कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध
निर्देशक कैलाश सिरोहियाले गत गत माघ १८ गते आनका नवनिर्बाचित कार्यसमितिसँग भेटघाट गरेका थिए । सो भेटको भोलिपल्ट अर्थात माघ १९ गनेको कान्तिपुरको २१ औं पेजमा आन प्रतिनिधिसँगको अध्यक्ष तथा प्रबन्ध निर्देशकको भेटको फोटो समाचार र २० औं पेजमा विज्ञापन दरमा ३३ प्रतिशतसम्म बढाइएको सूचना प्रकाशित गरिएको थियो ।
‘हिड्ने बेलामा सिरोहियाले हामी सवै पदाधिकारीसँग हात मिलाउनु भएको थियो,’– भेटमा सहभागी एक पदाधिकारीले भने–त्यो हात मिलाइ कति महंगो रहेछ भन्ने कुरा त भोलिपल्टको कान्तिपुर हेरेर मात्रै थाहा भयो ।
कान्तिपुरले एकै पटकमा विज्ञापनको मूल्य अत्याधिक बृद्धि गरेपछि एउटा नयाँ पत्रिका दर्ता गरेर संचालन गर्ने गृहकार्यमा विज्ञापन व्यवसायी जुटेको उनले बताए । बजारमा कान्तिपुरको एकाधिकारको जोखिम बढ्दै गएको र उसको नजिकको प्रतिस्पर्धी नै नभएकोले सामुहिक पहलमा विकल्प खोजि भईरहेको उनले बताए ।
कान्तिपुरमा विज्ञापन प्रकाशित गर्दा आफूहरुलाई कुनै फाइदा नभए पनि काम गरिरहेको आनका पदाधिकारीको भनाइ छ । कान्तिपुरले ग्राहकलाई कुनै छुट नदिने भएकोले आफूहरुले पाउने एजेन्सी छुट नै ग्राहकलाई दिने गरेको र कान्तिपुर वाहेकका अन्य पत्रिकामा छापेका विज्ञापनबाट आफ्नो रोजीरोटी चल्ने गरेको उनीहरुको भनाइ छ । आफूहरुले यस्तो सहयोग गर्दा पनि कान्तिपुरले बेवास्ता गरेको भन्दै आफै पत्रिका चलाउने निष्कर्षमा आन पुगेको बताईएको छ ।
आनले नयाँ पत्रिका दर्ता र पूजी जुँटाउनको लागि आफ्ना पदाधिकारीको कार्यविभाजन पनि गरिसकेको छ ।
आनले प्रत्येक सदस्यबाट कम्तिमा पाँच लाख रुपैयाँ सेयर पुँजी राखी नयाँ नयाँ कम्पनी खोल्ने सोच बनाएका छन् । अहिले आनमा २ सय ९७ सदस्य रहेका छन् । यसमध्ये कम्तिमा २ सय सदस्यले लगानी गर्ने अनुमान गरिएको छ ।
१०÷१२ करोड पुँजी लगानी गरेर प्रकाशन शुरु गर्ने, सबै विज्ञापन एजेन्सीले आफ्ना ग्राहकसँग अरुलाई विज्ञापन दिँदा आफूहरुले प्रवद्र्धन गरेको पत्रिकालाई पनि विज्ञापन दिन आग्रह गर्ने र छोटो समयमा नै पत्रिका नाफामा लैजाने रणनीति बनाईएको उनले बताए ।
आनका प्रत्येक सदस्यले ५ लाख रुपैयाँका दरले सेयर पूजी हाल्ने प्रारम्भिक सहमति भएको र उक्त लगानीको प्रतिबद्धता जुटाउने जिम्मेवारी आनका बर्तमान अध्यक्ष सन्तोष श्रेष्ठलाई तोकिएको एक पदाधिकारीले जानकारी दिए ।
पत्रिका प्रकाशन नगरिरहेका तर टेलिभिजन, एफएम, न्यूजपोर्टल चलाएर स्थापित भएका मिडियाहरुलाई पनि सेयर होल्डर बनाउने परिकल्पना गरिएको छ । पत्रिकामा इलेक्टिोनिक मिडिया सञ्चालकलाई सेयर होल्डर बनाउने विषयमा छलफल चलाउने जिम्मेवारी आनका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले पाएका छन् ।
यस्तै पत्रिकाको नाम जुराउने र दर्ता प्रक्रिया अगाडि बढाउने जिम्मेवारी भने आनका निवर्तमान अध्यक्ष राजकुमार भट्टराईलाई दिइएको स्रोतले बतायो । नयाँ पत्रिका प्रकाशनको तयारी र दीर्घकालिन रणनीति बनाउन विज्ञापन व्यवसायीहरु विभिन्न समूहमा छलफलमा जुटेको उनले बताए । पत्रिकालाई लोकतन्त्रको पक्षमा र नीति क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर प्रकाशन गर्ने र यस्तो विचारमा प्रखररुपमा कलम चलाउँदै आएका पत्रकारलाई सम्पादकीय टिममा ल्याउने नीति बनाईएको छ ।
साभार : बिकाश न्युज
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !