यौनमा केन्द्रित नेपाली उपन्यास थोत्रा–पुराना सन्दर्भहरूको कलाहीन पुनरावृत्तिले आक्रान्त छन्।
प्रकाशन व्यवसायले प्रतिस्पर्धी बाटो समातिसकेको छ। प्रकाशनमा एकलौटी तोडिंदा नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशन निजी क्षेत्रका अघिल्तिर निरीह बनेका छन्। प्रज्ञा र साझाबाट प्रकाशित कृति पाठकका रुचिमा पर्न छाड्दा ती संस्थाले पुस्तक छापेपछि मात्रै लेखक भइने मान्यता पनि हटेको छ। सबभन्दा बढी बिक्री हुने विधा उपन्यास छाप्दा पनि प्रज्ञा र साझा घाटा बेहोर्न बाध्य छन्।
बजार र विषयवस्तु
२०६०–७० को अवधि नेपाली उपन्यास विधाका लागि उर्वर दशक सावित भयो। संस्मरण विधाले बिक्रीमा उपन्यासलाई पछ्याउने प्रयत्न गरिरहेको छ भने कथा, कविता र निबन्ध ओझेलमा छन्। विमोचन र प्रवर्धन जस्ता क्रियाकलापमा ध्यान दिने हो भने एक महीनामै १० हजार प्रति उपन्यास बिक्ने समय आएको छ।
खुला अर्थतन्त्रमा अन्य उत्पादन जस्तै पुस्तक पनि उपभोक्तामुखी बनेको छ भने प्रकाशकहरू आम पाठकको तात्कालिक रुचि बुझेर अघि बढिरहेका छन्। तर, बिक्रीको यो प्रतिस्पर्धामा लेखनशैली, भाषा, विषय जस्ता कुरा गौण हुन पुगेका छन्। विषयहरू क्रमशः सङ्कुचित हुँदै जाँदा पूर्णतः साहित्यिक विधा उपन्यासले बाटो बिराउन लागेको आशङ्का बढ्न थालेको छ।
हिजोआज प्रशासक, पत्रकार, राजनीतिज्ञ लगायतका महानुभावहरू पनि उपन्यासकार हुने दौडमा छन् र 'एउटा उपन्यास पनि नलेखी केको पत्रकार?' भने जस्तो भएको छ। यो मेसोमा पत्नी गुमाएको, सम्पत्ति लुटिएको, छिमेकी वा दाताबाट 'वैदेशिक हस्तक्षेप' भएको कुण्ठाग्रस्त चिन्तन तथा केही गर्न नसक्ने नायक–नायिकाको कलाविहीन उपस्थितिले उपन्यासहरू भरिन थालेका छन्। तर, यिनै कुराले प्रशस्त छनोटको सुविधा उपलब्ध गराएको छ र पढन्ते पाठकको पहिलो रोजाइ बनेको त छँदैछ– उपन्यास। र नै फस्टाउँदो छ यो उद्योग।
यसरी उद्योग फस्टाउँदा विगतमा गम्भीर साहित्य लेखेर नामी भएका लेखकहरू पनि यौन लेख्न थालेका छन्, हास्यमा प्रख्यात प्रतिभाहरू आँसुको अक्षर बर्साइरहेका छन्– बजारलाई ध्यानमा राख्दै। बजारको माग हेरेर आपूर्ति बढाउनु अर्थशास्त्रको नियम नै हो। तर, सञ्चारमाध्यममा आउने विज्ञापन जस्ता समीक्षाप्रति पाठकको विश्वास घट्न थालेपछि उपन्यासको यो बजारमा 'स्याचुरेसन' शुरू हुनेछ। त्यो अवस्था लेखक–प्रकाशकहरूका लागि ठूलो चुनौती हुनेछ।
भोलि जे होला, देखा जायगा अहिलेलाई भने आँसु र यौनलाई नै उपन्यासको ऊर्जा बनाउँ्क भन्ने लेखकहरूका पाण्डुलिपिले प्रकाशकबाट लाखौं रुपैयाँ पाएको समाचारहरू आउन थालेका छन्। लेखकले प्रकाशनअघि नै रु.५ लाख पाएको भनिएको बहुप्रचारित उपन्यास बजारमा आएको एक वर्षमा हजार प्रति नबिकेको तथ्य पनि सार्वजनिक भएकै छ।
यौन प्राकृतिक तत्व र कला दुवै हो। मान्छे यसमा रुचि राख्छ, थोत्रा उपदेश र वर्णनमा होइन। तर, यौनमा केन्द्रित अधिकांश उपन्यास भद्दा वर्णनमा सीमित छन्। यिनको प्रचार नसुहाउँदो छ र उपन्यासका उपभोक्ता चाहेर–नचाहेर यही विषय पढ्न बाध्य छन्। अखबारमा मौलाएको 'सिण्डिकेटजन्य समीक्षा'का कारण पाठक नराम्ररी ठगिएका छन्। राम्रा लेखक र कृतिहरू यो सिण्डिकेटको 'ब्ल्याकआउट' मा परेका छन्। समग्र नेपाली साहित्यका निम्ति यो ज्यादै हानिकारक अवस्था हो।
लेखकीय दायित्व
उपन्यासप्रतिको अभिरुचि तीव्र भइरहेको अहिलेको समयमा लेखकहरू बढी जिम्मेवार नबने यो विधाको भविष्य अन्धकार हुन सक्छ। सर्वप्रथम उपन्यासकारले जुनसुकै विषयमा उपन्यास लेख्ने बालहठ त्याग्नुपर्छ। एक–दुई दिन वा हप्ताभर नै पनि कुनै देश वा क्षेत्र घुम्दैमा, कसैसँग बस्दैमा, संगत गर्दैमा सबैले उपन्यास लेख्न सक्छन् भन्ने हुँदैन। सडकमा हिंडिरहेका सर्वसाधारणको मनोविज्ञानको बयान गर्न भवनबाट तल ओर्लनै पर्छ। अन्यथा, बालकृष्ण समले आफ्नो पात्रलाई 'ऐंसेलुको रूखमा पीङ' खेलाए जस्तो हुन पुग्छ।
यसरी बार्दलीबाट हेरिएका कारण नै संसारभरका पाठकका निम्ति अभिरुचिपूर्ण हुनसक्ने नेपालको '१० वर्षे द्वन्द्व' गम्भीर साहित्य बन्न सकिरहेको छैन। यसलाई कि 'महान घटना'को कोटिमा राखेर लेखिएको छ, कि त 'अति तुच्छ' मानेर। यो विषयलाई आग्रह–पूर्वाग्रहको चश्मा नलगाइकन फराकिलो आयतनमा परख गरिनु जरूरी छ। शान्तिकाल भनिएको समयमा समग्र नेपाली जनजीवनमा परिरहेको द्वन्द्वको असर नेपाली उपन्यासका लागि महत्वपूर्ण विषय हो।
नेपाली उपन्यासलाई यौन र आँसुको विषयगत सङ्कुचनबाट जतिसक्यो चाँडो मुक्त पार्ने दायित्व उपन्यासकारहरूकै हो। नेपाली उपन्यास खुला आकाशमा फैलन सक्नुपर्छ– निर्बन्ध, निश्छल अनि पूर्वाग्रहहीन भएर।
राजेन्द्र पराजुली,
साभार : हिमाल खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !