'बिर्खेलाई चिन्छस्' बाट यसै वर्ष नेपाली चलचित्रमा पदार्पण गरेकी नायिका आयुषा राईले आफ्नो फेसबुकमा एक म्युजिक भिडियो निर्देशकले 'कास्टिङ काउच'को प्रस्ताव गरेको स्टाटस लेखेपछि चलचित्रवृत्तमा सनसनी मच्चियो । अघिल्लो बुधबार राति आफ्नो स्टाटसमा नायिका राईले ती म्युजिक भिडियो निर्देशकको नाम लेख्दै ऊसँग गरिएको च्याटको 'स्क्रिन सट' राखेर 'कास्टिङ काउच' गर्न खोज्ने चलचित्रकर्मीहरूलाई सबक सिकाउन खोजेको देखिन्छ । दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेका मुनाल शिशिर कोइरालाको नाम उल्लेख गर्दै नायिका राईले आफूलाई उनले 'कास्टिङ काउच'को प्रस्ताव गरेको दाबी गरेकी छिन् ।
नेपालकी 'टप एक्ट्रेस' बनाइदिन्छु भनेर बेडमा सुत्नुपर्यो भन्ने प्रस्ताव राखेको कुरा उल्लेख गर्दै राईले एउटा फेसबुक स्टाटस पनि सेयर गरेकी छिन् । उनको उक्त स्टाटसले ३ सयभन्दा बढी कमेन्ट, ६ सयभन्दा बढी लाइक पाएको छ भने त्यो ६० भन्दा बढी पटक सेयर भएको देखिन्छ । अधिकांश कमेन्ट्समा नायिका राईको हिम्मतको प्रशंसा गरिएको छ ।
आयुषाले नायिकाको भूमिका निर्वाह गरेको एकमात्र चलचित्र 'बिर्खेलाई चिन्छस्'ले उल्लेख्य सफलता नपाए पनि चर्चा भने कमाएकै थियो । त्यसपछि आयुषाको भेट एउटा म्युजिक भिडियोको निर्माणका क्रममा कोइरालासँग भयो । मुनालकै निर्देशनमा उक्त म्युजिक भिडियोमा आयुषाले मोडलिङ पनि गरिन् । मोडलिङपश्चात् उनले पारिश्रमिकका लागि आयुषालाई एक क्याफेमा बोलाए । आयुषा त्यहाँ गै पारिश्रमिक लिएर फर्किन् । आयुषाको आरोप छ— क्याफेमा कफी पिउँदै गफ गर्ने क्रममा मुनालले उनीसमक्ष 'कास्टिङ काउच'को प्रस्ताव गरे । गत साताको बुधबार दिउँसोको गफपछि त्यही साँझ आयुषाले मुनालसँग भएको आफ्नो फेसबुक च्याटको 'स्क्रिन सट' अपलोड गरिन् ।
'मैले कुनै ठूलो इस्यु बनाउन त्यसो गरेकी थिइनँ । यहाँ काम गर्ने महिला कलाकारहरूमाथि हुने दुव्र्यवहार मैले पनि भोगें अनि सबैलाई सजग गराउन र उसलाई सबक सिकाउन मैले उक्त स्टाटस अपडेट गरेकी थिएँ, तर यो यत्रो इस्यु बन्छ भन्ने थिएन,' - आयुषाले भनिन् । अर्कातर्फ निर्देशक मुनाल शिशिर आयुषाको स्टाटसले आफूलाई बदनाम गराएको बताउँदै भन्छन्- 'त्यो दिन दिउँसो क्याफेमा उनीसँग गरिएको गफको साक्षी कोही छैनन् । कोही भैदिएको भए मेरो हकमा बोलिदिने कोही हुन्थ्यो होला । उनीसँग मैले त्यस्तो कुरा गरेकै छैन । च्याटमा पनि मैले उनलाई कहीँ पनि बेड सेयर वा कास्टिङ काउच गर्न चाहन्छु भनेर भनेको छु र ? उनको एकतर्फी कुरा सुनेर मलाई बदनाम गर्ने षड्यन्त्र भैरहेको छ ।'
नायिका शिल्पा पोखरेलले एउटा घटना सुनाइन्- टेलिफिल्म तथा म्युजिक भिडियोमा काम गर्ने सिलसिलामा एक जनाले मलाई चलचित्र नायिकाका लागि प्रस्ताव गरे । म तयार थिएँ, तर उनले भने 'यो चलचित्रमा काम गरेर तिमी नायिका बनिहाल्छौं, हिट भैहाल्छौ अनि हामीले चाहिँ के पाउने ?' उनको उक्त कुरापछि मैले त्यो चलचित्रमा कामै गरिनँ । पछि एकैपटक 'लज्जा'मा नायिका भएँ ।
नायिका अशिष्मा नकर्मीका अनुसार यहाँ कसैसँग बोल्न पनि डराउनु पर्ने स्थिति छ । 'कसको मनमा के हुन्छ ? कसरी थाहा पाउने ? दुई-चार कुरा राम्रोसँग गर्यो भने पनि उसले बदनियतले हेरिरहेको हुनसक्छ ।' नकर्मीले भनिन्- ' यहाँ मात्र हात मिलाएको र अँगालो मारेको भरमा फलानो महिला कलाकारसँग मेरो अन्तरंग सम्बन्ध छ भनेर धाक जमाउनेहरू पनि छन् । त्यसो गर्दा सम्बन्धित महिला कलाकारको बदनामी भैरहेको हुन्छ भन्ने पनि ख्याल राखिँदैन ।'
नायिका रेखा थापाले हिजोका दिनमा पनि महिला कलाकारमाथि दुव्र्यवहार हुने गरेको तर उनीहरूले त्यसलाई चुपचाप सहँदै आएको कुरा बताएकी छिन् । उनीहरू त्यसका बारेमा केही बोल्दैनथे भन्दै रेखाले एक अनलाइन पत्रिकालाई भनेकी छिन्- 'उति बेला उनीहरू आफ्नो बदनामीको डरले गुम्सिएर बसेका थिए । अहिलेको पुस्ता धेरै सचेत छ । उनीहरू आफूमाथिको दुव्र्यवहार सहन सक्दैनन् बरु डटेर त्यसको मुकाबला गर्छन् । आयुषाको केस पनि त्यस्तै हो । उनले गरेको हिम्मतलाई म स्यालुट गर्छु ।'
चलचित्र तथा मोडलिङ क्षेत्रमा नायिकाहरूलाई अनेक तरिकाले 'ह्यारेस' गरिन्छ, जसको परिणाम भयावह पनि हुनसक्छ । यो कुरा सबैले बुझेका छन्, तर सम्झौता गर्न विवश छन् । मुम्बईमा संघर्ष गरेकी नायिका उषा पौडेलले एकपटक भनेकी थिइन्- मुम्बईमा पनि कास्टिङ काउचका लागि महिला कलाकारलाई विवश पार्ने अनेकौं प्रयत्न गरिन्छ, तर सबै त्यस्ता हुँदैनन् । उषाले भनेकी थिइन्- 'पर्खन सक्नुपर्छ, कलाको पहिचान गर्ने सही व्यक्तिसँग एक न एकदिन फेला परिहाल्छ ।'
चलचित्र एवं मोडलिङलाई मोजमज्जाको थलो मान्नेहरूबाट यो क्षेत्रको मात्र होइन, स्वयं आफ्नो पनि उत्थान हुँदैन भन्ने नवप्रवेशी महिला कलाकारहरूले समयमै बुझ्नु आवश्यक छ । नायिका अशिष्मा नकर्मी भन्छिन्- 'यो क्षेत्रमा कला देखाउन आउने हो, कास्टिङ काउचको बाटो समाएर कला क्षेत्रलाई बदनाम गर्ने होइन । केही त्यस्ता व्यक्तिहरूले गर्दा समाजले हामीलाई हेर्ने दृष्टिकोण नै फरक भएको छ । सभ्रान्त परिवारका महिलाहरू यो क्षेत्रमा आउन वा परिवारले त्यसमा स्वीकृति दिन अप्ठेरो मान्ने अवस्था छ । त्यसैले त्यस्ता व्यक्तिहरूको भण्डाफोर गर्नु आवश्यक छ । त्यसैले आयुषाले जे गरिन्, ठीक गरिन् ।' विवादमा मुछिएका निर्देशक मुनाल शिशिरलाई भाइटीका लगाइदिएकी शिल्पा पोखरेलले पनि त्यसमा केही कुरा थपिन्- 'हामीभन्दा अग्रज महिला कलाकारहरू सहेर बसे । उनीहरू आफू पिल्सिए पनि लोकलाजले बाहिर आउन सकेनन् । उनीहरू त्यतिबेला चुपचाप नबसेको भए आज हामीलाई त्यस्ता व्यक्तिहरूबाट डर हुँदैनथ्यो । अब हाम्रो पालो आएको छ र कसैले हामीप्रति नकारात्मक व्यवहार गर्छ भने त्यसको भण्डाफोर गर्न सक्ने आँट हामीमा छ । आयुषाकै जस्तो आँट हामीले पनि देखायौं भने हामी त सुरक्षित हुन्छौं नै, साथसाथै हामीपछिको पुस्ताले समेत यो क्षेत्रमा आउने रहर पूरा गर्न डराउनुपर्ने छैन ।'
के हो कास्टिङ काउच ?
चलचित्र क्षेत्रमा प्रयोग हुने अंग्रेजी शब्द कास्टिङ काउच दुई शब्द 'कास्टिङ' र 'काउच'लाई फरक ढंगबाट व्याख्या गर्दै निर्माण भएको हो । चलचित्रको भाषामा 'कास्टिङ' भन्नाले पात्रको निर्धारण गर्नु वा चयन गर्नु हो । जबकि 'काउच'को अर्थ सोफा वा आरामदायक शैया भन्ने बुझिन्छ । चलचित्रमा पात्र चयनका क्रममा कुनै पुरुष (निर्माता, निर्देशक, कास्टिङ डाइरेक्टर) ले नवप्रवेशी महिला कलाकारसँग यौन क्रियाकलाप गर्ने चाहना राख्छ वा त्यस्ता गतिविधिमा संलग्न भए मात्र पात्रका रुपमा चयन गर्ने कुरा गर्छ भने त्यस्तो कार्यलाई 'कास्टिङ काउच' भनिन्छ । चलचित्र तथा मोडलिङ क्षेत्रमा महिलालाई काम तथा नाम दिन सम्बन्धित व्यक्तिले यौनकार्यमा संलग्न गराउने कार्यलाई सामान्यतः कास्टिङ काउच भनेर बुझ्न सकिन्छ । यद्यपि अचेल पुरुष नवप्रवेशीहरू पनि कास्टिङ काउचको सिकार भएका घटना सुनिन थालेका छन् ।
मैले सहनै सकिनँ
आयुषा राई, नायिका/मोडल
मुनाल शिशिरसँग तपाईंको चिनाजानी कति पुरानो हो ?
मैले उनलाई चिनेको धेरै भएको छैन । फेसबुक च्याटमा भेट भएको हो । फेसबुकमै उसले मलाई म्युजिक भिडियोको अफर गरेको थियो । गीत दिन बोलाएका बेला पहिलो पटक उसँग भेटेकी थिएँ । त्यसपछि सुटिङमा भेटे र अन्त्यमा पारिश्रमिक लिन जाँदा क्याफेमा भेटेकी हुँ ।
के भनेर प्रस्ताव राखे ?
पारिश्रमिकका लागि फोन गर्दा रुममै आउँदा पनि हुन्छ, फ्री छौं भने म कल गर्छु । सुतेर मात्र हुँदैन, फिलिङ्स हुनुपर्यो, नत्र लाससँग सुते भैहाल्यो नि हैन त ? जस्ता कुरा गर्यो उसले ।
तत्काल जवाफ दिनुभएन ?
म बखेडा गर्ने पक्षमा थिइनँ । जीवनमै पहिलो पटक त्यस्तो किसिमको व्यवहार भोगे, तत्काल केही निर्णय लिन सकिनँ ।
प्रहरीको सहयोग लिनु भएन ?
म यसलाई इस्यु बनाउने पक्षमा थिइनँ । धेरै महिला कलाकारहरू यस्ता व्यवहारबाट पीडित छन् । सबै खुलेर आउन डराउँछन् । मैले सहन सकिन, यसपटक यति मै उसले सबक सिक्यो होला भन्ने मानेकी छु ।
यो नाम कमाउने कुनै प्रपोगन्डा त होइन ?
नाम इज्जतका साथ कमाउनुपर्छ, यसरी नाम कमाइँदैन । म राम्रो काम गरेर नाम कमाउने कुराको पक्षपाति हुँ । मलाई यसरी नाम कमाउनु छैन ।
एकतर्फी कुरा सुनियो
मुनाल शिशिर कोइराला, म्युजिक भिडियो निर्देशक
नायिका आयुषा राईसमक्ष कास्टिङ काउचको प्रस्ताव राख्नुभयो होइन ?
उनले फेसबुकमा लेखिन भन्दैमा एकतर्फी रूपमा उनको कुरा मात्र सुनिएको छ । म विरुद्ध षड्यन्त्र भएको छ । च्याटमा कतै पनि मैले तिमीसँग रात बिताउन चाहन्छु भन्ने किसिमको वाक्य लेखेको छैन ।
क्याफेमा प्रस्ताव गर्नुभएको आयुषाको दाबी छ नी ?
क्याफेमा उनीसँग कुरा गर्दा त्यहाँ तेस्रो व्यक्ति कोही भैदिएको भए कुरा स्पष्ट हुन्थ्यो । मैले उनीसँग के कुरा गरेँ वा उनले के भनिन् भन्ने कुरा हामी दुईलाई मात्र थाहा छ । यदि मैले त्यसो भनेको थिएँ भने उनले त्यहीबेलै किन कडा प्रतिक्रिया जनाइनन् ? पछि गएर फेसबुकमा स्टाटस लेख्नुको उद्देश्य के हो ?
च्याटमा त प्रस्ताव गर्नुभएछ नि ?
च्याटमा पनि केयरिङ, माया र रिलेसनसिपका बारेमा लेखेको हुँ । मसँग फिजिकल रिलेसन राखजस्ता कुरा कतै लेखेको छैन । केयरिङ, माया र रिलेसनसिपका बारेमा कुरा गर्दा कहाँ मैले उनलाई यौन प्रस्ताव गरेँ ? बुझ्न सकिरहेको छैन ।
तपाईं निर्दोष हुनुहुन्छ ?
हो, ममाथि दोष लगाइएको मात्र हो । यहाँ केटी मान्छेले छिट्टै सेन्टिमेन्ट पाउँछन् । ममाथि दाग लगाइयो । यसले मेरो इज्जतमा धब्बा लाग्यो । घर परिवारले मलाई हेर्ने दृष्टिमा समेत शंकाको प्रवेश गराइयो । एकतर्फी रूपमा उनको कुरा मात्र सुनियो, यसमा मेरो आपत्ति छ ।
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !