"राजासाहेब, हजुरको दर्शनका लागि साहेबहरू आइबक्सनुभएको छ," काठमाडौँ, डिल्लीबजारस्थित जंगबहादुर राणाका छैटौँ पुस्ताका यमजितप्रताप जंगबहादुर राणालाई उनका सहयोगी
पृथ्वीनारायण शाहको आधुनिक नेपाल राज्य एकीकरण अभियानताकाका भारदार या काजी खलक मानिने बस्न्यात, पाँडे, थापा, कुँवर -राणा) परिवारमा सम्भ्रान्त भाषा हराएको छैन। आफ्ना वीर पुर्खाको बहादुरीमा गर्व गर्ने उनीहरूको जीवनयापन औसत खालकै छ। तर, बोलीचालीमा राजासाहेब, रानीसाहेब, 'साहेब’ आदि नै प्रचलित छन्।
हुन पनि आधुनिक नेपाल निर्माणमा नायबी राजा बहादुर शाह, काजी कालु पाँडे, काजी अभिमानसिंह बस्न्यात, बडाकाजी अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवरको योगदान महत्त्वपूर्ण छ। माथवरसिंह थापा आधुनिक नेपालको पहिलो प्रधानमन्त्री बने भने जंगबहादुर १ सय ४ वर्षे जहानियाँ राणा शासनका संस्थापक।
इतिहासको कुनै कालखण्डमा दरबार र शक्तिको नजिक पुगेका र ऐयासी जीवनशैलीमा बाँचेका उनीहरूका सन्ततिमा त्यो सान, सौकत, वैभव र रवाफ यस्तै भाषाले धानेको स्थिति छ। बदलिँदो परिस्थितिमा थोरैका सन्ततिले मात्रै आफूलाई स्थापित गर्न सकेका छन्। यसको कारण खोतल्छन्, इतिहासका अध्येता प्राध्यापक दिनेशराज पन्त, "एउटै भागमा धेरैले आँखा लगाएपछि आन्तरिक कलह हुन्छ। आपसी कलहले आफ्नो प्रभाव घटाउँछ।"
कतिसम्म भने बलभद्र कुँवर र अमरसिंह थापाका सन्तति निजी सवारी चालक बनेर समेत गुजारा गरिरहेका छन्। बलभद्रका सन्तति ज्ञानुराजा कुँवर भन्छन्, "हाम्रो आर्थिक अवस्था आमनेपालीको भन्दा केही फरक छैन।"
कालु पाँडेका सातौँ पुस्ता सरदार भीमबहादुर पाँडेका पाँचै जना छोरा भने बंैकिङ्, व्यवसाय, स्वास्थ्य तथा नेपाली सेनामा उपल्लो ओहोदामा छन्। अभिमानसिंह बस्न्यात र भक्ति थापाका सन्तति पनि निजामती सेवा र सुरक्षा निकायको माथिल्लो पदमा पुगेका छन्। तिनै परिवारका प्रतिनिधि पात्रहरूलाई यहाँ समेटिएको छ:
सान मात्रै जंगे
मध्यम आकारको लथालिंग कोठामा राणा शासनका प्रवर्तक जंगबहादुरको भीमकाय तस्बिर झुन्ड्याइएको छ भने सोफाअगाडि एक छेउमा सामान कोचिएका बोरा थुपारएिको छ। कागजपत्रहरू छरपस्ट छन्। टेबुल र र्याकमा धूलो जमेको छ।
शक्तिशाली राणा प्रधानमन्त्री जंगबहादुरको छैटौँ पुस्ताका सन्तान यमजितप्रताप जंगबहादुर राणाको बैठक कक्षको अवस्था हो यो। राणा खलक भन्नासाथ अधिकांशले अझै पनि सबैभन्दा वैभवशाली वर्ग सम्झन्छन्। तर, त्यसैका पूर्वज जंगबहादुरकै कतिपय सन्ततिको हैसियत सामान्य छ।
विराटनगरको रघुपति जुटमिल र मोरङ अटोमा काम गरेका यमजितप्रताप अहिले काठमाडौँको डिल्लीबजारमा भाडामा सपरविार बस्छन्। उनको जीविकाको स्रोत विराटनगरको मिल्स एरयिामा रहेको घरभाडा हो। उनी अहिले 'श्री ३ जंग' नामको संस्था खोलेर जंगबहादुरका सन्ततिलाई समेट्ने प्रयत्न गररिहेका छन्।
इतिहासकार दिनेशराज पन्तका अनुसार जंगबहादुरका भाइ खलक शासनमा आएपछि उनका सन्ततिको दुर्दिन सुरु भएको हो। व्यापार, शिक्षा र जागिरमा प्रतिबन्ध लगाएर काठमाडौँबाहिर निर्वासित बनाएपछि अवस्था नाजुक बन्दै गयो। जंगबहादुरका सन्तानलाई उपत्यकाबाहिर लखेटिएको थियो। धरान, विराटनगर, राजविराज, सिन्धुली, काठमाडौँ, पोखरा, पाल्पा, बुटवल, दाङ र नेपालगन्ज क्षेत्रमा उनका सन्तानको बसोवास छ। यीमध्ये कतिपय भारतसमेत पुगेका छन्।
भारतमा गएर पढ्न पाउने कतिपय भने अहिले पनि रवाफिलो जीवनशैली बाँचिरहेका छन् । कतिपय भने सरकारी उच्च ओहोदामा समेत पुगेका छन्। जस्तो कि, जंगबहादुरका पाँचौँ पुस्ताका हर्कजंग राणाका सन्तान पाइलट विकास राणाले व्यापार व्यवसायमा ख्याति कमाएका छन्। जंगबहादुरकै सन्तति त्रिलोकप्रताप राणा प्रधानन्यायाधीशबाट अवकाशप्राप्त जीवन बिताइरहेका छन्। सुशीलजंग राणाले गृहसचिवबाट अवकाश पाएका हुन्। पन्त भन्छन्, "पहिलेका शासक वर्गका सन्तान सबैले दुःख पाएका छैनन्। कतिपयले फरक क्षेत्रबाट आफूलाई स्थापित गराउन खोजिरहेका छन् । यस्तो संसारको जहाँसुकैको इतिहासमा पनि देख्न सकिन्छ।"
जंगबहादुरकै अर्का सन्तान अमिरप्रताप राणाले स्वदेशी जुत्ता गोल्डस्टारको ब्रान्डलाई भारतीय बजारमा स्थापित गरेका छन्। ऐनवीरजंग राणा राष्ट्रिय अनुसन्धान विभागका डीआईजीबाट अवकाश पाएर धरान फुस्रेमा बस्छन्। उपत्यकाबाहिर बसोवास गर्नेहरू प्रायःले खेतीपातीबाटै जीविका धानिरहेका छन्। जंगबहादुरका कतिपय सन्तति भने राजनीतिमा समेत छन्। बुटवल नगरपालिकाको मेयरसमेत भएका सागरप्रताप राणा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय छन्।
जंगबहादुरका सीमित सन्ततिले उन्नत र विलासी जीवन बिताए पनि अधिकांशको हालत कमजोर बन्दै गएको यमजितको भनाइ छ। ००७ सालको प्रजातन्त्र साँच्चै आफूहरूलाई आएको अनुभूति छ यमजितको। सुनाउँछन्, "हामी त राणाहरूबाट समेत पीडित नागरकि हौँ। अझै पनि जनमानसमा जंगबहादुरका सन्तान भन्नासाथै नकारात्मक दृष्टिकोण छ। तर, हामी आममानिस र राज्य दुवैको पेलानमा छौँ।"
नेपाली इतिहासमा जंगबहादुरको छाप कति गहिरो छ भने शासन, अड्डासमेत उनकै नामबाट राखिएको छ, जंगी अड्डा, जंगी पिलर, जंगी शासन आदि। त्यसको छाप कस्तो छ भन्ने जान्न फेर िएकपटक यमजितकै घरमा र्फकंदा थाहा हुन्छ। पूर्वकर्णेल वसन्तकुमार रायमाझीको घरमा बहालमा बस्ने यमजित र उनकी श्रीमतीलाई देख्नासाथै रायमाझी 'राजासाहेब' र 'रानीसाहेब' सम्बोधन गरेर निहुरन्िछन्। उनीकहाँ काम गर्ने बालकको बोलीमा समेत गज्जबको जंगे शैली झल्किन्छ। यमजित थप्छन्, "तर, हामी नाम मात्रकै राणा भयौँ।"
खुम्चिएको पुस्ता
पृथ्वीनारायण शाहले सुरु गरेको आधुनिक नेपाल एकीकरणको यात्रालाई उनका छोरा बहादुर शाहले पश्चिमको कुमाउसम्म फैलाए। अपूरो एकीकरणलाई 'ग्रेटर नेपाल'को अवधारणामा बदलेका बहादुर शाहका सन्तान त्यसपछि भने कहिल्यै शासनको उपल्लो तहमा पुगेनन्। शाह वंशभित्रकै गुटबन्दीका कारण पाखा लागेका उनका सन्तति सामान्य व्यापार, व्यवसाय र नोकरी गरेर गुजारा चलाइरहेका छन्।
फिलिपिन्समा शैक्षिक परामर्श केन्द्र खोलेर व्यवसाय गररिहेका छोराको काममा बेलाबखत सघाउनेबाहेक सामाजिक र धार्मिक काममा पनि सक्रिय छन् दिवाकर। छोरा प्रभाकरविक्रम शाह फिलिपिन्समै व्यवसाय गर्छन्। प्रभाकर कराँतेका राष्ट्रिय खेलाडीसमेत हुन्। ०५७ सालमा १९ वर्षको छँदा प्रभाकर खुला तौलतर्फ राष्ट्रिय च्याम्पियन बनेका थिए। दिवाकर भन्छन्, "खेलकुदबाट जीवन धान्न मुस्किल हुने भएपछि व्यापारतिर लाग्नुपर्यो।"
बहादुर शाहका छैटौँ पुस्ताका उत्तरविक्रम शाह पशु चिकित्सक हुन् भने उनका दाजु भरतविक्रम नापी कार्यालयका अधिकृत थिए। दुवै जना अहिले सेवानिवृत्त भइसकेका छन्। भरतका छोरा ज्ञानविक्रम शाह भने नेपाल प्रहरीमा एसएसपी छन्।
दिवाकरका अनुसार चितवन, बुटवलतिर भएका बहादुर शाहका सन्तान भने खेती किसानीबाटै गुजारा गररिहेका छन्। इतिहासदेखि नै राणा र शाहहरूको पेलानमा पर्दै आएकाले बहादुर शाहका सन्तान सामान्य हैसियतमा पुगेको उनको बुझाइ छ। भन्छन्, "पश्चिममा काँकडासम्म र पूर्वमा टिस्टासम्म नेपाली सिमाना फैलाउने व्यक्तिलाई राज्यले राष्ट्रिय विभूतिको सम्मान दिनसमेत कन्जुस्याइँ गरेको देख्दा दुःख लाग्छ। बहादुर शाह हाम्रा पुर्खा मात्र होइनन्, राष्ट्रका सम्पत्ति पनि हुन्।"
रणबहादुर शाह नाबालक राजा भएका कारण राजाको नायबीको जिम्मेवारी काका बहादुर शाहले पाएका थिए। पृथ्वीनारायण शाहपछिका राजा प्रतापसिंह शाहले एकीकरणमा चासो नदेखाई विलासी जीवनमा मात्रै चाख दिएका कारण पृथ्वीनारायणको एकीकरण अभियान बीचमै रोकिएको थियो। त्यसलाई नायबी हैसियतका बहादुर शाहले अभियानलाई अघि बढाएर बृहत् नेपालको खाका बसालेका थिए। दिवाकर भन्छन्, "बहादुर शाहको सन्तान भन्न पाउँदा बडो गर्व गर्छु। तर, इतिहासको शिक्षाको कमीका कारण हामीलाई शासककै रूपमा बुझ्दा दुःख लाग्छ।"
यहाँदेखि त्यहाँसम्म
गेटबाट छिर्नासाथै कुकुर भुकेको ठूलो आवाज सुनिन्छ। घर कम्पाउन्डमा बगानको हरयिाली छ। भित्र छिरेपछि अर्को कुकुर पनि भुक्छ। बैठक कोठा आधुनिक सामानदेखि पुराना चीजले भव्यसँग सजाइएको छ। भुइँमा च्याङ्ग्राको भुत्लासहितको चकटी छ भने मजुरको 'टेक्सीडोर्मी' पनि गज्जबको लाग्छ। विदेशी ब्रान्डेड पेय पदार्थका बोतलले भरएिको सोकेस कुनै डिस्टलरी पसलभन्दा कम लाग्दैन।
काठमाडौँदेखि पूर्वको भाग एकीकरण अभियानका कमान्डर अभिमानसिंह निरञ्जनकै दाजु ॐप्रकाशमानसिंह नेपाली सेनाका फूल कर्णेलबाट अवकाश पाएर घरमै दिन कटाइरहेका छन्। अभिमानपछिका लामो पुस्ताले प्रायः नेपाली सेनामै जागिर खाए। ॐप्रकाशका अनुसार जहाँ जाँदा पनि सानैदेखि पुर्खाले लडेको वीरताको कथा सुनेकैले अधिकांशको रोजाइमा सेना पर्ने गरेको हो। भन्छन्, "घरायसी वातावरण नै हाम्रा बाउबाजेले लडेका कथाहरूले गुञ्जायमान हुन्थ्यो। पुर्खाले राष्ट्रलाई दिएको देनले आफूलाई समेत त्यस्तै बन्न प्रेरति गर्दो रहेछ।" ॐप्रकाशसम्मको पुस्ताले सेनासँग साइनो राखे पनि त्यसपछि भने त्यो डोरी चुँडिएको छ। जस्तो, उनैका छोरा न्युजिल्यान्डमा बस्छन्। छेउमै बसेकी ॐप्रकाशकी पत्नी शान्ता भन्छिन्, "उसलाई पनि सेनामा भर्ती हुने ठूलो रहर थियो। तर, पढाइले गर्दा विदेश पुगेर उतै छ।"
ॐप्रकाशको पुस्तासम्म आइपुग्दा सत्ता र शक्तिको नजिक रहँदाको रवाफ रत्तिभर देखिँदैन। तर, संभ्रान्त भाषाशैली यथावत् छ। लाग्छ, यही संभ्रान्त थेगो र भित्तामा झुन्ड्याएको तस्बिरबाहेक अभिमानसिंहको सन्तति भएकामा गर्व गर्ने उनीसँग केही छैन। उनकी श्रीमती शान्ता नेपाल वायुसेवा निगमकी अधिकृत हुन्। भन्छन्, "इतिहासमा आफ्ना बाउबाजेले गरेको योगदान सम्झेर ज्यादै गर्व लाग्छ। आफूलाई सौभाग्यशाली सम्झन्छु।"
नेपाल वायुसेवा निगमका वरष्िठ योजना अधिकृतको जागिर छाडेर ॐप्रकाशका कान्छा भाइ श्रीधरमानसिंह न्युजिल्यान्डमा बसोवास गर्छन्। अहिले नेपाल आएका श्रीधर भन्छन्, "राजनीतिक खिचातानी सहन नसकेर विदेशिनुपर्यो। क्षमता र योग्यताको भन्दा नातावाद हावी भएपछि वीरका सन्तान भएर के गर्नु ?" मुलुकको अवस्था नसुधि्रएकाले बुढेसकालमा समेत देश फर्किने नफर्किनेमा उनी धुकचुकमा छन्।
अभिमानकै सन्तति डा प्रभा बस्न्यात विद्यावारििध गर्ने नेपालकै पहिली महिला हुन्। उनी नेपाल सरकारको सचिवबाट सेवानिवृत्त भइसकेकी छन्। अविवाहित प्रभा त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको सहायक डीनसमेत भइन्। अभिमानकै सन्तान श्रीरामसिंह बस्न्यात राष्ट्रिय समाचार समितिमा प्रधान सम्पादक छन्। राष्ट्रिय बिमा संस्थानका उपमहानिर्देशकबाट अवकाश पाएका सिद्धिमानसिंह घरमै दिन बिताइरहेका छन्। धान विशेषज्ञ भोलामानसिंह परामर्श गरेर जीवन बिताइरहेका छन्।
पूर्वमा टिस्टा नदीसम्म नेपालको सिमाना विस्तार गरेका बस्न्यातका सन्ततिहरू गोरखा, काठमाडौँ, सिन्धुलीमा छरएिका छन्। मुलुककको बिग्रँदो अवस्थालाई दोष लगाउँदै संभ्रान्त परविारका पछिल्ला पुस्ता जसरी युरोप, अमेरकिा भासिएका छन्, अभिमानका सन्ततिलाई समेत त्यस्तो हुन्डरीले त्यता पुर्याएको छ।
बुटवल पावर कम्पनीमा लामो समय काम गरेका इन्जिनियर शैलेन्द्रमानसिंह बस्न्यात सपरविार क्यानाडामा छन् भने नेपाल टेलिकमका कर्मचारी धर्मेन्द्रमानसिंह बस्न्यात जागिर छाडेर सपरविार अमेरकिा पुगेका छन्। अभिमानकै सन्तति तथा नेपाली कांग्रेसका कार्यकर्ता सुदीप बस्न्यात भन्छन्, "हिजोका शासक आज छरपस्ट भएर कोही कता, कोही कता पुगेका छन्। जागिरेदेखि आफ्नै व्यापार, व्यवसाय सम्हालिरहेका छन्।"
अभिमानसिंहले नेपाल एकीकरण कालमा लामो समय लडेका थिए। काजी कालु पाँडेको मृत्युपछि उनले सेनाको कमान्ड गरे। काठमाडौँपूर्वको कमान्डपछि पश्चिमको लडाइँमा समेत उनको संलग्नता थियो। तर, पछि पूर्वी तराई कालाबन्जरा क्षेत्रमा बस्ती बसाल्न पठाइदिएपछि औलो ज्वरोले उतै मृत्यु भयो।
व्यवसायमा बडाकाजीका सन्तति
नेपाली सिनेमाकी चल्तापुर्जा अभिनेत्रीमा गनिने झरना थापासँग नेपाल एकीकरणका नायक अमरसिंह थापाको समेत नाता गाँसिन आएको छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। झरनालाई अमरसिंहका आठौँ पुस्ताका सुनील थापाले विवाह गरेपछि झरना बडाकाजी अमरसिंह थापाको घरानामा बुहारीको रूपमा भित्रिन आइपुगेकी हुन्।
इतिहास अनुसार पश्चिम काँगडाको युद्धमा पराजित भएर अंग्रेजहरूसँग सुगौली सन्धि भएपछि अमरसिंह थापा काठमाडौँ फर्केर गोसाइकुण्ड पुगेका थिए, जहाँ उनको मृत्यु भयो। एकीकरणमा योगदान दिएका उनलाई बडाकाजी पद दिइएको थियो।
अमरसिंहका सन्ततिहरू अहिले काठमाडौँको बानेश्वर, ललितपुरको इमाडोल, रामेछाप, काभ्रे, पाल्पा जिल्लामा छरएिर रहेका छन्। अमरसिंहकी कान्छी श्रीमती लालवती थापापट्टकिा सन्तान भने भारतको देहरादुनमा बस्छन्।
नयाँ बानेश्वरस्थित कृष्ण टावरको विपरीतमा अमरसिंहका सन्तानहरूको बसोवास छ। अमरसिंहका सन्तान अहिले सिनेमामा नाम चल्नेबाहेक उल्लेखनीय काम केही पनि गरेका छैनन्। "त्यही भएको अलिअलि जग्गा बेच्छन् र खान्छन्। कोही फिल्म लाइनमा लागे। बाउबाजेको बिँडो थाम्ने काममा कसैले चासो देखाएनन्," वसन्त थापा भन्छन्।
वसन्त आफैँले भने गाउँ र्फक अभियानमा सूर्यबहादुर थापा, विश्वबन्धु थापाको स्वकीय सचिव भएर काम गरे। त्यसपछि सडक विभागमा जागिर खाएका उनी अहिले भने अमरसिंहका योगदानको इतिहासबारे खोज अनुसन्धानमा लागेका छन्। उनको घरमा अमरसिंहका फोटोबाहेक आफू अमरसिंहको सन्तान हुँ भन्ने झल्काउने कुनै वैभवशाली वस्तु देखिँदैन। बानेश्वरमै रहेको थापा फर्निचर ०५५ सालमा सडक विस्तार गर्दा हटाउनुपरेपछि उनले व्यवसायमा हात हालेका छैनन्।
पुख्र्यौली सम्पत्तिकै भरथेग
सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकपछाडि नेपाल-अंग्रेज युद्धमा नालापानी किल्लाको नेतृत्व गरेका योद्धा बलभद्र कुँवरका पाँचपुस्ते सन्तति रामराजा कुँवरको तीनतले सामान्य घर छ। यही घरको भुइँतल्ला भाडामा दिएका छन् उनले। पुख्र्यौली जग्गा बेचेर उनले यो घर किनेको धेरै भएको छैन।
बलभद्रका सन्तति राज्यको उपल्लो निकायमा कार्यरत नपाइने रामराजा बताउँछन्। नालापानी युद्धमा नेपाली फौज पराजित भएपछि बलभद्र काठमाडौँमा केही समय बसेर पाकिस्तानको लाहोर गएका थिए। त्यहाँबाट अंग्रेजहरूसँग लड्दै अफगानिस्तान पुगेका उनले त्यहीँ वीरगति पाए।
लाहोर जाँदा दाजुभाइबीच अंशबन्डा नगरी गएकाले बलभद्रका सन्ततिको पुख्र्यौली सम्पत्तिसमेत गुम्दै गएको रामराजाको भनाइ छ। बलभद्रका दाजु वीरभद्रका नाममा रहेको जग्गा पछि बलभद्रका सन्ततिले समेत केही मात्रामा पाएपछि त्यसैबाट जीवन गुजारा सुरु भएको उनको भनाइ छ। "त्यसपछि हामी आर्थिक स्थितिमा पछि पर्दै गयौँ। राणाहरूको पहुँचबाट समेत टाढा पुग्यौँ," नालापानीका नायक वीर बलभद्र कुँवर पुस्तकका लेखकसमेत रहेका रामराजा भन्छन्।
बलभद्रका अर्का सन्तान ज्ञानुराजा कुँवरले नेपाल प्रहरीको एसएसपीबाट अवकाशपछि केही समय ट्राभल एजेन्सी चलाए, जुन अहिले बन्द छ। उनीसँग पनि कुनै त्यस्तो चीज छैन, जसले एकीकरण अभियानका योद्धा बलभद्रका सन्तति हो भनेर कसैले संकेत पाउन सकोस्। बलभद्रका प्रायः सन्ततिहरू बचेखुचेको पुख्र्यौली जग्गा बेचबिखन गरेरै जीवन धानिरहेको बताउँछन्, रामराजा।
सैनिक विरासतबाट टाढा
ठूलो कम्पाउन्डभित्र सल्लाका रूखले ढाकिएको सानो चिटिक्क घर। बाहिरबाट हेर्दै सम्पन्नताको झलक पाइन्छ। काठमाडौँको बाँसबारीमा रहेको यो हरयिाली घर जलस्रोतविद् आनन्दबहादुर थापाको हो। कम्पाउन्ड हेर्दा जति वैभवशाली लाग्छ, घर उति भव्य छैन तर संभ्रान्त शैलीको भने पक्कै देखिन्छ।
सिँचाइ मन्त्रालयको सचिवबाट अवकाश पाएका आनन्दबहादुरले जलशक्ति आयोगका प्रमुख बनेर जलस्रोतका क्षेत्रमा महत्त्वपूर्ण अनुसन्धान गरेका छन्। उनका हजुरबासम्मले सेनामा जागिर खाए पनि बाबुको पालोपछि भने पेसा परविर्तन भएको छ। हजुरबा जगतबहादुर कप्तान थिए भने उनका बुबा बिर्खबहादुर सर्वोच्च अदालतका न्यायाधीश। आफ्नो पालामा नितान्त फरक अर्थात् जलस्रोतको क्षेत्रमा आइपुगे, आनन्दबहादुर। उनका भाइ गजेन्द्रबहादुर त्रिभुवन विश्वविद्यालयमा गणित विषयका
प्राध्यापक हुन्।
बाइसी/चौबीसी राज्य अन्तर्गतको लमजुङ राज्यका योद्धा भक्ति थापाले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा मिसिएर देउथलको युद्धसम्ममा भाग लिएका थिए र लड्दालड्दै त्यहीँ वीरगति प्राप्त गरे, त्यो पनि ७५ वर्षको उमेरमा। भक्ति थापा देउथलको युद्धमा मारएिपछि उनको परविारले लमजुङको रागीनासमा बिर्ता पाएको थियो, त्यहीँ जन्मिए आठौँ पुस्ताका अर्जुनबहादुर थापा, जो अहिले परराष्ट्र मन्त्रालयका सचिव छन्।
०३० सालमा लमजुङबाट काठमाडौँ उच्च शिक्षाका लागि आउँदा सेनामा कानुनतर्फको मेजर कमिसन मागेको विज्ञापन पत्रिकामा देखेछन्। त्यसपछि उनले सेनामा जागिर खान कानुन पढ्नुपर्ने रहेछ भनेर कानुन पढ्न थाले। भन्छन्, "सानैदेखि भक्ति थापाको वीरता सुनेको भएर होला सेनामै जागिर खान्छु भन्ने लाग्थ्यो। तर, कूटनीतिज्ञ हुन्छु भन्ने कहिल्यै सोचेको थिइनँ।"
अर्जुनका भाइ धु्रवबहादुर बाली विशेषज्ञ हुन्, जसले नेपाल कृषि अनुसन्धान परष्िाद्बाट अवकाश पाइसकेका छन्। सेनाको उपत्यका पृतनाका उपरथी पूर्णचन्द्र भट्टराई पनि भक्ति थापाकै सन्तति हुन्। थापाकै सन्तान पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापा सेवानिवृत्त भएका छन् । भक्ति थापाका कतिपय सन्तति अझै रागीनासमै छन्। उपत्यकामा उनको जायजेथा नभएकाले उनका सन्ततिको थलो उपत्यकामा कुनै ठाउँ विशेषमा छैन।
फरक-फरक क्षेत्रमा
पुरानो घरको चार तला सिँढी उक्लिएपछि अर्को नयाँ घर आउँछ, जहाँ नेपाली सेनाबाट राजीनामा दिएका सेनानी बुद्धिजंग पाँडे बस्छन्। नेपाल एकीकरणताका पृथ्वीनारायण शाहका दाहिने हात मानिने काजी कालु पाँडेका आठौँ सन्तति हुन्, उनी। आफूले सेनामा छँदा पाएका विभिन्न पदक, हतियार, पोसाक आदिले उनले बैठक कोठा सजाएका छन्। पूर्वजहरू कालु पाँडे, दामोदर पाँडेलगायतका फोटोहरू लहरै झुन्ड्याएका छन्। तर, उनको जीवनशैलीमा सामान्य छ। घरभाडाको आम्दानी छ, उनीसँग। भन्छन्, "अन्य नेपाली जसरी बसेका छन्, म पनि त्यसरी नै बाँचेको छु।" व्यवस्थापनमा स्नातकोत्तर गर्दा गर्दै पाँडेहरूको इतिहास पढेपछि आफू सेनामा जागिर खान प्रेरति भएको बुद्धिजंग बताउँछन्। उनका दाजु बोधविक्रमचाहिँ क्यासिनो सञ्चालक हुन्।
पृथ्वीबहादुरका दाजु हिमालय पनि व्यापारमै छन्। भक्तपुरको राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत कान्छा भाइ डा शान्तबहादुर जागिर छाडेर सपरविार बेलायतमा बस्छन्। कालु पाँडेकै नवौँ पुस्ताका सन्तति गौरवजंग ०६९ सालको एसएलसी परीक्षामा ९२ दशमलव ७५ प्रतिशत ल्याएर काठमाडौँ 'टपर' भएका थिए। गौरवका बुबा राष्ट्रिय अनुसन्धान विभागका डीएसपी हुन्।
सरकारी सेवामै
अहिले पनि नेपाली इतिहासमा प्रभावशाली मुख्तियारको नाममा आउँछन्, भीमसेन थापा। मुख्तियार भनेको प्रधानमन्त्रीसरहको पद हो त्यसबेला। आफ्नो छोरा नभएकाले भाइका छोरा माथवरसिंह थापालाई उत्तराधिकारीको रूपमा हुर्काएका थिए, उनले। प्रधानमन्त्रीकै रूपमा चाहिँ माथवर पहिलो हुन्।
खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्ने पहिलो व्यक्ति हुन्, दीपेन्द्र। नेपाल सरकारको सचिवबाट सेवानिवृत्त भई उनी विभिन्न कलेजमा पढाउनुका साथै अन्तर्राष्ट्रिय दातृ निकायमा परामर्श तथा तालिम दिन्छन्। माथवरको सन्तान झल्काउने वैभवशाली चीज दीपेन्द्रको घरमा पनि देखिँदैन। यिनका भाइ राजकुमार थापा साहित्य सिर्जनामा छन्।
सर्वस्व हरणपछि माथवरका सन्ततिले उनले स्थापना गरेको गुठीको जग्गामा बसोवास गरेका थिए, त्यही जग्गासमेत आफूहरूले किन्नुपरेको माथवरका अर्का सन्तति शारदाविक्रम थापा बताउँछन्। जलस्रोत मन्त्रालयको अधिकृतबाट अवकाश प्राप्त शारदा भन्छन्, "मैले यो जग्गा २२ लाख तिरेर पास गरेको हुँ।"
माथवरका छैटौँ पुस्ताकी सीतामैयासिंह थापा त्रिभुवन विश्वविद्यालय कानुन संकायको कामु डीन भएकी थिइन्। वातावरण कानुनमा विद्यावारििध गरेर प्राध्यापकसम्म भएकी उनी अविवाहित छन्। उनकी बहिनी मीनामैयासिंह एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्छिन्।
माथवरका सन्तति नेपाली सेना र प्रहरीमा समेत भेटिन्छन्। नेपाल प्रहरीका डीआईजी सुशीलवरसिंह थापा माथवरसिंहका छैटौँ पुस्ताका सन्तान हुन्। डीआईजी थापा प्रहरीमा महत्त्वपूर्ण मानिने कार्यविभाग अन्तर्गतको सुरक्षा सेवा निर्देशनालयका प्रमुख छन्। भन्छन्, "हामी आफ्नै पौरखले यहाँसम्म आइपुगेका हौँ। शक्तिमा पुगेपछि लडाउने र लड्ने भइराख्दो रहेछ।"
सुशीलकै ठूलाबुबाका छोरा राजीववरसिंह थापा नेपाली सेनामा लेफि्टनेन्ट कर्णेल छन् भने भतिजा निशिलवरसिंह थापा क्याप्टेन। निशिल आफू माथवरसिंहको सन्तति भएकै कारणले सेनामा जागिर खान पुगेकामा गर्व गर्छन्। देशमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला सेनामा जागिरको विकर्षण बढिरहेको थियो, त्यही बेला निशिल भर्ना भए। 'ए लेभल' सकेर सेनामा जागिर खाने आफू पहिलो व्यक्ति बताउँदै निशिल भन्छन्, "हिजो देश अप्ठ्यारोमा पर्दा पुर्खाले बलिदान दिएका थिए भने मैले पनि यही बेला हो देशको सेवा गर्ने भनेर सेनामा भर्ना भएँ।" सुशीलका ठूलो बुबा डा सुमन थापा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा कार्यरत छन्। सैन्य पृष्ठभूमि हुँदै प्रधानमन्त्रीसम्म बनेका माथवरसिंहका सन्तति फरक कर्मक्षेत्रमा सफल बन्दै गए पनि सत्ता र शक्तिको उपल्लो तहमा कोही पनि छैनन्। सेना, प्रहरीजस्ता सुरक्षा निकायमा समेत सातौँ पुस्ताका सन्तान पातलिँदै गएका छन्। कुनै समय काठमाडौँ सुन्धाराको बागदरबार भीमसेन थापा र माथवरसिंह थापाकै थियो। पछि त्यसलाई राणाहरूले लिए। सुन्धारा क्षेत्रमा माथवरको २ सय १६ रोपनी जग्गा भएको सुशीलवरले सुनेका रहेछन्। भन्छन्, "तर, त्यहाँ अहिले ठूला मल अरूले नै ठड्याएका छन्।"
-
NB Adhikari
London
Dec 16, 2013, 2:15 am
जे होस इतिहास जोगाउने वीर पुरुष हरुको सन्तान हरुको बारेमा जानकारी पाईयो, आगामी दिनमा अझै यस्ता रिसर्च हरु पढ्न अपेक्षा गर्दछौ London
मनबहादुर बस्नेतद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू
सबै हेर्नुहोस् »
आँखीझ्याल
[7]
अर्थ विविध
[2]
आवरण टिप्पणी
[1]
झटारो
[1]
नोटबुक
[1]
दृष्टिकोण
[1]
तस्बिर कथा
[1]
पुस्तक
[1]
यात्रा
[1]
सबै हेर्नुहोस् »

तपाईंको प्रतिकृया