CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » होशियार नक्कली फुलीमा असुली गर्दै छन् नक्कली प्रहरी

होशियार नक्कली फुलीमा असुली गर्दै छन् नक्कली प्रहरी


काठमाडौं, चैत २५ - रोल्पाका बेगमप्रसाद डाँगी उर्फ विष्णुप्रसादको झापामा छुट्टै शान थियो। उनीसँग भेटेर मेजमानीमा रमाउनु नेपाल प्रहरीका जवानदेखि डिएसपीसम्म अहोभाग्य सम्झन्थे। झापा तस्करी नाका काँकडभिट्टाका प्रहरी त सधैँ नगदनारायणसहित उनको सेवामा हाजिर हुन्थे। 
जिप्रका, झापाका प्रहरी नजरमा डाँगी नेपाल सरकारका उपसचिव थिए भने काँकडभिट्टा प्रहरीका लागि केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी। चार दिनअघि उनै
डाँगी जिप्रका झापा आउँदा सलामका लागि उठेका केही प्रहरीका हात काँधमाथि पुग्न सकेनन्। कारण- त्यसअघि नै उनीहरुका आँखाले देखिहाले- डाँगीका हातमा त हतकडी रहेछ।
डाँगी झापा प्रहरीको हिरासतमा छन् अहिले। झापा चन्द्रगढीबजारबाट पक्राउ गरेर प्रहरीले उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान बढाएको छ।
'डाँगी कहिले शिक्षा मन्त्रालयका उपसचिव त कहिले प्रहरीको डिएसपी बन्दा रहेछन्,' जिल्ला प्रहरीप्रमुख झापाका एसपी शेरबहादुर बस्नेतले नागरिकसँग भने, 'पहिले त प्रहरी पनि झुक्किए, अहिले उनको परिचय खुल्यो- ठगको।
सर्वसाधारणमात्र होइन, 'प्रहरी हुँ' भन्दै स्वयं प्रहरीलाई 'चक्मा' दिनेको सूचीमा डाँगी एक्ला छैनन्। मुलुकका विभिन्न भागमा नक्कली फुली हालेर अपराध गर्नेको सूची लामै छ।
गत भदौ १६ गते रकम असुली गर्दै हिँडेका टपबहादुर नेपाली उर्फ पप्पु र शंकर नेपाली पोखरा प्रहरीको फन्दामा परेका थिए। उनीहरु पनि नक्कली प्रहरी। पोखरा फूलबारीका उनीहरुलाई रकम असुली गर्दागर्दै नौडाँडाचौकीले पक्राउ गरेको थियो।
पक्राउ पर्नु सात महिनाअघिदेखि उनीहरुले आफूलाई सादा पोसाकका प्रहरी भन्दै अवैध काम गर्नेहरुलाई नियन्त्रणमा लिएर रकम असुल्दै आएका थिए। उनीहरुको खास निशाना बनेका थिए- पोखराका एकान्त स्थानमा प्रेमलाप गर्ने जोडी। एक मोटरसाइकल चालकसँग आफूहरु सिआइडी भएको भन्दै तीन सय असुलेपछि घटना प्रहरीसम्म पुगेको थियो। त्यसैका आधारमा दुवै फन्दामा परे।
एक वर्षअघि प्रहरीको आवरणमा नुवाकोटका गाउँमा लुटपाट र चोरी गरेर हैरान बनाएका दुई प्रहरी फन्दामा परेका थिए। काठमाडौं बुढानीलकण्ठका साजन ठकुरी र नुवाकोट बालकुमारीका घनबहादुर बडुवाल पनि लुटपाट धन्दा चलाउनै नक्कली प्रहरी बनेका थिए। जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गर्दा सात लाख रुपैंया बराबरको गहना र प्रहरीको नक्कली परिचयपत्र बरामद भएको थियो।
माघ २६ गते उद्धव श्रेष्ठ र उनका साथीहरु काठमाडौंको सिटीसेन्टरमा यस्तै नक्कली प्रहरीको फन्दामा फसेका थिए। सामान किनिरहेका उनीहरुलाई 'हामी प्रहरी हौं' भन्दै ट्याक्सीमा राखेर एक समूहले टेकुस्थित बागमती किनारमा पुर्याकए।
त्यहाँ पुगेलगत्तै प्रहरी बनेकाहरुले रगतले भरिएको सिरिन्ज देखाउँदै मोबाइल र पैसा मागे। आफूहरु एचआइभी संक्रमित भएको र रोग सारिदिने भन्दै धम्क्याएर उनीहरुले मोबाइल, पैसामात्र होइन, लगाएको ज्याकेटसमेत लुटे।
ललितपुर कुमारीपाटीमा एक समूहले केन्द्रीय अनुसन्धान ब्युरोकै नाम लिएर तीनजनालाई ट्याक्सीमा राखेर खोलाकिनार पुर्याटएर लुटे। काठमाडौंमा प्रहरीले नै लुटपाट गरिरहेको सूचना आएपछि खोजीमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुरज गिरी, बाबु लामा र मोहन श्रेष्ठलाई पक्राउ गर्यो। अनुसन्धानले उनीहरु लागूऔषध दुर्व्यसनी रहेको देखियो।
गएको फागुनमा शान्तिनगर चौरमा प्रेमलाप गरिरहेको जोडीलाई एक युवकले नियन्त्रणमा लिएर सार्वजनिक स्थानमा अश्लील गतिविधि गरेको भन्दै धम्क्याए। उनले प्रहरी कार्यालय लगेर सार्वजनिक अपराधमा कारबाही गर्ने धम्की दिएपछि युवकले एटिएमबाट ४ हजार रुपैयाँ निकालेर दिए। महानगरीय प्रहरी वृत्तमा गुनासो गर्न गएका जोडीको जानकारीका आधारमा खटिएको प्रहरीले पैसा असुल्ने अनिश थापालाई समात्यो, उनी पनि नक्कली प्रहरी देखिए।
प्रहरी संगठनले आपराधिक सूचना संकलनका लागि परिचय लुकाउन प्रहरीलाई सादा पोसाकमा परिचालन गर्दै आएको छ। अपराध नियन्त्रणका लागि सूचना संकलन भनिए पनि उनीहरु आफैं अपराधमा संलग्न हुँदा अपराध गर्ने बहानाको खोजीमा रहेका चलाख अपराधीले प्रहरीकै नक्कल गर्दै आएको प्रहरी अधिकारीको ठम्याइ छ।
'प्रहरीको सिआइडी भनेपछि सर्वसाधारण त्यत्तिकै तर्सिन्छन्, न नाम सोध्छन्, न परिचयपत्र नै माग्छन्,' एक प्रहरी अधिकारीले टिप्पणी गरे, 'सादा पोसाकका प्रहरीले यसरी नै पैसा असुलेका भुक्तभोगीहरु नक्कलीसँग पनि छिट्टै फस्छन्।'
जानकार प्रहरी अधिकारी प्रहरीको हैसियतको दुरुपयोग गर्दै रकम असुली गर्ने, ठगी गर्नेहरुको गतिविधिबारे जानकारहरू नै हुने बताउँछन्। कुनै न कुनै रुपमा प्रहरीको सम्पर्कमा पुगेका, उनीहरुका गतिविधि नियालेका व्यक्ति नै प्राय नक्कली प्रहरी बन्ने गरेको उनको अनुभव छ।
प्रहरीले आपराधिक सूचना संकलनका लागि सुराकीको रुपमा 'सिभिलियन'लाई समेत खटाउने गर्छ। कतिपय यस्ता घटनामा त्यही प्रहरीको सहयोगी बनेका सुराकी नै नक्कली प्रहरी हुँ भन्दै असुलीमा बढी संलग्न हुन्छन्।
बौद्धका दुई व्यापारीलाई अपहरण गरेर साढे २ लाख रुपैयाँ र मोटरसाइकल असुल्ने योजनामा यस्तै सुराकी सिभिलियन संलग्न रहेको अनुसन्धानमा खुलेको छ। सानु भनिने र जितेन्द्र थापा चलाउने उर्फ दिपु सूचनादाता र योजनाकारमध्येका एक रहेको प्रहरी अनुसन्धानमा खुल्यो।
अनुसन्धानस्रोतका अनुसार उनी आफूलाई प्रहरीको 'सईसाप' को रुपमा चिनाउँथे। असुली मिलाउन महानगरीय प्रहरी परिसर काठमाडौं हनुमानढोका पुग्दा तल्ला दर्जाका प्रहरीले त उनलाई साँच्चिकै सईसाप भनेर जय नेपाल टक्र्याउँथे।
नक्कली प्रहरी बनेर लुटपाट गर्ने प्रेरणा कतिपयलाई चलचित्रबाट मिलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का नक्कली अधिकृत बनेर छापा मार्ने एक समूहको कथामा आधारित भारतीय चलचित्र 'स्पेसल २६' बाट प्रभावित भएर एक समूहले काठमाडौंको एउटा गोदाम झन्डै रित्याएन।
घटना चैत १ को हो। जोरपाटीका सजन तिमल्सिना, बानेश्वरका भाइकिङ सुब्बा र महांकालका सन्जोग सुब्बा त्यही चलचित्रबाट प्रभावित भएर आफूलाई इन्टरपोलको प्रहरीमा बदलेका थिए। सजन चलचित्रका अक्षयकुमारझैँ नाइके अर्थात् डिएसपी बने, अन्य उनैका सहयोगी। सर्वसाधारणलाई आफूमाथि शंका नहोस् भनेर उनीहरुले सादा पोसाकका प्रहरीले बोक्ने हतकडी किनेका थिए। काठमाडौंको सम्पन्न परिवारका यी युवाले जेठ २७ गते क्षेत्रपाटीका मिलन गुरुङ र असोजमा जगन्नाथलाई हतकडी देखाएर थुनिदिने धम्की दिँदै पैसा असुलेका थिए।
उनीहरुले आफू 'इन्टरपोलबाट आएको' भन्दै मिलनलाई नियन्त्रणमा लिएर 'दुई बोरा नक्कली पैसा खै?' भन्दै धम्क्याएका थिए। सोह्रखुट्टे प्रहरी प्रभाग लैजाने भन्दै ट्याक्सीमा राखेर उनीहरुले एक लाखबाट बार्गेनिङ गरे पनि १० हजारमा चित्त बुझाए। वीरगन्जका जगन्नाथलाई लागूऔÈध कारोबारी भन्दै धम्क्याएर रकम असुलेका थिए। पछि, यी नक्कली प्रहरीलाई महानगरीय प्रहरी अपराध महाशाखाका सक्कली प्रहरीले पक्राउ गरे।
नक्कली मात्र होइन, सक्कली प्रहरी पनि यस्ता घटनामा संलग्न भेटिएको छ। उनीहरूले आफू कार्यरत कार्यालयलाई ढाँटेर अपहरण र असुली गर्ने गरेका घटना सार्वजनिक हुँदै आएका छन्। दुई व्यापारीको अपहरण गरी रकम असुलेको अभियोगमा महानगरीय प्रहरी वृत्त, बौद्धको हिरासतमा रहेका सईद्वय प्रकाश मल्ल र रुद्रराज पौडेल एवं असई राजु भण्डारी महानगरीय प्रहरी परिसर, काठमाडौंका भए पनि उनीहरुले आफूहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीको परिचय दिएका थिए।
प्रहरीका सादा पोसाकमा परिचालन हुने प्रहरी असुलीमा बद्नाम छन्। त्यही कमजोरीलाई अपराधीले समेत उपयोग गरेको प्रहरी अधिकारी नै स्विकार्छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता केशव अधिकारीले सादा पोसाकमा प्रहरी हँु भनेर जाँदा पहिचान पनि देखाउन नपर्ने, फाइदा पनि लिन सकिने भएर यस्तो प्रवृत्ति बढेको बताउँछन्। उनले यसमा प्रहरीको पनि कमजोरी रहेको स्विकार्छन्।
'संगठनभित्रका केही बद्मासका कारण ठगी गर्नेहरुलाई प्रहरीको नाम लिँदा सजिलो भएको हुन सक्छ,' उनले भने, 'हाम्रो अनुगमन केही फितलो भएको पक्कै हो, तर अब अनुगमनमा कन्जुस्याइँ हुन्न।' उनले प्रधान कार्यालयले आपराधिक घटनामा कुनै प्रहरी संलग्न भए उनीहरु कार्यरत रहेको कार्यालय प्रमुखलाई समेत कारबाही गर्ने तयारी गरिएको दाबी गरे।
फितलो कारबाही
प्रहरीको दजार् नै नपाई प्रहरी हुँ भन्दै हिँड्दा पक्राउ परे पनि उनीहरुलाई कारबाही गर्न कडा कानुन छैन। 'प्रहरी हुँ' भन्दै कुनै अपराध गरे सोही अपराधअनुसार कारबाही गर्दै आएको छ संगठनले। कसैले प्रहरी हुँ भनेर ढाँट्ने, तर बद्मासीचाहिँ नगर्ने घटना आए प्रहरीले सार्वजनिक अपराध ऐन लगाएर २३ दिनसम्म थुन्न सक्छ। त्यसबाहेक अर्को कानुन छैन।
'नपाएको पद पाएको भनी झुक्याएको भन्दै पनि कारबाही गर्न सकिन्छ,' डिआइजी अधिकारीले भने, 'तर यस्ता घटनामा अपराधअनुसार वा सार्वजनिक अपराधअनुसार नै कारबाही गर्दै आएका छौं।'
केपी ढुंगाना,  नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis