CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » राजदरबार हत्याकाण्ड :स्पेशल रिपोर्ट

राजदरबार हत्याकाण्ड :स्पेशल रिपोर्ट


राजपरिवारका ११ सदस्यको ज्यान जाने गरी १९ जेठ ०५८ मा नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डका बेला राजा वीरेन्द्रका प्रमुख एडीसी (पाश्र्ववर्ती) थिए, महासेनानी सुन्दरप्रताप राना । १६ वर्षसम्म राजप्रासाद सेवामा रहेका उनले दरबार हत्याकाण्डलगत्तै अवकाश पाए र लामो समय गुमनाम रहे । प्रस्तुत छ, तिनै रानासँगको कुराकानीमा आधारित भई सीताराम बरालले तयार पारेको सामग्री :


दरबार हत्याकाण्डको अघिल्लो दिनको साँझ, १८ जेठ २०५८। अरू साँझजस्तै प्रमुख एडीसीका रूपमा श्री ५ महाराजाधिराजको सुरक्षाको ड्युटी सुरु भयो। म कम्प्युटर चलाएर बसिरहेको थिएँ। युवराज दीपेन्द्र मेरो कोठामा आउनुभयो र भन्नुभयो, "सुन्दर हिँड, मेरो कोठामा जाऔँ।"

मैले भनेँ, "म हजुरको कोठामा गएका बेला श्री ५ को फोन आउन सक्छ। मलाई बोलावट हुन सक्छ। फोन आएका बेला आफ्नो ड्युटी रुममा होइन, हजुरको कोठामा भेटिएँ भने मलाई अप्ठ्यारो पर्न सक्छ।" मेरो जवाफ सुनेपछि दीपेन्द्र र्फकनुभयो। खासमा मलाई त्यस दिन उहाँको कोठामा जान मनै लागेको थिएन।

ठीक एक वर्षअघि पनि दीपेन्द्र मेरो ड्युटी रुममा मलाई यसै गरी बोलाउन आउनुभएको थियो। त्यतिबेला म खाना खान लागेको थिएँ। उहाँले बोलाउनुभयो र म उहाँको कोठामा गएँ। ठ्याक्कै मिति याद छैन। तर, त्यो शुक्रबारकै दिन थियो। उहाँको जन्मदिन (१३ असार) आउन करबि तीन हप्ता बाँकी छँदाको प्रसंग हो यो।

दीपेन्द्रले भन्नुभयो, "हेर न सुन्दर ! मेरो त बिहे नै नहोला जस्तो भयो। बुबाहरू मानिबक्सेको छैन।" उहाँको निराश भाव देखेपछि मैले सम्झाएँ, "चिन्ता लिनुपर्दैन। सरकारले मन पराएको कुरामा बुबा-मुमाले अन्यथा गरबिक्सन्न। सरकारको जन्मदिनमा महाराजाधिराजले बिहेको घोषणा गरबिक्सिन सक्छ।" नकारात्मक सोचलाई सकारात्मक बनाउन मैले यो कुरा भनेको थिएँ। मेरो कुरा सुनेपछि दीपेन्द्रको अनुहार एकदम उज्यालो भयो। र, उहाँले भन्नुभयो, "हो, भरतकेशर सिंहले पनि यस्तै भन्नुभएको थियो।"

पछि मलाई लाग्यो, दरबार हत्याकाण्ड हुने अघिल्लो दिन बोलाउँदा म युवराज दीपेन्द्रको कोठामा जानुपर्ने रहेछ। किनभने, त्यसको भोलिपल्टै दरबार हत्याकाण्ड भयो। त्यस दिन म उहाँको अनुरोध मानेर गएको भए भोलिपल्टको घटनाबारे उहाँबाट कुनै संकेत पाउन वा परििस्थतिलाई सकारात्मक बनाउन सक्थेँ कि !



त्यो भयानक रात

श्री ५ वीरेन्द्रको दिनचर्या बिहान ८ बजे सुरु हुन्थ्यो। कपडा लगाएर सवा ८ बजेतिर दरबारबाट बाहिर निस्कनुहुन्थ्यो। १० बजेसम्म दुई घन्टा नियमित 'मर्निङ् वाक' हुन्थ्यो। त्यसपछि २० मिनेटजति सौनामा बस्नुहुन्थ्यो। सौनापछि अर्काे २० मिनेट पौडी खेल्नुहुन्थ्यो। पौडीका लागि नारायणहिटी भवनभित्रै रहेको त्रिशूल सदनमा स्विमिङ् पुल थियो। र, ११ बजेसम्म उहाँ अफिस पुगिसक्नुहुन्थ्यो।

१९ जेठमा उहाँको दिन पनि यसै गरी सुरु भएको थियो। अघिल्लो साँझदेखि मेरो ड्युटी भएकाले मर्निङ् वाकमा म सँगै थिएँ। सौना, स्विमिङ् आदि सकेर समयमै उहाँ आफ्नो कार्यालय जानुभयो। म आफ्नो ड्युटी टीका धमला जर्साबलाई बुझाएर घर गएँ। बेलुकी ७ बजे फेरि उहाँबाटै मैले ड्युटी जिम्मा लिएँ।

त्यस साँझ महाराजाधिराजसँग पत्रकार माधवकुमार रमिालको भेट्ने कार्यक्रम रहेछ। रमिाल मंगल सदन आइसक्नुभएको थियो। विशेष गरेर शुक्रबारको जमघटमा उहाँ मुमा बडामहारानीलाई लिएर त्रिभुवन सदन जानुहुन्थ्यो। तर, त्यसदिन मंगल सदनबाटै उहाँ त्रिभुवन सदन पैदल नै जानुभयो। राती पौने ९ बजेतिर उहाँलाई त्रिभुवन सदनको गेटमा पुर्‍याएर म ड्युटी रुममा र्फकें।

भोलिपल्ट राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित खेलकुद उद्घाटन कार्यक्रम थियो। 'के बोल्ने होला, तयारी गर्दै गर' भन्नुभएको थियो। सोही बारेमा कार्यक्रम मिलाउन म श्री ५ का सचिवहरूसँग फोनमा कुरा गर्दै थिएँ। तर, महाराजाधिराजलाई त्रिभुवन सदनमा छाडेर आएको झन्डै २० मिनेटपछि नै त्यो बीभत्स घटना हुन पुग्यो।

त्यस दिन म सबैभन्दा सिनियर एडीसी थिएँ। गजेन्द्र बोहरा युवराज दीपेन्द्रका एडीसी थिए। जमघट दीपेन्द्रको निवास त्रिभुवन सदनमा भएकाले हामी बसेको त्यो ड्युटी रुम गजेन्द्र बोहराको कार्यालय थियो। हामी बसेको कोठाभित्र 'एयर कन्डिसन' चलिरहेको थियो, टेलिभिजन पनि खुलै थियो। उता सरकार राज भएको कोठाभित्र स्वचालित हतियार चलाइएको थियो। यस्तो बन्द कोठाबाट हतियारको 'डङ डङ' आवाज आएको थिएन, थरर्र हल्लेको जस्तो भइरहेको थियो। के भएको भनेर सुरुमा अनुमान नै गर्न सकिएन। जब दोस्रोपटक यस्तै आवाज आयो, मैले गजेन्द्रलाई भनेँ, "गजेन्द्र के भयो, हेर।" उनले बाहिर प्यासेजबाटै बिलियार्ड हलमा धीरेन्द्र शाह ढल्दै गरेको देखेछन्। युवराज दीपेन्द्रले गोली चलाएको गजेन्द्रबाट मैले थाहा पाएँ। बाहिर निस्कँदा ननिस्कँदै 'डाक्टर बोलाऊ, डाक्टर बोलाऊ' भन्ने आवाज आयो।

म एडीसी अफिसमा फोन गरेर त्रिभुवन सदनतर्फ दौडिएँ। त्यहाँ ढोकाहरू बन्द थिए। दीपेन्द्रलाई चाहिँ मैले देखिरहेको थिइनँ। म त्यहाँ पुग्दा दीपेन्द्र भर्खर गोली हानेर गइसक्नुभएको रहेछ। उहाँ फर्किने र म कोठाभित्र छिर्ने एकैपटक भयो। गोली चलेको पक्का भएपछि म बिलियार्ड हलभित्र गएँ। घटनास्थलमा राजपरिवारका कुनै पनि सदस्य उभिएको अवस्थामा हुनुहुन्नथ्यो। गोली लागेकाहरू ढलिसकेका थिए। नलागेकाहरू पल्लो कुनामा सुतेर लुकेका थिए।

म श्री ५ को एडीसी भएकाले मेरो जिम्मेवारी उहाँलाई सुरक्षित स्थानमा लैजानु हुन्थ्यो। श्री ५ लाई 'रेस्क्यु' (उद्धार) गर्दा उहाँलाई कहाँ गोली लागेको छ भन्ने कुरा थाहा थिएन। उहाँलाई चाँडोभन्दा चाँडो रेस्क्यु गर्नुपर्ने भएकाले अरू कुरामा हामीले ध्यानै दिएनौँ। हामी त्यहाँबाट महाराजलाई अझ चाँडो हटाउन सक्थ्यौँ, यदि दीपेन्द्र निस्केको ढोकाको बाटो खतरामुक्त भइदिएको भए। तर, त्यतातिरबाट जाँदा हामीमाथि पनि गोली चल्न सक्थ्यो। सरकारलाई रेस्क्यु गर्न ढोका फोरेर हामी भित्र प्रवेश गरेका थियौँ र त्यही बाटो भएर उहाँलाई अस्पतालतर्फ कुदायौँ।



नारायणहिटीदेखि छाउनीसम्म

क्याप्टेनहरू प्रफुल्ल शाह, पवन खत्री र मैले श्री ५ लाई घटनास्थलबाट निकाल्यौँ। त्यस बेला त्रिभुवन सदनभित्र बगैँचामा अझै गोली चलिरहेको थियो। चाँडोभन्दा चाँडो अस्पताल पुर्‍याउन सके मात्र श्री ५ लाई बचाउन सकिन्थ्यो। मोटरमा राखेर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लैजाँदा सडकमा अरू पनि गाडी गुडिरहेका थिए। गाडीको हर्न बजाउँदा मात्रै अगाडिका गाडीहरूले बाटो नछाड्न सक्थे। त्यसैले हामी कराउँदै कराउँदै सैनिक अस्पताल पुग्यौँ।

त्यो कस्तो हतारको घडी थियो भने श्री ५ लाई अस्पताल पुर्‍याउने मात्र होइन, उपचारका लागि डाक्टरलाई पनि बोलाउनुपथ्र्याे। गाडी कुदाउँदा कुदाउँदै अस्पतालमा आफूहरू महाराजाधिराजलाई लिएर आएको खबर गर्नुपर्ने जिम्मेवारी पनि थियो। हामीले श्री ५ कै ज्यागुआर गाडीमा उहाँलाई लिएर गएका थियौँ। जबकि, ज्यागुआर चलाउन त ड्राइभर नै चाहिन्थ्यो। धन्न ! मैले अमेरकिाको तालिममा ज्यागुआर चलाउन सिकेको थिएँ। ४ हजार २ सय सीसीको त्यो गाडी मैले तीव्र गतिमा कुदाएँ।

गाडी मैले यति धेरै वेगमा हाँकेको थिएँ कि सैनिक अस्पताल पुगेपछि त्यसलाई रोक्नै मुस्किल पर्‍यो। गाडी झन्डै अस्पतालको भित्तामा ठोक्किन पुगेको थियो। अस्पताल पुगेपछि हामी बेस्सरी चिच्यायौँ, 'छिटो छिटो डाक्टर बोलाऊ, स्टे्रचर ल्याऊ' भन्दै। यति छिटो अस्पताल पुगेका थियौँ कि बोलाइएका डाक्टरहरू अस्पताल आइपुगेकै थिएनन्।

श्री ५ माथि गोली चलेको डेढ मिनेटमै हामीले उहाँलाई घटनास्थलबाट निकालिसकेका थियौँ। र, त्यसको ६ मिनेटभित्रै सैनिक अस्पताल पुर्‍याएका थियौँ। अस्पताल पुग्दासम्म मलाई लागेको थियो कि श्री ५ लाई बचाउन सकिन्छ। पछाडि रहेका एडीसीले श्री ५ को श्वास चलिरहेको बताएका थिए। मलाई आश लाग्नुको कारण त्यही थियो।

उहाँलाई गोली कहाँ लागेको छ भन्ने मलाई अझै थाहा थिएन। अस्पताल पुगेपछि मैले उहाँको जस्तो अवस्था देखेँ, त्यसपछि चाहिँ उहाँलाई बचाउन सकिन्छ भन्ने आशा मर्‍यो। गोली लाग्दैमा मान्छे मर्दैर्न। तर, श्री ५ लाई यस्तो ठाउँमा गोली लागेको थियो, बच्न सक्ने स्थिति नै थिएन। गोली घाँटीको एउटा छेउबाट प्रवेश गरेर टाउकाको अर्काे छेउको कानभन्दा ठीक माथिबाट निस्केको थियो।

अस्पताल पुर्‍याएपछि डाक्टरहरूले श्री ५ को निधन भइसकेको घोषणा गरे। सरकारको अन्तिम अवस्थामा म उहाँको दाहिने हात समातेरै बसेको थिएँ। आज पनि लाग्छ, उहाँलाई बचाउन सकेको भए मैले आफूलाई भाग्यमानी सम्झने थिएँ। त्यस्तो भयानक घटनाका बाबजुद कम्तीमा राजालाई जिउँदै अस्पतालसम्म ल्याउन सकेका थियौँ भन्ने कुरामा सन्तोष मान्न सकिने ठाउँ हुन्थ्यो। तर, त्यो सौभाग्य मैले पाउन सकिनँ।

अस्पताल आउनुअघि त्रिभुवन सदनभित्र पस्न ढोका फोर्न थाल्दा मैले श्री ५ लाई छोपेर बस्नुभएका डा राजीवराज शाहीलाई देखेको थिएँ। मलाई के आशा थियो भने यदि महाराजाधिराजलाई गोली लागेकै रहेछ भने पनि साथमा डा राजीव रहनुभएकाले उहाँलाई बचाउन सकिन्छ। तर, पछि म भित्र पस्दा डा राजीव त्यहाँ हुनुहुन्नथ्यो।



योजनाविहीन दीपेन्द्र

कतिपय मानिस युवराज दीपेन्द्रले नियोजित रूपले त्यो घटना गराएको भन्छन्। तर, मलाई त्यस्तो लाग्दैन। उहाँ हतियार लिएर हिँडिरहने मानिस हो। रसि र आक्रोशमा हुनुहुन्थ्यो पनि होला। त्यस्तो बेला एडीसी कार्यालयतिर आइदिएको भए त्यो दुर्घटना टथ्र्यो होला। दुर्भाग्यवश, महाराजाधिराजहरू भएको कोठामा जानुभयो र गोली चलाउनुभयो।

उहाँले कसैलाई मार्छु भनेर गोली चलाउनुभएको थिएन। सुरुमा त उहाँले गोली कोठाको सिलिङ्मा हान्नुभएको थियो। अर्को गोली श्री ५ वीरेन्द्रलाई लाग्यो। एउटा गल्ती गरेपछि मान्छे त्यसबाट उम्किन अर्काे गल्ती गर्न पुग्छ। युवराज दीपेन्द्रको हकमा पनि त्यही भयो। गोली लागेर श्री ५ ढलेपछि उहाँ भाग्न थाल्नुभयो। भाग्दै भर्‍याङ उक्लँदै गर्दा बडामहारानी ऐश्वर्यले लखेट्न थाल्नुभयो। दुई कारण बडामहारानीले दीपेन्द्रलाई लखेट्नुभएको हुन सक्छ। एक, 'महाराजाधिराजलाई त मारिहाल्यो, अब आफूलगायत अरूलाई पनि मार्न सक्छ' भन्ने ठानेर। दुई, 'यसले आफैँ आत्महत्या गर्न सक्छ' भनेर। दीपेन्द्रलाई नियन्त्रणमा लिन बडामहारानीले उहाँलाई लखेट्नुभएको थियो।

बडामहारानीको शव जहाँ थियो, त्यसको विश्लेषण गर्ने हो भने त्यो कुरा थाहा पाउन सकिन्छ। उहाँको शव घटनास्थलबाट निस्केर खोपी हुँदै माथिल्लो तलामा जाने भर्‍याङको बीचमा थियो। उहाँमाथि दागिएको गोली दायाँतिरको भित्तामा लागेको छ। भर्‍याङमा पछ्याउँदै जानुभएकी रानीलाई भर्‍याङको माथिल्लो भागबाट गोली हानिएकाले गोली दायाँतिरको भित्तामा लाग्न पुगेको थियो। गोली उहाँको शिरमा यसरी लागेको थियो कि टाउकोको एकातिरको भाग क्षतविक्षत थियो। सायद, यस्तो बीभत्स दृश्य देखेपछि आवेग र आक्रोशमा रहनुभएका दीपेन्द्र होसमा आउनुभयो र त्यसपछि आत्महत्या गर्न पुग्नुभयो।

युवराज दीपेन्द्र श्री ५ वीरेन्द्रलाई मारेर आफैँ राजा हुने योजनामा हुनुहुन्थ्यो भन्ने अनुमान पनि सही होइन। बुबालाई मारेर आफू राजा हुने दीपेन्द्रको योजना थियो भने राजा हुन कुनै पूर्वतयारी गरेको हुनुपथ्र्याे। उहाँले कम्तीमा आफ्ना एडीसी साथमा लिएको हुनुपथ्र्याे। राजदरबारको पल्टनलाई 'मलाई साथ दिनुपर्छ है' भनेको हुनुपथ्र्याे। उहाँले यस्तो केही गरेको देखिँदैन।

श्री ५ वीरेन्द्रलाई मारेर आफू राजा हुने दीपेन्द्रको चाहना थियो भने उहाँ आफैँ त्यसरी दृश्यमा आउनै पर्दैनथ्यो। लुकेर हानेको भए पनि हुन्थ्यो। किनभने, उहाँसँग रहेका हतियार परैबाट फायर गर्न मिल्ने खालका थिए। अहिले त कतिपय मानिस युवराज दीपेन्द्रले गोली चलाएको भनेर पत्याउँदैनन् भने उहाँले लुकेर गोली हानेको भए राजा वीरेन्द्रलाई युवराज दीपेन्द्रले नै गोली हानेर मारेको हो भन्न कसले सक्थ्यो ?



एडीसीहरूको भूमिका

एडीसीहरूमाथि राजालगायत राजपरविारका अन्य सदस्यलाई जोगाउन नसकेको आरोप छ। तर हामीले जति गर्न सक्थ्यौँ, त्यति गरेका छौँ। राजदरबार हत्याकाण्डका बारे गठन गरएिको छानबिन समितिमा राजपरविारका सदस्यहरूले दिएको बयानबाट पनि हामीले त्यस दिन निर्वाह गरेको भूमिका प्रस्ट हुन्छ।

समितिलाई दिएको बयानमा अधिराजकुमारी हेलेनले त्रिभुवन सदनमा भागदौड भएको र गोली चलेको आवाज सुनेको तर केही उपद्रो र ठट्टा गरेका होलान् भन्ने आफूहरूलाई लागेकाले चुप लागेर बसेको उल्लेख गर्नुभएको छ। महेश्वरकुमार सिंहले टेलिभिजनबाट प्रसारति कुनै कार्यक्रममा गोली चलेको हो कि जस्तो लागेको बताउनुभएको थियो।

दरबारका भोजमा के हुन्थ्यो भने उमेर मिल्ने राजपरिवारका सदस्यहरू समूह बनाएर एकातिर बस्नुहुन्थ्यो। जस्तो : मुमा बडामहारानी रत्न, अधिराजकुमारी हेलेन, रविशमशेर, महेश्वरकुमार सिंह, रानी सरलाहरू एकातिर बस्नुहुन्थ्यो भने युवराज दीपेन्द्र, पारसलगायत राजपरिवारका युवा सदस्यहरू अर्काे तिर बस्नुहुन्थ्यो। छुट्टै कुरा गर्दै खानपान गर्नुपर्ने भएकाले उहाँहरू अलिक नदेखिने ठाउँमा रहनुहुन्थ्यो।

राजारानी, उहाँका दाजुभाइ, दिदीबहिनी, ज्वाइँहरू अर्काे ठाउँमा रहनुहुन्थ्यो। महाराजाधिराज रहनुहुने यही समूहमा आएर युवराज दीपेन्द्रले गोली चलाउनुभयो। त्यो समूहमा रहेका धीरेन्द्र, खड्गविक्रम शाह, अधिराजकुमारी शान्ति सिंह र शारदा शाह, शाहज्यादी जयन्ती शाहलगायत राजपरविारका धेरै सदस्य मारिनुको कारण यही हो। मुमा बडामहारानीहरूचाहिँ करडिरबाहिरको अर्काे भवनमा रहनुभएकाले सकुशल हुनुभयो।

घटनास्थलका प्रत्यक्षदर्शीहरूले जे देखेका छन्, त्यो सबै उनीहरूले छानबिन समितिलाई भनिदिएका छन्। यति हुँदाहुँदै लुकाउन नहुने एउटा कुरा लुकाइयो र त्यही कारण दरबार हत्याकाण्डबारे सर्वसाधारणमा भ्रम पर्न गयो। घटनामा 'स्वचालित हतियार अकस्मात् पड्केर दुर्घटना हुन गएको' भनिदिनु गलत थियो। यसले गर्दा दरबार हत्याकाण्डबारे भ्रम सिर्जना हुन गयो। पछि यो कुरा राजप्रतिनिधि परिषदका अध्यक्षबाट सच्याइयो पनि।

त्रिभुवन सदनको जमघटमा आवश्यक पर्ने सबै खानेकुरा महेन्द्र मञ्जिलबाट आउँथ्यो। खाना राजपरिवारका सदस्यहरूले 'सेल्फ सर्भिस'बाट लिनुहुन्थ्यो। केही काम पर्‍यो भने राजपरविारका सदस्यहरू आफैँले वेटरलाई बोलाउने चलन थियो। जस्तो : महाराजाधिराजलाई सिगार पिउन मन लाग्दा आफैँ बाहिर आएर हामीलाई 'सिगार ल्याइदेऊ' भन्नुहुन्थ्यो।

त्यो घटना त्रिभुवन सदनबाहिर भएको भए हामीले रोक्न सक्थ्यौँ। तर, घटना भइदियो भित्र। गोली चल्ने मात्र होइन, भित्र मुटु नै फुटे पनि हामी बाहिर बसेर केही गर्न सक्दैनथ्यौँ। एडीसीले बाहिरबाट सुरक्षा दिने हो। तर, त्यस दिन हामी पस्नै नपाउने कोठामा सेनाको बर्दी लगाएका युवराज दीपेन्द्रबाट त्यो घटना भएको थियो, जुन हामीले थाहै पाएनौँ। तर, जब थाहा पायौँ, हामीले सक्नेजति गर्‍यौँ।



अवकाशको कारण

हामी एडीसीहरू ठूला भवनबीचमा रहेका कच्ची घरजस्ता थियौँ। भुइँचालोले ठूला घर भत्काउँदा बीचमा रहेका साना घर पनि भत्किन्छन्। तर, त्यस दिन अचम्म भयो। १९ जेठमा आएको त्यो भुइँचालोले ठूला भवन (राजपरिवारका सदस्य)लाई भत्कायो, साना भवन -एडीसी)चाहिँ बच्न सके। भाग्यले गर्दा त्यति ठूलो भूकम्प आउँदा हामी बाँच्न सफल भयौँ।

यो कुरा मैले तत्कालीन राजा ज्ञानेन्द्रलाई पनि भनेको थिएँ। त्यस बेला मैले अवकाश पाइसकेको थिएँ। मैले भनेको थिएँ, "परिवारका सदस्यहरू, डाक्टर, अर्दली, भान्से र सुरक्षाकर्मीहरूबाट खतरा हुन सक्छ। त्यसैले सरकारले पनि यी मान्छेहरूसँग जहिले पनि सतर्क हुनुपर्छ।" पारसलाई युवराजाधिराजका रूपमा 'ग्रुम' गर्ने सिलसिलामा पनि लिखित रूपमै सुझाव दिएको थिएँ।

दरबार हत्याकाण्डपछि मलगायत चार जना एडीसी -अनन्तकेशर सिंह, राजु कार्की र गजेन्द्र बोहरा)ले अवकाश पायौँ। खासमा हामीले गल्ती गरेका थियौँ भन्ने श्री ५ ज्ञानेन्द्रलाई पनि लागेको थिएन। तर, दरबार हत्याकाण्डबारे विभिन्न आशंका थिए। जनताको दबाब सरकारमाथि थियो, सरकारको दबाब दरबारमाथि। त्यत्रो हत्याकाण्ड हुँदा यस्तो हुनु स्वाभाविक पनि थियो।

दोषी युवराज दीपेन्द्र हुनुहुन्थ्यो तर उहाँको मृत्यु भइसकेको थियो। परबिन्दमा त हामी जनताका छोरा न पर्ने भयौँ। तर, मैले यसलाई स्वाभाविक रूपमै लिएँ। किनभने, हामी सिपाही हौँ। देशलाई संकट परेको अवस्थामा सिपाहीले जहिले पनि बलिदान दिन तयार हुनुपर्छ। हामीले त्यही गर्‍यौँ। त्यतिबेला देश र राजसंस्था ज्यादै गम्भीर अवस्थाबाट गुजि्ररहेको थियो। सुरक्षामा खटिएका हामी एडीसीहरूलाई 'कारबाहीस्वरूप' अवकाश दिइएपछि तत्काल आइपरेको त्यो संकट पनि टर्‍यो।

पदोन्नति हुने बेलामा अवकाश पाउँदा मैले यो ठानेर चित्त बुझाएँ कि घटनाको दिन दीपेन्द्र हामी एडीसी भएको कोठातिर आउनुभएको भए हामी पनि मारिन्थ्यौँ होला, दीपेन्द्र हामी भएतिर नआउनुभएकाले हामी बचेका थियौँ। तर, हामी एडीसीमाथि अर्काे खतरा पनि थियो। घटनास्थलमा भएका राजपरिवारका सदस्यहरूले 'दीपेन्द्रले गोली हानेका होइनन्' भनिदिएका भए पनि हामी बच्ने थिएनौँ। त्यस बेला राजा वीरेन्द्र र राजपरिवारका अन्य सदस्यको मृत्युको दोष हामीमाथि लाग्थ्यो। त्यतिखेर हामीलाई कसले जोगाइदिन्थ्यो? प्रत्यक्षदर्शीहरूले सत्य बोलिदिएकाले हामी जोगियौँ। जागिरबाट अवकाश पाए पनि यो कुराले चाहिँ सन्तोष लाग्छ।



वीरेन्द्रको बिदाइ

वैशाख ०४२ देखि सुरु भएको श्री ५ वीरेन्द्रप्रतिको मेरो सेवाको अन्त्य उहाँको शरीर खरानी भएसँगै हुन पुग्यो, २० जेठ ०५८ मा। त्यस दिन राजपरिवारका अन्य चार स्वर्गीय सदस्यको छाउनीदेखि पशुपति आर्यघाटसम्मको शवयात्रामा म श्री ५ वीरेन्द्रको शवको दाहिनेतिर थिएँ। उहाँको शवमा दागबत्ती दिइयो। दरबारको चलन अनुसार शव जल्न थालेपछि सबै जना उठेर हिँड्दा रहेछन्। तर, मलाई त्यो ठाउँ छाड्नै मन लागेन। शव खरानी नहोउन्जेल बसिरहेँ।

त्यस दिन मैले अरू दिनको भन्दा ठूलो रुमाल बोकेको थिएँ । शवयात्रामा हजारौँ मानिस सहभागी थिए । उनीहरूमध्ये कोही छाती पिटेर रोइरहेका थिए, कोही उप|mँदै रोइरहेका थिए। जति सम्हाल्न खोजे पनि मैले आँसु थाम्न सकिरहेको थिइनँ। अरू रोएपछि आफूलाई पनि रुन मन लाग्ने रहेछ। आर्यघाटबाट र्फकंदा जब मैले फेरि आँसु पुछ्न खोजेँ, रुमाल त आँसुको धारा बग्ने गरी भिजिसकेको रहेछ।





अवकाशपछिको अफर

असारको तेस्रो साता ०५८ मा मलाई अवकाश दिइएको थियो। त्यसको करबि डेढ महिनापछि श्री ५ ज्ञानेन्द्रले मलाई बोलाउनुभयो। उहाँले भन्नुभयो, "तिमीले दाइलाई ठूलो सहयोग गरेका थियौ। अब पनि तिमीले दाइको काम हेरेर बस्न सक्छौ। सम्पर्कमा बसिरहनू। विवेक -सैनिकसचिव विवेक शाह)लाई सम्पर्क गर्दै रहनू।"

राजाले भनेका कुरालाई हुन्न भन्नुभएन। तर, हुन्छ पनि भनिनँ। चुप लागेँ। सम्पर्क गरेको भए सहसचिव वा सचिव बनाउँथे होलान्। दरबारबाट निकालिएको मान्छे, फेरि दौरा-सुरुवाल लगाएर जागिर खान जान मन लागेन। दरबारबाट अवकाश पाएको केही समयपछि सुरक्षा सेवा प्रदायक निजी कम्पनी ग्रुप फोरले बोलायो। दरबारको जागिरभन्दा म यही जागिरमा धेरै सन्तुष्ट छु।

अमेरिकामा पढेर आएकाले राष्ट्रिय सुरक्षाको सैद्धान्तिक पक्षबारे मलाई जानकारी थियो। दरबार हत्याकाण्ड हुनुभन्दा झन्डै दुई महिनाअगाडि यस विषयमा एउटा लेख लेखेको थिएँ। लेख राजालाई दिन मलाई आँट आएन। यस्तो गहन विषयवस्तुमा मजस्ताको लेख राजालाई पढ्न दिनु त्यति राम्रो नहोला भनेर मैले युवराज दीपेन्द्रलाई दिएँ।

प्रत्येक आइतबार युवराजले महाराजाधिराजसमक्ष हुने जाहेरीका बेला त्यो लेख  दिनुभएछ, 'सुन्दरले यस्तो लेखेको रहेछ' भनेर। श्री ५ वीरेन्द्रले त्यो लेख पढ्नुभएछ। वीरेन्द्रको भनाइ रहेछ, "विवेक (शाह)ले गर्नुपर्ने काम हो, सुन्दरले गरेछ। ठीकै भयो। यो कामलाग्दो छ, आर्मी हेडक्वार्टरमा पठाइदिनू।"

त्यो लेख जंगी अड्डा पठाइएको रहेनछ, श्री ५ वीरेन्द्रकै बि्रफकेसमा रहेछ। दरबार हत्याकाण्डपछि दाजुको बि्रफकेसका सामग्री हेर्ने क्रममा श्री ५ ज्ञानेन्द्रले त्यो लेख फेला पार्नुभएछ। त्यस भेटमा ज्ञानेन्द्रले भन्नुभएको थियो, "राम्रो लेख लेखेका रहेछौ। राष्ट्रिय सुरक्षाबारे धेरै राम्रो जानकारी रहेछ। दाजुको बि्रफकेसबाट निकालेर पढिरहेको छु।"


साभार : नेपाल साप्ताहिक
(तस्बिरहरू : डा खगेन्द्रबहादुर श्रेष्ठ)
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis