CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » महानगरीय ट्राफिक प्रहरी महाशाखा सहायता कक्ष कि सास्ती कक्ष?

महानगरीय ट्राफिक प्रहरी महाशाखा सहायता कक्ष कि सास्ती कक्ष?

काठमाडौं। ट्राफिक प्रहरी महाशाखाको चोरी हेर्ने नागरिक सहायता कक्षका प्रमुख दुर्गा श्रेष्ठ र उनका सहायक प्रकाश श्रेष्ठले निर्दोष नागरिकलाई कसरी दुःख र सास्ती दिन्छन् भन्ने कुराको उदाहरण चितवन शक्तिखोरकी उमाकुमारी सापकोटा हुन्। उनको गाडी २०६७ मा एकपटक भन्सारले चोरीको होइन भनिसकेको अवस्थामा ट्राफिक प्रहरीका इन्स्पेक्टर दुर्गा र सई प्रकाशले पुनः २०७० साउनमा बरामद गरी रकम मोलमोलाई गरे। सापकोटाले खरिद गरेको गाडी भएकाले घुस नदिएपछि दुःख दिने नियतले पुनः त्रिभुवन विमानस्थल भन्सार
कार्यालयमा बुझाए।
भन्सारले पुनः चोरीको होइन भन्ने पत्र साउन २२ मै दियो। तर, भन्सारले चोरी होइन भनेको ८ महिना बित्न लाग्दा पनि सापकोटाले गाडी पाउन सकेकी छैनन्।
सापकोटामात्र होइन, त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट लिलाम सकारेको स्यान्ट्रो कार पनि तीन पटक बरामद भएको छ। कानुनी रुपमा लिलाम सकारेको गाडी महाशाखाले किन पटक पटक बरामद गरी नागरिकलाई दुःख दिन्छ? पीडितको प्रश्न छ– सम्पत्तिको हक मौलिक हकमा रुपमा संविधानमा लेखिएको छ। तर, उपेन्द्रकान्त अर्याल नेतृत्वको नेपाल प्रहरीले संविधानप्रदत्त नागरिकको सम्पत्तिमाथिको हकमै धावा बोल्दै आएको छ। यसको दृष्टान्त चितवनकी सापकोटा र ग १ च ५८१८ नम्बरका गाडीधनी नै भएका छन्। इन्स्पेक्टर दुर्गा ८ महिनादेखि र सई प्रकाशले रकम असुल्ने काइदाका रुपमा बर्षौदेखि यसै गरी निर्दोष जनतालाई दुःख दिंदै आउँदा पनि महाशाखा प्रमुख केशव अधिकारीले उनीहरूलाई उक्त शाखाबाट नहटाउनुले उनको समेत मिलेमतो रहेको कुरालाई पुष्टी गरेको छ।
चोरीको गाडी होइन भनेर भन्सार कार्यालयले प्रष्ट शब्दमा २०६७ असोज १८ गते नै पत्र दिइसकेको अवस्थामा सापकोटाको गाडी दुर्गा र प्रकाशले बरामद के को आधारमा गरे? पुनः भन्सारले चोरीको होइन भनिसेकेको छ। तर, बरामद गाडी महाशाखा परिसरमै नल्याई बाहिरै राखी १ लाख रुपैयाँ घुस सापकोटासँग माग गरिरहेको अवस्थामा साँघुमा समाचार आएको थियो। समाचार आएपछि सापकोटालाई गाडी दिनुको सट्टा अझै दुःख दिने काम महाशाखाले गरिरहेको पीडितको गुनासो छ। सापकोटाको नाममा रहेको बा.५.च ७६७९ नम्बरको गाडी चोरीको होइन भनेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०६७ असोज १८ गते नै छोडिसकेको अवस्थामा पुनः २०७० साउनमा उक्त गाडी बरामद गरी सापकोटालाई महाशाखाका इन्स्पेक्टर दुर्गा र सई प्रकाशले सास्ती दिएका छन्। सापकोटाको सेन्ट्रो गाडी चोरीको होइन भनेर स्पष्ट रुपमा लेखेर पठाइसकेको अवस्थामा पुनः बरामद गरी बडी सेलको भन्सार असुली गर्नुपर्ने भनेर २०७० साउन १० गते विमानस्थल भन्सारमा लेखी पठाइएपछि भन्सारले कुन प्रयोजनका लागि भन्सार महसुल असुल गर्नुपर्ने हो स्पष्ट पार्न यातायात व्यवस्था कार्यालय वागमतीलाई लेखी पठाएको छ। भन्सारले पठाएको पत्रबाट पनि ट्राफिक प्रहरीले उक्त गाडी दुःख दिएर घुसअसुली गर्ने नियतले नै बरामद गरेको कुरा पुष्टी हुन्छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुद्दा शाखाले यातायात कार्यालय बागमतीलाई २०७० साउन २२ गते पठाएको च.नं १६५ को पत्रमा उल्लेख छ–’उपरोक्त सम्बन्धमा तहाँ कार्यालयको च.नं.१९ मिति २०७०/४/१० को पत्र प्राप्त भई व्यहोरा अवगत भयो। सो सम्बन्धमा बा.५.च ७६७९ नम्बरको सेन्ट्रो कार चोरी पैठारी सम्बन्धमा अभियोग दर्ता नं १२८ दर्ता मिति २०६७/४/६ मा मुद्दा दर्ता भई यस कार्यालयबाट बुझ्न पर्ने सम्पूर्ण प्रमाण बुझी २०६७/६/१८ मा उक्त गाडी चोरी पैठारी नठहर्ने र सो गाडीको गाडी धनीलाई हस्तान्तरण गरिदिने सम्बन्धी निर्णय भएको अभिलेखबाट देखिन आएको व्यवहोरा अवगत गराउँदछु। साथै सोही गाडीको सम्बन्धमा तहाँ कार्यालयको २०७०/४/१० को पत्रबाट सवारी तथा यातायात व्यवस्था ऐन अनुसार उक्त बडी सेलको भन्सार महसुल असुल भएपश्चात् कानुन बमोजिम हुन/गर्न सकिने भएकाले सम्बन्धित सवारी धनीबाट भन्सार महसुल असुली प्रयोजनका लागि पत्राचार गरिएको भनी पत्र लेखिआएकाले सो सम्बन्धमा कुन प्रयोजनका लागि भन्सार महसुल असुल गर्नुपर्ने हो स्पष्ट नभएकाले व्यहोरा खोली पठाइदिनुहुन अनुरोध गरिन्छ।’
सहायता कक्ष कि सास्ती कक्ष?
नागरिक सहायता कक्षका इन्स्पेक्टर दुर्गा, सई प्रकाश र हवल्दार धनबहादुर क्षेत्रीले २०७० फागुन १२ गते ग १ च ५८१८ नम्बरको २००८ मोडलको स्यान्ट्रो गाडी काठमाडौंमा बरामद गरे। एक फाइनान्सका नाममा रहेको उक्त गाडी २०६७ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले लिलाम गरेको थियो। भन्सारले लिलाम गरेको सो गाडी बरामद भइसकेपछि गाडीधनी महाशाखामा गए। तर, घुस नदिएपछि दुर्गा श्रेष्ठको सहायता कक्षले उनलाई गाडी दिनुको साटो विधिविज्ञानमा पठाउनुपर्छ भनेर अनावश्यक दुःख दिएको छ। कानुनी रुपमा लिलाम सकारेको कागजात देखाउँदा पनि केशव अधिकारीले असुलीमा छुट दिएका दुर्गा श्रेष्ठहरूले विधिविज्ञानमा पठाएर दिनुसम्म दुःख दिएपछि प्रहरी रक्षक हुन् भन्ने मान्यतामै आँच पुगेको छ।
विनोद सिंह डीआइजी हुँदा एक पटक र जगतमान श्रेष्ठ ट्राफिकको एसपी भएर गएपछि दुईपटक र अहिले गरी चार पटक बरामद भइसकेको छ। भंसारले कानुनी रुपमा लिलाम गरेको गाडी पटक पटक पक्राउ गरी नागरिकमाथि सास्ती दिने काम किन हुन्छ? यसको कारवाहीको भागिदार गाडीको लिलाम सकर गर्ने गाडी धनी कि, भंसारका कि बारंबार गाडी बरामद गरेर दुःख दिने ट्राफिक प्रहरी?
चोरी हेर्ने शाखामाथि नै आशंका
उपत्यकाका गाडी र मोटरसाइकल चोरहरूसँग उठबस भएको आरोप खेप्दै आएका इन्स्पेक्टर दुर्गा, सई प्रकाश र हवल्दार धनबहादुरले तिनै चोरहरूबाट सूचना लिंदै गाडी बरामद गर्दै महाशाखामा नल्याई बाहिरै राखी बिक्री गर्ने कार्य गरेको आरोप पनि छ। यो टोलीले २०७० फागुन १० गते दुईवटा चोरीका गाडी फेला पारेपछि मोलमोलाई गरेको र नमिलेपछि बरामद गरी फागुन १२ गते राजस्व अनुसन्धान विभागमा बुझाएको छ। ७०७७ नम्बरको स्कोर्पियो र ७०२४.नम्बरको टाटा सफारी गाडीसहित गाडी प्रयोगकर्ता पक्राउ परेका थिए। राजस्व अनुसन्धान विभागले ती गाडीको मूल्यांकन गरी धरौटी लिएर फागुन १६ गते नै छोडेको विभागका एक अधिकारीले जानकारी दिए। चितवनका ती गाडीधनीसँग सहायता कक्षका सई प्रकाश श्रेष्ठले ठूलै रकम मोलमोलाई गरेको र कुरा नमिलेपछि बरामद गरिएको स्रोतले बतायो। सई प्रकाश श्रेष्ठ महानगरीय प्रहरी आयुक्त कार्यालयमा दरबन्दी भएपनि आठ बर्षदेखि सो शाखामा छन् भने इन्स्पेक्टर आठ महिनादेखि छन्। धनबहादुर पनि बर्षौदेखि सोही शाखामा छन्। ट्राफिकका ३४ वटा युनिट छन्। ती मध्ये ठाउँ हेरी युनिटहरूबाट मासिक दररेट तोकी सुली गर्दै आएको महाशाखाले सहायता कक्षलाई आम्दानी गर्ने गतिलो माध्यम बनाएको पुष्टी हुँदै गएको छ। कानुनसम्मत देखिएका गाडी पनि विधिविज्ञान र भन्सारमा पठाउनुको कारण घुसमा कुरा नमिलेरै हो भनेर दावी गर्नेहरूलाई आधार दिएको छ।
साभार : साँघु
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis