CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बन्दले देशभरको जनजीवन प्रभावित (फोटोफिचर)

बन्दले देशभरको जनजीवन प्रभावित (फोटोफिचर)


काठमाडौँ, २५ चैत । नेकपा–माओवादीसहित विभित्र ३३ साना दलले आज आह्वान गरेको नेपाल बन्दका कारण मुलुकका विभित्र भागमा जनजीवन प्रभावित भएको छ ।

राजधानीमा बन्द गराउँदै हिंडेका बन्दकर्ता ।
कीर्तिपुरः बन्दका कारण कीर्तिपुर क्षेत्रमा बिहान सञ्चालन हुने कुनै पनि शैक्षिक संस्था चलेका छैनन् भने यस क्षेत्रको यातायात सेवा पूर्णरूपमा ठप्प हुनुका साथै व्यापार व्यवसाय पनि प्रभावित भएको छ ।
राजधानीको बन्दमा सडकमा फुटबल खेल्दै ।
त्रिविद्वारा पूर्वनिर्धारित परीक्षा कार्यक्रमअन्तर्गत आज मानविकी तथा सामाजिकशास्त्र सङ्काय स्नातक तह दोस्रो वर्षको परीक्षा भएका कारण परीक्षार्थीहरू समस्यामा परेका छन् ।
इटहरीमा सर्वसाधारण बन्दको चपेटमा ।
मध्याह्न १२:०० बजेबाट सुरु हुने परीक्षाका लागि उपत्यकाका विभित्र परीक्षा केन्द्रमा हिँडेर पुग्नुपर्ने भएको पीडित विद्यार्थीको गुनासो रहेको छ ।
हेटौँडाः नेकपा–माओवादीलगायत अन्य साना दलहरूले आह्वान गरेको नेपाल बन्द कार्यक्रमले मकवानपुर जिल्लालाई पनि प्रभावित तुल्याएको छ ।
बन्दका कारण हेटौँडाबाट काठमाडौँलगायत विभित्र सहरमा जाने लामा दूरीका यातायात सेवा आज बिहान ५ बजेदेखि नै ठप्प भएको छ भने स्थानीय यातायात सेवा पनि अवरुद्ध भएको छ । हेटौँडा औद्योगिक क्षेत्रका उद्योग र शिक्षण संस्थाहरू पनि बिहानैबाट बन्द छन् ।
बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वीरगन्जः वर्तमान सरकारको बहिर्गमनको माग राख्दै नेकपा–माओवादीलगायतका दलहरूद्वारा आह्वान गरिएको नेपाल बन्दका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण आज बिहानैदेखि वीरगन्जबाट बाहिर चल्ने लामो दूरीका सवारी साधनहरू ठप्प भएका छन् ।
छोटा दूरीका ट्याम्पू, रिक्सा, टाँगालगायतका सवारीसाधन भने सडकमा निर्वाधरूपमा सञ्चालनमा आएका छन् तर बन्दका कारण शैक्षिक संस्थामा भने असर देखिएको छ । बन्दका कारण यात्रुहरू मारमा परेका छन् । प्रेस, एम्बुलेन्सलगायतका अत्यावश्यक सवारीसाधन भने निर्वाधरूपमा सञ्चालन भइरहेका छन् ।
इलामः नेकपा—माओवादीसहित साना दलले आह्वान गरेको नेपाल बन्दका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चलेका छैनन् भने पसल, कलकारखानासमेत बन्द रहेका छन् ।
सिराहामा लाठीसहित उत्रिएका बन्दकर्ता ।
प्रधानन्यायाधीश नेतृत्वको सरकार मान्य नहुने भन्दै माओवादीसहित साना दलले विभित्र खालका कार्यक्रम गर्दै आएका छन् । बन्दका कारण झापा, पाँचथर तथा ताप्लेजुङतर्फ जाने गाडी नचल्दा टाढा—टाढाबाट इलाम घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत अलपत्र परेका छन् ।
बन्द शान्तिपूर्ण रहेको नेकपा–माओवादीका जिल्ला प्रवक्ता अशोक प्रधानले जानकारी दिनुभयो । बन्दका कारण इलाममा हिजोदेखि सञ्चालित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितासमेत प्रभावित भएको आयोजक जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।
यसैबीच बन्दका दिन गाडी चलाएको भन्दै बन्दकर्ताहरूले आज बिहान ७ः०० बजे मेची राजमार्गअन्तर्गत कन्यामको पाल्टाँगेमा एउटा रात्रीबसमा ढुङ्गा प्रहार गरेका छन् ।
काठमाडौँबाट इलामको पशुपतिनगरतर्फ गइरहेको ना ३ ख २५६९ नम्वरको दार्जिलिङ एक्सप्रेसमाथि लुकेर बसेका नेकपा—माओवादीका कार्यकर्ताहरूले कन्याम—२ मा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट बसको अगाडि र पछाडिको सिसा फुटेको छ भने झ्यालमा समेत क्षति पुगेको प्रहरी चौकी फिक्कलका प्रहरी नायब निरीक्षक मनीष थापाले बताउनुभयो ।
ढुङ्गा प्रहारबाट बसभित्र रहेका दुई वर्षीय बालक दीपेश थामीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले बन्दकर्ताका तीन वटा मोटरसाइकलमध्ये दुई वटा नियन्त्रणमा लिएको छ । अहिले बन्दकर्ताको व्यापक खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
सिरहाः बन्दका कारण सिरहास्थित राजमार्गमा मोटरसाइकल बाहेकका सवारीसाधन चल्न सकेका छैनन् । यसैगरी पसल, कलकारखाना, उद्योग र शिक्षणसंस्थासमेत सञ्चालनमा आउन सकेका छैनन् । बजार र यातायातका सवारीसाधन बन्द भएपछि सर्वसधारण बढी मर्कामा परेका छन् ।
यहाँका मिर्चैया, गोलबजार, लहान, धनगढीलगायतका बजारहरूमा बिहानैखि बन्द आह्वानकर्ता मोर्चाका कार्यकर्ताको उपस्थिति देखिन्छ । मोर्चाका कार्यकर्ताले एम्बुलेन्स, प्रेस र कूटनीतिक नियोगको सवारीसाधनलाई भने चल्न दिएका छन् ।
भद्रपुर: नेकपा–माओवादीसहित ३३ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्द कार्यक्रमबाट आज मेची अञ्चलमा बिहानैदेखि प्रभाव परेको छ । पूर्व–पश्चिम राजमार्ग, मेची राजमार्गका साथै सहायक मार्गहरूमा बिहानैदेखि कुनै पनि सार्वजनिक सवारीसाधन नचलेको जिल्ला ट्राफिक कार्यालय विर्तामोडले जनाएको छ ।
नेपालको पुर्विभाग:
झापा, इलाम, पाँचथर र ताप्लेजुङका अधिकांश बजार बन्द हुने सम्भावना देखिएको छ तर झापाको सुरुङ्गा बजार एक दशकदेखि बन्द निषेधित क्षेत्रको रूपमा रहेको र यसअघिका बन्दहरूमा पनि बजार सञ्चालन हुने गरेकामा पटकपटक बन्दकर्ता र स्थानीय व्यापारीबीच सामान्य झडप हुने गर्दै आएको छ ।
आजको बन्दको सन्दर्भमा विभिन्न राजनीतिक पार्टीहरूले कोणसभामार्फत धम्क्याउने कार्य गरेपछि झापाका विभिन्न व्यापारिक सङ्गठनहरूले विज्ञप्ति जारी गरी सुरुङ्गा बजारले नेपालको गौरव बढाएकाले सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।
यसै सन्दर्भमा झापाका प्रजिअ नरेन्द्रराज शर्माले सुरुङ्गा बजारको सुरुक्षाको व्यवस्था मजबुत बनाइएको बताउनुभयो । बन्दकर्ता राजनीतिक सङ्गठनले सुरुङ्गा बजार जसरी पनि बन्द गराउने र स्थानीय व्यापारीहरूले कुनै पनि सर्तमा बजार बन्द नगर्ने अडान लिएकाले वातावरण बिग्रन नदिन प्रहरीलाई सजग राखिएको देखिन्छ ।
नेपालगञ्ज:
यसैगरी नेपालगञ्जमा पनि बन्दको खासै प्रभाव परेको छैन। त्यहाका पसलहरु खुलेका छन भने निजी सवारी साधन, मोटर साइकल, रिक्सा लगायतका सवारी साधन कम मात्रामा चलेका छन। यसैगरी नेपालगञ्ज एयरपोर्टमा आउने जाने यात्रुहरुको भीड लागेको छ। यसका साथै त्यहाँको सुरक्षा व्यवस्था भने कडा बनाइएको छ।
कञ्चनपुर: बन्द आह्वानका कारण आज बिहानैदेखि कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित भएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दूरीका सवारीका साधन सञ्चालन हुन सकेका छैनन् ।
बन्दका कारण भारतबाट सुदूरपश्चिमको ठूलो चाड विषु मनाउन आएका पहाडी क्षेत्रका यात्रु बसपार्कमै अलपत्र परेका छन् । बजार, विद्यालय, औद्योगिक प्रतिष्ठान पनि बन्द रहेका छन् ।
महेन्द्रनगरलगायतका बजार क्षेत्रमा फाट्टफुट्ट रूपमा मोटरसाइकल र रिक्सालगायतका साना सवारीसाधन भने सञ्चालनमा रहेका छन् ।
नेकपा–माओवादीका कार्यकर्ता महेन्द्रनगर बजार क्षेत्रका विभित्र क्षेत्रमा बजार बन्द गराउँदै हिँडेका छन् । बजार क्षेत्रको ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत बाक्लो उपस्थिति रहेको छ ।
राजनीतिक दलहरूको सहमतिमा दलकै बीचबाट सरकार गठन हुनुपर्ने, वर्तमान सरकारलाई खारेजी गर्नुपर्ने, राजनीतिक निकासका लागि गोलमेच सम्मेलन हुनुपर्ने र चार राजनीतिक दलहरूको सिन्डिकेट तोडिनुपर्नेलगायतका मागहरू राखी बन्द आह्वान गरिएको नेकपा –माओवादीका थारूवान् राज्य समितिका दानसिं दहितले बताउनुभयो ।
सुन्धारामा देखिएको सुनसान सडक ।
साभार : हाम्रा कुरा 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis