालनपोषण गर्नुहुन्छ भने म उहाँलाई छाड्छु, होइन भने म बेसहारा कहाँ जानू भनेर भन्नु ?'

किशोरीले मामाले भने अनुसार बयान दिइन्। बेसहारा भएकाले राकेशसँग बस्न थालेको बयानपछि उजुरीकर्ता विष्ट र प्रमुख जिल्ला अधिकारी रामप्रसाद अरुण दुवै अप्ठ्यारोमा परे। राकेश हाकाहाकी भन्छन्, "मैले तत्काल बजारबाट सिन्दूर लिएर आएँ र सीडीओकै अगाडि भान्जीलाई सिन्दूर हालिदिएँ। उनीहरू हेरेको हेर्‍यै भए।"

उनका कुनै पनि श्रीमती पाँच वर्षभन्दा बढी सँगै बसेका छैनन्। थोरै बसेकाहरूचाहिँ ६ महिनासम्म बसेको अनुभव छ उनको। "अरूले बिहेको बहानामा केटी बेच्छन्, मैले यो अपराध गरेको छैन," छातीमा हात राख्दै राकेश भन्दै थिए, "पत्ता लगाउन ढिलो होला तर ५२ वटै पूर्वश्रीमतीहरू अहिले कहाँ कहाँ छन्, म भन्न सक्छु।"

उनलाई धेरै बिहेका फाइदा-बेफाइदा पनि थाहा छ। भन्छन्, "पीएचडी गरेकाले भन्दा मलाई महिलाबारे धेरै जानकारी छ। तर, धेरै बिहे गर्नु राम्रो होइन, म अरूलाई यस्तो सल्लाह पनि दिन्नँ।"

५४ वटी महिलासँगको औपचारकि दाम्पत्य जीवनको आधारमा उनले निकालेको महिला-पुरुषबारेको निष्कर्ष पनि रोचक छ। भन्छन्, "नारीहरू कोमल हृदयका हुन्छन् भन्छन्। तर, नारीभन्दा कठोर हृदयको प्राणी यो संसारमा कोही छैन। कुनै पुरुष मन पर्‍यो भने काखको बच्चासमेत छाडेर हिँड्न सक्छन्।" आफूजस्ता पुरुषबारेको उनको विश्लेषण झनै रोचक छ। भन्छन्, "लोग्नेमान्छेचाहिँ पशु हो। ऊ पाँचवटा बच्चाकी श्रीमतीलाई छुटाएर आफूसँग ल्याउँछ। जबकि, ऊ आफूसँग बस्छे कि बस्दिन भन्ने कुराको ग्यारेन्टी छैन।"

अघिल्लो साता कान्छी पत्नी लक्ष्मीका साथ राजधानीको एउटा खाजा पसलमा एक घन्टा लामो कुराकानीको बिट मार्ने बेला उनले रेडिमेट कसम खान भ्याए, "अब अरू बिहे गर्दिनँ, तिम्रै साथमा बाँकी जीवन बिताएर तिम्रै काखमा मर्छु।" अनि, एउटा गीत पनि गाए :

नानीदेखि लागेको बानी, सिस्नुपानी लाउँदा नि' नजानी ।





"बिहे गर्छ, पाल्दैन"

 पिmूलमाया परियार   

     पहिली श्रीमती



राकेशसँग भेट हुन्छ कि हुँदैन ?

मैले उसलाई किन भेट्ने ? त्यो मेरा लागि मरिसकेको मान्छे हो ।

धेरै बिहे गरी हिँडेको कस्तो लाग्छ ?

गर्दा हो नि बिहे त, पाल्नुचाहिँ परेन । पाल्नु नपरेपछि दिनदिनै बिहे गर्दा होला !

अरू केही भन्नु छ ?

त्यो कस्तो मान्छे हो भन्ने कुरा सारा संसारलाई थाहा छ ।







"५४औँ हुँ भन्ने बिहेपछि थाहा पाएँ"

 लिक्ष्मी राउत

   ५४औँ श्रीमती



धेरै बिहे गर्ने मान्छे भन्ने थाहा हुँदाहुँदै पनि किन बिहे गर्नुभएको ?

बिहेको मामिलामा उहाँ चर्चित मान्छे हो भन्ने त थाहा थियो । तर, ५४औँ श्रीमती हुँ भन्ने कुराचाहिँ बिहेपछि मात्र थाहा पाएकी हुँ ।

फेरि अर्का बिहे गर्न सक्ने कुराले चिन्ता लाग्दैन ?

पहिल्यैदेखि धेरै बिहे गर्दै आउनुभएको थाहा छ, त्यसैले डर लाग्दैन ।

पहिलेकी श्रीमतीहरूसँग तपाईंको भेट भएको छ ?

दीपा पुलामी मगर र शान्ता पौडेलसँग भेट भएको थियो । आफ्नै खुसीले उहाँहरूले राकेशलाई छाडेर हिँड्नुभयो । शान्तासँग एक महिनाजति सँगै बसेँ । दीपासँग करिब ६ महिनाअघि दुई दिन सँगै बसेकी थिएँ ।
-सिताराम बराल , नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis