CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » भगत सिंह आतंकको अन्त्य ???

भगत सिंह आतंकको अन्त्य ???


कुनै समय यस्तो थियो, नगरमा बम पड्किएलगत्तै सीमापारिबाट चन्दा माग गर्दै फोन आउँथ्यो। 


घर र व्यापारकि र्फमअगाडि बम राखेर '१५ मिनेटमा पड्किन्छ' भन्दै आतंकित पारिन्थ्यो। बम विस्फोटलगत्तै जिम्मेवारी लिन हिंसात्मक समूहको प्रतिस्पर्धा चल्थ्यो। आतंक कुन हदसम्म थियो भने, उद्योगी व्यवसायीहरू सरासर
सीमापारि रुपैडिहा पुगेर चन्दा बुझाउँथे।

कुनै विवाद उल्भिmएन भने आउँदो साता तराईमा हिंसात्मक गतिविधि गर्दै आएको एउटा समूह हतियार त्यागेर शान्तिपूर्ण राजनीतिमा आउनेछ। त्यससँगै पाँच वर्षदेखिको बाँके-बर्दियालगायत तराईका १४ जिल्लामा व्याप्त 'भगत सिंह आतंक'को अन्त्य हुनेछ।

जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी शान्ति वार्तामा आएयताका एक वर्ष नेपालगन्ज आसपासमा हत्या-हिंसा र विस्फोटका घटना ह्वात्तै घटेका छन्। यो समूह हिंसा त्याग्ने अठोटसहित हतियार बुझाउँदै छ। पूर्वी तराईका केही जिल्लाबाहेक अन्यत्र थुपारिएका हतियार सरकारलाई बुझाइसकेको त्यस पार्टीका अध्यक्ष भगत सिंह बताउँछन्। "कुनै समस्या नआए अर्को साता हतियार बुझाइसक्छाँै," उनी भन्छन्, "छिटोभन्दा छिटो शान्ति प्रक्रिया टुंग्याउन चाहन्छौँ।"

भगत सिंह सीमावर्ती भारतीय बजार रुपैडिहामा बस्छन्। पछिल्लो पाँच वर्ष उनले त्यहीँ बसेर बाँके-बर्दियालगायतका तराईका जिल्लामा आफ्ना हिंसात्मक गतिविधि सञ्चालन गरे। चन्दाका लागि फोन धम्की दिए, रुपैडिहामै बोलाएर चन्दा असुले। थुप्रै हत्या, विस्फोट र धम्कीको जिम्मेवारी लिए। भारतीय सुरक्षाकर्मीले कहिल्यै उनलाई पक्राउ गर्न खोजेनन्। तर, अहिले त्यही रुपैडिहाको बसाइ उनलाई पट्यारलाग्दो भएको छ। भन्छन्, "सरकारले ढिलो गर्‍यो। हामी त ६ महिनाअघि नै वार्ता टुंग्याउन चाहन्थ्यौँ।"

सीमावारि हिरमिनिया गाउँमा उनको परिवार छ। शान्ति प्रक्रिया नटुंगिएकाले घर फर्किहाल्न उनलाई विभिन्न कानुनी अड्चन छन्। बाँकेमा उनको समूहले गरेका हत्या र विस्फोटहरूको मुद्दा उनीमाथि छ। त्यसैले रुपैडिहामै बसेर उनी शान्तिपूर्ण राजनीतिको खाका बुन्दै छन्। "तराई-मधेस केन्दि्रत पार्टी बनाउँछु," ४७ वषर्ीय सिंह भन्छन्, "त्यसैले वार्ता छिट्टै टुंग्याएर संगठन विस्तार गर्ने योजना छ।"

मनोज मण्डल संयोजक, बल्लु खाँ (सिकन्दर बागी), प्रह्लाद महरा -तुफान सिंह) र साजन मुकेरी सदस्य रहेको वार्ता टोलीले हतियार बुझाएको छ। "बन्दुकको भन्दा वैचारकि आन्दोलन आवश्यक ठानेर शान्तिपूर्ण राजनीतिमा आएका छौँ," वार्ता टोली संयोजक मण्डल भन्छन्, "सशस्त्र संघर्षका क्रममा भएका घटनाप्रति दुःखी छौँ, पीडितसँग माफी चाहन्छौँ।"

भगत सिंह समूहले बाँके, बर्दिया, दाङसम्म हत्या, अपहरण, चन्दा आतंक र बम विस्फोट गराउँदै आएको थियो। आतंक ठूलै भए पनि भगत सिंह समूहसँग स्वचालित, अर्धस्वचालित हतियार छैन। कम्पनीमा बनेका भन्दा घरेलु हतियार धेरै छन्। नलकटुवा पिस्तोल, सकेट बम, टाइम बम, प्रेसर कुकर, भरुवा बन्दुक, १२ बोरको कारतुस, १२ बोर छन्। केही पेस्तोल र गि्रनेड मात्र आधुनिक छन्।

प्रहरीको अपरेसन, परिवारको दबाब र हिंसात्मक समूहका असफलताहरूपछि भगत सिंह हिंसा त्याग्न बाध्य भएका हुन्। त्यसमाथि, सीमापारिबाट भएका हिंसात्मक गतिविधिमा सघाएको भन्दै भारतीय सुरक्षाकर्मीको चर्को विरोध हुँदै आएको थियो। मधेस राजनीति भन्दै हिंसात्मक विद्रोहमा लागेका समूह र त्यसका मुखियाहरूका गतिविधि आपराधिक र पैसा कमाउनमा केन्दि्रत हुन पुगे। परिणाम, सीमा अपराध नियन्त्रणसमेत प्रभावित भएपछि भारतीय सुरक्षा अंग पनि सजग भएको स्रोत दाबी गर्छ। त्यसले पनि भूमिगत समूहलाई हतियार बिसाउन बाध्य पारेको हो।

हिंसामा लाग्नुअघि भगत सिंह नेपाली कांग्रेसमा संगठित थिए। महेन्द्र बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख सीताराम विष्टमाथि २ जेठ ०६४ को मध्यरातमा गोली हानेर हत्या प्रयास गरेको आरोप उनीमाथि लाग्यो। ११ जेठमा पक्राउ परेका सिंह कांग्रेस नेताहरूको दबाबपछि ३ असारमा रहिा भए। सिंहलाई छुटाउन कांग्रेसका तत्कालीन जिल्ला सभापति कृष्णमान श्रेष्ठ, सह-सभापति गजेन्द्र हमाल र पूर्वसांसद कैलाश कशौधनले दबाब दिएका थिए। पछि सिंहकै सशस्त्र समूहले श्रेष्ठको आदर्शनगरस्थित घरमा बम विस्फोट गरायो। खासमा देखिँदा उनी कांग्रेस कार्यकर्ता थिए। तर, ५ मंसिर ०६३ देखि नै हिंसात्मक गतिविधिमा लागेको अहिले स्वीकारेका छन्।

भगत सिंहले हिंसा त्याग्दा सबैभन्दा धेरै खुसी छिन्, उनकी पत्नी सतनाम कौर। पाँच वर्षयता बाँके प्रहरीका 'मोस्ट वान्टेड'की पत्नी हुँदाको दुःख उनलाई मात्र थाहा छ। भगत सिंह खोज्दै गाउँ पुग्ने प्रहरीले थुप्रैपटक घरमा छापा मारेका छन्। हत्या-हिंसा र विस्फोटका घटना रेडियो/टीभीबाट सुन्दा उनलाई पीडा हुन्थ्यो। "हिंसा त्याग्ने सुन्दा सबैभन्दा धेरै म खुसी छु," सतनाम भन्छिन्, "भगत सिंह होइन, अर्जुन सिंह बनेर घर फर्किनूस् भनेकी छु।"

गाउँमा कुखुरा र्फम, नेपालगन्जमा गि्रल उद्योग र पर्याप्त खेतीयोग्य जग्गामा पसिना बगाउन छाडी बन्दुक बोकेर सीमापारि गएको सतनामलाई पटक्कै चित्त बुझेको थिएन। त्यसमाथि ९ कक्षामा पढ्ने दुई छोरी, १२ र ६ कक्षामा पढ्ने कलिला छोरासँगै खुसीकै जिन्दगी थियो। सतनामले सुनाइन्, "घरमूली भूमिगत हुँदा हामीलाई कहिल्यै सन्तोष भएन। कुन दिन कहाँ मारिने हुन् भन्ने डर हुन्थ्यो। भगवान्सँग बिहान-बेलुकी बिन्ती गर्थें। बल्ल भगवान्ले पुकारा सुने।"







'जातैपिच्छेको संघीयता हुन्न'

- भगत सिंह



हिंसा त्याग्दा कस्तो लागेको छ ?

रहरले हतियार उठाएको होइन। को चाहन्छ, घरपरविार छाडेर लड्न ? पुलिस प्रशासनले दमन गर्‍यो। त्यसैले हतियार उठायाँै। शान्ति प्रक्रियामा फर्किंदा खुसी छु।

अब के गर्नुहुन्छ ?

अहिले हतियार बुझाउँदै छौँ। त्यसपछि सरकारले मुद्दा फिर्ता लिन्छ। जेलबाट कार्यकर्ताहरू छुट्छन्। जनतान्त्रिक तराई-मधेस मुक्ति पार्टी अब शान्तिपूर्ण राजनीति गर्छ। संगठन विस्तार गर्छौं। चुनाव लड्छौँ। संविधानसभामा पुगेर मधेसीलगायत पछाडि परेकालाई मुक्ति दिलाउँछौँ।

कस्तो संघीयता चाहनुहुन्छ ?

अहिले भनेजस्तो जातैपिच्छे संघीयता हुनुहुन्न। त्यसले राम्रो हुन्न। देश टुक्रिने खतरा हुन्छ। भौगोलिक आधारमा हिमाल, पहाड र मधेस-तराई तीन प्रान्त सबैभन्दा राम्रो हुन्छ।

संविधानसभा चुनावमा तपाईं कुन क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ ?

अहिल्यै भन्न गाह्रो छ। प्रत्यक्ष लड्ने कि समानुपातिकमा जाने, पार्टीमा छलफल हुँदै छ। प्रत्यक्ष लडे बाँकेबाटै उठ्छु।







आतंकको शृंखला


हत्या

- वसन्त मल्ल -छन्दविक्रम मल्ल)को अपहरणपछि हत्या ।

- सीतापुर गाविसका सचिव इन्द्रबहादुर श्रेष्ठको अपहरणपछि हत्या ।

- भूमिसुधार कार्यालयका खरिदार पूर्णप्रसाद ढकालको अपहरणपछि हत्या ।

- संविधानसभामा राष्ट्रिय जनमोर्चा उम्मेदवार कमल अधिकारीको हत्या ।

- वासुदेवपुर गाविसका मोलेही कोरीको हत्या ।

- महेन्द्र बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख सीतारामराज विष्टमाथि गोली प्रहार ।



विस्फोट

- निर्वाचन आयोगको कार्यालय ।

- कांग्रेसका तत्कालीन बाँके सभापति । कृष्णमान श्रेष्ठको आदर्शनगरस्थित घरमा विस्फोट ।

- शिक्षा कार्यालय, भूमिसुधार, मालपोत र बाँके जिल्ला अदालतमा विस्फोट ।

- नेपालगन्ज-कोहलपुर खण्डको मनिकापुरमा बम राखेर सडक अवरुद्ध ।

- हकहित संरक्षण मञ्चका अध्यक्ष परशुराम शुक्लाको घरमा विस्फोेट ।

- गौरीशंकर हार्डवेयरमा विस्फोट, दुई सख्त घाइते ।

- एमाले, कांग्रेस र एमाओवादीको कार्यालयमा बम राखेर आतंक ।



आफैँतर्फ क्षति

- परशुराम कोरी वनकट्टी, खजुराखुर्द मुन्ना यादव र आल्लु पासी, बाँकेगाउँका बाबुराम कश्यप । तीन वर्षअघि प्रहरीले भूपू प्रहरीको टोली बनाई भगत सिंहलाई रूपैडिहामै गोली प्रहार, बायाँ पाखुराबाट छातीसम्म गोली छेडिएको ।

- जनक नेपाल ; नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis