CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » स्वतन्त्र महिला! पूर्ण नागरिक! (विशेष)

स्वतन्त्र महिला! पूर्ण नागरिक! (विशेष)


बिक्रम राई
पूँजीवादी लोकतान्त्रिक परिवेशमा स्वतन्त्र हुनु भनेको जो–कोही नागरिक विशिष्ट सीमाभित्र 'आफूखुशी' र 'समान' भएर जिउन पाउनु हो। यो भनेको अरू कसैको अधीन वा हैकममा नरहने तथा खासगरी जन्म र लिंगको आधारमा असमान वा कम मर्यादाको हुने पद्धतिको विपरीत अवस्था हो।
सम्पत्ति आर्जन गरेर त्यसमा स्वामित्व राख्न सक्ने, साक्षर–शिक्षित–सुसूचित हुने, सामाजिक सेवा–सहुलियतमा पहुँच, राम्रो स्वास्थ्य–लामो उमेरको सम्भावना र सार्वजनिक जीवनमा पूर्ण अवसर–अधिकार नागरिक स्वतन्त्रताको अवस्था हो।
स्वतन्त्रताको यो अवस्थामा आज नारीहरूले पनि आफूलाई जन्मजात अधीनस्थता वा आश्रितपना, घरायसी बन्धन, भौतिक सुरक्षाको अभाव बाहिर फैलाउन थालेका छन्। महिला स्वतन्त्रता भनेको उत्पादनमा आफूले रोजेको बाटो लिन सक्ने, निजी–सार्वजनिक जीवनमा आफ्नो रोजाइ अनुसार चल्न सक्ने, बच्चा जन्माउने वा नजन्माउने वा कहिले जन्माउने भन्नेमा स्वनिर्णय लिन सक्नेअवस्था हो।
हिजो र आज
यस्तो बेला थियो, जतिखेर बच्चा जन्माउनुलाई नै नेपाली महिलाको मुख्य दायित्व ठानिन्थ्यो र सुत्केरी हुँदाहुँदै उनीहरूको जीवन बित्थ्यो। परिवार नियोजनको साधनको उपलब्धता र चेतना अभिवृद्धिले अब यस्तो बाध्यताबाट मुक्त छन्, महिला। औसतमा ६ बच्चा पाउने अवस्थामा रहेका नेपाली महिलाहरूको तथ्याङ्क अहिले २.६ मा झ्रेको छ। यसले महिलाहरू 'बालबच्चा उत्पादक' बाट पुरुष जस्तै वस्तु–सेवा उत्पादक र उपभोक्ता नागरिकमा परिणत हुँदै गरेको देखाउँछ। बच्चा पाउने बाध्यता घट्दा यौन सम्बन्धमा पनि स्वाभाविक रूपमा महिलाहरू पहिला भन्दा बढी स्वेच्छिक भएका छन्। पहाड, हिमाल र तराई–मधेशमा एकै साथ र एउटै अनुपातमा यस्तो भएको छ भन्न सकिन्न तर, अधीनस्थता वा पराधीनताको तहबाट धेरै माथि उक्लिसकेका छन्, महिला। कानूनकै कुरा गर्ने हो भने त महिला–पुरुष समान भएको दशकौं बितिसकेको छ। पूँजीवादी अवस्थामा समाज अघि बढ्दा अहिले महिलाको लागि मौका र सम्भावना बढेको छ। धेरै महिला अवसरका लागि घरबाट बाहिर निक्लिएका छन्। यो प्रक्रियाले उनीहरूलाई पूर्ण नागरिक हुने बाटोमा लगाएको छ।
समाजमा महिलाको स्वतन्त्र आवतजावत एक्कासि बढेको छ। केटीहरू राजधानी वा जिल्ला सदरमुकामहरूका होस्टेलमा बसेर ढुक्कले पढ्ने भएका छन्। पढाइ या कामको लागि महिलाले एक्लै घरबाहिर दिन–रात बिताउनु अब आश्चर्यको कुरो रहेन। पुरुष (बाबु, दाजुभाइ, श्रीमान्) को नजर भन्दा बाहिर पुगेपछि महिलामाथिको 'गृहस्थी' को बन्देज फुक्यो। अब त घरमूली हुने महिलाको संख्या नै २६ प्रतिशत पुगेको छ। उनले गर्ने कामको किसिम र समयको लगानी दुवै बढेको छ। पुरुषले गर्ने धेरै काम महिलाको काँधमा आएको छ, धेरै ग्रामीण श्रीमान्, दाइभाइ र बुबा विदेश गएकाले पनि।
हिजोआज गाउँघरका बजारमा किनमेल गर्नेदेखि पैसाको लेनदेनसम्मका व्यवहार महिलाले सम्हालेका छन्। आमा समूहका क्रियाकलाप, विकासे संघ–संस्था, ऋण तथा बचत संस्था, सामुदायिक वन समिति, अन्तर महिला सञ्जाल आदिका क्रियाशीलताले महिलाको आत्मबल बढाएको छ। महिलाहरू गाउँका हाटबजारदेखि शहरका सेमिनार हलसम्म पुरुषहरूसँग लेनदेनदेखि वैचारिक छलफलसम्ममा जुटिरहेका हुन्छन्।
स्वामित्व र स्वाभिमान
वस्तु तथा सेवा उत्पादनको हिसाबले हिमाली क्षेत्रका महिला पहिलादेखि नै क्रियाशील थिए। मध्य तथा पूर्वी पहाडका महिलाहरूले धेरै सामाजिक तगारा छिचोल्दै जाँदा अन्यत्र भने परिवर्तनको गति केही कमजोर छ। कतिलाई शहरी मध्यम र उच्च वर्गीय नैतिकताले केही खुम्च्याएको स्थिति छ। धेरै ठाउँमा घुम्टो र बुर्काको चलन छँदैछ। मध्य तराई–मधेशका महिलाको स्थिति मध्य र सुदूरपश्चिम पहाडी जिल्लाको सरह छ।
र पनि, नेपालमा जे भइरहेछ, दक्षिण एशियाली तुलनामा राम्रो भइरहेछ। बंगलादेश, भारत वा पाकिस्तानका समाजशास्त्री महिला काठमाडौंका महिलाको स्वतन्त्रतासँग त्यसै चकित र लालायित भएका होइनन्। भारतको आन्ध्र्रप्रदेशमा इञ्जिनियरिङ र 'आइटी' पढ्ने महिला धेरै छन्, तर तीमध्ये धेरैले राम्रो वर पाउन त्यो मिहिनेत गरेका हुन्छन् र विवाहपश्चात् धेरैजसो 'हाउसवाइफ' नै हुन्छन् भनिन्छ। जबकि, नेपाली शहरी महिला व्यावसायिकताको हिसाबले निर्धक्क छन्।
उमेर ढल्दै जाँदा निरीह हुँदै जाने शहरी महिलाको सामाजिक धरातललाई सम्पत्तिमाथिको कानूनी पहुँचले बलियो बनाउँदै लगेको छ। शहरी क्षेत्रका करीब २७ प्रतिशत जग्गा आज महिलाको नाममा छ। महिलाको नाममा घरजग्गा दर्ता गरे २५ प्रतिशत दस्तुर छुट हुने कानूनी प्रावधान र दाजुभाइबाट जोगाउन पनि श्रीमान्ले घरजग्गा श्रीमतीको नाममा राख्ने चलनले मात्र हैन, आफ्नै कमाइले घरजग्गा किन्ने क्षमताले पनि महिलाहरू सम्पत्तिको मालिक बनेका हुन्। यो आर्थिक कवचले महिलाहरूलाई सुरक्षित महसूस गराएको छ। यसबाट प्राप्त आत्मबल उनीहरूको रहनसहन र सक्रियतामा देखिन्छ।
महिलाको संसार फराकिलो बनाउन मोबाइल फोनको चमत्कारिक योगदान देखिन्छ। यसले छोरी अन्माएपछि आफ्नी हुँदैनन् भन्ने सोचलाई पुरानो बनाइदिएको छ। मोबाइलले आमालाई छोरी र छोरीलाई आमाबाट आत्मबल दिएको छ। त्यसमाथि, सडक विस्तारले विभिन्न जिल्ला र गाउँमा छरिन पुगेका दिदीबहिनीलाई नजिक पारेको छ। आधुनिक युगमा पनि जारी महिला विरुद्धको हिंसा र राजनीतिमा महिलाको कम प्रभाव– यस्ता समस्या छँदैछन्। तर नेपाली महिला आज आमा पुस्ताले नसोचेको स्वतन्त्रताको भोक्ता भएका छन्। यो सामाजिक प्रगति अब रोकिने छैन।
- चैतन्य मिश्र हिमाल खबर 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis