के म सफल बन्न सक्छु ? के म जीवनमा अगाडि बढ्न सक्छु ? के म रोलमोडल बन्न सक्छु ? यस्तै यस्तै प्रश्नमाझ रुमल्लिने मेरो मनले आजकल मलाई अनौठो प्रश्न गर्न थालेको छ, हो अलिक फरक धारको प्रश्नमा बग्न थालेको छ मेरो मन, जो हरदम उब्जाउँछ एउटा प्रश्न, के म बोक्सी बन्न सक्छु ?
अनि तर्कना गर्न खोज्छु, आखिर बोक्सी बन्न के चाहिन्छ ।
गाउँघरमा बोक्सी भनिएका महिलाका प्रतिबिम्ब सम्झिँदा बोक्सी कहलाउन वृद्ध, विधवा,
निम्नवर्गीय, सामान्य परिवारकी, परिवार वा समाजबाट परित्याग गरिएकी निर्बल, निरीह महिलाहरूको अनुहार एक पछाडि अर्को गरी आउन थाल्छ । यी सबै गुण, अवगुण म आफूमा हाललाई भेटाउँदिनँ, तर भविष्यमा कुनै बेला बुढ्यौलीको खुट्को टेक्दै गर्दा, असफलताले पछ्याउँदै जाँदा, परिवारबाट परित्याग भएमा, गरिबीको सिकार भएमा, रोगी वा समाजका लागि निकम्मा साबित भएमा म बोक्सी कहलाउन पनि त सक्छु ।
हो, सबैले सहयोग गरेको खण्डमा म बोक्सी हुनेछु । तर बोक्सी बन्नेभन्दा पनि बनाइने प्रक्रिया रहेछ । कोही पनि बोक्सी बन्दैन, हुँदैन । बोक्सी बन्नकै लागि विशेष क्षमता विकास गर्दैन, तालिम लिँदैन । जब उसलाई बोक्सीको पगरी ओढाइन्छ, तब ऊ पगरीसँगै आउने घृणा, लाञ्छना, बेइजज्तीको भागीदार स्वतः हुन्छ । हाम्रो समाज, संस्कार र व्यवहार सदासर्वदा शक्तिको वरिपरि घुम्ने परिपाटी छ । सामाजिक, पारिवारिक, आर्थिक र शारीरिक रूपमा शक्ति सम्पन्नका पछाडि समाज अन्धो भक्तिभाव देखाउँछ । भेदभावको दृश्चक्र यस्तै छ, जो एक पक्षमा कमजोर छ, उसलाई हामी बिस्तारै अर्को पक्षहरूमा कमजोर पार्दै लान्छौं, दोहोरो र तेहरो भेदभावका माध्यमबाट । गरिब, वृद्ध, असहाय, विधवालाई पहिले नै कति तहको यातना हुन्छ, त्यसमाथि हामी थपिदिन्छौं, मानसिक र शारीरिक यातना । यो कस्तो न्याय हो ?
आज सञ्चारमाध्यम बोक्सीको समाचारले गुञ्जायमान हुँदै गर्दा, पत्रिकाका अंशहरू भरिँदै गर्दा म स्वर्गे भइसकेकी एकजना हजुरआमालाई सम्भिmन्छु । बेलैमा पति गुमाएकी, छोरा नभएकी, छोरीहरू बिहे गरी आआफ्नो घरमा पठाइसकेकी, छोटो कदकी, मुखमा केवल ४-५ वटा मात्र दाँत भएकी, सानो जिउडालकी हजुरआमा जो पाइलैपिच्छे 'बोक्सी' भन्दै जिस्क्याएर हैरान गर्ने केटाकेटीसँग आजित भएर बेस्सरी गाली गर्नुहुन्थ्यो । हालै एक दिन सपनामा उहाँले प्रश्न गर्नुभयो, 'के म बोक्सी थिएँ, के तिमी पनि मलाई बोक्सी मान्थ्यौ ।' उत्तर दिन नपाउँदै म बिउँझेछु, यद्यपि यस प्रश्नले मलाई आज लखेट्दै छ ।
करिब १७ वर्ष पहिले हामी भर्खर नयाँ घर सर्दा उहाँको गोठ र हाम्रो घर जोडिएको थियो । उहाँ बारीमा तरकारी गोड्न प्रायः साँझपख आउनुहुन्थ्यो, उहाँलाई देख्नेबित्तिकै बाबा 'ल, आमालाई दूध खुवाएर मात्र पठाऊ' भन्नुहुन्थ्यो । कुनै दिन घरमा दूध सकिँदा, छिट्टै भए पनि 'ल, आमा एकछिन है' भनेर आफैँ बाल्टी लिएर दूध दुहुन जानुहुन्थ्यो । उहाँ बिरामी भएर थलिरहँदा म उहाँलाई दूध पुर्याउन जान्थें । हामीलाई छिमेकीले 'बोक्सीसँग त कति मिल्या हो भने, भैंसी मर्ला, दूध घटाउला' पनि भने । तर अहँ हाम्रो भैँसीले दिने जति नै दूध दिइरह्यो, मर्दा पनि मरेन । उहाँसँग नजिकिँदै जाँदा मलाई अरूले घृणा गरेकाले उहाँ नमीठो र रूखो बोल्नुहुँदोरैछ, माया गर्नेसँग त उहाँ अत्यन्तै नरम हुनुहुँदोरैछ भन्ने थाहा हुँदै गयो ।
सपना त आखिर सपना नै हो, न जोड्न मिल्ने न तोड्न । सपनालाई जोडेर हजुरआमाको प्रश्नको उत्तर दिन नसके पनि म केही भन्न चाहन्छु । अहँ, उहाँ बोक्सी हुनुहुन्नथ्यो, बस, घृणा र तिरस्कारले रूखो हुन पुगेकी एक वृद्ध महिला । जसको आवरण त आकर्षक थिएन तर मन चाहिं नरम र सुन्दर थियो । हो, मेरी छिमेकी हजुरआमा केवल हजुरआमा हुनुहुन्थ्यो, बोक्सी होइन ।
-- ईकान्तिपुर
-- ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !