CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » छोरी के? छोरा के?

छोरी के? छोरा के?

छोराले कुचो छुनु नहुने कथनले उसकै सामाजिक विकासमा धक्का पुर्‍याएको हुन्छ।
बिलाश राई
मलाई मेरो हुर्काइको बेला छोरा वा छोरीको भेदभाव भए जस्तो लाग्दैन। राम्रो स्कूलदेखि हेरचाह र लवाइखवाइसम्म परिवारमा छोरा र छोरीलाई उत्तिकै महत्व दिनुहुन्थ्यो हाम्री आमा। मात्र एउटा अनौठो म के सम्झ्न्छु भने, मैले र मेरो दाइले कोठा सफा गर्दा आमाले 'हुन्न हुन्न, छोरा मान्छेले कुचो छुनुहुँदैन, आयु घट्छ' भन्नुहुन्थ्यो। त्यसैले मेरा दाजुभाइले कुचो समातेनन्। काम गर्न तयार केटाहरूले पनि कुचो समात्नु पर्दैनथ्यो। यस्तो किन त? मैले कहिल्यै सोधिनँ र आमा बितेको पाँच वर्ष भइसकेकाले आफैंले जवाफ खोज्नुपरेको छ।
आमाले हामी सबै छोराछोरीलाई उस्तै गरी हुर्काएकाले म के अन्दाज गर्छु भने कुचोको कुरा उहाँको आफ्नो बाल्यकालमा मस्तिष्कमा गडेको हुनुपर्छ। बच्चामा त्यस्तो सुनेको र हुर्किने क्रममा कुनै पुरुषले कुचो समातेको नदेखेकाले उहाँमा त्यस्तो 'विश्वास' बन्यो। धर्ममा आस्था राख्ने, रुढीवाद पटक्कै मन नपराउने र सबै मानिसलाई समान व्यवहार गर्ने मेरी आमाले कुचोको कुरामा पुरुष र महिलालाई फरक ढंगले हेरेको कुरामा गहिरिंदा मेरो ध्यान सांस्कृतिक पक्षमा गयो।
कुचोको मामलामा प्रगतिशील आमाले परम्परालाई विना प्रश्न स्वीकार्नुभयो। उहाँसँग छलफल गरेको भए हामी एउटा निष्कर्षमा पुग्थ्यौं पनि होला, किनभने मैले आमाको केही बानीमा परिवर्तन ल्याएकी थिएँ। जस्तो, एउटा सानो कुरा उहाँले खाना खाइसकेपछि धेरैचोटि कुल्ला गरेर थुः गर्दा मैले 'मुखमा भएको पचाउने पदार्थ सबै थुकेर फाल्नुभयो, निल्नु पो पर्छ' भन्थें। यस मामलामा खानापछि मुखमा पानी कुल कुल गरेर निल्ने हुनुभयो मेरी आमा। तर, उहाँले कुचोको कुरामा परम्पराको आज्ञाकारी भएर छोरा र छोरीबीच विभेद जनाउने विश्वास लिनुभयो। उहाँलाई बुझ्ाइदिने कोही भएन कि कुचो चलाउन नदिएर उहाँले मेरा दाइ र भाइहरूलाई नै अन्याय गरिदिनुभएको थियो।
आज छोरा र छोरी एकै हुन् भन्ने महसूस हुँदैछ, भलै गन्तव्य अझ्ै टाढा होस्। काठमाडौंका केही 'आधुनिक' भनिने आमाबाबुले समेत छोरीलाई अलि कम स्तरको स्कूलमा अध्ययन गराउँछन्। सरकारी स्कूलहरूमा धेरै छोरी छन्। जिल्लामा छोराहरू सदरमुकामका निजी स्कूलमा पठाइन्छन्, छोरीहरू गाउँकै सरकारी विद्यालयमा। छोरीलाई पढाउनुपर्छ भन्ने चेत हुँदाहुँदै पनि भेदभाव छ।
सरकारी स्कूलमा पढ्दाको बेफाइदा धेरै छन्। गाउँघरको संसारमा सीमित छोरीहरू 'एक्सपोजर' बाट बञ्चित हुन्छन् र बाहिरको काममा पोख्त हुन सक्दैनन्। धेरै अगाडि बढ्न सक्ने छोरीहरूको पनि भविष्य साँघुरिन्छ। उनीहरू सीमान्तकृत हुन पुग्छन्। तर घर नजिक पढ्दाका फाइदा पनि छन्।
अधिकांश छोरी घरबाटै स्कूल जानुको एउटा सकारात्मक पाटो के छ भने उनीहरूलाई व्यवहारको कुरा थाहा हुन्छ, समाज बुझछन्। घरबाट अन्यत्र गएर पढेका छोराहरू घरव्यवहार, संस्कृति र सामाजिक दिनचर्यामा अनभिज्ञ हुन्छन्। मिहिनेतले सक्षम छोरीहरू आफैं पनि बाँच्न सक्ने हुन्छन् भने फुर्केर हुर्केका सामाजिक सीपविहीन छोराहरूलाई अरूको सहारा विना समाजमा उभिन नसक्ने बनाउन सक्छ।
सौभाग्यवश हामी छोरा र छोरी दुवैले उत्तिकै काम गर्नुपर्ने जमानामा पस्दैछौं। छोरीले पनि दिमागी काम गर्नुपर्छ र छोराले पनि घरपरिवारको मसिनो मिहिनेत गर्नुपर्छ। थरी–थरीको कामले मस्तिष्कको बेग्लाबेग्लै भागलाई जगाउँछ र व्यक्तिको सर्वाङ्गीण विकास हुन्छ। भान्साको काम नसिकाउँदा वा बुन्ने–सिउने काम नलगाउँदा छोराका स–साना मांसपेशीहरू चलायमान हुन पाउँदैनन्। जति स–साना मांसपेशी चलायो उति मस्तिष्कको विकास हुने अनुसन्धानहरूले पनि देखाएका छन्। सिउने–बुन्ने भनेको न्यूरोसर्जनलाई चाहिने औंलाको सीप र आँखाको खटन हो, र बाल्यकालमा यसबाट बञ्चित हुँदा केटाहरूलाई पछाडि पार्दछ।
छोरा र छोरी दुवैलाई उत्तिकै गृहकार्यमा लगाउँदा सीप आर्जनको अवसर मात्र होइन घरको व्यवस्थापन पनि रमाइलो बन्छ। कहीं छोरा मान्छेले पकाउने, छोरीहरू बजार गएर मोलतोल गर्ने। दुवैथरीले एकअर्काको कामको कदर गर्दै परिवारमा योगदान पुर्‍याउने। फरक व्यक्तिको पृथक् रूचि र क्षमताले घरपरिवारलाई रमाइलो बनाउनुको साथै त्यसका सदस्यहरूको भविष्यको आधारशिला निर्माण गरिरहेको हुन्छ। छोराले यो–यो काम गर्न नहुने र छोरीले त्यो काम गर्नै पर्ने कुरालाई एकादेशको कथा बनाइनुपर्छ।
साभार : हिमाल खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis